+
+

कनिष्ठ एआईजी निमित्त प्रहरी प्रमुख बन्दा उच्च अधिकृतहरु रुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते २०:०८
प्रहरी महानिरीक्षक क्षेत्री (बायाँ), एआईजीहरु हरिबहादुर पाल र निरजबहादुर शाही (दायाँ) ।

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

बिहीबार महानिरीक्षक क्षेत्री भारत भ्रमणमा जाँदा दोस्रो वरियताका एआईजी हरिबहादुर पाल, तेस्रो वरियताका निरजबहादुर शाहीलाई छाडेर चौथो वरियताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए ।

आईजीपीले कार्कीलाई निमित्त प्रमुखको जिम्मा दिएपछि पाल र शाही आईजीपी क्षेत्रीसँग रुष्ट बनेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

क्षेत्रीले चौथो वरियताका कार्कीलाई जिम्मेवारी दिएका बेला एआईजी पाल र शाही विदा बसेका थिए । पाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन् भने शाही राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् । निमित्त प्रहरी प्रमुख बनेका कार्की भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

सामान्यतयाः आईजीपीको अनुपस्थितिमा दोस्रो वरियताका अधिकृतलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिने चलन छ । सर्वेन्द्र खनाल महानिरीक्षक हुँदा दोस्रो वरियताका एआईजी पुष्कर कार्कीसँग गम्भीर तिक्तता हुँदासमेत उनले कार्कीलाई नै निमित्तको जिम्मेवारी दिएका थिए ।

तर सामूहिक निर्णय गरेर अघि बढ्ने भनेका आईजीपी क्षेत्रीले चौथो वरियताका अधिकृतलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि उनका ब्याचीसमेत रहेका एआईजीहरुसँग उनको मतभेद देखिएको छ ।

आगामी ७–९ मंसिरसम्म टर्कीमा हुने इन्टरपोलको कार्यक्रममा सहभागी हुन आईजीपी क्षेत्री र एआईजी कार्की त्यसतर्फ जाँदैछन् । ‘यही हिसाबले जुनियर ब्याचको विश्वराज पोखरेललाई त्यतिबेला निमित्त प्रमुखको जिम्मेवारी दिने देखियो’ एक उच्च अधिकृत गुनासो गर्छन् ।

तर आईजीपी क्षेत्रीको सचिवालयका एक उच्च अधिकृतले चाहिँ प्रहरी प्रधान कार्यालयमा ‘जो सिनियर छ, उसैलाई निमित्तको जिम्मेवारी’ दिने चलन अनुसार कार्कीलाई जिम्मा दिइएको बताए ।

महानिरीक्षक हुनुअघि क्षेत्री र पालले एउटै गाडी चढेर एक कार्यक्रममा गएर आफूहरुमध्ये जो आईजीपी भए पनि फरक नपर्ने सन्देश दिएका थिए । प्रहरीको नेतृत्वमा आएको सुरुतिरै क्षेत्रीले संगठनका हरेक निर्णय सामूहिक छलफलबाट गर्ने गरेका थिए ।

तर कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा ब्याचीहरुसँगै उनको सम्बन्ध बिग्रिएको देखिएको छ । निमित्त प्रहरी प्रमुखको हैसियतमा एआईजी कार्कीले शुक्रबार सरुवा भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई निर्देशन दिएका थिए । कार्यक्रममा उनीहरुभन्दा एक ब्याचले कनिष्ठ एआईजी विश्वराज पोखरेल र सहकुल थापा मात्र सहभागी भएका थिए ।

महानिरीक्षक र प्रतिष्पर्धी एआईजीबीच सधैँ तिक्तता

प्रहरी महानिरीक्षकमा एक जना अधिकृत नियुक्त हुने वित्तिकै निकटतम प्रतिष्पर्धीसँग सधैँ तिक्तता हुने गरेको छ । यसपटक आईजीपी क्षेत्री र पालबीच सुमधुर सम्बन्धी रहने विश्वास गरिएको थियो । तर हाल दुईबीचको तिक्तता सार्वजनिकरुपमै देखिन थालेको छ ।

सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि दोस्रो वरीयतामा रहेका एआईजी पुष्कर कार्कीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । सर्वेन्द्र खनाल आईजीपी हुने वित्तिकै अर्का प्रतिष्पर्धी रमेश खरेलले त राजीनामा नै दिए । खनालअघि प्रकाश अर्याल आईजीपी भएका बेला प्रहरीले सबैभन्दा बढी बदनामी व्यहोर्नुपरेको थियो ।

जयबहादुर चन्दलाई सरकारले आईजीपीमा बढुवा गरेसँगै प्रतिष्पर्धी नवराज सिलवालले अदालतमा मुद्दा दायर गरे । त्यसपछि सरकारले तेस्रो वरीयताका अर्याललाई नेतृत्व सुम्पियो । सिलवालले पुनः आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर अदालतले खारेज गरिदिएसँगै सिलवालले राजीनामा दिए ।

त्यसअघि उपेन्द्रकान्त अर्यालका पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय नै टेकेनन् । उनले बाँकी कार्यकाल राष्ट्रिय सुरक्षा परिषद्मा बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?