+
+

उद्घाटनपछि धरहरा पुनर्निर्माण सुस्त, ४३ प्रतिशत काम बाँकी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक २५ गते २२:०१

२५ कात्तिक, काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ ।

२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म आयोजनाबाट १ अर्ब ६४ करोड लिइसकेको निर्माण कम्पनी रमण कन्सट्रक्सनले ६ महीनामा मुस्किलले १० करोड रुपैयाँ थप बुझेको छ ।

प्राधिकरणका एक प्राविधिकका अनुसार उद्घाटनसम्म ५४ प्रतिशत रहेको वित्तीय प्रगति अहिले ५६ प्रतिशत मात्रै नाघेको छ । वित्तीय विवरणको प्रगतिका आधारमा ६ महिनामा आयोजनामा साढे २ प्रतिशत मात्रै काम भएको देखिएको उनले बताए ।

प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे उद्घाटनपछि धरहराको निर्माण सुस्ताएको स्वीकार्छन् । ‘हामी पनि प्राधिकरण विघटन गर्न आवश्यक कामतिर बढी व्यस्त भयौं, उद्घाटनपछि धरहरामा पहिलेजसरी काम नभएको सत्य हो,’ उनले भने ।

आयोजनाका अधिकारीहरुका अनुसार अहिले धरहराको निर्माणस्थलमा खटिने श्रमिकको संख्या निकै न्युन छ । उद्घाटनअघि रातभर काम भएको स्मरण गर्दै उनीहरुले उद्घाटनपछि ठेकदारले निर्देशन नै मान्न छोडेको बताउँछन् ।

‘४२ रोपनी क्षेत्रमा काम भइरहेको छ, कम्तिमा ५ सय श्रमिक काम गरिरहेको हुनुपर्ने हो, यत्रो ठूलो परियोजनामा मेसिन र श्रमिकले काम गर्दा बाहिरसम्म स्वरसरावा हुनुपर्ने हो,’ उनी भन्छन्, ‘उद्घाटनपछि त निर्माणस्थल शून्य छ ।’

उद्घाटनअघि करिब ३ महिना रातभर सयौं श्रमिकले काम गर्दा ‘टावर’ छिटो ठडिएको ती अधिकारी बताउँछन् । तर, पत्र काट्दा पनि अनेक बाहना बनाएर ठेकदारले पुरानै शैलीमा काम गर्न थालेको प्राधिकरणको निष्कर्ष छ ।

हामीले पत्र काटेर काम छिटो गर्न भनेपनि ठेकदारले टेरेको छैन,’ प्राधिकरणका एक प्राविधिक कर्मचारी भन्छन्, ‘उद्घाटन भइसकेकाले ठेकदारको हात हामीभन्दा माथि परेको छ, त्यसैले हामीले धेरै जोडबल गर्न सकेका पनि छैनौं

धरहराको निर्माण अवधिको म्याद यही मंसिर महिनामा सकिँदैछ । सरकारले महामारीको कारण देखाएर प्रभावित परियोजनालाई थप ६ महिना समय दिने भनेकाले जेठसम्म परियोजनाको सबै काम सकिनुपर्छ । तर, प्राधिकरणका अधिकारीहरु भने उद्घाटनअघिकै गतिमा काम भएपनि एक वर्षअघि धरहरा बनिनसक्ने बताउँछन् ।
के-के काम बाँकी छ ?

काम नसकिंदै हतार-हतार लिफ्ट जोडेर उद्घाटन गरिएको धरहराको भर्‍याङ नै बनिसकेको छैन । रंगरोगन, लाइटिङ र सूचना प्रविधिसम्बन्धी काम गर्न बाँकी छ ।

धरहराको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङको काम सकिएको छैन । संग्रहालयको काम पनि बाँकी छ । प्रशासनिक भवन बनाउन बाँकी छ । खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक पनि बनेको छैन ।

बीचमा पुल बनाउने काम पनि शुरु भएको छैन । सुन्धारालाई सजाउने काम पनि गर्नुपर्ने छ । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । त्यस्तै भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्नेसहित सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।

तर, साइटमा श्रमिक नै खटाउन र मेसिन नै चलाउन छाडिएपछि सर्वसाधारणले कहिलेबाट धरहरा चढ्न पाउँछन् भन्ने एकिनका साथ भन्न नसकिने प्राधिकरण बताउँछ ।’हामीले पत्र काटेर काम छिटो गर्न भनेपनि ठेकदारले टेरेको छैन,’ प्राधिकरणका एक प्राविधिक कर्मचारी भन्छन्, ‘उद्घाटन भइसकेकाले ठेकदारको हात हामीभन्दा माथि परेको छ, त्यसैले हामीले धेरै जोडबल गर्न सकेका पनि छैनौं ।’

कुनै पनि काम निर्माण सम्पन्न गरेर ठेकदारले हस्तान्तरण गरिसकेपछि मात्रै उदघाटन गर्ने प्रचलन विपरीत तत्कालीन प्रधानमन्त्री ओलीले हतारहतार धरहराको उदघाटन गरेका थिए ।

अब पुस ९ गतेबाट विघटन हुन लागेको प्राधिकरणले यो धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई दिने तयारी गरेको छ । विभागले तयार गरेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाइने छ ।

तर, अहिलेकै गतिमा काम भए धरहराको काम सकिन अझै कम्तिमा साढे दुईदेखि तीन वर्ष लाग्नसक्ने प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?