
२९ कात्तिक, काठमाडौं । अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकलाई के गर्ने भन्नेबारे सरकारले २१ दिनसम्म निर्णय गर्न सकेको छैन ।
नेपालको अध्यागमन ऐनअनुसार विभागले सरकारको स्वीकृति लिएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासनको निर्णय गर्नसक्छ । तर विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई भन्छन्, ‘यो निर्णय (गृह) मन्त्रालयबाट हुने हो, के गर्ने भन्ने टुंगो लागिसकेको छैन ।’
ऐनअनुसार अध्यागमन अधिकृतले पेश गरेको छानविन प्रतिवेदन अनुसार विभागका प्रमुखले सिफारिस गरेपछि गृह मन्त्रालयमा त्यसमा स्वीकृति दिने हो । तर न अध्यागमनले यसबारे निर्णय गर्न सकेको छ, न गृहले नै कुनै निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल भन्छन्, ‘यसबारे छलफलकै क्रममा छौं ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ११ जना अफगानी नागरिकलाई ८ कात्तिक २०७८ मा पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो । स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्ने भन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो ।
अध्यागमन ऐनअनुसार उनीहरुलाई मेक्सिको पठाउनु नै गलत भएको अधिकृतहरु बताउँछन् । ऐनअनुसार उनीहरुलाई जुन देशबाट आए, त्यहीँ फर्काउनुपर्ने थियो । तर मेक्सिकोबाट फर्किएपछि पनि गृहले उनीहरुबारे कुनै निर्णय गर्न नसकेको छैन ।
मन्त्रालयका एक अधिकृत चाहिँ उनीहरुलाई फिर्ता गर्न सक्ने अवस्था पनि नभएको र राख्न सक्ने स्थिति पनि नरहेको बताउँछन् ।
‘उनीहरुको हकमा के गर्ने भन्ने अन्यौलको स्थिति छ, सहजीकरण गरिदिए, खुला सीमा छ, अरु पनि आउन थाल्लान्’ उनले भने, ‘कारबाही हुन्छ भन्ने सन्देश दिन पनि उनीहरुलाई अहिले नियन्त्रणमा राखिएको छ ।’
प्रतिक्रिया 4