+
+
किमाथाङ्का डायरी–२ :

राहत पठाउँछ तर, चेली रोक्छ चीन

जगबहादुर बुढा जगबहादुर बुढा
२०७८ मंसिर १ गते ९:१२

विगत दुई वर्षयता कोभिड-१९ ले विश्वमा आर्थिक, सामाजिक र राजनीतिक उथलपुथल गरायो । विकसित देशहरूले पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्‍यो । तर पनि त्यहाँका सरकारहरूबाट मनग्य राहत र सामाजिक सुरक्षा भत्ताहरू दिएकोले त्यहाँका जनताले त्यति धेरै आर्थिक समस्या व्यहोर्नु परेन ।

नेपाल जस्ता विकासोन्मुख र गरीब देशहरूमा भने जनताको दैनिकी जीवनमा नै ठूलो असर गर्‍यो । कैयौंले रोजगार घुमाएको र कैयौं मानसिक रुपमा विक्षिप्त भई आत्महत्या गरेका खबरहरू सुन्यौं, हेर्‍यौं र पढ्यौं । नेपालको सन्दर्भमा विशेषगरी नेपाल र भारत नाका छेउछाउ र नेपालबाट भारत काम गर्न जाने जमातको दुःख–पीडा, भोगाइ बारेमा धेरै सुन्यौं, हेर्‍यौं र पढ्यौं । तर चीनसँग सीमा जोडिएका सीमा क्षेत्रका बासिन्दाहरूको बारेमा विरलै पढ्न, हेर्न र सुन्न पायौं ।

हुन त यो यात्रा संस्मरणमा कोभिड–१९ ले उत्तरी सीमा क्षेत्रमा पारेको पूरै प्रभावहरूबारे चर्चा गर्न सम्भव छैन । तर पनि मेरो यात्राको दौरानमा मेरो आफ्नो यात्रा अनुभवसँगै मैले देखेका, सुनेका र भुईं मान्छेहरूले सुनाएका, राष्ट्रिय मिडियाहरूले छुटाएका विषयवस्तुको उठान मात्र गर्नेछु ।

राहत बाँड्ने चिनियाँ तरिका

२१ अक्टोबर, २०२१ बेलुकीपख चिया अनि तोङ्बा तान्दै हामी फिन्जोक सरसँग गफिंदै थियौं । उक्त साँझ हामीले कोभिड-१९ को बारेमा कुरा थाल्यौं । फिन्जोक सरले भने, ‘लकडाउनले यहाँका मान्छेहरूलाई धेरै समस्या पार्‍यो । यहाँका मान्छे काम गर्न उता पारि जाने गर्दछन् । बिहान उता, बेलुका यता नेपाल । लकडाउनमा उता जान पाइएन । आवतजावत रोकियो । निकै कडा थियो लकडाउन । मान्छे मात्र होइन, कुखुरादेखि पशुसम्म यताउता गर्न पाएनन् । एकचोटि यताबाट किनेर लगेको चौंरी भागेर नेपालतिर आयो । पछि उनीहरूले यता खबर पठाएर उक्त चौंरी नेपालमै काटेर खानु तर फिर्ता नपठाउनु भने । उनीहरूले सम्बन्धित धनीलाई त्यसको मुआब्जा दिइसकेको जानकारी दिए ।’

कोभिड-१९ को राहतको सन्दर्भ फिन्जोक सरले व्याख्या गर्दै भने, ‘कोभिड-१९ को बेला हाम्रो सरकारले केही गरेन, खालि त्यही आधा बोरा चामल, २-४ किलो दाल, दुई पोका तेल, केही साबुन बाहेक राहत पाएनौं । बरु उता (चीन)बाट राम्रो राहत आयो । तर राहत बाँड्दाको तरिका चाहिं गज्जब नै थियो । कोही पनि त्यहाँ जान पाउँदैनथ्यो । पहिला चिनियाँ सेनाले पारिबाट वारि एक ठाउँमा थुपार्‍यो । त्यतिखेर हाम्रो पुलिससँगै हामी माथिबाट हेरेर बस्यौं । नफुट्ने सामानहरू डोजरले पारि अरुणबाट वारि अरुण हामीतिर फ्याँके । अन्य सामानहरू भने उनीहरू सामान छोडेर माथि पुगेपछि मात्र भिडियो कल गरेर सामान यति–यति छ, लिनू भने । अनि मात्र हाम्रो पुलिस र स्थानीयहरू गएर सामान ल्यायौं ।’

कोभिडले उडाएका सपना

सोलु स्थायी घर भएका परिमाण राई किमाथाङ्का आएको चार वर्ष भएको रहेछ । कोभिड शुरु हुन दुई वर्षअघि उनी त्यहाँ आएका रहेछन् । किमाथाङ्कामा राम्रो कमाइ हुन्छ भनेर उनी सोलुबाट पैसा कमाउने सपना बोकेर किमाथाङ्का छिरेका रहेछन् ।

शुरुवाती दुई वर्ष उनले राम्रै कमाइ गरे । घरतिर पैसा पनि पठाइरहे । जब कोभिड-१९ शुरु भयो उनको अवस्था सुखद रहेन । ‘लकडाउनको शुरुको वर्ष यस्तै हो, विस्तारै खुल्ला नि भनेर बसेको दुई वर्ष नै बितिगयो । पारि चीन खुल्ला अनि काम गर्न जाउँला भन्दा भन्दै दुई वर्ष भैसक्यो । हुँदाहुँदा ऋण पनि लाग्यो’, उनले भने ।

उनले अगाडि थपे, ‘अब त ऋण नतिरी जानु पनि भएन, लकडाउन कहिले खुल्ने ठेगान पनि छैन । अहिले जसोतसो गाउँमा हुने फाट्टफुट्ट काम गर्छु । सशस्त्र चौकी निर्माण भइरहेको छ । त्यसको काठ बोक्ने काम गरिरहेको छु । दुई वर्ष बसेर खाने काम भयो, ऋण लाग्यो र अब ऋण तिरेर मात्र सोलु फर्किन्छु ।’

दुई सन्तानका पिता परिमाणले श्रीमतीले पनि छाडेर गएको दुःखेसो पोखे । अहिले बच्चाहरूलाई सोलुका एक जना शेर्पाले काठमाडौंमा अनाथालयमा राखेको कुरा पनि सुनाए । ‘परिमाण’ बोलीवचन र कामको पक्का र इमानदार भएको स्थानीयले बताए ।

आफ्नो दुःखका बीच स्थानीय बीच राम्रो छवि बनाएका राईलाई हामीले किमाथाङ्कादेखि हुङगुङसम्म बाटो देखाउनको लागि ल्याएका थियौं । हुङगुङ पुगेपछि भने सबै बच्चादेखि बुढासम्मले उनलाई चिन्दारहेछन् । हुङगुङ गाउँमा कोही बाटोबाट त कोही फुटबल खेल्ने चौरबाट परिणाम, परिणाम भनेर बोलाउँथे । पैसा कमाएर बालबच्चा पढाउने लेखाउने अनि सुन्दर सपना बुनेका परिणामको सपनाहरू एकाएक कोभिडले तुहाएको महसूस भयो । यस्तो लाग्यो- कोभिडका कारणले परिणामले आफ्ना सपनालाई विपनामा बदलेर परिणाम निकाल्न सकेनन् ।

परिणाम जस्ता धेरै पात्रहरूको कथा उस्तै छ । किमाथाङ्काका पासाङ छिरिङ भोटेको पीडा पनि उस्तै छ । तीन सन्तानका पिता उनको पेशा चीन गएर सिकर्मी काम गर्नु हो । कोभिड शुरु भएदेखि विगत दुई वर्षदेखि उनले रोजगारी गुमाएका छन् ।

उनले आफ्ना छोराछोरीलाई खाँदबारीबाट किमाथाङ्का ल्याएर पढाइरहेका थिए । रोजगारी गुमेसँगै उनीहरूको लागि खर्च जुटाउन मुश्किल भइरहेको छ । कोभिड भन्दा अगाडि उनी पारि गएर दिनको २०० देखि २५० युवान अर्थात् ३२ सयदेखि चार हजारसम्म कमाउँथे ।

हामीसँग पीडा पोख्दै उनले भने, ‘यहाँका हामी भोटे जातिका सबै पारि (चीन) काम गर्न जान्छौं । त्यसैबाट हाम्रो गुजारा चल्छ । पारि गएन भने पैसाको मुख देख्न मुश्किल छ । पारि बन्द भएकोले सबै सामान तलतिर हटियागोलाबाट खच्चरलाई बोकाएर ल्याउनुपर्छ । भाडा महँगो छ । काम घट्यो तर महँगी बढ्यो । यो कोभिडले त गर्नु गर्‍यो । धेरै समस्यामा पार्‍यो । सीमा खुलेन भने त भोकै रहने अवस्था आउन सक्छ ।’

उनको कामना थियो- भोकमरीले लखेट्नुभन्दा अगाडि सीमा खुलोस् ।

नेपाल-चीन सिमानाको बाटो ।

मेरो मनमा धेरै कुरा खेल्न थाले । प्रश्नहरू जन्मिए । उनीहरू र उनीहरू जस्तै पीडितहरूका लागि हाम्रो राज्य हुनु र नहुनुको केही अर्थ छ ? उनीहरूको घाउमा मल्हम कसले लगाउने ? कोभिड-१९ सँग जोडिएका यस्ता हजारौं लाखौं पात्रहरू भेटिन्छन् । कसले खोज्ने ? कसले सम्बोधन गर्ने ? राज्यले अभिभावकको भूमिका खेलेर नागरिकको मन जित्न सक्ला ? मत जित्न जे पनि गर्ने मन जित्न नसक्ने अवस्थाको अन्त्य कहिले होला ?

कोभिड-१९ महाव्याधि पीडित नागरिक खोजेर उनीहरूलाई सघाउने भन्दा कतिपय नेता, मन्त्री तथा कर्मचारीहरूको लागि कमाउने उत्सव बनेको थियो । यी सबै कुराहरूलाई मनन गर्दा लाग्यो कि हामी कस्तो देशमा जन्मिएका रहेछौं । हामीले कस्तो नेताहरूलाई छानेका रहछौं । मलाई नेता छान्ने हाम्रो योग्यतामाथि पनि प्रश्न उठाउन मन लाग्यो ।

यस्तो महाव्याधिको बेला पनि कोभिड-१९ को स्वास्थ्य सामग्रीमा घोटाला, कोभिड-१९ को राहत वितरणमा पनि घोटाला ! हामीले कस्तो प्रणाली अवलम्बन गरेका रहेछौं । हामीले कस्तो समृद्धि र सुखी नेपालीको कल्पना गरेका रहेछौं । जहाँ पहुँचवाला र सत्तामा आसीन नागरिकहरू दिन दुई गुणा र रात चार गुणा आर्थिक लाभ लिइरहेका छन् भने परिमाण राई र पासाङ छिरिङ भोटे जस्ता पात्रलाई हातमुख जोड्न धौ–धौ भइरहेको छ ।

आर्थिकसँगै सामाजिक सम्बन्धमा आघात

कोभिडले मानिसको रोजगारीसँगै सामाजिक सम्बन्धहरूमा आघात पुर्‍याएको रहेछ । सीमा क्षेत्रमा एक देशको नागरिक र अर्को देशको नागरिकहरूबीच वैवाहिक सम्बन्ध हुनु वर्षौंदेखिको चलन हो । तराईका नेपालीले भारततिर विवाहवारी गर्ने र हिमालका मानिसहरू चीनतिर वैवाहिक सम्बन्ध राख्ने अभ्यास ऐतिहासिक कालदेखि भएको पाइन्छ । आठौं शताब्दीमा तिब्बतका स्रोङ्चोङ गोम्पोले नेपाली चेली भृकुटीलाई विवाह गरेको होस् या जनकपुरकी सीता र अयोध्याका राम बीचको विवाहको कुरा होस् वा नेपाली सीमावर्ती क्षेत्रका नागरिक र नजिकै सीमा क्षेत्रको अर्को देशको नागरिकहरूबीच विवाह गर्ने प्रचलन रहेको पाइन्छ ।

त्यस्तै किमाथाङ्कामा कतिपय नेपाली चेलीहरू उता चीनतिर उताका चेली नेपालतिर विवाह गरेका रहेछन् । वैवाहिक सम्बन्ध तिब्बतलाई चीनले अधीकरण पूर्व अत्यधिक मात्रामा भए पनि अहिले त्यो क्रम विस्तारै कम हुँदै गएको छ । दुई तीन वर्षअगाडिसम्म फाट्टफुट्ट अन्तरदेशीय निरन्तरता भएको पाइन्छ । तर विगत दुई वर्षयता भने कोभिडको कारणले विवाह भएको रहेनछ ।

कोभिड आउनु अगाडिसम्म नेपालीले चीनतिरबाट केटी ल्याउनु भन्दा पनि चीनकाले नेपाली चेली विवाह गरी लगेको पाइन्छ । चीनमा नेपालको भन्दा बढी सुविधा र सहज जीवन भएकोले त्यताको चेली यता विवाह गरेर आउन छोडिसकेका भए पनि नेपाली चेलीहरू भने अझै उता विवाह गरेर जाने गर्दा रहेछन् ।

किमाथाङ्काबाट ८-१० जना चेलीहरूले चिनियाँसँग विवाह गरेका रहेछन् । विवाहपछि बालबच्चा भए पनि उनीहरूले उताको नागरिकता भने पाउन सकेका छैनन् । अझ कोभिडको समयमा बच्चासहित नेपाली चेलीलाई नेपालै फर्काइएको रहेछ । उनीहरूलाई अझै पनि चिनियाँ पक्षले उता जान दिएको छैन । पतिलाई फोन गर्दा पनि कल ट्र्याकिङ गर्ने गरेको उनीहरूको दुःखेसो थियो । यसरी वैवाहिक सम्बन्धलाई चिनियाँ सरकारले कानूनी मान्यता दिन नमानेको दुःखद अवस्था छ ।

अहिले स्थानीय सरकार छ । त्यसैले यी र यावत् अध्यागमन सम्बन्धी सवालहरू स्थानीय तहले संघीय सरकारलाई जानकारी गराई यी समस्याहरू सुल्झाउनुपर्ने देखिन्छ । जसरी सीमा नजिकका नागरिकहरूलाई एक देशबाट अर्को देश आवतजावत सजिलो बनाइएको छ, त्यसरी नै विवाहको सम्बन्धमा पनि नेपाल र चीनबीच वार्ता गरी सहज बनाउनुपर्ने देखिन्छ ।

यी र यस्तै अझै धेरै कुराहरू बुझ्ने र जान्ने इच्छा थियो तर तीन दिन लगातार पानी परेकोले घर बाहिर निस्किन र गाउँ डुल्न सम्भव भएन । अक्टोबर २० को बेलुकीपख पनि सदा झैं भोलि मौसम खुल्यो भने हुङगुङ जानुपर्छ भन्ने आशा साँचेर बस्यौं । तीन दिनको भारी वर्षाले हामी सीमा स्तम्भसम्म पनि पुग्न पाएका थिएनौं ।

*** ***

२१ अक्टोबर, २०२१ मा बिहानै ५ बजे उठ्यौं । मौसम हेरेको त आकाश छ्याङ्गै खुलेको थियो । ताराहरू चम्केको देखिन्थ्यो । मैले साथीहरूलाई सोधें- ‘आकाश खुलेको छ, के गर्ने ?’

सबैले जाने कुरा गर्नुभयो । चिया पिएर हामी एकछिन चीनसँगको सीमा स्तम्भ पुग्यौं । हामीसँग त्यहाँको वस्तुस्थिति बुझ्न सघाउने गरी फिन्जोक सर पनि साथै हुनुहुन्थ्यो ।

भोटखोला वडा नं. १ मा पानी बगिरहेको एउटा खोल्सी छ । त्यसैको आडमा एउटा ठूलो ढुंगामा रातो रंगले पोतिएको पिलरमा १८ नं. लेखिएको थियो । त्यही रहेछ नेपाल र चीन छुट्याउने सीमा स्तम्भ ।

सीमा स्तम्भ नजिकको खोल्सीलाई सांगाचोक्मा (कामु खोला) भनिंदो रहेछ । त्यसैको बायाँपट्टि रहेछ सीमा । त्यही सांगाचोक हुँदै गोरेटो बाटो जाँदो रहेछ र त्यसपछि त्यहाँबाट गोरेटो बाटोले सीमा छुट्टाएको थियो । हामी केहीबेर त्यही बाटोलाई पछ्याउँदै गयौं र केहीबेरपछि सिमेन्टले बनाएको सिंढी आयो र त्यसमा फलामे बार्दली हालेको थियो ।

त्यहाँ पनि बाटोको दायाँ नेपाल र बाटो बायाँ चीनको क्षेत्र हो भन्ने कुरा फिन्जोक सरले अवगत गराए । यही बाटो भएर तल अरुणसम्म जाने र तलतिरको सिमाना अरुण नदीले छुट्याउने रहेछ ।

हामी केहीबेर यताउतिका दृश्यहरू कैद गर्दै फोटो खिच्न थाल्यौं र हामी होटलतिर फर्कियौं । होटलमा फर्किने क्रममा वडा अध्यक्षसँग केहीबेर गफगाफ गर्ने हाम्रो योजना थियो तर अघिल्लो राति अबेर सुतेकाले वडाध्यक्ष सुत्नुभएको भन्ने भएपछि गफगाफको अवसर जुरेन ।

त्यसको दुई दिनअघि एकजना बितेका रहेछन् भारी वर्षाले लास एक दिन घरमै राख्नु परेछ र त्यसले गर्दा हामी आउने अघिल्लो दिन मात्र सद्गत गराएर त्यही भोजमा वडाध्यक्ष रात अबेर भएर सुते होलान् भन्ने लाग्यो ।

हामी होटल फर्किने क्रममा बाटोमा एकजना लाबुङ थरका तम्मोर खोले लिम्बु किमाथाङ्काको भोटेनीसँग विवाह गरेर त्यतै बसेका छन् भन्ने जानकारी पाइयो । प्रो.बालकृष्ण माबुहाङ सरले उनीसँग एकछिन कुरा गर्ने इच्छा गरे । उनको घर बाटोमै पर्ने भएकोले ‘सेवारो’ भन्दै बोलाए तर उनी घरमा रहेनछन् र सुँगुरलाई चारो हाल्न गएका छन् भनेर भित्रबाट भने । अनि हामी फर्किन लाग्दा ठ्याक्कै दोबाटोमा उनी एउटा बाल्टी समाएर घरतिर फर्किंदै थिए । बालकृष्ण सर र ती लिम्बु दाजुले केहीबेर लिम्बु भाषामै बात मारे । किमाथाङ्का भोटे समाजमा बस्ने ती लिम्बु दाजुले आफ्नो लिम्बु भाषामा बोल्ने मान्छे भेटिएको खुशी उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

भारी वर्षाका कारण हामी तीन दिन किमाथाङ्कामा रोकिनु पर्‍यो । तीन दिनको किमाथाङ्का बसाइ निकै नै रमाइलो र फलदायी रह्यो । विशेष गरी तीन दिन बास दिनुहुने फिन्जोक सरको परिवार, तीन दिनभरि मीठो भोजन खुवाउनुहुने फिन्जोक सरको श्रीमती (सुम्झ्युङ भोटे), फिन्जोक सरको बधैनी र किमाथाङ्काको बारेमा यति धेरै जानकारी दिनुहुने फिन्जोक सर उहाँहरू प्रति विशेष कृतज्ञता व्यक्त गर्दै फिन्जोक सरको परिवारसँग एउटा ग्रुप फोटो लिएपछि हामी त्यहाँबाट बिहानको ८ बजे हुङगुङतिर लाग्यौं ।

(लेखक मानवशास्त्री हुन् ।) 

किमाथाङ्का डायरी-१  :  सीमामा पुगेर चीनलाई नियाल्दा जे देखियो…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?