+
+

निर्मला कुर्मी प्रकरण : पूर्वसभासद् बादशाहको भूमिका शंकास्पद

गौरव पोखरेल गौरव पोखरेल
२०७८ कात्तिक २५ गते २०:४३

२५ कात्तिक, काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानविन समितिले पूर्वसभासद् बादशाह कुर्मीमाथि पनि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

समितिले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनको आधारमा ७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा किटानी जाहेरीमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह छन् । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेका वृद्ध भएकाले हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले बताए ।

छानविन समितिले पूर्वसभासद् कुर्मीमाथि पनि अनुसन्धान गर्न भने पनि प्रहरीले उनलाई चाहिँ पक्राउ गरेको छैन । १० भदौ २०७८ मा अनुसन्धान अधिकारी समक्ष उपस्थित भई बयान दिएर हाजिरी जमानीमा छुटेकाले उनलाई फेरि समात्न कानूनी जटिलता रहेको एसपी अधिकारीले बताए ।

अधिवक्ता समेत रहेकी मानवअधिकारकर्मी मोहना अन्सारी भने हाजिरी जमानीमा छाडेपनि फेरि हिरासतमा लिएर अनुसन्धान गर्नसक्ने बाटो रहेको बताउँछिन् ।

जिल्ला प्रशासनबाट कागजात लिएपछि निर्मला बेपत्ता भइन् । त्यसपछि नै जग्गा हडप्ने काम सुरु भएको जिल्ला प्रशासन कार्यालय, बाँकेमा काम गरिसकेका एक अधिकारी बताउँछन् ।

पूर्वसभासद् कुर्मीले खोसेका थिए लालपूर्जा

छानविन समितिको प्रतिवेदनअनुसार, निर्मला कुर्मीको परिवार हालको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा पर्ने साबिक परस्पुर गाविस–९ मा बसेको थियो । मधुमेहबाट ग्रसित निर्मलाका श्रीमान् महलु कुर्मी २०६२ सालमा परलोक भए । त्यसपछि उनको ४ बिघा १० कट्ठा जग्गामा भू–माफियाको नजर पर्‍यो ।

श्रीमानको मृत्यु भएको चार वर्षपछि २०६६ को मंसिरमा १० दिनको फरकमा छोरा १८ वर्षीय राम सागर र सुरेशको पनि रहस्यमय तरिकाले मृत्यु भयो । नेपालगञ्जमा सक्रिय नेपाल मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान कुनै रोग नभएका निर्मलाका छोराहरुको पोष्टमार्टम गराउन पूर्वसभासद बादशाहले रोकेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘जग्गा हडप्ने खेलको सुरुवात त्यहीँबाट भएको प्रष्ट छ ।’

उनका अनुसार, सरकारी ढड्डामा पनि निर्मला कुर्मीका छोराहरुको मृत्युबारे कुनै विवरण छैन । जग्गा हडप्न खोजिएको चर्चा लामो समय चलेपछि प्रहरीले राम सागर र सुरेशको मृत्युबारे चासो दिएपनि कुनै अभिलेख नभेटिएको बागवान बताउँछन् ।

‘छोराहरुको मृत्युपछि बाबु महलु र जेठो छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले लगेका थिए’ छानविन समितिको प्रतिवेदनको निष्कर्ष खण्डको (ख.३ र ४) मा भनिएको छ, ‘निर्मलाको घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरका मानिसहरुले चर्को विरोध, धर्ना आदि गरेका थिए ।’

मानवअधिकार मञ्च, बाँकेले २०६६ सालमा खिचेको भिडियोमा निर्मला कुर्मीले ‘सम्पत्तिका लागि’ आफूमाथि बादशाहसहितका व्यक्तिले कुटपिट गरेको बताएकी छन् । ‘बादशाहले एक थप्पड हाने, अरुले साइकलको चेनले हानेका थिए’ खुट्टाको घाउ देखाउँदै उनले भिडियोमा भनेकी छन्, ‘त्यतिबेलै पति र छोराहरुको मृत्यु दर्ता र अन्य कागजात पनि लगे ।’

छानविन समितिको प्रतिवेदनमा पनि ‘विधवा तथा एकल महिला कुर्मीमाथि बादशाह कुर्मीसहित कुवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका व्यक्तिले सम्पत्ति खाने नियतले’ कागजातहरु जबरजस्ती खोसेर लगेको उल्लेख छ ।

पूर्वसभासद् कुर्मीसहितका व्यक्तिले निर्मलाको कुनै कागजात नदिने, घरमा बस्न पनि नदिने धम्की दिएको प्रतिवेदनमा उल्लेख छ ।

मानवअधिकारकर्मी रुबी खान पूर्वसभासद् बादशाह कुर्मीले निर्मलालाई पटकपटक धम्की दिएको बताउँछिन् । ‘जब उहाँको श्रीमान वित्नु भयो, त्यतिवेलैदेखि सम्पत्ति हडप्न ज्यान मार्ने धम्की दिइरहनुभएको थियो’ खानले अनलाइनखबरसँग भनिन्, ‘घरबाट ननिस्किन, बाहिरका मान्छेलाई पनि आउन नदिन दबाब दिइरहनु भएको थियो, निर्मलालाई घरमै बन्दी सरह बनाउनुभएको थियो ।’

छानविन समितिको प्रतिवेदनमा कुर्मीको ज्यान नै खतरामा पर्ने स्थिति आएपछि उद्दार गरेर ‘सेफ सेल्टर’मा राखिएको उल्लेख छ ।

बाँकेका एमाले नेता आईपी खरेल मानवअधिकारकर्मी, स्थानीय र बुद्धिजीविहरुको तीव्र दबाबपछि बादशाहले निर्मलाको जग्गाको लालपूर्जा, नागरिकता आदि बाँके जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताउँछन् ।

प्रशासनले पटकपटक पूर्वसभासद् कुर्मीलाई बोलाउँदा उनी उपस्थित नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘विरोध प्रदर्शनपछि निज जिल्ला प्रशासन कार्यालयमा उपस्थिति भएर कागजात दिइ माफी मागेको भन्ने बुझिएको छ’ प्रतिवेदनमा भनिएको छ । निर्मला कुर्मीले प्रशासनबाट कागजात पाएको केही दिन/महिनामा उनी हराएको बुझिएको प्रतिवेदनमा उल्लेख छ ।

उनी बेपत्ता भएपछि खोजतलासका लागि प्रहरी लगायत कुनै निकायमा लिखित निवेदन नपरेको, मौखिक रुपमा विभिन्न माध्यमबाट अधिकारकर्मीहरुले आवाज उठाएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

बाँकेमा काम गरिसकेका एक प्रहरी अधिकृतका अनुसार निर्मलाको सम्पत्ति लिलाम भएको बेला उनी गाउँमा थिइनन् । ‘निर्मला नै बेपत्ता भएका बेला जग्गा लिलाम गरेर सम्पत्ति हडपिएको हो’ उनले सुनाए, ‘तमसुक कसरी बन्यो भन्ने शंकास्पद छ ।’

बेपत्ता भएपछि हडपियो जग्गा

जिल्ला प्रशासनबाट कागजात लिएपछि निर्मला बेपत्ता भइन् । त्यसपछि नै जग्गा हडप्ने काम सुरु भएको जिल्ला प्रशासन कार्यालय, बाँकेमा काम गरिसकेका एक अधिकारी बताउँछन् ।

उनको भनाइमा श्रीमान् र जेठो छोराको नाममा रहेको जग्गा ८ असार २०६९ मा पहिलो नामसारी भयो । ‘बीचमा केही समय रोक्का भएको जग्गा नामसारी भएपछि फेरि हडप्ने कार्य सुरु भयो’ उनी भन्छन् ।

त्यहीबेला स्थानीय निजामुद्दिन दर्जीले निर्मलाले आफूबाट ३ लाख रुपैयाँ ऋण लिएको कागज निकालेको छानबिनमा खुलेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार, त्यही आधारमा उनले ८ भदौ २०६९ मा जिल्ला अदालत, बाँकेमा लेनदेनको मुद्दा दर्ता गराए ।

नेपालगञ्जको धम्बोझी बस्ने पार्वती विष्टले पनि निर्मलाले आफूबाट ऋण लिएको देखाउँदै त्यहीबेला मुद्दा दर्ता गरिन् । दुवै मुद्दामा अदालतले बिगो असुलीका लागि घर जग्गा लिलाम गर्ने आदेश सुनायो । त्यतिबेला उक्त घर जुबेदा इन्द्रिसको नाम हुँदै अरुलाई ब्रिक्री गरिएको समितिको प्रतिवेदनले देखाउँछ ।

बाँकेमा काम गरिसकेका एक प्रहरी अधिकृतका अनुसार निर्मलाको सम्पत्ति लिलाम भएको बेला उनी गाउँमा थिइनन् । ‘निर्मला नै बेपत्ता भएका बेला जग्गा लिलाम गरेर सम्पत्ति हडपिएको हो’ उनले सुनाए, ‘तमसुक कसरी बन्यो भन्ने शंकास्पद छ ।’

प्रतिवेदन अनुसार उक्त जग्गा ६ भदौ २०६९ मा पार्वती विष्टको नाममा नामसारी भएको छ । विष्टको नाममा आएको जग्गा रमेश थापाको श्रीमती रत्ना थापामार्फत ऋण लिएको आधारमा विष्टविरुद्ध पनि मुद्दा परेको देखिन्छ ।

त्यसपछि उक्त जग्गा रत्नाको नाममा गएको देखिन्छ । रमेश थापा र पार्वती विष्ट हाल प्रहरी हिरासतमा छन् । पार्वती विष्ट रमेश थापाको फूपूको छोरी हुन् ।

अधिकारकर्मी खान पूर्वसभासद् बादशाह कुर्मीको योजनामा थापा, विष्टहरु खडा भएर जग्गा हडप्ने काम भएको बताउँछिन् । ‘निर्मलालाई अपहरण गरेर जानकी गाउँपालिकाको मानपुरमा रहेको रमेश थापाको प्लाइउड उद्योगमा बन्धक बनाएर राखिएको थियो’ खान भन्छिन्, ‘त्यसपछि तमसुक बनाएर मालपोतका हाकिमहरु समेतको मिलेमतोमा जग्गा नामसारी भएको हो ।’

बादशाहको दाबी – जग्गा संरक्षण चाहिँ गर्न खोजेको हुँ

पूर्वसभासद् बादशाह कुर्मी आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको दाबी गर्छन् । उनी भन्छन्, ‘खासमा मैले लालपूर्जा हिनामिना हुन्छ कि भनेर संरक्षण गर्न खोजेको थिएँ । धनीपूर्जा पनि खोसेर नभइ मागेर लगेको हुँ ।’

आफू २०४२ सालदेखि चुनाव लड्दै आएको नेता भएको उनी बताउँछन् । त्यतिबेलादेखि नै प्रतिस्पर्धीले आफूविरुद्ध मान्छे परिचालन गरेको उनको भनाइ छ ।

‘मैले कांग्रेस इतर पक्ष भएर चुनाव लडेँ, २५ वर्षको उमेरमा कुँवर बबन सिंहसँग २८ मतले हारेँ’ उनी भन्छन्, ‘प्रजातन्त्र आइसकेपछि २०४९ सालमा पनि उहाँसंग नै प्रतिस्पर्धा गरेँ, २०५४ सालमा म गाविस अध्यक्ष भएँ ।’

पछि सिंहले नै कांग्रेसमा प्रवेश गर्ने व्यवस्था मिलाइदिनुस् भनेकाले आफूले सहयोग गरेको उनी बताउँछन् । तर, सिंहकै घरमा रुबी खान लगायतको बैठक बसेर आफूलाई राजनीतिबाटै हटाउने योजना बनाइएको र त्यहीअनुरुप समूह परिचालित भएको दाबी उनले गरे ।

निर्मला कुर्मीको छोराहरुको मृत्यु भएका बेला आफू काठमाडौंमा रहेको दाबी गर्दै पूर्वसभासद कुर्मीले भने, ‘श्रीमानको मृत्यु भएको सुनेको हुँ, छोराछोरीबारे थाहा छैन । जग्गा हडपेको भन्नलाई त्यो जग्गा कहिले मेरो नाममा आयो, त्यो भन्नुपर्‍यो नि !’

बाँकेको साबिक परपम्पुर गाविस– ९ का कुर्मीलाई नेपाली कांग्रेसले समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका थिए । २०४२ सालदेखि राजनीतिमा सक्रिय उनी अहिले कांग्रेसको बाँके सभापतिमा उठ्ने तयारीमा छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?