२५ कात्तिक, वीरगञ्ज । उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ ।
बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।
प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् ।
घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् ।
दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी बताउँछन् ।
सँस्कृतिविद द्विवेदीका अनुसार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुले घर गएर भाकल अनुसार कोशी भर्ने गर्छन ।
व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् । ‘सबैजना घाटमा जान सकेका हुँदैनन, तर कोशी भरिसकेपछि परिवारका सबै सदस्य ढोग्ने प्रचलन छ,’ द्विवेदीले भने ।
बिहान छटघाट पुगेपछि शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।
छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।
विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।
वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया , रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठका विशेष रौनक देखिने गरेको छ । चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस भनेर छठी माता र सूर्यको आराधना गर्ने गर्दछन् ।
सूर्य पूजनको महत्व
आधुनिक युगमा पनि वैकल्पिक ऊर्जाको स्रोतको रूपमा सूर्यको महत्व छ । सूर्यको हरेक दिन र याममा मानवलाई खाँचो पर्छ । प्राचीन एवं आधुनिक चिकित्सा प्रणालीले कठिन रोगको उपचार र हानीकारक किटाणु नष्ट गर्न सूर्य किरण महत्वपूर्ण रहेको तर्क गर्छन् । योगा र ध्यान पद्धतिमा पनि सूर्यको उपासनालाई विशेष स्थान दिने गरिएको छ । उदाउँदै गरेको सुर्यको किरण शरीरमा परे त्यसबाट भिटामिन डि प्राप्त हुने चिकित्सकहरुको भनाइ छ ।
विभिन्न धर्म, जाति र समुदायको नाममा विभाजित हुने क्रम बढीरहेको समयमा एकै थलोमा उभेर गरिने सूर्यको उपासनाले एकताको सुत्रमा बाँधेको सन्देश दिन्छ । पश्चिम एसिया, प्राचीन युनान, इजिप्ट र बेबिलोन सभ्यता -हाल इराकको एक भाग) मा समेत सुर्यको पुजा हुने गरेको थियो । छिमेकी भारत र विश्वका थुप्रै स्थलमा सूर्य -अपोलो) मन्दिरहरू छन् । भारतकै उत्तरप्रदेश, विहार र झारखण्डमा पनि छठ पर्वलाई विशेष महत्व दिएर मनाउने गरिन्छ ।
कसरी शुरु भयो छठ ?
प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवि भनेर चिनिने संकृतिविदहरु बताउँछन् । स्वामी कार्तिकेयको श्रीमति नै छठी माता भएको जनविश्वास छ ।
बालदा षष्ठी अर्थात बालक दिने र बालककको पुरा हेरचाह गर्ने देवीलाई छठीमाता भनेर चिनिन्छ । छठमा सुर्यको उपासना सँगै उनै देविको पूजा गरिन्छ । उनको मुर्ति हुँदैन त्यसैले छठघाटमा शिरशोप्ता बनाएर त्यसैको वरिपरि अर्घ दिने सामग्री राखेर पूजा गर्ने परम्परा छ ।
छठ शुरु भएको बारे विभिन्न किम्वदन्तीहरू भेटिन्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरेका थिए । त्यसबखत उनीहरू पाण्डव विराट राजाको दरबारमा कामदारका रुपमा थिए । त्यहीबेलादेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।
अर्कोतर्फ सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।
त्यसैगरी साम्ब पुराणमा पिता श्रीकृष्ण तथा महषर्ी दुर्वासाको सरापका कारण कुष्ठरोगबाट पीडित बनेका साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको चर्चा छ । यसमा झुप्पा-झुप्पा फलफुल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका परिवार र नाताकुटुम्बको समेत भलो हुन्छ भन्ने धार्मिक विश्वास छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने मान्यता पनि छ । यसकारणले गर्दा पनि छठको लोकपि्रयता बढ्दै गईरहेको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति, सन्तान सुख पाइन्छ भन्ने जनविश्वास छ । छठमा आफू व्रत बस्न नसक्नेले अर्कोबाट अर्घ चढाउने पनि चलन छ । कतिपयले भिक्षा मागेरै पर्व मनाउने गर्छन् । ०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
प्रतिक्रिया 4