+
+

सजिलो छैन देउवालाई टिम व्यवस्थापन

जति धेरै पद, उति धेरै आकांक्षी

१४ औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी संख्या बढाए पनि आकांक्षीहरुको संख्या धेरै भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै समूहका नेता व्यवस्थापनमा अप्ठ्यारो परेको छ ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ कात्तिक ३० गते २०:५७

१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदा शेरबहादुर देउवालाई टिम मिलाउन कुनै समस्या भएन । पोखरामा सम्पन्न १० औं महाधिवेशनदेखि नै कांग्रेसको नेतृत्वको दौडमा रहेका देउवालाई सभापति बनाउन उनको समूहका नेताहरु ‘त्याग’ गर्न तयार भए ।

पदाधिकारीमा एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष गरी जम्मा तीन पदका लागि निर्वाचन हुँदा पनि देउवा समूहका नेताहरु छोड्न तयार भए । देउवा जिताउन तत्कालीन संस्थापन समूहमा रहेका अर्जुननरसिंह केसीलाई आफ्नो गुटमा ल्याएर महामन्त्रीको उम्मेदवार बनाइयो । केसीले चुनाव हारे, देउवाले जिते । त्यसअघि विभाजित पार्टीको सभापति बनेका देउवा एकीकृत कांग्रेसको नेतृत्वमा पुगे ।

अहिले कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । महाधिवेशन आउन तीन साता मात्रै बाँकी छ । देउवाले फेरि नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएका छन् । तर उनलाई टिम बनाउन भने यसपटक सजिलो छैन । लामो समयदेखि साथ दिँदै आएकाहरुले नै देउवालाई चुनौती दिइरहेका छन् । विगतमा देउवाका लागि त्याग गर्नेहरु यसपटक भने आफ्नै राजनीतिक करिअरमा बढी केन्द्रित देखिन्छन् ।

‘अहिले नेताहरुको व्यवस्थापन नै ठूलो चुनौती छ हाम्रा लागि । केन्द्रीय सदस्यहरुको कुरा छोडौं, सभापति पदमा उठ्नेदेखि पदाधिकारीका आकांक्षीहरु धेरै छन्,’ देउवानिकट एक पदाधिकारीले भने, ‘एउटालाई फकायो, अर्काे रिसाउँछ । कोही पनि त्याग गर्न तयार छैनन् । सबैले आफूलाई केन्द्रमा राखेको जस्तो देखिन्छ ।’

देउवा सघन छलफलमा

२०७४ सालको प्रदेश र संघीय निर्वाचनमा कांग्रेस पराजित भएपछि केही युवा नेताहरु अर्ली महाधिवशेनका पक्षमा उभिए । पार्टी पराजयको दोष देउवालाई दिँदै नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेताहरुले उनलाई भेटेरै अर्ली महाधिवेशनको माग गरे । सभापति निर्वाचित भएको दुई वर्ष नपुग्दै अर्ली महाधिवेशनको माग गर्न गएका युवा नेताहरुलाई देउवाको जवाफ थियो, ‘नेतृत्व मागेर होइन, लडेर पाइन्छ ।’

देउवाले त्यतिबेलै १४ औं महाधिवेशनमा दोहोरिने संकेत गरेका हुन् । पार्टी कमजोर बनाएको दोष पखाल्न आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाएर मात्रै विदा लिने धारणा देउवाले आफूनिकट नेताहरुसँग राख्दै आएका थिए । तर सभापतिमै दोहोरिने औपचारिक अभिव्यक्ति भने उनले महाधिवेशनको मिति तोकिसकेपछि मात्रै गरे ।

१४ औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी संख्या बढाए पनि आकांक्षीहरुको संख्या धेरै भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै समूहका नेता व्यवस्थापनमा अप्ठ्यारो परेको छ ।

गएको ४ असारको केन्द्रीय कार्यसमिति बैठकले भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरेको थियो । त्यसको दोस्रो दिन अर्थात् ५ असारमा देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गर्दै सभापतिमा उठ्ने बताउँदै सहयोगका लागि आग्रह गरे ।

यसबीचमा तीन पटक कांग्रेस महाधिवेशनको मिति संशोधन भयो । देउवाले पनि आफ्नो तयारीलाई बढावा दिएका छन् । पार्टी सत्तामात्रै हातमा भएका देउवा अहिले मुुलुकको प्रधानमन्त्री बनेका छन् । पार्टीभित्र उनको शक्ति बढेको चर्चा कांंग्रेसकै संस्थापनइतर समूहमा हुने गरेको छ ।

देउवा आफूनिकट नेताहरुसँग व्यक्तिगत र सामूहिक छलफलमा व्यस्त छन् । पछिल्लो समय कात्तिक २५ गते देउवाले आफूनिकट पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए भने कात्तिक २९ गते पनि उनले संस्थापन समूहका नेताहरुसँग आफ्नो उम्मेदवारीबारे अनौपचारिक छलफल गरे ।

‘सभापति आफैंले व्यक्तिगत रुपमा नेताहरुसँग छलफल गरिरहनुभएको छ । सामूहिक रुपमा पनि छलफल भइरहेको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘हाम्रो समूहबाट देउवा सभापति बन्ने कुरामा शंका रहेन । उहाँकै नेतृत्वमा हामी महाधिवेशनमा प्रतिस्पर्धा गर्छाैं ।’

उनले सभापतिमा देउवाको उम्मेदवारी पक्कापक्की भएपनि बाँकी नेताहरुको पद र भूमिका व्यवस्थापनबारे पनि छलफल सुरु भएको बताए । ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन सकिएपछि टिम बनाउने गरी छलफल थप सघन हुन्छ, अहिले हाम्रो समूहका महाधिवेशन प्रतिनिधि बढी भन्दा बढी ल्याउनेमै छलफल भइरहेको छ ।’

संस्थापन समूहकै अर्का नेता गोपालमान श्रेष्ठ पनि देउवाले महाधिवेशन केन्द्रित छलफललाई तीब्रता दिएको बताउँछन् । ‘हामीहरुबीच सरसल्लाह हुँदैछ । कसरी समूहलाई एक ढिक्का बनाएर लैजाने भन्नेमा हामीहरुबीच कुराकानी भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘प्रदेश अधिवेशन अघि हामीहरु थप छलफल गर्छौं । जिल्ला अधिवेशनपछि टिमले आकार लिन्छ ।’

जति धेरै पद, उति नै धेरै आकांक्षी

संस्थापन समूहबाट सभापति पदमा तीन आकांक्षी देखिएका छन् । देउवाका विश्वासपात्र मानिने उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देउवा–निधि आमनेसामने हुने लगभग निश्चित जस्तै छ भने श्रेष्ठको उम्मेदवारीले पनि संस्थापन समूह थप विभाजित हुने देखिएको छ ।

निधि र श्रेष्ठलाई मिलाउनुपर्ने चुनौती त छँदै छ, साथमा पदाधिकारीका आकांक्षी नेताहरुको व्यवस्थापन झनै सकसपूर्ण छ ।

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीतर्फ आठ सहमहामन्त्री गरी १३ पदाधिकारीका लागि निर्वाचन हुनेछ । लामो समय देउवाका लागि त्याग गरेका नेताहरु अहिले भने पदाधिकारीमा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्ने मुडमा देखिएका छन् ।

उपसभापति विजयकुमार गच्छदारले फेरि उपसभापति पदमा दोहोरिने बताइसकेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्का पनि उपसभापतिको तयारीमा छन् । संस्थापन समूहभित्र उपसभापतिमा गच्छदार र खड्का निश्चितजस्तै भएको चर्चा छ । तर तेस्रो धारका रुपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि मिलाउनुपर्ने दवाव देउवालाई छ ।

उपसभापति निधिले सभापतिको तयारी अगाडि बढाएपछि सिटौलालाई साथमा लिनुपर्ने निष्कर्षमा देउवा पनि छन् । सिटौला समूहकै समर्थनमा १३ औं महाधिवेशनमा दोस्रो चरणको मतदानबाट देउवा सभापति निर्वाचित भएका थिए ।

सिटौलासँग सहकार्य भए उनलाई पनि उपसभापति दिनुपर्ने दवाव देउवालाई हुनेछ । आफ्नै समूहका नेताहरुको व्यवस्थापन भार भोगिरहेका देउवा संस्थापनइतर समूहका नेताहरुलाई पनि आफ्नो समूहमा ल्याउन निरन्तर संवादमा छन् ।

त्यस्तै दुई महामन्त्री पदका लागि संस्थापन समूहभित्र आधा दर्जन प्रभावशाली नेता आकांक्षी छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रवक्ता विश्वप्रकाश शर्मा र रमेश लेखक महामन्त्री पदका दावेदार हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेसमा आउँदा सहमहामन्त्री पद पाएका सुनिल थापा पनि माथिल्लो पदका लागि लबिङ गरिरहेका छन् ।

खाँण र कार्की सरकारमा महत्वपूर्ण जिम्मेवारीमा रहेकाले पदाधिकारीमा उम्मेदवार बन्न नहुने दवाव संस्थापन समूहका नेताहरुले देउवालाई दिँदै आएका छन् ।

कांग्रेस नेता गोपालमान श्रेष्ठ नेता व्यवस्थापनको समस्या भएको स्वीकार गर्छन् । ‘समस्या त छ नि । दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री कसलाई बनाउने ?,’ उनले भने, जति धेरै पद भयो उति धेरै आकांक्षी छन् ।’

कांग्रेस सहमहामन्त्री महतले पनि टिम बनाउन सजिलो नभएको बताए । ‘सजिलो छैन तर अन्तिममा समझदारीमा पुग्छौं,’ उनले भने, ‘सभापति आफैं नेताहरुसँग संवादमा हुनुहुन्छ ।’

नेताहरुको व्यवस्थापनमा समस्या भएकैले देउवाले खुला सहमहामन्त्री थप्न पार्टीभित्र छलफल चलाउँदै आएका छन् । तीन सहमहामन्त्री थप्न वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सकारात्मक छन्, संस्थापन र इतर समूहकै अधिकांश युवा नेताहरु भने सहमहामन्त्री थप्ने प्रस्तावको विपक्षमा छन् ।

२८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि पदाधिकारी थप्नेबारे छलफल भएको थियो तर बैठकमा सहमति भने जुट्न सकेन ।

‘देउवाले तीन सहमहामन्त्री पदमा प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद र अर्का सहमहामन्त्री सुनिल थापालाई उठाउन चाहेका छन्,’ संस्थापननिकट एक नेताले भने । प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आरक्षणतर्फ आठ वटै सहमहामन्त्री पदमा पनि नेताहरुको व्यवस्थापन कम चुनौतीपूर्ण छैन । खसआर्य र महिलातर्फ उम्मेदवार चयन गर्न देउवालाई सहज छैन । सभापतिमा उम्मेदवारी फिर्ता नलिने गरी तयारी अगाडि बढाएका निधि संस्थापन समूहकै नेताहरुलाई समेटेर टिम बनाउने रणनीतिमा छन् ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?