+
+

क्लिन फिडले विज्ञापन बजारमा उत्साह, टेलिभिजन व्यवसायी निराश

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक २६ गते १८:२४

२५ कात्तिक, काठमाडौं । नेपालमा विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू भएको एक वर्ष बितेको छ । ८ कात्तिक २०७७ बाट विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) भएका थिए । व्यवसायीहरुको दाबीलाई मान्ने हो भने त्यसपछि बहुराष्ट्रिय कम्पनीहरुका विज्ञापन र त्यसमा हुने खर्च बढेको छ भने टेलिभिजनका दर्शक घटेका छन् ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ले विदेशी टेलिभिजन च्यानललाई क्लिन फिड अनिवार्य गरेको थियो । क्लिन फिडले विज्ञापन व्यवसायी सन्तुष्ट र नेपालमा टेलिभिजन सेवा वितरण गरिरहेका व्यवसायी असन्तुष्ट छन् ।

नेपाल विज्ञापन संघका अनुसार कोरोना महामारी चलिरहेपनि बहुराष्ट्रिय कम्पनीबाट आउने विज्ञापनको दर बढेको छ । त्यस्तै, स्वरांकन (डब) गरिएका विदेशी विज्ञापनको साटो नेपाली कलाकार राखेर स्थानीय किसिमले विज्ञापन बनाउने क्रम पनि बढेको छ । संघका पूर्वअध्यक्ष रवीन्द्रकुमार रिजाल यसलाई क्लिन फिडकै देन मान्छन् ।

उनका अनुसार कोकाकोला, पेप्सी, डाबर, युनिलिभर लगायत बहुराष्ट्रिय कम्पनीले नेपाली बजारमा गर्ने खर्च बढेको छ ।

विगतमा नेपालमा आयात नै नभएका वस्तुको पनि टेलिभिजनमा विज्ञापन देखेर भएका माग आयात बढाउन भूमिका खेलेको नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । उनका अनुसार अहिले धेरै बुहराष्ट्रिय कम्पनीले नेपालमा विज्ञापन गर्ने तयारी गरिरहेका छन् ।

‘हुन त देशभित्रका उद्योगी–व्यवसायीले महामारीमा खर्च कटौती गर्न शुरुमै विज्ञापनलाई रोजे, वार्षिक १२ अर्ब रुपैयाँको विज्ञापन बजार महामारीपछि ७ अर्बमा झरेको छ,’ रिजाल भन्छन्, ‘तर, ठूला बहुराष्ट्रिय कम्पनीहरुले विज्ञापन बजेट बढाउन बाध्य हुँदा क्लिन फिडको महत्व पुष्टि भएको छ ।’

अझै पनि कतिपय च्यानलमा भारतमा बनेका विज्ञापनको ‘डब’ संस्करण बजिरहेको उनको भनाइ छ । यो समस्या नहटेसम्म क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा नआउने उनले बताए ।

‘अब नेपालमा उत्पादन बेच्ने कम्पनीले निश्चित प्रतिशत विज्ञापन बजारको लागि छुट्याउने नीति आवश्यक देखिन्छ,’ पूर्वअध्यक्ष रिजाल भन्छन्, ‘त्यसो भयो भने विज्ञापनको बजार थप बढ्छ, क्लिन फिडबाट देशले पाउने लाभ पनि वृद्धि हुन्छ ।’

क्लिन फिड लागू भएपछि धेरै विदेशी च्यानल बन्द भएर नेपाललाई सांस्कृतिक रुपमा पनि लाभ भएको विज्ञापन व्यवसायीहरु बताउँछन् ।

‘हाम्रो भाषा, संस्कृति बचाउन पनि विदेशी च्यानललाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादन हुने सामग्रीलाई बढी महत्व दिनुपर्ने हुन्छ,’ पूर्वअध्यक्ष रिजाल भन्छन्, ‘अहिले नेपालमा उत्पादन भएका रियालिटी शोहरुले महामारीमा पनि विज्ञापन बजारलाई चलायमान राखे । त्यसले अन्ततः देशलाई नै फाइदा हुन्छ ।’

क्लिन फिड लागू भएपछि केही साना कस्मेटिक तथा मेडिकल प्रोडक्टहरुको विज्ञापन भने रोकिएको छ । डब विज्ञापन नबज्ने भएपछि साना बजेटका त्यस्ता कम्पनीले नेपालमै विज्ञापन उत्पादन गरेर बजाउन आँट गरेका छैनन् ।

पूर्वअध्यक्ष रिजालका अनुसार त्यसरी बन्द भएका विज्ञापनको बजेट ठूलो थिएन । बहुराष्ट्रिय कम्पनीहरुले नेपाली बजारमा बढाएको विज्ञापन खर्चको तुलनामा काटिएको विज्ञापन रकम निकै न्यून रहेको उनले बताए ।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं महामारीका बेलामा पनि प्रसारण उद्योगमा क्लिन फिडकै कारण विज्ञापन रकम ५० प्रतिशतभन्दा कम नभएको बताउँछन् । ‘क्लिन फिड लागू नभएको भए विश्व बजारकै जसरी नेपालमा पनि टेलिभिजनको विज्ञापन बजार खुम्चिन्थ्यो,’ उनले भने, ‘अहिले नेपालमा उत्पादन र बिक्री गर्ने कम्पनीले विज्ञापन गर्ने क्रम बढ्दो दरमा छ ।’

उनका अनुसार क्लिन फिडलाई व्यावसायिक हिसाबले मात्रै हेर्नु उपयुक्त हुँदैन । कतिपय विदेशी विज्ञापनहरुले मुलुकको सार्वभौसत्तामाथि पनि अतिक्रमण गर्ने गरेको स्मरण गराउँदै उनले क्लिन फिड लागू भएपछि त्यस्तो जोखिम घटेको बताए ।

‘क्लिन फिड नहुँदा विदेशी च्यानलमा बज्ने विज्ञापनका कारण देशभित्रका उत्पादनले बाहिरबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न पनि नसक्ने अवस्था थियो, अब विस्तारै हाम्रा उत्पादनहरुको महत्व पनि बढ्दैछ,’ उनले भने, ‘हाम्रा उद्योगहरुले पनि आफ्नै ब्राण्ड बनाएर प्रतिस्पर्धा गर्नसक्ने अवस्था सिर्जना हुँदैछ ।’

विगतमा नेपालमा आयात नै नभएका वस्तुको पनि टेलिभिजनमा विज्ञापन देखेर भएका माग आयात बढाउन भूमिका खेलेको अध्यक्ष हुमागाईंले बताए । उनका अनुसार अहिले धेरै बुहराष्ट्रिय कम्पनीले नेपालमा विज्ञापन गर्ने तयारी गरिरहेका छन् । त्यसका लागि नेपालमा बलिया प्रसारण सामग्रीको खोजी भइरहेको उनको भनाइ छ ।

‘हाम्रो विज्ञापन बजारले मात्रै टेलिभिजनमा यति धेरै रियालिटी शो टिक्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘क्लिन फिड लागू भएपछि नै स्तरीय टेलिभिजन समाग्री उत्पादन गर्न देशभित्र प्रतिस्पर्धा बढेको छ ।’

यसरी अन्ततः नेपाली च्यानलहरु हेर्ने बानी विकास भएर टेलिभिजन सामग्रीमा परनिर्भरता पनि घट्ने अध्यक्ष हुमागाईंको भनाइ छ । यो क्रम चलिरहे विदेशी सामग्रीले ल्याउने सामाजिक तथा सांस्कृतिक विचलन, भेषभूषा र भाषामा पर्नसक्ने नकारात्मक प्रभाव पनि घट्ने उनको तर्क छ ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली क्लिन फिड लागू भएपछिको संक्रमणकालमा टेलिभिजनबाट बाहिरिएका ग्राहक नफर्किएको बताउँछन् । उनका अनुसार अझै पनि क्लिन फिड अघि र पछिको रिचार्ज दरमा औसत ४० प्रतिशतको अन्तर छ ।

‘डबिङ विज्ञापन रोकिँदा बुहराष्ट्रिय उत्पादनका विज्ञापनमा हाम्रै कलाकारले खेल्न, ब्राण्ड एम्बेसडर बन्न पाएका छन्,’ उनले भने, ‘यसबाट हाम्रो विज्ञापन बजारको सिर्जनात्मक र प्रतिपर्धी क्षमता बढाउन पनि सहयोग पुगेको छ ।’

घटे टेलिभिजनका ग्राहक

नेपालमा विदेशी टेलिभिजन सेवा दिइरहेका कम्पनीहरुले क्लिन फिडलाई अझै सकारात्मक रुपमा लिन सकेका छैनन् । क्लिन फिड कार्यान्वयनमा आएपछि धेरैजसो विदेशी च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको उनीहरुको भनाइ छ ।

२०७७ कात्तिकमा क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक र वितरकहरुको नियमित हुने रिचार्ज दरमा ४० प्रतिशतसम्म गिरावट आएको उनीहरुले बताएका थिए ।

त्यतिबेला चाडबाडको माहोलले पनि केही असर गरेको अड्कलबाजी थियो । नेपालमा हेरिने मुख्य च्यानलहरु क्लिन फिड गरेर प्रसारण थालेपछि ग्राहक फर्किने अपेक्षा गरिएको थियो ।

अहिले स्टार, जी, सोनी, कलर्स लगायत धेरैजसो भारतीय च्यानल क्लिन फिड भएर प्रसारण भइरहेका छन् । तर, क्लिन फिड प्रसारणमा पनि ग्राहक घटेको व्यवसायीहरुको दाबी छ ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली क्लिन फिड लागू भएपछिको संक्रमणकालमा टेलिभिजनबाट बाहिरिएका ग्राहक नफर्किएको बताउँछन् । उनका अनुसार अझै पनि क्लिन फिड अघि र पछिको रिचार्ज दरमा औसत ४० प्रतिशतको अन्तर छ ।

‘१० प्रतिशत ग्राहकको टेलिभिजन त रिचार्ज नै हुँदैनन्,’ उनी भन्छन्, ‘त्यसबेला घटेको ग्राहक संख्या अझै बढ्न सकेको छैन ।’

पराजुलीका अनुसार क्लिन फिडपछि विदेशी च्यानलमा विज्ञापनको स्थानमा टेलिभिजनका कार्यक्रम तथा उत्पादित ‘कन्टेन्ट’का प्रवद्र्धनात्मक सामग्री बजिरहेका छन् । ती सामग्रीमा कुनै ‘क्रियटिभिटी’ नहुने भएकाले ग्राहकले टेलिभिजन हेर्न छाडेको उनको तर्क छ ।

‘विज्ञापन हेर्दा पनि दर्शकलाई रमाइलै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले विज्ञापनको ठाउँमा प्रसारण भइरहेका सामग्रीले दर्शकलाई दिक्क लगाउने रहेछ ।’

टेलिभिजन सेवा प्रदायकहरुका अनुसार क्लिन फिडअघि नेपालमा उपलब्ध धेरै च्यानल सेवा प्रदायकले सित्तैंमा लिन पाउने ‘फ्रि टु एयर’ थिए । त्यसमा धार्मिक, गीतसंगीत, चलचित्र र भाषाभाषीका च्यानल पाइन्थे । त्यस्ता धेरै च्यानलको प्रसारण रोकिँदा धेरै ग्राहकले टेलिभिजनको साटो इन्टरनेटको विकल्प रोजेको अनुमान छ ।

विज्ञापन व्यवसायीहरु पनि अहिले ग्राहकले हेर्ने ‘प्लेटफर्म’ नै परिवर्तन भएको बताउँछन् । ‘हिजो केबल टेलिभिजन हेर्नेहरु अहिले मोबाइल र ट्याबमा एपबाट टीभी हेरिरहेका छन्,’ एक विज्ञापन व्यवसायी भन्छन्, ‘केबल छाडेर आईपी टीभी हेर्नेहरु पनि उत्तिकै छन् ।’

महासंघका अध्यक्ष पराजुलीका अनुसार क्लिन फिडपछि ग्राहक संख्या घट्दा टेलिभिजन सेवाको मूल्य पनि बढेको बताउँछन् । इन्टरनेट र टेलिभिजनको संयुक्त प्याकेजको मूल्य गत एक वर्षमा नघटेको बताउँदै उनले भने, ‘घटाउन सकिने अवस्था पनि छैन, विगतमा यस्ता प्याकेजहरुको मूल्य वार्षिक सय रुपैयाँसम्म कम हुँदै आएको थियो ।’

कतिपय केबल टेलिभिजन व्यवसायीले क्लिन फिड लागू भएपनि आईपी टीभीमार्फत एन्ड्रोइड बक्सबाट प्रसारण भइरहेका प्रतिबन्धित च्यानलहरु रोक्न माग गरिरहेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?