+
+

‘कति बस्छ्यौ माइतीकै कौसीमा’देखि ‘चाँदनी’सम्म, यस्ता छन् साताका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १३:४९

३ मंसिर, काठमाडौं । पछिल्लो साता तीन दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । गायक प्रमोद खरेलका थुप्रै गीत यो साता सार्वजनिक भए । मोहितवंश आचार्यदेखि इन्दिरा जोशी र मदनकृष्ण श्रेष्ठसम्मको स्वर रहेका गीतहरु यस साता सार्वजनिक भएका छन् । यस्तै प्रकाश सपूतदेखि स्वस्तिमा खड्काले अभिनय गरेको म्युजिक भिडियो यसै साता सार्वजनिक भए । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिक भएकामध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

छक्का पञ्जा’ टिमको ‘कति बस्छ्यौ माइतीकै कौसीमा’

स्वर्गीय राम थापाको स्वरमा रहेको चर्चित गीत ‘कति बस्छ्यौ माइतीकै कौसीमा’को रिमेक भर्सन यो साता सार्वजनिक भएको छ । मुरारीप्रसाद लामिछानेको शब्द तथा संगीत रहेको यो गीतका शब्दलाई भीम विष्टले रि–क्रियसन गरेका छन् । नयाँ गीतमा उदयराज पौडेलले एरेञ्ज गरेका छन् भने अञ्जु पन्त र हिमाल  श्रेष्ठको स्वर रहेको छ ।

रिमेक भर्सनको यो गीतको भिडियोमा केदार घिमिरे र दीपाश्री निरौलाको अभिनय छ । यस गीतलाई चलचित्र ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको हो । मायामा हुने छक्का पञ्जाको कथा गीतमा प्रस्तुत गरिएको छ । विक्रम स्वाँरको कोरियोग्राफी, हरि हुमागाईंको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । बिहीबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतले शुक्रबार दिउँसोसम्म युट्युबमा १ लाख ७५ हजार भ्युज पाएको छ । भिडियो युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

मोहितवंश र मेलिनाको स्वरमा ‘हाम्रो माया’

बिहीबार सार्वजनिक भएको ‘हाम्रो माया’ बोलको गीतमा मोहितवंश आचार्य र मेलिना मैनालीको स्वर रहेको छ । यस गीतको भिडियोमा स्वस्तिमा खड्का र नाजिर हुसेनले अभिनय गरेका छन् । दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत रहेको गीतलाई योगेशकाजीले एरेञ्ज गरेका हुन् । राजीव समिरको कोरियोग्राफी र शान थापाको निर्देशनमा यस गीतको भिडियो निर्माण भएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालमार्फत सार्वजनिक गीतको भिडियोले २४ घण्टा नपुग्दै २ लाख ८० हजार बढी भ्युज पाएको छ ।

कार्टुन क्रु जुनियर’को ‘ढिकिच्याउँ’

‘द कार्टुन क्रु’ले गत शुक्रबार ‘ढिकिच्याउँ’बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । दीपक शर्माको शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा सहिमा श्रेष्ठ र सन्दीप न्यौपानेले स्वर दिएका छन् । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ‘द कार्टुन क्रु’का जुनियर कलाकारहरुको अभिनय छ । पवन सुस्लिङको छायाँकन रहेको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् । यस गीतको भिडियोले एक सातामा १२ लाख ७० हजार बढी भ्युज पाएको छ । यो गीत युट्युब ट्रेन्डिङको शीर्ष १० स्थानमा छ ।

प्रमोदको स्वरमा ‘घोषणा’

दुई दिनअघि सार्वजनिक ‘घोषणा’ शीर्षकको गीतमा प्रमोद खरेलको स्वर छ । सुनिल बीसीको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको एरेञ्ज छ । यो गीतको म्युजिक भिडियोको केही दिनअगाडि टिजर समेत सार्वजनिक गरिएको थियो । विक्रम चौहानको कथा एवं निर्देशनमा फिल्मी शैलीमा यस गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

भिडियोमा विक्रम बुढाथोकी, नयन सिंह र प्रनिषा गुरुङको अभिनय छ । भिडियोलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोले शुक्रबार दिउँसोसम्म १ लाख ९० हजार बढी भ्युज पाएको छ ।

मदनकृष्ण र इन्दिराको स्वरमा ‘ह्याप्पी हर्ट’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वरमा गत शनिबार ‘ह्याप्पी हर्ट’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सराना श्रेष्ठको शब्द रहेको गीतमा यमन श्रेष्ठको संगीत र उदयराज पौडेलको एरेञ्ज छ । राजीव समिरको कोरियोग्राफी, हरि हुमागाईंको निर्देशन रहेको भिडियोमा मदनकृष्ण र इन्दिरा स्वयंका साथमा यमन र सराना पनि फिचरिङ छन् । नवीन निरौलाको सम्पादन रहेको भिडियोको भ्युज ६१ हजार बढी छ ।

प्रमोद खरेलको ‘औकात’

गायक प्रमोद खरेलको स्वर रहेको ‘औकात’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो । विद्या निर्दोष पहाडीको शब्द, डीबी निरंकारीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् ।

प्रेम विरहको यस गीतको भिडियोमा गीता ढुंगाना, युवराज घिमिरे, डीबी निरंकारीको अभिनय छ । भिडियोलाई विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन, मिलन विकले सम्पादन गरेका हुन् । भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा ३ लाख ९० हजार बढी भ्युज पाएको छ ।

प्रकाश र केकी अभिनित ‘चाँदनी’

‘चाँदनी’ बोलको लोकदोहोरी गीत गत शुक्रबार सार्वजनिक भएको हो । रामजी खाँण र सम्झना भण्डारीको स्वर रहेको गीतको भिडियोमा गायक एवं मोडल प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीको अभिनय छ । सुजन लम्सालले लेखेको यो रोमान्टिक खालको गीतमा संगीत पनि उनले नै गरेका छन् भने गीतलाई सुनिल परियारले एरेञ्ज गरेका हुन् ।

विक्रम स्वाँरको निर्देशनमा यस गीतको भिडियो तयार भएको हो । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थुप्रै लोकदोहोरी गीत ल्याइसकेको पृथ्वी इन्टरटेन्मेन्टले ‘चाँदनी’ गीतलाई प्रस्तुत गरेको हो । भिडियोले शुक्रबारसम्म २ लाख ३० हजार भ्युज पाएको छ ।

तिम्रै बोली’मा प्रमोद र रचनाको स्वर

गत आइतबार सार्वजनिक ‘तिम्रै बोली’ गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर छ । संगीत गैरेको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेञ्ज गरेका हुन् । मायाप्रेमको कथा बोल्ने गीतको भिडियोमा दीपक घिमिरे र गरिमा शर्माको अभिनय छ । भिडियोमा संगीत गैरेको निर्देशन, दीपक घिमिरे र टीमको छायाँकन तथा अमृत चापागाईंको सम्पादन हेर्न सकिन्छ । श्रीधर अधिकारी युट्युब च्यानलमा सार्वजनिक भिडियोले ३ लाख भ्युज पाएको छ ।

पूजा र रोशनको अभिनयमा ‘रित्तो रित्तो’

पूजा शर्मा र रोशन अधिकारीको अभिनय रहेको ‘रित्तो रित्तो’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक भएको हो । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत, महाराज थापाको एरेञ्ज रहेको गीतमा रोशनकै स्वर छ । द डिभाइन म्युजिकको प्रस्तुति रहेको गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

मुस्ताङको रमणीय स्थानमा यस रोमान्टिक गीतको छायाँकन छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यस भिडियोले शुक्रबार दिउँसोसम्म ३५ हजार भ्युज पाएको छ ।

वसन्त र जुना श्रीसको स्वरमा पञ्चेबाजा गीत

विवाहको सिजन शुरु भएसँगै बिहीबार मात्रै ‘आइपुग्यो बाउलुङ बजार’ बोलको पञ्चेबाजा गीत युट्युबमा सार्वजनिक गरिएको हो । पञ्जेबाजा गीत विवाहको सिजनमा बढी गुञ्जिने गर्छ । नवराज पन्तको शब्द, खेम पुनको संगीत रहेको यस गीतमा वसन्त थापा र जुना श्रीस मगरको स्वर सुन्न सकिन्छ । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् ।

विनोद भण्डारीको कथा एवं निर्देशन रहेको यस पञ्चेबाजा गीतमा विनोद स्वयंसँगै जुना गुरुङको शीर्ष अभिनय छ । करन चैसिरको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?