+
+
अष्टलक्ष्मी शाक्यसँग अन्तर्वार्ता :

‘अहिले ओलीलाई विस्थापित गरेर फलानो भन्नु स्वाभाविक नहोला’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते २१:०५

४ मंसिर, काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा एक्लो महिला हुन् अष्टलक्ष्मी शाक्य । एमालेमा लामो समय माधव नेपाल समूहमा सक्रिय उनी पार्टी विभाजन हुँदा भने नेपालसँगै नयाँ पार्टीमा गइनन्, बरु त्यही दिन वागमती प्रदेशको मुख्यमन्त्री बनिन् । ७१ दिन मुख्यमन्त्री बनेकी शाक्यमाथि त्यही कारण पदका लागि अडान छोडेको आक्षेपसमेत लाग्यो ।

उनी भने त्यसलाई मान्न तयार छैनन् । भन्छिन्, ‘यो दृष्टिकोण नै गलत भयो । मैले कित्ता फेरेको छैन । म हिजो पनि एमाले थिएँ, आज पनि एमाले नै छु ।’

साथै आसन्न दशौं महाधिवेशनबाट पनि उनले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प देखेकी छैनन् । ‘अहिले नै केपी ओलीलाई विस्थापित गरेर फलानो हुन्छ, ढिस्काना हुन्छ भन्ने स्थिति अलि स्वाभाविक भएन भन्ने लाग्छ,’ उनको तर्क छ ।

प्रस्तुत छ, आसन्न महाधिवेशनको सन्दर्भमा एमाले नेता शाक्यसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठबिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

वागमती प्रदेशको मुख्यमन्त्री त बन्नुभयो, तर ७१ औं दिनमा हिजोका पूर्व सहकर्मीहरुले हटाइदिए । मुख्यमन्त्री बन्ने समय ‘भूतले खाजा खाने’ बेला पर्‍यो ?

पार्टी फुटेको बेला पर्‍यो । पार्टी नफुटेको बेलामा नै माधव नेपाल र केपी शर्मा ओली दुबै जिम्मेवार हुनुपर्ने थियो । अझ माधव नेपालले महसुस गर्नुपर्ने थियो भन्छु । किनकी उहाँकै कारण (मुख्यमन्त्री) नभएको हो ।

अहिले नै केपी ओलीलाई विस्थापित गरेर फलानो हुन्छ, ढिस्काना हुन्छ भन्ने स्थिति पनि अलि स्वाभाविक भएन । उहाँ अहिले पनि क्रियाशील भएर लाग्नुभएकै छ, उहाँको जुन सक्रियता छ, त्यसलाई नजरअन्दाज गर्न सकिन्न ।

हामीले भनेका थियौं, भर्खर संघीयता कार्यान्वयनमा आएको छ, यस्तो बेला चुनाव गर्दा तलसम्म विभाजन आउँछ । त्यसैले सबैतिर सहमति गरौं भनेको चुनाव चुनाव भन्न थालियो । माथि चुनावको धङधङी थियो, सहमति गर्नै सकिएन, बर्बाद भयो । त्यसको जिम्मेवार पहिलो नम्बरमा केपी कमरेड हो, दोस्रो माधव नेपाल ।

अस्ति चाहिँ केपी कमरेडले मलाई बोलाएर भन्नुभयो, ‘(मुख्यमन्त्री बन्न) नदिएपछि एउटा महिला, अष्ट यत्रो दुःख गरेको भनेर मैले धेरै आलोचना खेपेँ,गल्ती भयो । म त्यो सच्याउन चाहन्छु, डोरमणिलाई विदा लिन लगाउने र तपाईं मुख्यमन्त्री बन्ने ।’ मैले धेरै समय पनि छैन, गर्नुपर्छ भन्ने पनि छैन । नेताको हिसाबले गर्नुपर्ने गरिरहेकै छु भन्दा उहाँले हुँदै हुँदैन, गर्नैपर्छ जति समय भएपनि बस्नुस्, त्यसको छुट्टै ओजन हुन्छ भन्नुभयो ।

मैले माधव कमरेडलाई सोधेँ । उहाँले तपाईंलाई पहिल्यै (मुख्यमन्त्री) बनाउनुपर्थ्यो, सक्दै सकिएन । अहिले केपी कमरेडले भन्नुभयो भने मेरो पनि सपोर्ट छ भन्नुभयो । मैले निरन्तरताको कुरा नि भन्दा उहाँले त्यसमा समस्यै छैन । तपाईं बन्नुस् न, सल्लाह गरौंला भन्नुभयो । अरु नेताहरुले पनि जति दिन भएपनि बस्नु नै राम्रो हुन्छ, अन्यत्र महिला मुख्यमन्त्री बन्ने सम्भावना पनि छैन भन्नु भएपछि मैले पनि लौ त भनेर (मुख्यमन्त्री)भएँ।

भदौ २ जुन दिन तपाई मुख्यमन्त्री बन्नुभयो, त्यही दिन एमाले फुट्यो । नयाँ पार्टी बनाएका माधवकुमार नेपालले मैले अष्टलक्ष्मीलाई मुख्यमन्त्री बन्नुस् भनेको हो, तर हाम्रो पार्टीमा नआएकाले साथ दिन सकिएन भन्नुभयो । मुख्यमन्त्री बन्नुस् भन्दा नयाँ पार्टीमा आउनुपर्छ भन्नुभएको थियो ?

उहाँलाई यो अष्ट मकहाँ आउँदैन भन्ने थाहा थियो । किनकी मैले क्लियर भनेको थिएँ, यत्रो दुःख गरेर हामीले बनाएको पार्टी किन फुटाउनुपर्‍यो ? तपाईंले पार्टी फुटाउन पाउनुहुन्न ।अन्तरविरोध छ भने पनि भित्र बसेर लड्ने हो ।

यदि पार्टी फुटाइहाल्नुभयो भने म तपाईंको पक्षमा आउँदिन । मैले खाइनखाई, दुःख गरेर बनाएको पार्टी यही हो । मलाई अरु व्यक्तिको मतलब छैन, जे जे पर्छ पर्छ, म चाहिँ एमालेमै बस्छु भनेर उहाँलाई प्रष्ट भनेको थिएँ ।

उसो भए मुख्यमन्त्री बन्दै गर्दा नै माधव नेपालले पार्टी फुटाउन सक्छन्, मलाई भोलि हटाउन सक्छन् भन्ने आशंका थियो ?

मलाई शंका थियो किनभने उहाँको हाउभाउ, गतिविधि….. हामीले भनेको नसुनेपछि अलिअलि त लागिहाल्छ नि ।

पार्टी फुटेपछि चाहिँ मुख्यमन्त्रीमा समर्थन गर्लान् भन्ने आशा गर्नुभयो ?

फुटेपछि तपाईं आउने होइन भन्नुभयो । मैले अबदेखि आउनुस् भनेर मलाई फोन पनि नगर्नुहोला । अरु विषयमा कुरा गर्न सकिन्छ, तर मुख्यमन्त्री पदमा टिकिरहन म तपाईंको पार्टीमा आउदिन भनेँ । फुटको पार्टीमा म कहिल्यै आउन सक्दिनँ भनेर क्लियर भनिदिएँ ।

कतिपयले चाहिँ अष्टलक्ष्मीले केही दिनको मुख्यमन्त्री पदमा किन लोभ गरेको होला ? पदकै लागि संस्थापन पक्षतिर लाग्यो भन्ने आभास हुने अवस्था किन बनाएको होला भन्छन् नि ?

मलाई बुझ्ने सम्बन्धमा यो दृष्टिकोण नै गलत भयो भन्छु म । मैले कित्ता फेरेको छैन । म हिजो पनि एमाले, आज पनि एमाले, बीचमा पनि एमाले नै हो । केपी ओली र माधव नेपालहरु मिलेरै पार्टी एकता गरे, हामी सबै नेकपा भयौं । बीचमा मिलेन, फर्कियौं । हामीले अर्को पार्टी पनि बनाएनौं, माओवादीमा पनि गएनौं ।

हामी सबै एमाले भयौं, त्यो बेलासम्म माधव कमरेडको प्रष्टै थियो । एमालेभित्रै जाने हो भनेर नै उहाँले वार्ता गर्नुस् भनेर कार्यदलमा साथीहरुलाई पठाउनुभयो । १० बुँदेमा पनि उहाँको सहमति नै हो । भीम रावल कमरेडले एकएक उहाँलाई थाहा दिएरै गर्नुभएको थियो । पछिपछि अप्ठ्यारो भएपछि मलाई थाहा छैन भन्न थाल्नुभयो । त्यसो भएकाले कित्ता फेरेको होइन । एमालेमै थिएँ, एमालेमै छु ।

माधव नेपाल पार्टीमा रहनुभएन, पार्टीको अध्यक्ष केपी ओली भएपछि मान्नै पर्‍यो । तर मैले अहिल्यै पनि आँखा चिम्लिएर नेताहरुलाई मान्ने गरेको छैन । त्यही कारण म सबैको अलि बढी आलोचक पनि भएको छु । म माधव नेपालको पनि आलोचना गर्छु, झलनाथ खनालको पनि आलोचना गर्छु, केपी ओलीको अलि बढी गर्छु । किनभने उहाँको शैली, स्वाभाव अलि बढी अराजक, गुटगत हुन्थ्यो । विचारयुक्त भएन, विधिसम्मत भएन भनेर भनेर अलि आलोचना गर्थेँ ।

त्यसो भए ७१ दिनका लागि मुख्यमन्त्री नबनेको भए पनि हुन्थ्यो भन्ने लागेको छैन ?

मलाई त्यस्तो केही लाग्दैन किनभने हाम्रो जस्तो राजनीतिक स्थिरता नभएको देशमा पद भनेको दुई दिनको पनि हुनसक्छ, तीन दिनको पनि हुनसक्छ । त्यसमा पनि दुईटा नेतालाई साक्षी राखेर लिनुस् भनेपछि लिएको पद हो । मलाई काम गर्न दिइएन, माधव नेपाल आफैं सक्रिय हुनुभयो हटाउन । त्यो बेग्लै कुरा हो । तर मैले टिम राम्रो बनाएको थिएँ, छोटो समयमा पनि महत्वपूर्ण काम गर्‍यौं भन्ने लाग्छ ।

कतिपयलाई यो अष्ट स्वार्थी भयो, लोभी भयो भनेर लाग्ला । तर मैले जिन्दगीमा आफ्ना लागि केही गरेको छैन । मुख्यमन्त्री भएर कुनै स्वार्थको राजनीति गरेको छैन, पदीय दुरुपयोग गरेर केही लिएको छैन ।

पार्टीको बहुमत पुगेन, मुख्यमन्त्रीबाट त हट्नुभयो । पार्टीमा चाहिँ आसन्न महाधिवेशनपछि तपाईंको भूमिकाबारे अध्यक्ष वा अरु नेताहरुसँग केही सरसल्लाह भएको छ ?

हिजो पो नेताहरु धेरै भएकाले मिलाउन गाह्रो, एकता गर्न पनि गाह्रो । अब त एक्लो अध्यक्ष मात्र हुनुभयो । अध्यक्ष कमरेडलाई हामीले भनेका छौं,धेरै नेताहरु हुनुहुन्छ । कसलाई पद दिने, कसलाई नदिने भन्ने चुनौतीपूर्ण छ । सबैलाई पद पुग्ने गरी बनाएर पनि भएन । पार्टी एकतावद्ध बनाएर लैजाने हो भने समझदारी गरेर जानुपर्छ ।

सबैसँग कुरा गर्नुस्, सबैको भावना बुझ्नुस् । कसैलाई केही भन्नुपर्ने छ भने पनि भन्नुस् किनकी कसैले पदको चाहना राख्दाराख्दै पनि पद नपुग्ला । पदभन्दा पार्टी बनाउने मुख्य कुरा हो । हामीले बनाएको पार्टीले मुलुक हाँक्न सक्छ कि सक्दैन ? सबैलाई एक ढिक्का बनाएर लैजान सक्छ कि सक्दैन ? यो महत्वपूर्ण हो । हामीले समाजवादको लक्ष्य लिएका छौं, यसका लागि आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छ कि सक्दैन ?

(एमाले) चारैतिरबाट एक्लो भएको छ, गठबन्धन बनेको छ । त्यसैले यो पार्टीलाई गुटमुक्त बनाउनुपर्छ । हिजो प्यानल प्यानल भयो, प्यानलले धेरै नोक्सान भयो, अब गुटमुक्त बनाउनुपर्छ । सबै एक ढिक्का भएर अगाडि बढ्ने हो, यो खुबी नेतृत्वले अब राख्नुपर्छ/देखाउनुपर्छ ।

गुटमुक्त भनेको चाहिँ यो पटक चुनावी प्रतिस्पर्धा नगर्ने ?

लोकतन्त्रमा दुई पक्ष हुन्छ । एउटा स्वस्थ प्रतिस्पर्धा, अर्को सहमति । सहमति पनि लोकतन्त्रको सुन्दर पक्ष हो । सजिलो त प्रतिस्पर्धा गर्न होला । ल उठौं भन्यो, आ आफ्ना प्यानल वा व्यक्ति व्यक्ति उठ्यो, परिणाम निकाल्यो । सहमति सबभन्दा गाह्रो छ । तर यसले पार्टीलाई एकतावद्ध पनि बनाउँछ ।

अहिलेको खाँचो भनेको नेकपा एमालेको विभाजन, अन्तरविरोध, असमझदारी होइन । समझदारीका साथ एमालेलाई एकढिक्का बनाउने हो, विचारयुक्त विधियुक्त बनाएर अनुशासित पार्टी बनाएर स्थापित गर्ने हो ।

मान्छेहरुले ‘लोकतन्त्र छैन’, ‘निरंकुश छ’, ‘केपी ओलीले जे भन्यो, त्यही हुन्छ’ अनेक भने । तर मलाई त्यस्तो लाग्दैन । बरु अरुले पनि सिक्नुपर्छ भन्ने लाग्छ । एउटा निर्देशनबाट, केपी कमरेडको मात्र निर्देशन होइन त्यो । स्थायी कमिटी बस्यो, छलफल भयो, सर्वसम्मतबाट जानुपर्छ भनेर निर्णय भयो ।

केन्द्रीय कमिटीमा पनि त्यही खालको छलफल भयो र सम्पूर्ण पालिका पनि सर्वसम्मत, वडाहरुमा पनि सर्वसम्मत, अहिले प्रतिनिधि चयनमा पनि आंशिक बाहेक सर्वसम्मत भयो । यो भनेको लोकतन्त्रको अत्यन्त सुन्दर पक्ष हो । हामी चाहिँ प्रतिस्पर्धा मात्र बुझ्छौं, अस्वस्थ्य भएपनि लौ, जेजे भए पनि लौ भन्यौं । तब न बिग्रियो ।

सहमतिमै तपाईंको जोड हो ?

नेकपा एमाले बचाउने भनेको कम्युनिस्ट आन्दोलन जोगाउन हो, बलियो बनाउन हो । यसका लागि नेतृत्व विभाजित हुनुहुँदैन, एकढिक्का हुनुपर्छ ।

दोस्रो, हामीसँग मुलुकको परिर्वतन, विकास, समृद्धिको जिम्मेवारी छैन र ? सुशासन कायम गर्ने जिम्मेवारी छैन ? यो सबका लागि पनि पार्टी एकढिक्का हुनुपर्छ । जुन पार्टीभित्र समस्या आउँछ, अन्तरविरोध पैदा हुन्छ, असमझदारी बन्छ, त्यो पार्टीले सफलतापूर्वक यो सबैको नेतृत्व गर्न सक्दैन । त्यसैले यो महाधिवेशनबाट हामी एकमना एकता र प्रष्ट भिजनमा साथ अगाडि बढ्नुपर्छ ।

सहमतिबाट चुन्ने अध्यक्ष त स्वाभाविक रुपमा केपी शर्मा ओली नै होला नि ?

हामीले अहिले नै उहाँको विकल्प त्यति खोजेका छैनौं । विविध कारण छन् ।

त्यो कारण के के हो ?

अहिले नै केपी ओलीलाई विस्थापित गरेर फलानो हुन्छ, ढिस्काना हुन्छ भन्ने स्थिति पनि अलि स्वाभाविक स्थिति भएन भन्ने लाग्छ । किनभने ७० वर्ष नै उहाँ पुगेको भए त उहाँको बारेमा सोच्न बाध्य हुन्थ्यौं । तर उहाँ अहिले पनि क्रियाशील भएर लाग्नुभएकै छ, उहाँको जुन सक्रियता छ, त्यसलाई नजरअन्दाज गर्न सकिन्न ।

त्यसकारण पनि उहाँको नेतृत्वको आवश्यकता छ । अर्को, उहाँले म समेटेर लैजान्छु भनिसकेपछि पनि तपाईं आराम गरेर बस्नुस् भन्ने र त्यहाँ को जाने उछिन पाछिन गर्ने स्थिति पनि नहोस् । अर्को महाधिवेशनमा बेग्लै हुन्छ, यो पटक त्यस्तो नहोला ।

नेतृत्व त्यो स्तरको नभएको भन्दिन । योगदान त सालाखाला उस्तै उस्तै हो । उमेरको हिसाबले पनि उस्तै हो । छलफल नै त भएको छैन, तर मलाई लागेको चाहिँ उहाँले मन गर्नुभयो भने एकचोटी ठिकै छ भन्ने लाग्छ ।

पार्टीमा आफ्नो गुटलाई मात्र हेर्नुभयो, संसद विघटन गर्नुभयो, पार्टी फुटसम्म पुग्यो । यो सबैको नेतृत्व गरेको ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बनाऔं भन्दा पुरस्कृत गरौं भने जस्तो भएन ?

त्यसरी पनि नहेरौं भन्छु । जति गाली गर्नुपर्ने हो, त्यो गलत काम गरेको बेला गरिसक्यौं । तर म एउटा समझदारी के राख्छु भने मान्छे रुपान्तरित हुनसक्छ, उसले महसुस गर्न सक्छ ।

केपी ओलीले देखिने गरी गल्ती गरेका छन् । तर केपी ओलीलाई त्यो ठाउँमा पुर्‍याउने को को हो त ? यो पनि छलफलको विषय बनाउनुपर्छ । केपी ओलीलाई त्यो ठाउँमा पुर्‍याउनुमा अरु नेताहरुको एकरत्ति पनि कमजोरी छैन त ? गलत काम गर्दा गलत भयो भनेर सहयोगी साथीहरुले भन्न सक्नुपर्छ ।

त्यसो भनेर केपी ओलीको गल्ती ढाकछोप गर्ने भन्ने होइन । मैले त चर्कै आलोचना गर्दै आएको छु । त्यसैले म के दृष्टिकोणमा स्पष्ट छु भन्दा मान्छे रुपान्तरित हुनसक्छ, रुपान्तरित गर्नुपर्छ । त्यसको लागि समझदारी बनाउने, छलफल गर्ने प्रयत्न छ ।

उसो भए हिजो जे जस्ता कमजोरी भए, फेरि अध्यक्ष बनाउँदा केपी ओलीबाट दोहोरिन्न भन्ने आशा हो कि त्यो कमजोरी गर्न नदिने टिम बनाउँछौं भन्ने विश्वास हो ? वा अब सकिएन, जे होला होला भन्ने हो ?

सकिएन भन्ने त हुनै सक्दैन, यो निरीहपन हुन्छ । मूल कुरा, (हिजो गल्ती भएको) महसुस गरे ठूलो कुरा हो । उहाँले आफ्नो शैली रुपान्तरण गर्नुपर्‍यो ।

अब माओवादी भनेर हुँदैन, माधव नेपालको भनेर हुँदैन, एमालेभित्र आइसकेपछि फराकिलो मन बनाउनुपर्छ । इतिहास, निरन्तरता, आवश्यकता हेरेर मिलाउनुपर्छ, मिलाउन एमाले सक्षम छ भन्ने लाग्छ ।

त्यो महसुस भएको पाउनुभएको छ ?

जिम्मेवार ठाउँमा पुग्दा फेरि त्यही गल्ती भयो भने त त्यही ढंगको व्यवहार हुन्छ । त्यसैले अरु नेताहरुलाई भन्दा सबै पन्छिसके, पार्टी नै फुटाएर हिडेँ । ठूलो गल्ती भएको छ फुटाउने नेताहरुबाट, यो पार्टी बनाउने जिम्मेवारी लिनुपर्थ्यो उहाँहरुले । अब जे सुकै होस् भनेर अर्को पार्टी बनाउनेतिर लाग्नु भएको छ । यसलाई महागल्ती भन्ने गरेको छु मैले ।

रुपान्तरित हुनुहन्छ भन्ने आशा छ ?

मलाई किन आशा लाग्छ भने मान्छे हो । अब आशा गर्ने कोसँग त ? तालिम दिँदा कस्तो कस्तो त परिर्वतन हुन्छ भने मान्छेको सोच परिर्वतन हुँदैन होला र ? हुन्छ नि । त्यो मान्छे खराब छ भनेर फ्याकिँराख्यो भने के हुन्छ र ? त्यसैले म रुपान्तरणको पक्षमा छु । म आफैं पनि रुपान्तरित भएर आएको हुँ ।

हिजोको जस्तो घर परिवारको स्थिति भएको भए, त्यसैलाई भोगिराखेको भए म यो अवस्थामा आउने थिइन । आलोचनाले काम गर्‍यो, सुझावले काम गर्‍यो, कामले काम गर्‍यो, संगठनमा काम गर्दै जाँदा रुपान्तरित गर्दै लग्यो होला ।

अध्यक्षमा ओली दोहोरिँदा तपाईको व्यक्तिगत योजना चाहिँ के ?

मैले व्यक्तिगत सोच केही बनाएको छैन । किनकी यो व्यक्तिगत कुरै होइन, यो संस्थागत कुरा हो, पार्टीको कुरा हो,समझदारीको कुरा हो ।

मैले टिमको कुरा गर्छु । मैले म यो हुन्छु, त्यो हुन्छ भन्न सुहाउँदैन । पार्टीमा टिममा जोड गर्नुपर्छ, समूहमा जोड गर्नुपर्छ, एकतामा जोड गर्नुपर्छ । यो सबै मिलाउन विचारमा जोड गर्नुपर्छ ।

पदाधिकारी संख्या १५ छ, आकांक्षी धेरै छन् । तपाईंहरुले भन्ने गरेको सहमति चाहिँ जुट्छ कसरी ?

कम्युनिस्ट पार्टीको हृदय फराकिलो हुनुपर्छ, सिद्धान्तले त्यही भन्छ । व्यवहारमा फराकिलो होइन, अलि संकुचित हुने गर्छ । त्यसैले होडबाजी चल्छ, अस्वस्थ प्रतिस्पर्धा हुन्छ । समाज जस्तो छ, त्यसको छायाँ पार्टीमा पनि देखा पर्छ ।

विचारयुक्त पार्टी बनाउनुपर्छ भनेर मैले किन जहिल्यै जोड दिन्छु भने त्यही विचारयुक्त पार्टीले नै मान्छेको गलत कुरा हटाउँदै जान्छ । विचार र विधियुक्त पार्टी भएपछि प्रणालीमा ढाल्छ, सामूहिकतामा ढाल्छ । त्यसले मान्छेमा परिर्वतन हुन्छ र आफ्ना लागि मात्र होइन, परिर्वतनका लागि पार्टी चाहिन्छ भन्छ ।

तपाईंले भनेको जस्तो, हाम्रो पार्टीमा थुप्रै अनुभवी नेताहरु छन् । पदको कुरा गर्दा सबैलाई हुन सक्ने अवस्था छैन । यसमा छलफल हुन्छ, मिलाउने काम हुनसक्छ । मुख्य कुरा सबैले के सोच्न जरुरी छ भने एमालेलाई जुझारु, क्रान्तिकारी बनाउने कि नबनाउने ? अनुशासित बनाउने कि नबनाउने ? सैद्धान्तिक, राजनीतिक कोणबाट पोख्त बनाउने कि नबनाउने ? त्यसो भएकाले समझदारीका साथ सबैलाई समेट्नुपर्छ ।

अब माओवादी भनेर हुँदैन, माधव नेपालको भनेर हुँदैन, एमालेभित्र आइसकेपछि फराकिलो मन बनाउनुपर्छ । इतिहास, निरन्तरता, आवश्यकता हेरेर मिलाउनुपर्छ, मिलाउन एमाले सक्षम छ भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment