
बलिउड नायिका कंगना रनावत पछिल्लो केही समयदेखि आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । उनी भारतीय जनता पार्टी (बीजेपी) निकट मानिन्छिन् । यसैले उनका अभिव्यक्ति बीजेपीको समर्थनमा बढी देखिन्छ ।
बिहीबार कंगनाले दिएको एक अभिव्यक्तिले फेरि उनको चर्को आलोचना भएको छ । टाइम्सले आयोजना गरेको कार्यक्रममा भारत सन् २०१४ पछि मात्र वास्तविक रुपमा स्वतन्त्र भएको उनले अभिव्यक्ति दिएकी छन् ।
कंगनाको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना मात्र भएको छैन, उनलाई देशद्रोहीको मुद्दा लगाउनुपर्ने माग समेत उठेको छ ।
भारतको स्वतन्त्रता संग्रामको विषयमा बोल्ने क्रममा उनले सावरकर, लक्ष्मीबाई र नेताजी बोसलाई सम्झँदै भनिन्, ‘यी मानिसहरुले बुझेका थिए कि रगत बग्नेछ, तर यो रगत हिन्दुस्तानी हुनुहुँदैन भन्ने पनि उनीहरुलाई थाहा थियो । त्यो स्वतन्त्रता थिएन, भीख थियो । हामीलाई सन् २०१४ पछि मात्र वास्तविक स्वतन्त्रता मिलेको हो ।’ सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि मात्र भारत स्वतन्त्र भएको उनको अभिव्यक्ति थियो ।
कंगनाको यो भनाइ सार्वजनिक भएसँगै बीजेपी सांसद वरुणले आलोचना गर्दै उनलाई ‘पागल’ भन्ने कि देशद्रोही भनेर प्रश्न गरेका छन् ।
भारत सन् १९४७ मा स्वतन्त्र भएको थियो । यसपछि भारतमा स्वतन्त्रता दिवस समेत मनाउने गरिन्छ ।
प्रतिक्रिया 4