+
+
नियात्रा :

‘फ्ल्यासब्याक’मा हेलम्बु

राजेन्द्रमान डंगोल राजेन्द्रमान डंगोल
२०७८ कात्तिक २७ गते १८:००

यात्रा त गर्ने तर कहाँ ?

सम्झें- उही हेलम्बु ।

२०५७ सालमा पहिलोपटक पदयात्रा गरेथेँ हेलम्बुमा । त्यसपछिको परिस्थिति सधैं प्रतिकूल बन्यो । यात्राका झलक भने आँखाअगाडि आइरहेका थिए, चलचित्रका दृश्यझैं । कस्तो भयो होला त मैले त्यो बेला देखेको हेलम्बु ? मलाई तानिरहेको थियो हेलम्बुले ।

सुनेको थिएँ– अचेल सबै ठाउँमा बाइकमै पुग्न सकिन्छ ।

‘जाने हो त हेलम्बु ?’

चैत तीन गते कवि माधव घिमिरे ‘अटल’सँग प्रस्ताव राखेँ मैले ।

‘कहिले ?’

‘पर्सि ।’

‘फर्कने चाहिँ ?’

‘निकोर्सि ।’

‘जाने भए जाऊँ न त ।’ हेलै स्वीकारे उनले ।

यही प्रस्ताव राखेँ जयनाथ भण्डारीलाई ।

अन्नपूर्णा सर्किटको पदयात्रा सकेर भर्खरै मात्र फर्केका उनी । बिनसित्तिमा किन जुत्ताको तलुवा खियाउन मनलाग्दो हो  !

उनी अन्कनाउन थालेपछि मैले भनेँ– ‘हिँड्ने होइन, बाइकमा जाने हो ।’

त्यसपछि सहमति जनाए उनले ।

उही दिन बिहान नाटककार पुरु लम्साललाई यात्राको बारेमा बताएँ । उनी पनि राजी भए । कोभिड– १९ माथि चीनले विजय हासिल गरिसकेको भए पनि यसले बाँकी विश्वमा साम्राज्य बिस्तार गर्दै थियो । नेपालमा सङ्क्रमित नभेटिइसकेको भए पनि त्रसित थियौँ हामी । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रमलाई रद्द गरिसकेको थियो । शून्यमा झरिसकेको थियो, पर्यटक आगमन । मणि हराएको नागझैँ भइसकेका थिए, पर्यटन व्यवसायीहरू । आफू पनि परियो उही । कोरोनाको कहरले जम्जमाइरहेको वेला सरकारले बन्दाबन्दी गर्नुअघि छोटो दुरीको यात्रा गरेर समयको सदुपयोग गर्ने अवसर बन्यो ।

०००

मोटर साइकल दुई, सवार चार ।

उन्मादी भावना बोकेका फुक्काफाल मनहरू हुइँकिए गन्तव्यतर्फ । के यस्तो अवस्थामा यात्रा गर्नु सही थियो त ? केही सोचेनौँ हामीले । आखिर मुडकै कुरा त हो यात्रा भनेको । मुडी भएरै निस्केका थियौँ हामी ।

छकाल भइसकेको थियो, काठमाडौँको सुन्दरीजलबाट उँभो लागेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्दा । राजधानी सेरोफेरोको राष्ट्रिय निकुञ्ज हो यो । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिक प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र निकुञ्ज । शिवपुरी १४४ वर्गकिमि र नागार्जुन १५ वर्गकिमि गरी १५९ वर्गकिमि ओगटेको छ यसले ।

शान्त र शीतल छ, निकुञ्जको छायाँ । वसन्तको हरियाली मनभित्र सरिरहेको आभास हुन्छ । चराहरूको चिरबिरलाई निस्तेज पारेको छ, बाइकको आवाजले । मेरो मनले भन्छ– ‘राष्ट्रिय निकुञ्जभित्रको सडक संरचनाले वन्यजन्तुहरूको हित गर्दैन ।’

ऊ वेला हिँडेर जाँदा झन्डै दुई घण्टा लागेको थियो, मूलखर्क पुग्न । बाइकमा पच्चीस मिनेटमै पुगियो । पदयात्रीहरूले लन्च गर्ने ठाउँ हो यो । किनमेल गर्न काठमाडौँ झरेका चिसापानीबासीहरू फर्कंदा एकक्षण सुस्ताएर मात्र उँभो लाग्छन् ।

पन्छीका प्वाँखझैँ निर्वाध फरफराइरहेका छन्– खस्रु, झिँगाने, बाँझ र लिसोका पातहरू । झरझराउँदो जवानी फिँजाइरहेका छन्, सडक छेउछाउका फूलहरूले । कतै सुकिला पैयुँ त कतै चिमाली र लालीगुराँस । मात चढ्दै छ मलाई, यी कुसुमवाटी र सौरभित रङ्गीन पुष्पकहरूको ।

पछाडि पुरु लम्साललाई राखेर तीव्र गतिमा हुइँकिइरहेका थिए जयनाथजी । निकै पछि परिसकेको थिएँ म । भ्याटभ्याटेको कान मज्जैले बटारैँ मैले उनलाई भेट्न । मसँग थिए, माधव घिमिरे ‘अटल’ ।

सुन्दरीजलबाट हिँडेर आउँदा उकालो, उकालो र केवल उकालोमात्र हो चिसापानी (२,१३४मि.)सम्म । साढे तीन घण्टा लाग्छ, मूलखर्कबाट कस्सिएर हिँड्दा । महाभारत पर्वत शृङ्खलाको एउटा सिङ्गै पहाडलाई फेरो मार्दा पनि चालीस मिनेट मात्रै लाग्यो । कति छिटो ! यही हो गुड्नुको फाइदा । तर, गाउँबस्ती र जङ्गल पार गर्दै हिँड्दाको जस्तो रमाइलो चाहिँ नहुने । पदयात्रा भनेको पदयात्रा नै हो ।

चिसापानीबाटै देखिन्छन्, डाँडाभरिभरि बिछ्याइएका सडक सञ्जाल । हेर्दा सुगमझैँ लाग्ने । क्षितिजमा टाँगिएका लाङटाङ, दोर्जेलाक्पा, गोन्चेम्पो र गौरीशङ्कर लगायतका सुन्दर चित्रहरूमा पुगेथे मेरा नजर । हेर्नकै लागि सबैभन्दा पहिले हिमाल नै खोज्दारहेछन् आँखाले । सृष्टिकर्ताको सुन्दर सिर्जनामा नलोभिने को नै होला र !

२०७२ को महाभूकम्पले उजाडिएका बस्ती र खण्डहर बनेका चिसापानीका संरचनाहरू नियाल्यौँ हामीले । थचक्क बसेको छ, होटल मिलन । झिक्न मिल्ने जति झ्याल, ढोका र खापाहरू झिकिएका छन् । उही हालत थियो, होटल माउन्टेनको । पखेटा काटिएका पन्छीजस्तै लाग्थे ती । जगमात्रै देखिन्छ, होटल दोर्जेलाक्पा र साङ्बालाको । होटलको स्वरूपलाई खुम्च्याएर उही नाममा होमस्टे चलाएका रहेछन्, व्यवसायीद्वय दोर्जे र सन्तु लामाले । दृश्यहरू देख्दा चिसापानी अझै धुलो टक्टक्याउन नसकेको प्रतीत हुन्छ । नेपालको पहाड र पर्यटनलाई जोड्ने ती सेतुको हालत देख्दा बेसरी कुँडियो मन । पहाड नभए पर्यटन हुँदैन । पर्यटक नभए पहाडमात्र हुनुको पनि के अर्थ भो र पर्यटनका लागि !

योजनामा चिसापानीमै बस्ने भए पनि पर्याप्त समय भएकोले कुटुम्साङ जाने सल्लाह भयो हाम्रो ।

सडकले पदमार्गलाई विस्थापित गरे पनि पदयात्रा रोकिएको छैन हेलम्बुमा । सडक सञ्जालबीचको परम्परागत मार्र्ग पछ्याउँदै पर्यटकहरूलाई हेलम्बु पुर्याउँछन्, अनुभवी पथप्रदर्शकहरू । त्यही सडक सञ्जालभित्र उतिबेला हिँडेको गोरेटो नियालेथें मैले । सडक निर्माण गरे पनि परम्परागत मार्र्गलाई नछल्नु किमार्थ सही थिएन भन्ने लागिरह्यो मनमा । पर्यटकका भारी बोकेर परिवार पाल्ने मजदुर र ठाउँठाउँका चिया पसलेहरूको कन्तबिजोग नै बनाइदिएको छ सडकले ।

तीन बजेको थियो पाटी भन्ज्याङको ठुलो थकनी माविको प्राङ्गणमा पुग्दा । पहिले त प्राविमात्र थियो । सात वर्ष भएछ मावि भएको । राम्रै भो । आनै गाउँमा विद्यालयस्तरको शिक्षा लिन पाएका छन् जनताका छोराछोरीले ।

‘हल्का नास्ता गर्ने हो कि ?’ पेट कुइँकिइरहेको वेलामा सोधनी भयो माधवजीबाट ।

छिर्यौं एउटा भट्टीमा । अर्डर गर्यौँ चाउचाउ र कालो चियाको ।

‘दिदी तपाईंको नाम के हो ?’ पुरुको प्रश्न साहुनीलाई ।

‘उमा श्रेष्ठ ।’

‘नाक छेड्नुभएको छ नि त !’

‘मेरो माइती चाहिँ थपलिया ।’

‘नेवारको कुलमा परेर पो मिठो बनाउन जान्नु भएको रहेछ ।’ ठट्टाभावमा प्रस्तुत भएँ म ।

कालो चियामा मरिचको ‘फ्लेवर’ । अपूर्व संयोजन थियो चिनी, चियापति र मरिचको । साँच्चिकै प्रशंसनीय थियो, उनले बनाएको चिया ।

आलु, कोदो र मकैको बाली लाग्छ यहाँ । भारोपर्म गर्ने युवाहरू भने विदेशमा पसिना बगाउन विवश छन् । जिम्मेवारी महिलाहरूकै काँधमा हुन्छ । खेतीपाती, घाँस–दाउरा, वस्तुभाउ र केटाकेटीको स्याहारसुसार र लुतेधन्दामै दिन बित्छ उनीहरूको । यही त हो पहाडी जीवन ! गुजाराको अर्को बाटोमात्र हो, उमाको त्यो चिया पसल ।

ठकुने भन्ज्याङ, चिप्लिङ, गुलभन्ज्याङ हुँदै कुटुम्साङ जान्छ बायाँतर्फ लाग्दा । पिप्ले, धौलेडाँडा, तालमाराङ र मेलम्चीपुल बजार पुग्छ दायाँतर्फ मोडिँदा ।

‘कति समय लाग्छ कुटुम्साङ पुग्न ?’ साहुनीलाई सोधेँ ।

‘डेढ घण्टा ।’

‘कुटुम्साङबाट आजै तार्केघ्याङ पुग्न सकिन्छ ?’

‘किन नसक्नु नि !’

ठानेँ– हिँड्दा साढे तीन घण्टा लाग्ने बाटोलाई डेढ घण्टा लाग्नु ठिकै हो । मोडियौँ हामी कुटुम्साङतर्फ । भ्याएसम्म तार्केघ्याङ पुग्ने विचार पो आयो । जे त होला ! ‘स्टेयरिङ’ आनै हातमा भएपछि के भो र ! सुरिएँ म ।

उकालो बाटो । उबडखाबड सडक । पचासी किलोको म आफैँ र पचहत्तर किलोको माधवजी । इन्डियन ‘होन्डा’लाई अब के चाहियो र ! एक नम्बर गियरमा पनि धौधौ परिगो । उकालिँदै गर्दा बिस्तारै चिसिँदै थियो हाम्रो ज्यान र तातिँदै थियो होन्डाको इन्जिन । कष्टकर हुँदै थियो, बाइक हाँक्न । त्यसैले पो गाएका रहेछन् सुन्दर श्रेष्ठ र तीर्थकुमारीहरूले यस्तो गीत–

‘उकालीमा पनि हजुर मोटर जाँदोरै’छ

ड्राइभर दाइलाई शासना

माया सलल जाउँ हिँड रेलैमा….’

गाएरै सुनाइ दिएँ मैले माधवजीलाई । ‘सलल त हुन्थ्यो होला नि रेल भइदिएको भए ! अझ सरर हुन्थ्यो, केवलकार भए त ! सम्भार गर्न नसक्ने हो भने सडक किन खन्नु कुन्नि ! कम्तीमा खाल्डाखुल्डी त पुर्नु नि !’ असन्तुष्टि पोखे माधवजीले ।

‘कुटुम्साङ पुग्न कति समय लाग्ला ?’ चिप्लिङ पुगेपछि एक स्थानीयलाई सोध्यौँ । उत्तर आयो– ‘डेढ घण्टा ।’

पाटी भन्ज्याङबाट डेढ घण्टा लाग्छ भनेको । आधा घण्टा गुडिसक्दा पनि फेरि डेढ घण्टा ? बाटोको अवस्थाअनुसार उनको कुरा बेठिक थिएन । ट्याङ्की खोलेर हेरेँ, पेट्रोल त निकै तल पुगिसकेको रहेछ । अस्तिको दिनमात्र भरेको थिएँ, उकालोले स्वाट्टै खाइदिएछ ।

परेन फसाद !

कुटुम्साङबाट पनि लामै छ बाटो । इन्धन भर्ने ठाउँ बीचमा कतै छैन । धरै छैन मेलम्ची बजार नपुगी । अहिलेको अवस्थामा त्यहाँ पनि पाउने हो कि नाइँ । बीच बाटोमा ट्याङ्की रित्तियो भने त बित्यासै पर्छ ।

‘के गर्ने त जयनाथजी ?’ सुझाव मागेँ ।

‘बरु फर्केर मेलम्ची बजार जाऔँ । पिप्लेमा पेट्रोल किन्न पाइन्छ रे भन्ने सुनेको थिएँ । ट्याङ्की भरेर भोलि त्यतैबाट सेर्माथाङहुँदै तार्केघ्याङ जाऔँला ।’

राम्रो आइडिया फुराए उनले ।

हो, बेलैमा बुद्धि नपुर्याए त गोता खान्छ ज्यानले ।

झर्यौँ उही ओरालो ।

०००

ऊ वेला चिसापानीबाट कुटुम्साङतर्फ पुगेका थियौँ, पदयात्राको दोस्रो दिन । चिप्लिङमै आइपुगेर लन्च तयार गरेका थिए, हाम्रा किचन टोलीले । कस्तो संयोग ! आज यही ठाउँमा आइपुगेर फर्कंदै छौँ । उन्नाईस वर्षअघि एक मलेसियन परिवारसँग गरेको पदयात्राका पलहरू सम्झनाका तरेली बनेर आइरहेका थिए, मेरो मस्तिष्कमा । उप्काएँ र सुनाएँ माधवजीलाई ती मधुर स्मृति–

चार जनाको परिवार थियो त्यो । आमा– जोयस लिम, छोरी– स्यू लिङ, छोरा– से लिम र बुहारी– जेनी वाङ । पिताको मृत्यु भएको वर्ष दिनपछि छोरा–बुहारी र छोरी मिलेर आमालाई पदयात्रा गराउन ल्याएका थिए । अत्यन्तै जाती थिए ती । आनै परिवारका सदस्यहरूलाई घुमाएजस्तै महसुस भएथ्यो मलाई ।

किचन टोलीका चारजना, भरिया सातजना, शेर्पा एकजना र मसमेत तेह्रजना नेपाली थियौँ । सात दिनका लागि आवश्यक रासन र बन्दोबस्तीका सामान लिएर सुन्दरीजलबाटै उकालो लागेका थियौँ । उति वेला ‘लजबेस’ ट्रेकभन्दा ‘क्याम्पिङ ट्रेक’ नै बढी चल्थ्यो । लजहरू खुलेको भए पनि ‘रिमोट’ र ‘आइसोलेटेड’कै रूपमा चिनिन्थ्यो हेलम्बु ।

पदयात्रा तालिकाका गन्तव्यहरू थिए– चिसापानी, कुटुम्साङ, ठाडेपाटी, तार्केघ्याङ, सेर्माथाङ र मेलम्चीपुल बजार ।

गुलभन्ज्याङको मिठो हावाले निकैबेर भुलाएथ्यो हामीलाई । ठ्याक्कै छ घण्टा लागेथ्यो, कुटुम्साङ (२,३०० मि.) पुग्न । हामी सरहै हिँडेकी थिइन् जोयस लिम । एकसठ्ठी वर्षको उमेरमा पनि निकै जोशिली देखिन्थिन् उनी !

‘माइ हजब्यान्ड वाज फन्ड अफ ट्रेकिङ । वि डिड माउन्ट किनाबालु ट्रेक टु इयर्स अगो । हि उड इन्जोय इफ हि वेर विथ अस ।’

वेलावेलामा सम्झिरहेकी हुन्थिन् उनी दिवंगत पतिलाई ।

उनी भन्थिन्– ‘यु नो, माइ सन् आस्क्ट मि ह्वेर टु ट्राभल दिस टाइम । आइ चुज द बर्थ प्लेस अफ लर्ड बुद्ध ।’

कुटुम्साङ आफैँमा एउटा भ्यू प्वइन्ट । अनगिन्ती भ्यू प्वइन्टहरू देखिन्थे यहाँबाट । नजिकै देखिन्थ्यो ३,७३१ मिटर अग्लो याङ्ग्री पिक । झनै नजिकिएका थिए, चिसापानीबाट देखिएका हिमालहरू । याङ्ग्री पिक उही आमा याङ्ग्री हुन् जसले समस्त हेलम्बुलाई रक्षा गर्ने विश्वास गरिन्छ । धार्मिक आस्था र विश्वासको कुरा न पर्यो !

सानो स्तुप छ– याङ्ग्रीको थाप्लोमा । फर्फराइरहेका थिए, श्वेत लुङ्दा र पञ्चरङ्गी लुङ्दरहरू । ल्होसारताका परेको हिउँका पत्रहरू बिलाइसकेका थिए । क्रमशः नाङ्गिँदै थिए– शिशिरभरि हिमालझैँ देखिने उच्च पहाडहरू ।

‘रानी राजराजेश्वरीलाई आमा याङ्ग्रीमै राखिएको थियो रे ।’ एक पथप्रदर्शकले  भने ।

थापा र पाँडेको खेल र राजाको अकर्मण्यता । ऊ वेलाको नेपालको राजनीति । इतिहासमा पढेको कुरा स्मरण भयो मलाई । वि. सं. १८६० मा काशीबाट काठमाडौँ फर्किए, भोगी राजा रणबहादुर शाह । उनलाई असहयोग गरेवापत दामोदर पाँडे काटिए । परिस्थितिले कोल्टे फेर्यो । सुवर्णप्रभाको ठाउँमा जेठी महारानी राजराजेश्वरी कैद हुन पुगिन् । त्यसपछि उनलाई पठाइयो हेलम्बु निर्वासनमा ।

पतिको मृत्युपछि किरिया बस्न हेलम्बुबाट काठमाडौँ फर्किएकी उनै राजराजेश्वरीले जालसाजीमा परी नौ दिनपछि सतीको रूपमा जिउँदै जल्नु प¥यो । सौताहरू सुवर्णप्रभा र ललित त्रिपुरासुन्दरीको चाल र भीमसेन थापाको तजबिज । रानी राजराजेश्वरी एक्लीको के लाग्नु !

उनी सती गएकी थिइनन्, पठाइएको थियो । आफैँमा प्राकृतिक न्याय विपरीत थियो सतीप्रथा । सती पठाउने नाममा रानीको निर्मम र अमानुषिक हत्या थियो त्यो । मनले पर्गेलिरह्यो नेपालको राजनीति । हुन त यो देशको वर्तमान राजनीति पनि त्यो वेलाको भन्दा के नै पृथक छ र ! लाजनीति, लुटनीति, छलनीति, ढाँटनीति र यस्तैयस्तै नीतिहरूको सुर्काउनीमा पल्टिने गर्छ, नेपालमा सत्ताको पासो ।

०००

प्रत्येक दिन बेलैमा यात्रा सुरु गर्थ्यौं हामी । साह्रै मिहिनेती थिए– देन्डी । बिहान सबेरै उठी सहयोगीहरूको साथ लिएर नास्ता तयार पारिसकेका हुन्थे । समयमै पालहरू पट्टयाउने र भरियाहरूको भारी मिलाइसकेका हुन्थे– शेर्पा (भरत कार्की) । क्याम्पिङ ट्रेकमा टेन्ट व्यवस्थापनको जिम्मेवारी लिनेको पद हो– शेर्पा । टिम वर्क हो– क्याम्पिङ टे«क । नत्र एउटाले ढिलो गर्दा सबै ढिलो भइजान्छ ।

सम्झन्छु– एकजना किचन ब्वाइको नाम पनि ‘देन्डी’ नै थियो । उनी थिए– कुक देन्डीका जेठानका छोरा । सामान्यतया क्याम्पिङ ट्रेकमा किचन टोलीको चाँजो कुकले नै मिलाउने गर्छन् । आनै मान्छेलाई पारेका रहेछन् उनले त्यो ट्रिपमा । कम उमेरका तर कामको लय समातिसकेका ।

प्रत्येक दिन बिहान म नउठ्दै कफी लिएर आउँथे उनी । र, भन्थे– ‘सरदार सा’प उठ् ! माइले काफी ल्यायो ।’

आफ्नै मिहिनेतको कमाइ खानु राम्रो भए पनि उनको उमेरको हिसाबले श्रम बेच्ने वेला भइसकेको थिएन । कस्तो बाध्यता ! गरिबको कुलमा जन्मनुको नियति भोगिरहेका थिए उनले । पकाउने भाँडाकुँडा र डाडुपन्यू समाइरहेका थिए, कलम समाउनुपर्ने उनका कलिला हातले । कलिलो थाप्लो कुच्याइरहेका थिए नाम्लोले । हुन त प्राण धान्नुजस्तो ठुलो कुरा के नै हुन्छ र मान्छेको जीवनमा ! प्राण थामिए शिक्षा भनेको त तपसिलको कुरा हो । विद्यालयको मुखै नदेखेको भएर होला, उनी यसैमा खुसी देखिन्थे । लाग्थ्यो– पढ्न नपरेकोमै खुसी छन् उनी । अलिखित पाठ्यपुस्तक हो जीवन आफैँमा र जिन्दगीभर चलिरहन्छ सिकाइ र भोगाइको क्रम । देन्डीकै बाटोमा हिँडेर जीवनको साधना गर्दै थिए उनी ।

नेपालीहरूले बालश्रम प्रयोग गरे भन्ने अर्थमा युरोपियनले नेपाली कार्पेट बहिष्कार गर्दा उद्योग नै धराशायी भएको थियो । कतै यो परिवारले आपत्ति जनाउने त होइन ? कदाचित् नेपालको पदयात्रामा बालश्रम प्रयोग हुन्छ भन्ने सन्देश लगे भने त भोलि व्यवसायमा नकारात्मक असर पर्छ । फेरि सोधिहाले भने के जवाफ दिने होला ? मनमा कुरा खेलाएथेँ मैले ।

ट्रेकिङभरिकै कठिन दिन थियो, थारेपाटी पुगेको दिन । उकालो लागेपछि तन्कन थाल्छन्, अघिल्ला दुईदिने हिँडाइले कुँज्याएका गोडा ।

हामी सुँघ्छौँ, गोब्रेसल्लो र धूपीको मिठो वासना । ओढ्छौँ, राष्ट्रिय फूलको छहारी । पुग्छौँ उच्चपहाड, पहाडहरूकै श्रेणी चढ्दै । परपर सर्छन्, हिजो–अस्ति आफैँले टेकेका पहाडका धारहरू । रोकिन्छौँ, युरिनडाँडाको बार्दली पुगेर । आहा ! क्या सानदार दृश्य हिमशृङ्खलाको ! क्या अनमोल सिर्जना प्रकृतिको !

कतैकतै कुनाकाप्चामा अझै थियो, पग्लन बाँकी हिउँ । महिना दिनअघि आएको भए त हिउँ कुल्चन पाउने रहेछौँ ।

‘योर कन्ट्री ह्याज माउन्टेन्स एन्ड स्नो । वि ह्याव नाइदर माउन्टेन नर स्नो । वि ह्याव थ्री सिजन्स; दे आर– हट, हटर एन्ड हटेस्ट ।’ सिसाजस्तै हिउँको डल्लो हातले उचाल्दै से लिमले भने ।

‘योर कन्ट्री इज कनेक्टेड टु द ओसन एन्ड ह्याज डिभेलप्मेन्ट । बट वि ह्याभ नो डिभेलप्मेन्ट ।’ मैले भनेँ ।

नेपालको प्रकृतिमा उनीहरू लोभिन्छन् । मलेसियाको विकासमा म लोभिन्छु । म उनीहरूको तारिफ गर्छु, उनीहरू हाम्रो ।

०००

३,५०० मिटरमा पुग्न त हामीलाई यति कठिन भइरहेको छ भने कस्तो भएथ्यो  होला तेन्जिङ र हिलारीलाई सगरमाथाको चुुचुरोमा पुग्न ! सम्झिरहेको थिएँ ती दुई मानवलाई । समस्त मानवजातिका लागि सर्वाधिक गौरवको दिन थियो, सगरमाथालाई जितेको त्यो दिन अर्थात् सन् १९५३ मे २९ । त्यसैले तसगौरव गाउँथ्यौँ हामी धर्मराज थापाको यो गीत–

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

गम्केर बज खैँजडी झम्केर नाच मुजुरा………’

सीधासाधा श्रमजीवी थिए तेन्जिङ । अघिल्लो वर्ष ८,००० मिटरको उचाइसम्म पुगेवापत नेपाल प्रतापवद्र्धक पदकले विभूषित उनी सगरमाथाको सफल आरोहणपछि एकाएक ‘सेलिब्रिटी’ बनेका थिए । उनको नाम लिँदा गौरव महसुस हुन्छ हामी नेपालीलाई । यति ठुलो ख्यातिको कत्ति पनि घमण्ड थिएन उनलाई । दुःखको कुरा– ‘म नेपाली हुँ, मेरो हाड, मासुु र रगत नेपालको माटोले बनेको होे’ भन्ने उनले नेपाली नागरिकता भने पाएनन् । बरु भारतबाट पाए न्यानो स्नेह । भारतबाटै पाए उनले बेलायत जाने पासपोर्ट ।

कहीँ थिएन स्थायी बस्ती । मङ्गेन गोठ पुगेपछि मात्र एउटा अस्थायी पसल भेट्यौँ । अगेनुमा पिँधभरि कालो मोसो कट्कटिएको चियादानी र तख्तामा बिस्कुट, चाउचाउ र चुरोटको पासो थापेर ग्राहकको पर्खाइमा थिए एक अधबैँसे ।

‘एक पुरी बिस्कुटको कति हो ?’ मेरो प्रश्न ।

‘दश रुप्पे ।’

तीन पाकेट ग्लुकोज बिस्कुट किनेँ र बोत्तलमा पानी भरेँ ।

‘दाइको घर कहाँ हो ?’

‘कुटुम्साङ ।’

‘हरेकदिन कुटुम्साङ आउनेजाने गर्नुहुन्छ ?’

‘साथे आयो भाने यहीँ बस्छ । नत्र घरै जान्छ । अफ सिजनमा त पसल त्याति चाल्दैन । घरमै बस्छ । खेतिपाती गर्छ । यस्तै छ दाजु ।’ दिनचर्या बताए उनले ।

कुस्त हिँड्यौँ । पूर्व क्षितिज अँध्यारिँदै थियो, थारेपाटी(३,५०० मि.) पुग्दा । यात्राभरिकै सबैभन्दा उचाइमा पुगेकाले हर्षबढाइँ थियो, समुद्र सतहबाट आएका ती परिवारमा । हेलम्बुको पहिलो यात्रा भएकोले खुसी थिएँ म आफैँ पनि । मेरो जीवनको दोस्रो पदयात्रा थियो यो । र, जीवनमै पहिलो पटक चुम्दै थिएँ, म त्योे उचाइ । मेरै लागि पनि सगरमाथा आरोहणभन्दा कम थिएन यो अनुभूति ।

उकालोले गलाए पनि स्फूर्ति भरिदिएको थियो मलाई मन्द सिरेटोले । गर्वानुभूति हुँदै थियो प्रकृतिको रङ स्पर्श गर्दा । सामुन्ने उभिएको थियो, अजङ्गको कालो पहाड ।

‘उः त्यही हो घोप्टेभीर । तल छ– घोप्टे । गोसाइकुण्डबाट लौरीविना ला पारगरेर आउने डगर त्यही हो ।’ औँलाले देखाउँदै देन्डीले जानकारी गराए मलाई ।

जोखिमपूर्ण छ लाङटाङ पदयात्राको यो खण्ड । प्रत्येक पाइलामा चुच्चे ढुङ्गासित मितेरी लगाउनुपर्छ, जुत्ताका तलुवाले । केही गरी चिप्लिहाले चिप्लन्छ जीवन । तैपनि साहस गर्छन्, साहसिक पदयात्रीहरू । अन्यथा कसरी चल्नु र नेपालको ट्रेकिङ व्यवसाय !

अपरिचित मान्छेसँग जम्काभेट हुँदाझैँ मौन देखिन्थे, भीमकाय लेकाली भीरहरू । शालीन देखिए पनि निर्मम छ घोप्टेभीर । सन् १९९२ जुलाई ३१ का दिन सिङ्गै थाइ एअरबस निलेको थियो यसले । एक सय तेह्र यात्रीले जीवन गुमाएका थिए, त्यो दुर्घटनामा । कुनाकाप्चामा अझै दखिन्थे छरिबरी भएका जहाजका अवशेषहरू । बिरक्तिएथेँ म, त्यो त्रासदीपूर्ण दुर्घटना सम्झेर ।

चैतको धूपले पनि गर्मिएको थिएन थारेपाटी ! हिमालबाट आएको चिसो बतासलाई थेगेन मेरो एकपत्रे फ्लिस ज्याकेटले ।

भट्टीमा गएँ म आगो ताप्न ।

भोलिपल्टको यात्रा तार्केघ्याङ अर्थात् हेलम्बु क्षेत्रको । गोसाइकुण्ड जाने डोरेटो छाडेर दाहिनेतर्फ तेर्सियौँ । ओरालै ओरालो । जङ्गलै जङ्गल । क्या अद्भुत आनन्द दिएथ्यो, गुराँसे जङ्गलले ! आकाशलाई लोभ्याइरहेझैँ लाग्थ्यो, धर्तीमा पुष्पित गुराँसले । आनन्दकै श्वास फेरिरहेका थिए, आकाशमा कावा खाएका पन्छीहरूले । गुराँसको रङ बोकेर फुर्रफुर्र गरिरहेका थिए– रङ्गीबिरङ्गी पुतलीहरू । फूलविना त्यति धेरै कहाँ रमाउँथे होलान् र ती ! पलपलमै बदलिइरहेझैँ लाग्थ्यो प्रकृतिको ढाँचाकाँचा । रोमाञ्चक थिए, पाइलैपिच्छेका दृश्यहरू ।

गुराँसेपाखाबाट झरेपछि मेलम्ची खोला त¥यौँ । दशक बितिसकेको थियो, मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा चलेको । कामको सुरसार केही देखिएन । अमृतमय मेलम्चीमा हात चोबल्दै भनेथेँ– ‘छिट्टै आऊ है काठमाडौँमा !’ साँच्चै मोहित भएथेँ म छङ्छङिदो मेलम्चीको कञ्चन र तेजिलो बहावले ।

त्यसपछि आयो मेलम्चीगाउँ । खोलाको नाम र गाउँको नाम एउटै । जङ्गलबीचको आवादी भूमि । पहराले च्यापेको मेलम्ची गाउँको मोहले अगाडि बढ्न मानेको थिएन मेरो पाइला ।

किचन टोलीले लन्च तयार गरुन्जेल गाउँको अवलोकन गराएँ मैले लिम परिवारलाई । यतै बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो मनमा । तर आफूले मात्र चाहेर नहुने !

०००

‘होप, रेस्ट अफ द ट्रेल इज इजियर !’

मेलम्चीगाउँ छाड्नुअघि स्यू लिङले भनिन् ।

घुँडा दुखेर ओरालो हिँड्न कठिन हुँदा मैले थामेको थिएँ उनको हात । फलामको च्यूरासरि भइसकेको थियो ती नवयौवनालाई पदयात्रा ।

‘नो मेजर अपहिल ! यु क्यान डु इट इजिली !’ उत्साह भर्ने कोसिस गरेँ मैले ।

‘चुत्रो त पाक्यो फुलबिङको लेकमा

अम्बा त पाक्यो दोभानमा

खेलौँ न माया ओहोरी–दोहोरी

तेरोमेरो कलिलो जोवनमा………..’

तार्केघ्याङ नपुगुन्जेल लोकभाकामा गुन्गुनाइरहेथे देन्डी । उनी ओखलढुङ्गामा जन्मेका शेर्पा । ट्रेकिङ पेसामा लाग्दा बाहुन–क्षेत्रीको सङ्गतमा परेर यस्ता थुप्रै गीत सिकेका रहेछन् उनले । शेर्पा भएर के गर्नु ! अति चलाख । र, त सबैले भन्थे– ‘शेर्पाहरूको बाहुन हो देन्डी ।’

देन्डीले नजानेको र नसक्ने काम के छ र ! ट्रेकिङ गाइड र कुक त उनको पेसा नै हो । आरोहण दक्षता पनि छ उनीसँग । हिमालचुलीमा पुगेर नेपाली झन्डा फहराउने एउटा तातो मुटु पनि हुन् उनी ।

तार्केघ्याङ पुगेपछि उज्यालिएको थियो स्यू लिङको मुहार ।

मैले सोधेँ– ‘हाउ आर यु, स्यू लिङ ?’

‘आइ एम याब्सोफ्रिकिनल्युट्ली फाइन ।’ स्मित मुस्कानसहितको जवाफ दिइन् उनले ।

सिन्धुपाल्चोकको सबैभन्दा अन्तिम गाउँ । ह्योल्मोहरूको बस्ती । आमा याङ्ग्रीको काख । बिछट्ट सुन्दर छ– तार्केघ्याङ । गाउँको बीचतिर छ– श्वेत छ्योर्तेन । घरघरमा फहराइरहेका छन्– बौद्धमार्गीका निशानी । भुइँतला(होकाङ) र माथिल्लो तला(साकाङ) भएका एकनासका घरहरू । घरका झ्याल (कार्कुङ) र ढोका(घो)मा आकर्षक बुट्टा कुँदिएका । यस्तो नमुनालाई ‘मिर्चा कुम्बा’ भन्दारहेछन्, स्थानीय भाषामा ।

भुइँ तलामा खाना खाने, सुत्ने र पूजापाठ गर्ने ठाउँ । काठको भुइँ, काठको भित्ता र काठकै सिलिङ । भान्सा कोठाको दराज(छिटी)मा लोभलाग्दो गरी सजाइएका भाँडाकुडा । कोठाको सौन्दर्य थपेको छ खाना खाने होचो टेबल(सोल्जो)ले ।

कति मनोहारी बस्ती ! कति राम्रो रीतिरिवाज ! कति चित्ताकर्षक जीवन शैली ! कति सुन्दर सजावट !

‘मिर्चा कुम्बा उतार्न सम्भव नभए पनि एकएक थान बुट्टेदार सोल्जो र छिटीमात्र भइदिए सौन्दर्य बढ्ने थियो मेरो घरको ।’ मनोलाप गरेथेँ मैले ।

पारि डाँडाबाट घाम झरेपछि पाँच सय वर्ष पुरानो चिरी गुम्बामा छिरेका थियौँ हामी । तिब्बतबाट ल्याइएका रे गुम्बाभित्रका कलात्मक मूर्तिहरू ।

गुम्बा प्रवेश गर्नेबित्तिकै मस्तिष्कमा उत्रन्छन् बुद्ध धर्मको प्रणेताका शाश्वत सन्देशहरू । दिमागलाई गुम्बाभित्रै एउटा कुनामा बिसाएर बुद्धलाई अझ बुझ्ने कोसिस गर्छु म । र, महसुस गर्छु– शब्दातीत कुरा पो रहेछ बुद्धत्व । बुझ्न त निस्फिक्री समय लाग्दोरहेछ । एकत्र गराउन सक्नु पर्दोरहेछ शून्य आकाशमा आँखालाई । यस मानेमा कि, बुद्धपद भनेको त अनुभूति हुने स्थिति हो । यो त अन्तरमनमा महसुस हुने कुरा हो; त्यो पनि खास अवस्थामा मात्र ।

जोयस लिमले सङकल्पसहित दीपदान गरिन् दिवंगत पतिको नाममा । चिनियाँ मूलकी मलेसियन हुन् उनी । यसरी दीप प्रज्वलन गर्दा मृतकले सद्गति प्राप्त गर्छ भन्ने हामीमा जस्तै विश्वास छ उनमा पनि । उनले केहीबेर प्रार्थना गरेपछि क्याम्पमा फर्केका थियौँ हामी । भोलिपल्ट सेर्माथाङमा बास बसेर अर्को दिन मेलम्ची पुल बजार झ¥यौँ । ठ्याक्कै एक हप्ता लागेको थियो हामीलाई हेलम्बुको यात्रा तुर्र्न ।

मेरा अविस्मरणीय यादहरू सुनिरहेका माधवजी उत्साहित हुँदै बोले– ‘त्यहाँ पुग्न आतुर छु म ।’

शरीरमा थकाइ थप्दै छ उबडखाबड सडकले । पिरो भएर दुख्न थालिसकेको छ मेरुदण्ड । यस्तै हो भने भोलि बाइक चलाएर तार्केघ्याङ पुग्न सकिएला त ? मेलम्चीबजार पुगेपछि दुखेको ज्यानलाई इलाज गर्ने निर्णयमा पुग्छु म । साथ दिने जयनाथजी छँदै छन्, के भो र !

थकनी क्षेत्रको सडक छेउ ठाउँठाउँमा स्थानको नाम लेखिएका साइनबोर्ड ठड्याइएका छन् । पिप्ले पुग्नुअघि ‘देवीस्थान’ र ‘साल्मे’ लेखिएको बोर्डलाई मोबाइलमा कैद गरे माधवजीले ।

अर्को साइनबोर्ड आयो ।

लेखिएको थियो– ‘वेलकम टु सिनो हाइड्रो कर्पोरेशन लिमिटेड, मेलम्ची वाटर प्रोजेक्ट ।’

अलपत्र परेका उपकरणहरू थिए, सडक किनारमा । ती थिए– इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका उपकरणहरू ।

इटालियन कम्पनीले ०७५ मंसिरमा छाडेर गएपछि सम्झौता भएको थियो चिनियाँ कम्पनी सिनो हाइड्रोसित । सीएमसीले छाडेको एघार महिनापछि बाँकी काम थालेको थियो सिनो हाइड्रोले । राष्ट्रिय गौरवको आयोजना हो यो । यसो चासो त भइहाल्ने ! त्यसमाथि पनि पानीको प्यासले छटपटाइरहेको काकाकुल काठमाडौँको बासिन्दा न परेँ म !

एकछिन रोकिएर कामदारको पोसाकमा उभिएका कर्मचारीसँग भलाकुसारी गरेँ मैले ।

‘अब कति समय धैर्य गर्नुपर्ला काठमाडौँबासीले ?’

‘बढीमा तीन महिना ।’

‘कति काम बाँकी छ ?’

‘सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको जिम्मा लिएको हो यो कम्पनीले । काम अन्तिम चरणमा पुगेको छ ।’

‘मेलम्चीको पानी’ भन्दाभन्दै आधा जीवन बितिसकेको थियो । अलिकति भने पनि आशा जगायो, उनको कुराले ।

रसिला छन् यहाँका पहाडहरू । भरिला छन् खेतका गह्राहरू । सिन्धुखोलाको कमाल । गहँ र तोरीबारी लुकामारी गरिरहेका छन् घामसित । हाँसिरहेको छ, यहाँको जीवन ।

पिप्ले पुगेर पेट्रोल भरेपछि हतारिएथ्यौं हामी । अँध्यारोमा पनि जगमगाइरहेको थियो मेलम्चीपुल बजार, बिजुलीको उज्यालोले ।

(डंगोलको नियात्रासंग्रह ‘पैतालमा हिउँ, आँखामा हिमाल’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?