+
+

नेतृत्वकर्ता बोस बन्ने कि लीडर ?

दीपकराज जोशी दीपकराज जोशी
२०७८ मंसिर १ गते १४:२८

बहुराष्ट्रिय कम्पनी तथा सबैजसो व्यावसायिक कम्पनीहरूले एकजना व्यक्तिविशेष अर्थात् कार्यकारी निर्देशकका लागि मनग्ये खर्च गरेको पाइन्छ । नेपालमा नै सरकारी कर्मचारीको माथिल्लो तह मुख्य सचिव अथवा राष्ट्रपति, प्रधानमन्त्रीको तलब र निजी क्षेत्रका बैंकहरूको कार्यकारीहरूको तलबमानको अन्तर अत्यधिक बढी छ । हामी सबैजसो सेवाग्राहीहरूले महसूस गरेकै कुरा हो, निजी क्षेत्रको सेवा र सरकारी सेवामा किन यति फरक छ ।

यसमा थुप्रै कारण होलान् तर सबैभन्दा महत्वपूर्ण उक्त संस्थाको नेतृत्व हो । तसर्थ कुनै पनि राष्ट्र, संस्था, कम्पनीले प्रगति गर्नुमा मूलतः नेतृत्वको कार्यशैली, कार्यकुशलता र कार्यक्षमतामा भर पर्दछ । हामी सबैलाई नेतृत्वमा बस्न र लिन त मनपर्छ तर त्यसका लागि के गर्नुपर्दछ र कसरी आदर्श र सफल नेतृत्वकर्ता बन्न सकिन्छ त ?

नेतृत्व विकासका लागि थुप्रै भिडियो तथा किताब हेर्न तथा पढ्न पाइन्छ तर पनि यी कुराहरू सबै क्षेत्र, संगठन, परिस्थिति अनुकूल उपयुक्त नहुन सक्छन् । नेतृत्व किताबका सिद्धान्त भन्दा काम, जिम्मेवारी, समय र परिस्थितिले बढी विकास हुने गर्दछ ।

आत्मविश्वास

नेतृत्व विकासको पहिलो खुट्किलो भनेकै आफूले आफैंलाई विश्वासमा लिनु हो । आफैंलाई आश्वस्त बनाएर अघि बढ्नका लागि आफैंलाई स्व–उत्प्रेरणा तथा हौसला दिनुपर्दछ । डर, त्रास, भयबाट टाढा रहनु अर्थात् निडर र आँटिलो हुनु नै आत्मविश्वास हो, जसले हरेक परिस्थिति सामना गर्न सहज र सरल बनाउँछ ।
आत्मविश्वासी नेतृत्वकर्ताले संगठनको उद्देश्य प्राप्तिको लागि उपलब्ध साधन स्रोतहरूको प्रभावकारी परिचालन अत्युत्तम तरिकाले गर्ने गर्दछ । आत्मविश्वासले नेतृत्वकर्तालाई जोखिम बहन गर्न तथा दूरदर्शी निर्णय लिन लगायत कार्यमा सहयोग पु¥याउँछ ।

धैर्य

कुनै पनि विषयलाई हतारमा निर्णय गर्ने तथा तत्काल प्रतिक्रियामा गइहाल्ने गर्नुहँुदैन । आफूलाई अप्ठेरो पर्दा अर्थात् तनावको परिस्थितिमा लामो लामो श्वास तानी केही सहजतातर्फ फर्कन प्रयास गर्नुपर्छ । दीर्घकालीन प्रभाव पर्ने काम वा निर्णय तत्काल गर्नुहुँदैन । नेतृत्वले समय लगाएर पर्याप्त सूचना संकलन तथा विश्लेषण साथै आवश्यक परेमा सल्लाह, परामर्श समेत लिएर निर्णय गर्नु उपयुक्त हुन्छ । जब भावना र उत्तेजनामा बगेर निर्णय गरिन्छ त्यसले प्रत्युत्पादक परिणाम ल्याउँछ ।

बोली र व्यवहारमा तादाम्यता

कतिपय नेतृत्वकर्ता आफूलाई प्रभावकारी र अब्बल बनाउनका लागि थुप्रै विख्यात लेखकहरूको किताब पढ्नुहुन्छ र आफूले सिकेको कुरा मातहतका सहकर्मीलाई व्यवहारमा उतार्न-गर्नका लागि भन्नुहुन्छ तर नेतृत्वले सर्वप्रथम स्वयं आफैंले त्यसलाई आत्मसात् गरी व्यवहारमा उतारेमा अरूलाई भन्नु नै पर्दैन किनकि बोली भन्दा उदाहरणीय काम प्रभावकारी हुने गर्दछ ।

व्यवहारमा उतार्दा स्वयं नेतृत्वलाई सबै कुराको ज्ञान हुने गर्दछ । यसले गर्दा अरूको बारेमा उसले सोचेर मात्र कति, के र कसरी गर्ने भन्ने तथा सिकाउन सकिन्छ ।

प्रेम, माया, ममता तथा सम्मानको भाषा

हरेक प्राणीले प्रेमको भाषा छिटो र प्रभावकारी ढंगले बुझ्ने गर्दछन् तथा प्रेमको भाषा मस्तिष्कले मात्र नभई मनले नै बुझ्ने गर्दछ । तसर्थ मान्छेले प्रेमको भाषालाई सहज, सरल तथा मनैबाट स्वीकार गर्ने तथा व्यवहारमा उतार्न मन गर्दछन् ।

नेतृत्वले हरेक सहकर्मीसँग प्रेम, मुस्कान सहित सञ्चार गर्ने बानीको विकासले संगठनले गर्ने काम–कारबाहीमा प्रभावकारिता आउने र उत्पादनमुखी हुने गर्दछ । कुनै कुनै संगठनमा आजभोलि पनि डर, त्रास, धम्कीबाट प्रशासन चलाउन खोजिन्छ किनकि स्वयं नेतृत्वमा नै समस्या भएपछि उसले त्रास, भयको सिर्जना गरी काम गराउन खोज्छ जसको प्रभावकारिता हुँदैन ।

समयसापेक्ष रूपमा आफूलाई परिवर्तन

समयले धेरै कुरामा परिवर्तन खोज्छ तर हामीहरू समयको प्रवाहसँगै अगाडि बढ्न तत्पर हँुदैनौं, अन्ततः हामीलाई समयले धेरै पछाडि छोडेर गइसकेको हुन्छ ।
हामी समस्या अरूहरूमा खोजिरहेका हुन्छौं तर वास्तवमा समस्या हामीहरूभित्रको जडसूत्र हो । प्रकृतिको नियम नै हो; समय, परिस्थिति र अवस्था अनुसार आफूलाई अपडेट गरेर २१औं शताब्दीको प्रतिस्पर्धी समाजको लागि तयार पार्नु ।

कुनै पनि राष्ट्र, संस्था, कम्पनीले प्रगति गर्नुमा मूलतः नेतृत्वको कार्यशैली, कार्यकुशलता र कार्यक्षमतामा भर पर्दछ ।

अध्ययनशील

भन्ने गरिन्छ– ‘रिडर्स आर लिडर्स’ तसर्थ अध्ययनले सोचमा गतिशीलता तथा सृजनशीलता ल्याउँछ, तसर्थ प्राज्ञिक अध्ययन नभए तापनि स्व–अध्ययन निरन्तर रूपमा अघि बढाउनुपर्दछ । यसले नेतृत्वकर्तालाई परिपक्व र गतिशील बनाउने गर्दछ । समयको प्रवाह सँगसँगै अगाडि बढ्नका लागि सोचको निर्माण गर्दछ ।

साथी बन्न सक्नु

शायद हामी सबैलाई थाहा छ नै ‘बोस’ र ‘लीडर’ फरक कुरा हुन् तसर्थ लीडर बन्नका लागि प्रत्येकको पलपलको साथी बन्न सक्नुपर्दछ । यसले गर्दा सहकर्मीहरूले मनका कुरा बाँड्न सकून्, एकअर्कालाई सहयोग गर्न सकून् । कसैले कसैका लागि काम नगरी आफ्ना लागि गरेको अनुभूति गरून् र जागिरे नभई जिम्मेवार कर्मचारी बन्ने वातावरण बनोस् ।

कार्य क्षेत्रको व्यवस्थापन

चुस्त, दुरुस्त तथा प्रभावकारी ढंगबाट कार्यसम्पादन र सूचना सम्प्रेषण गर्न सक्ने कार्यक्षेत्र निर्माण गर्नुपर्दछ । कार्यक्षेत्र नेतृत्वको प्रतिबिम्ब हो जसले धेरै विषयवस्तु प्रदर्शन हुने गर्दछ । तसर्थ उपलब्ध साधन स्रोतको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ ।

स्रोतको प्रयोग कुनै पनि पक्षपातरहित ढंगले सुझबुझका साथ गर्नुपर्दछ । हरेक कर्मचारीप्रति गरिने व्यवहार समान र भेदभावरहित हुनुपर्दछ । आवश्यकताको सिद्घान्त तथा तत्कालीन समयको मागलाई ध्यानमा राखेर अन्य साधनस्रोतको परिचालन गर्नुपर्दछ ।

उपयुक्त र कार्यान्वयनमुखी नीतिनिर्माण

कुनै पनि नेतृत्वले सबै कुरालाई सही ढंगले परिचालन तथा व्यवस्थापनका लागि उपयुक्त नीतिनिर्माण गर्न सक्नुपर्दछ । नीतिनिर्माणमा सकेसम्म धेरै कर्मचारीको सहभागिता गराउँदा कार्यान्वयनमा सहजता ल्याउने गर्दछ । कुनै पनि संघसंस्थाको उद्देश्य प्राप्तिका लागि तय गरिने रोडम्याप नै महत्वपूर्ण हो जसले गन्तव्य प्राप्तिमा सहजता हुन्छ ।

लेखक ब्लुबर्ड कलेज, ललितपुरका उप–प्राचार्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?