+
+

जलवायु परिवर्तनको असर किसानको खेतबारीमा

कल्पना भट्टराई कल्पना भट्टराई
२०७८ कात्तिक ३० गते १२:४४

३० कात्तिक, काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–११ का योगेन्द्र महतोले तीन वर्ष अघिसम्म एक बिघा खेतमा २० क्वीन्टल बोडी फलाउथे । यो वर्ष भने त्यसको एक चौथाइ मात्रै फल्यो । बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म धेरै पानी परेपछि उत्पादन घट्यो । यो वर्ष विगतमा जसरी सिमी पनि राम्रोसँग फलेको छैन । बोट पहेंलो भएर कीरा लाग्दा उत्पादन धेरै नहुने योगेन्द्रको बुझाइ छ ।

यसपालि काउली पनि राम्रोसँग सप्रिएन । पानी धेरै परेकाले बेर्ना सप्रिन नपाउँदै खेतमै खेर गयो । टमाटरका बिरुवा पनि खेतमै डुबे । केही कुहिए । उनी भन्छन्, ‘यो वर्ष खेती गर्दा लागेको खर्च पनि नउठ्ने भयो । गाउँका सबै कृषकको हलत यस्तै छ ।’

तरकारीको पकेट क्षेत्र मानिएको लालबन्दी, ईश्वरपुर, हरिऔन लगायत गाउँमा करीब एक हजार किसानले तरकारी खेती गरेका छन् । यहाँको तरकारी बोडी, सिमी, काउली, भिन्डी, परवल र टमाटर काठमाडौं, पोखरा, विराटनगर, बुटवल, नेपालगञ्ज लगायत ठाउँमा जाने गरेको छ ।

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको विवरण अनुसार वार्षिक दुई अर्ब रुपैयाँ माथिको तरकारी बाहिरी जिल्लामा निर्यात गर्ने यहाँका स्थानीयवासीले पुस्तौंदेखि तरकारी बेचेर आफ्नो जीवन धान्दै आएका छन् । पछिल्लो पटक मौसममा आएको फेरबदलले उत्पादन राम्रोसँग नहुँदा कृषक उत्साहित छैनन् ।

रामउदगार महतो

२५ वर्षदेखि तरकारी खेती गर्दै आएका लालबन्दीका ५८ वर्षीय रामउदगार महतोले पनि यो वर्ष नसोचेको क्षति व्यहोर्नु पर्‍यो । पानीले टमाटरका सबैजसो बोट खेर गए । ६ कात्तिक २०७८ मा खेतमा भेटिएका रामउदगार पानीले मरेका टमाटरको बिरुवा उखेल्दै थिए । महतो भन्छन्, ‘केही बिरुवा मात्रै बाँचेका छन् ।’ १३ लाख रुपैयाँ ऋण लिएर तीन बिघामा तरकारी खेती गरेका महतोलाई मौसममा आएको फेरबदलले निराश बनाएको छ ।

तीन वर्षअघि कट्ठामा एक लटमा दुई क्वीन्टल टमाटर फलाउने महतो त्यसपछिका वर्षहरूमा भने क्रमशः उत्पादन घट्दै गएको बताउँछन् । ‘पोहोर साल टमाटरका लागि राम्रो मौसम थियो तर, कीरा धेरै लाग्यो, त्यसपछि टिप्नै सकिएन ।’ मौसमले साथ दिएमा कट्ठामै डेढ क्वीन्टल बढी टमाटर फलाउन सकिने उनको भनाइ छ । महतोको अनुभवमा पछिल्ला वर्षहरूमा तरकारीमा कीरा र रोगको प्रकोप बढेको छ । त्यसैले पनि उत्पादन घटेको उनको बुझाइ छ । गत वर्ष उनको बारीमा बोडी आधा क्वीन्टल मात्रै फल्यो, जबकि त्योभन्दा अघिल्लो वर्ष त्यति नै ठाउँमा एक क्वीन्टल फलेको महतो बताउँछन् ।

लालबन्दीकै भीमबहादुर गोलेको अवस्था पनि फरक छैन । गोले भर्खरै आएको बेमौसमी पानीले टमाटरको बोट मर्न थालेपछि औषधि छिटिरहेको अवस्थामा भेटिए । लगातारको पानीले चुटेपछि केही बिरुवा ओइलाएका र मरेको जस्तो देखिन्थे । गोले थप्छन्, ‘औषधि छिटे पनि सप्रिन्छ कि सप्रिंदैन थाहा छैन । एक बिघा क्षेत्रफलमा टमाटर लगाएको थिएँ यो वर्ष घाटा भयो ।’

कहिले बढी पानी तथा कहिले सुक्खा जस्ता मौसमको असमान प्रवृत्ति बढ्दै जाँदा र तिनले निम्त्याएको विपद्को असर समग्र खेतीपातीमा परिरहेको छ । भविष्यमा त्यो थप बढ्दै जाने आकलन छ ।

यो वर्ष उनको बारीको सिमी पनि बोटमै मरे । उनको अनुभवमा पछिल्ला दुई वर्षमा मौसम परिवर्तन हुने, कीरा लाग्ने र बोट पहेंलो हुँदा दाना पनि पहेंलो हुने समस्या देखिएको छ । तरकारीको बोट पहेंलो हुँदै जाने र दाना समेत पहेंलो हुँदा बजारमा बिक्री गर्न समेत समस्या हुने उनको गुनासो छ । तरकारीमा कीराको प्रकोप बढ्दा हटाउन धेरै विषादीको प्रयोग गर्नु परेको उनी बताउँछन् । तीन वर्षअघि ६ लाख रुपैयाँ वार्षिक बचाउने गोलेको बचत अहिले दुई लाखमा झरेको छ ।

लालबन्दीमा उत्पादन हुने ५० प्रतिशत टमाटर देशका विभिन्न ठाउँमा जाने गरेको छ । पछिल्लो तीन वर्षमा टमाटर लगायत तरकारी उत्पादन ३० प्रतिशतले घटेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक वासु घिमिरे बताउँछन् । पछिल्लो समय मौसममा हुने फेरबदल, कीराको प्रकोप र पहेंले रोगको प्रकोपले गर्दा उत्पादनमा गिरावट आएको उनको बुझाइ छ ।

समितिको तथ्याङ्क अनुसार, पछिल्ला दुई वर्षमा तरकारी उत्पादनमा धेरै गिरावट आएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ९५ लाख ६७ हजार १३५ टन तरकारी उत्पादन भएको थियो । आव २०७७/७८ मा ३ करोड ९० लाख ७६ हजार ९६१ टनमा झरेको छ । केन्द्रीय तथ्याङ्क विभागको सन् २०१६ को जलवायु परिवर्तनको असर सम्बन्धी सर्वेक्षणले किसानले पछिल्ला वर्षहरूमा बालीनालीमा क्रमशः ६०.२५ प्रतिशत नयाँ रोग र ६६.९ प्रतिशत कीराको प्रकोप देखिएको बताएका छन् ।

अत्यधिक वर्षा र सुक्खा

जल तथा मौसम विज्ञान विभागका अनुसार २५ असोजबाट मनसुन बाहिरिए पनि यो वर्ष सरदर भन्दा करीब १५ प्रतिशत धेरै वर्षा भयो । कैयौं स्थानमा त सरदर भन्दा कैयौं गुणा बढी वर्षा र पटक–पटक ठूलो वर्षा पनि भयो ।

सामान्यतया नेपालमा १० जूनमा मनसुनी प्रणाली भित्रिएर सेप्टेम्बर अन्तिमसम्ममा बाहिरिने गर्थ्यो । तर, पछिल्ला वर्षहरूमा मनसुन ढिलासम्म लम्बिंदै गएको विभागको विवरणबाट बुझ्न सकिन्छ । बितेको डेढ दशकमा सन् २०१२ मा मात्रै सेप्टेम्बर महीनामै (२८ सेप्टेम्बर) मनसुन रोकिएको थियो । यो वर्षलाई छोडेर अरू हरेक वर्ष मनसुनी वर्षा अक्टोबरसम्म धकेलिंदै आएको छ । धेरैजसो वर्ष त यो अक्टोबर दोस्रो सातासम्म लम्बिएको छ ।

वर्षायाममा बढी पानीले दुःख दिए पनि गत हिउँदमा त्यसको ठीक उल्टो पानी नै नपरेपछि बालीनाली बिग्रियो । हिउँदका करीब ६ महीना त देशभरि पानी नै परेन । मनसुन सकिएपछि माघको चौथो साता मात्रै वर्षा भएको थियो । हिउँदमा सामान्यतया सरदरमा ६०.९ मिलिमिटर पानी पर्छ । तर, गत हिउँदमा १५.४ मिलिमिटर मात्रै पानी परेको थियो ।

मौसमविद्हरूका अनुसार पछिल्ला वर्षहरूमा गर्मी महीनाहरूमा हिन्द महासागर र बंगालको खाडीबाट पानी बोकेर आउने मनसुनी वायुको चरित्र अनुमान नै गर्न मुश्किल बनिरहेको छ । यही बदलिंदो मनसुनी चरित्रका कारण किसान झुक्किने गरेका छन् । कहिले बढी पानी तथा कहिले सुक्खा जस्ता मौसमको असमान प्रवृत्ति बढ्दै जाँदा र तिनले निम्त्याएको विपद्को असर समग्र खेतीपातीमा परिरहेको छ ।

भविष्यमा त्यो थप बढ्दै जाने आकलन छ । संयुक्त राष्ट्रसंघको विश्व जल विकास रिपोर्ट २०२० ले जलवायु परिवर्तनले विश्व खाद्य उत्पादनको तरीकालाई पूरै बदलिदिने र त्यसले विपन्न नागरिकको जीवनमा संकट ल्याउने चेतावनी दिएको थियो ।

मर्कामा कृषक

काठमाडौं लगायत देशका विभिन्न ठाउँमा तरकारी निर्यात गर्ने सर्लाही लालबन्दी, ईश्वरपुर, हरिऔन नगरपालिकामा पनि यस वर्षको मनसुनमा धेरै पानी पर्दा यहाँका किसान मर्कामा परे । तर, धानबालीलाई भने फाइदा नै भयो । पानी पर्याप्त परेका कारण यो वर्षको धान उत्पादन बढ्ने अनुमान थियो । तर, मनसुन बाहिरिएको एक साताभित्रै स्थिति एकाएक बदलियो । असोज मसान्तबाट लगातार पर्न थालेको झरीले देशभरिको धानबालीलाई ठूलो नोक्सान गर्‍यो । काटेर खेतमा सुकाइएको धान पानीमा डुब्यो, नकाटिएको धान पनि हावाहुरीले ढालिदियो । कैयौं स्थानमा धानका खेत नै भेलले कटान गर्‍यो ।

कृषि विभागका अनुसार प्रदेश–२ का ८ वटै जिल्ला धानका लागि पकेट क्षेत्र हुन् । प्रदेश–२ मा ११ प्रतिशत धानबाली नष्ट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शाखाले जनाएको छ । धानखेती हुने कुल ४ लाख ३ हजार १६४ हेक्टर जमीनमध्ये ४८ हजार ६८४ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ । कृषि शाखाका अनुसार धानसँगै तरकारी र फलफूल बालीमा समेत क्षति भएको छ ।

यस वर्ष प्रदेश–२ का जिल्लामा ५८ हजार ५०० हेक्टरमा धानखेती गरिएको थियो । समयमै पानी परेको तथा मलखादको व्यवस्था पनि भएकोले यस वर्ष सरदर प्रतिहेक्टर २.५ मेट्रिक टन धान उत्पादन हुने अपेक्षा थियो ।

कृषि विज्ञका अनुसार धानबालीसँगै वार्षिक कृषि चक्र समेत प्रभावित हुने भएकोले अन्नबाली थप प्रभावित हुन सक्छ । कात्तिकसम्म मसुरो, आलु, केराउ, मटर, चना, तोरी लगायत बाली लगाउनुपर्ने हो । कात्तिकदेखि मंसीरसम्म गहुँ लगाइसक्नुपर्छ । त्यतिबेलासम्म खेतमा अत्यधिक चिस्यान हुन्छ । स्वाभाविक रूपमा ती बाली लगाउन ढिला हुन्छ । अनि उत्पादन घट्छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहका अनुसार, अहिले प्रदेश–२ का जिल्लामा उत्पादन घटेको छ । मौसमको फेरबदलबाट उत्पन्न समस्याका कारण कृषक समस्यामा परेका छन् । उनी भन्छन्, ‘कृषकले मार खेपेका छन् भन्ने थाहा हँुदा पनि उनीहरूको भरथेग हुने गरी कार्यक्रम ल्याउन सकेका छैनौं ।’

देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ योगदान गरेको कृषि उत्पादनको करीब २० प्रतिशत हिस्सा धानबालीले ओगटेको छ । त्यसैले धानबालीमा पुग्ने असरको मार किसानलाई मात्रै नपरी देशको अर्थतन्त्रलाई पर्ने देखिन्छ ।

धान काट्ने मौसममा विगत वर्षमा पनि वर्षा नभएको होइन, तर खेतै डुब्ने गरी र निरन्तर झरी पर्दैनथ्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन पश्चात्का दुई महीना (अक्टोबर र नोभेम्बर)मा नेपालमा औसत ७३.८ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष मनसुन सकिएको दुई साताभित्रै करीब २६१ मिलिमिटर पानी पर्‍यो जुन औसतभन्दा साढे तीन गुणा धेरै हो । प्रकोपमा परी ११८ जना व्यक्तिले ज्यान गुमाएका छन् । खेतीपाती, पूर्वाधार आदिमा पनि ठूलो क्षति पुग्यो ।

सत्यनारायण चौधरी

रौतहटको चन्द्रपुर नगरपालिका–७ बनबोरहीका कृषक सत्यनारायण चौधरी धान काट्दा मौसम सफा भएकाले पानी पर्छ भन्ने अनुमान लगाउन नसकेको बताउँछन् । २० वर्षदेखि धानखेती गरेका सत्यनारायण अहिलेसम्म यति धेरै पानी परेको थाहा नपाएको बताउँछन् । उनी भन्छन्, ‘एक बिघामा लगाएको धानखेती त यो वर्ष सखापै भयो, वर्षभरि खाने अन्न त्यही थियो ।’

पर्याप्त वर्षा भएका कारण यसपटक धान राम्ररी फलेको पनि थियो । तर, १ कात्तिक २०७८ देखि पर्न थालेको पानीका कारण उनले धान भित्र्याउनै पाएनन् । ‘लगातारको पानीले खेतमै धान उम्रियो’, उनी भन्छन् ।

बनबोरहीकै सहेदा खातुनले पनि एक बिघा खेतको धान पानीमा डुबेपछि भित्र्याउन पाइनन् । ४० हजार रुपैयाँ खर्च गरेर लगाएको धान पूरै कुहिएर काम नलाग्ने भएको उनको भनाइ छ ।

जलवायु परिवर्तनको असर कृषिमा

एक दशकअघिको राष्ट्रिय कृषि गणना २०६८ का अनुसार नेपालमा ३८ लाख ३१ हजार किसान परिवार छन् । यो देशको कुल घरपरिवारको करीब दुई तिहाइ हो । गणनाका अनुसार, कुल किसान घरपरिवारमध्ये करीब ४० प्रतिशत अर्थात् १५ लाख ३२ हजार परिवारलाई मात्र आफ्नो कृषि उब्जनीले खान पुग्छ ।

राष्ट्रिय योजना आयोगका अनुसार, देशमा गरीबीको रेखामुनि रहेको जनसंख्या करीब १७ प्रतिशत छ । गरीबीको रेखामुनि रहेकामध्ये अधिकांश मानिस पेशाका हिसाबले खेतीपातीमै निर्भर छन् ।

पछिल्ला वर्षहरूमा आधुनिक मौसम मापन प्रणालीको प्रयोगले मौसम पूर्वानुमान मिल्ने गरेको छ । तर, मौसमी प्रणालीको सूचना देशका अधिकांश किसानसम्म पुग्नसकेको छैन ।

जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी नियोगले पूर्वी तथा दक्षिणपूर्वी एशियामा २१औं शताब्दीको मध्यसम्ममा कृषि उत्पादन २० प्रतिशतले बढ्न सक्ने अनुमान गरेको छ भने सोही अवधिमा मध्य तथा दशिणएशियामा ३० प्रतिशतसम्मले उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरेको छ । सोही अवधिमा विश्वव्यापी कृषि उत्पादनमा १० देखि २५ प्रतिशतसम्मले गिरावट आउन सक्ने अनुमान छ । यसको प्रभावबाट नेपाल पनि अछुतो रहने छैन ।

खाद्य सुरक्षा विज्ञ कृष्ण पहारीले जलवायु सङ्कटले खाद्यान्न उत्पादन घटाएमा निम्तिने खाद्य असुरक्षाको सोझो मार विपन्न र कृषकलाई पर्ने बताउँछन् । उनी भन्छन्, ‘जब उत्पादन कम हुन्छ, बजारमा खाद्य वस्तुको मूल्य बढ्छ, किनेर खाने सामर्थ्य विपन्न परिवारसँग हुँदैन । यस्ता परिवार खाद्य असुरक्षाको जोखिममा धकेलिन्छन् ।’

वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तनको अनुकूलनका लागि प्रविधि आवश्यकताको मूल्याङ्कन सम्बन्धी सन् २०१९ को प्रतिवेदनले औसत तापक्रममा वृद्धि तथा वर्षाको चरित्रमा आएको फेरबदलका कारण नेपालमा कृषि उत्पादन घटेको तथा जलवायुजन्य जोखिम जस्तै बाढी, पहिरो, डुबान आदिका कारण किसान मारमा परेको उल्लेख छ ।

सामान्यतः १ डिग्री सेल्सियस तापमान वृद्धिबाट कृषि उत्पादन १० प्रतिशतले घट्ने विश्वव्यापी मान्यता छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) अन्तर्गतको ‘विकास तथा वातावरण अर्थशास्त्रका लागि दक्षिण एसियाली सञ्जाल’ (स्यान्डी) ले धान उत्पादनमा जलवायु परिवर्तनको प्रभावबारे गरेको एक अध्ययनले कार्बन उत्सर्जन कटौती नगरिए सन् २१०० सम्ममा नेपालको धानको उत्पादन अहिलेको तुलनामा ४.२ प्रतिशतले घट्ने आकलन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको सन् २०१४ को एक अध्ययनले पनि जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा मात्र कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत क्षति पुगिरहेको देखाएको छ । यसको मारमा यसै पनि साना किसान नै पर्छन् । मनसुनमा कम वा बढी पानी पर्ने, धानमा भुस मात्रै हुने, मकैमा घोगा नलाग्ने, रोग–कीराको आक्रमण बढ्ने हुँदा पनि समस्यामा कृषक पर्ने गरेका छन् ।

पहुँचमा छैन सूचना

जल तथा मौसम विज्ञान विभागले देशको आकाशबाट २५ असोजदेखि मनसुन बाहिरिएको जानकारी सार्वजनिक गरेको थियो । तर, बंगालको खाडी र मध्य भारतको न्यूनचापीय प्रणाली उत्तरतिर सरेको र पश्चिमी वायुको सक्रियतापछि २०७८ असोज अन्तिम सातादेखि लगातार वर्षा हुन पुग्यो । विभागले पानी पर्ने पूर्वानुमान गरेको थियो, तर त्यस्तो सूचना किसानसम्म पुग्नै सकेन ।

पछिल्ला वर्षहरूमा आधुनिक मौसम मापन प्रणालीको प्रयोगले मौसम पूर्वानुमान मिल्ने गरेको छ । तर, मौसमी प्रणालीको सूचना देशका अधिकांश किसानसम्म पुग्नसकेको छैन ।

सहेदा खातुन

नेपालको कृषि प्रणाली अनुभवमा आधारित ज्ञानबाट सञ्चालन हुँदै आएको छ । मनसुन, मौसम, हावापानीको अवस्था हेरेरै कृषकले खेतीपाती गर्दै आएका छन् ।

सर्लाहीको हरपुर्वाका लालबाबु राय यादव मौसमको अवस्था हेरेरै खेती गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘पहिला खेतीपाती गर्न समस्या थिएन, अहिले छिनमै मौसम गडबड हुँदा अनुमान लगाउन गाह्रो हुने गरेको छ ।’

जानकारहरू जलवायुको अनुमान गर्नै नसकिने गरी फेरिएको चरित्रले किसानलाई पर्ने मार बारम्बार दोहोरिन थालेको बताउँछन् । लालबाबु राय यादवले अनुमान गरे जसरी अनुमान गरेर धान काट्दा नगेन्द्र यादवको पनि धान नष्ट भएको थियो ।

जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल भन्छन्, ‘अब अनुभवमा आधारित परम्परागत ज्ञान काम नलाग्ने अवस्था सृजना भएको छ । जलवायुमा आइरहेको परिवर्तनको बारेमा जानकारी दिने वैज्ञानिक उपकरणको विकास गर्नुपर्छ ।’ दाहाल भन्छन्, ‘किसानले त्यस्तो लगानी गर्न नसक्ने हुँदा सरकारले नै लगानी गर्नुपर्छ ।’

अहिले बालीनालीमा क्षति पुर्‍याए जसरी हिउँदमा पनि वर्षा भएमा त्यसले हिउँदे बालीलाई असर पुर्‍याउने उनी बताउँछन् । कृषकले सोही अनुसार रणनीति बनाएर काम गर्नुपर्ने विकल्प नभएको दाहालको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment