+
+

‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’

एन्जल परियार, उर्लाबारी मोरङ एन्जल परियार, उर्लाबारी मोरङ
२०७८ मंसिर ६ गते १०:१३

साथीभाइको विदेश जाने लहर थियो । मामा किरण नेपालीले टर्की जाने कुरा सुनाउनुभयो । मैले भर्खर १२ कक्षाको पढाइ सकेको थिएँ । मलाई पनि जाऊँ जाऊँ लाग्यो । २२ वर्षको उमेरमा युरोप छिरेर ‘सेटल’ हुन पाए भविष्य बन्छ भन्ने थियो ।

टर्कीमा बस्दै आएकी दमक–८ की गीता काफ्ले एजेन्ट रहिछिन् । मामाले भेट गराउनुभयो । काठमाडौंमा कुराकानी हुँदा उनले सजिलै दिल्लीदेखि टर्की उड्ने सपना देखाइन् । हामी दिल्ली पुग्यौं । डेढ महीना होटलको बास भयो । भिसा आउने कुनै अत्तोपत्तो छैन । होटलको बिल बढेको बढ्यै । यसरी हुँदैन भनेर हामी नेपाल फर्कियौं ।

अब नेपालबाट सीधै जान मिल्ने भए मात्रै जाने भन्ने हाम्रो सोच भयो । स्याङ्जा घर भएका अर्का एजेन्ट विष्णु गुरुङसँग गीताले चिनजान गराइन् । उनीहरूले नेपालदेखि नै हामीलाई उडाउने आश्वासन दिए ।

मैले १२ लाख र मामाले ९ लाख रुपैयाँ बुझाइसकेका थियौं । काठमाडौंमा डकुमेन्ट छोडेर हामी घर फर्कियौं । एकदिन भिसा लाग्यो भनेर हामीलाई काठमाडौं बोलाए । तर फेरि होटलमा एक हप्ता बस्नु पर्‍यो । पठाउने  सुरसार नै देखिएन । उनीहरूले सीधै टर्की नभई दुबई पठाउने र त्यहाँबाट टर्की उडाउने कुरा गरे । त्यसरी जान त मन थिएन । तर पैसा बुझाइसकेका थियौं । नगए रकम फिर्ता नहुने अडान उनीहरूले राखे । बाध्य भएर जान तयार भयौं ।

टनेलको संकट टरे पनि फेरि नयाँ संकट थपियो । हिमालको छेउ पूरै हिउँ नै हिउँले भरिएको बाटो पैदल हिंड्नुपर्ने । त्यो पनि घन्टौंसम्म । हातखुट्टा चल्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । मैले त बाँच्ने आशा गुमाइसकेको थिएँ ।

२०७६ मंसीरको अन्तिम साता हामी घरपरिवार आफन्तसँग बिदा भएर नेपालदेखि दुबई उड्यौं । लगभग १५ दिन दुबईमा बित्यो । त्यहाँबाट टर्की जाने भिसा थिएन । पहिले जस्तै फेरि हुन्छ हुन्छ मात्रै भन्न थाले ।

दुबई पुगेपछि एजेन्टले बोली फेरे । अब दुबईदेखि पनि सीधै टर्की होइन, पहिले इरान जानुपर्ने भयो अनि मात्रै टर्की । लाखौं रकम बुझाइसकेका थियौं । हामी एजेन्टको विश्वासमा पर्न बाध्य थियौं ।

दुबई पुग्नु अघिसम्म हाम्रो एजेन्टको रूपमा गीता र विष्णु थिए । दुबई पुगेपछि नयाँ एजेन्टका रूपमा आए लक्की सिंह । उनी टर्कीमा बस्ने रहेछन् । लक्कीसँग हाम्रो सम्पर्क हुन थालेपछि गीता र विष्णु भने सम्पर्कबाट बाहिरिंदै गए ।

दुबई जाँदा भिजिट भिसामा गएका थियौं । डलरमा साटेर लगेको पैसा साथैमा थियो । एजेन्टहरूलाई थाहा नहुने कुरै भएन । त्यो पैसा पठाउन लक्कीले भन्यो । दुबईबाट एक नेपाली मार्फत पैसा लक्कीलाई पठाइदियौं । १५ दिनपछि इरान फ्लाइटको टिकट आइपुग्यो ।

दुबईमा पुग्दा अरू नेपाली पनि थपिए । हामीलाई जस्तै झुक्याएर ल्याइएको रहेछ । त्यहाँ मान्छे थपिने र इरान उड्ने क्रम जारी रह्यो । हामी इरान उड्यौं ।

टर्कीबाट लक्कीले सम्झाउँदै थियो, ‘इरानमा चोर फटाहा धेरै छन् । अलि डर छ । बाहिर कसैसँग सम्पर्क नगर्नु । आफ्नो बारेमा केही नभन्नु ।’ उनीहरूलाई कतै भाग्छन् वा कसैलाई सम्पर्क गरेर आफ्नो पोल खोल्छन् कि भन्ने डर रहेछ ।

इरानमा न भाषा मिल्छ, न कोही अंग्रेजी बोल्ने । नशाले मातिएका जस्ता मान्छेहरूले हामीलाई ‘रिसिभ’ गरे । उनीहरूकै भरमा हिंड्नुपर्ने । त्यसपछि त निकै डर लाग्न थाल्यो । रातको समय थियो । गाडीमा राख्ने, निकाल्ने र गाडी परिवर्तन भइरहन्थे । उनीहरू कुलतमा फसेर पागल बनेका जस्ता देखिन्थे । हाउभाउ पनि उस्तै । पासपोर्टदेखि सबै डकुमेन्टहरू उनीहरूले नै राखे । अब त साथमा पैसा पनि छैन । डकुमेन्ट पनि छैन । उनीहरूकै इशारा पछ्याइरह्यौं ।

त्यतिबेलासम्म इरान र टर्कीको बोर्डर नजिकै पुगिसकेका थियौं । हिमाल नजिकै भएकाले निकै चिसो थियो । भुइँमा रात बितायौं । टर्की जान हिंडेका पाकिस्तानी र अफगानीहरू पनि बाटोमा भेटिए ।

दुई देशको बोर्डरनेर पुग्यौं । नेपालमा ढलका लागि प्रयोग हुने टनेल भन्दा अलिकति मात्रै ठूलो । पानी पास हुने एउटा लामो टनेल रहेछ । पानी बगिरहेको त्यो टनेलमा छिरेर टर्की निस्कनुपर्ने । हामीलाई एजेन्टले जबरजस्ती ठेल्न खोज्दै थियो । मामाले जान नसक्ने संकेत गर्दै हुनुहुन्थ्यो । उहाँको मुखमा एक मुक्का हान्यो । इशाराले त्यहाँभित्र नपस्ने संकेत बुझेपछि उसले मुक्का हानेर तर्साएको थियो ।

अफगानी र पाकिस्तानीहरूको टोली टनेलबाट हामीतिर फर्किंदै थिए । पुलिस देखेपछि उनीहरू इरानतिर नै फर्किएका रहेछन् । त्यसपछि टनेलबाट नभई एजेन्टले अर्को वैकल्पिक बाटो खोज्यो । हामी त्यहाँबाट शुरूमा बास बसेकै ठाउँमा फर्कियौं । त्यहाँ पुग्दा दुबईमा बस्दा भेटेका नेपाली पनि भेटिए । उनीहरू तीन जना थिए, हामी दुई गरेर पाँच जना नेपाली एकै ठाउँमा भयौं ।

टनेलको संकट टरे पनि फेरि नयाँ संकट थपियो । हिमालको छेउ पूरै हिउँ नै हिउँले भरिएको बाटो पैदल हिंड्नुपर्ने । त्यो पनि घन्टौंसम्म । मेरो खुट्टामा स्पोर्टस् टाइपका जुत्ता थिए । पटक–पटक हिउँमा चिप्लिएर लड्थें । हिउँमा हातहरू धेरै पटक गाडिए । हातखुट्टा नै चल्न नसक्ने अवस्थामा पुगिसकेका थिए । मैले त बाँच्ने आशा गुमाइसकेको थिएँ । अगाडि पाइला चाल्नै नसक्ने अवस्थामा पुगें ।

यात्रामा भेटिएका पोखराका सन्दिप विश्वकर्माले नयाँ जीवन दिए । उनले मलाई ठेल्दै–ठेल्दै समातेर अघि बढाए । उनले मेरा लागि धेरै नै दुःख गरे । यति ठूलो सहारा नपाएको भए शायद म हिउँमै गाडिएको हुन्थें । रातभरको कष्टकर पैदल यात्रा पछि जसोतसो पारि पुग्यौं ।

बाख्राको गोठ जस्तोमा लगेर एजेन्टले राख्यो । मान्छे थुपार्ने थलो रहेछ । अलि धेरै मान्छे भएपछि मात्रै अघि बढ्ने रहेछ । एक रात त्यहीं बितायौं । मेरा हातहरू चिसोले सुन्निएका थिए ।

हामी टर्कीको बोर्डरमा छिर्‍यौं । सबै जनालाई कन्टेनरमा हाल्यो । पछि त्यहाँबाट निकालेर फेरि पानीजहाजमा राख्यो । ठाउँहरूको नाम मलाई याद नै छैन । तर राख्ने, निकाल्ने, फेरि राख्ने क्रम चल्दै गए ।

लिन आउने गाडीको बसस्टप नजिकै प्रतीक्षा गरिरहेका थियौं । त्यहाँ धेरै चिसो थियो । एकदिन एकरात त बाटोमै कुरेर बितायौं । पछि गाडी त लिन आयो तर बाटोमा पुलिसको चेकजाँचमा पर्‍यौं । पुलिसले समातेर लकरमा राख्यो । कागजपत्र केही थिएन । सबैसँग सोधपुछ गर्‍यो ।

टर्कीको भाषा अलि-अलि बोल्न सक्ने अफगानीलाई राखेर हामीलाई सोधेको थियो । सबैको देश नेपाल लेखेको रहेछ । मेरो भने अफगानिस्तान भनेर टिपिदिएछ । म फेरि अर्को लफडामा फसें । हातमा हत्कडीको क्लिप लगाएर युएनको क्याम्पमा लगेर राख्यो । म बाहेक अन्य चार जना नेपालीलाई छोडिदियो ।

१५ दिनभित्र टर्की छोड्नुपर्ने भनेर पेपरमा लेख्दोरहेछ । तर पाकिस्तान, अफगानिस्तानको भनेपछि अलि फरक ढंगले हेरिंदोरहेछ । म भने अफगानी भन्दै लफडामा परेकाले निस्कन सकिनँ ।

मैले टर्कीका लागि १५ लाख रुपैयाँ भन्दा बढी खर्च गरें । त्यसको प्रतिफलमा दुई वटा औंला गुमाएँ । औंला काट्दा पनि उनीहरूमा कत्ति पनि दया–माया देखिएन ।

हातको समस्या झन् झन् बल्झिंदै गयो । दाहिने हातको माझी र साहिंली औंला चाहिं सुक्दै गए । डाक्टरले मलाई पेनकिलर र मल्हम मात्रै दिन्थ्यो । डाक्टरलाई पनि अलिअलि अंग्रेजी आउँदो रहेछ । मैले मेरो हातको र डकुमेन्टको दुवै समस्या राखें । उता क्याम्पको मान्छेसँग पनि एक जना अफगानी मार्फत देशको नाम गलत टिपिएको सुनाएको थिएँ ।

युएनका प्रतिनिधिहरूले मेरो औंलाको समस्या जटिल बन्दै गएको देखेपछि अस्पताल पुर्‍याए । डाक्टरले त्यति बेलै दुईवटा औंला काट्नुपर्ने बताएका थिए । म इलिगल रूपमा यहाँ आएकाले सजाय पो दिएको हो कि ! भन्ने मनमा लाग्यो र औंला काट्न डराएँ । मैले सहमति जनाइनँ । त्यसैले थप उपचार हुन सकेन । कसैसँग सम्पर्क गर्न पाएको छैन । मेरो मनमा त्यतिबेला डर र त्रास मात्रै थियो । त्यसैले त्यस्तो निर्णय गर्न पुगें । मेरो डकुमेन्ट पनि सच्चियो । म पनि नेपाली बनेर नै त्यहाँबाट अन्य साथीहरू जस्तै निस्किएँ ।

अब कता जाने, न गोजीमा पैसा छ न जाने ठाउँ थाहा छ । नेपाली साथीहरूले क्याम्पबाट छुट्दै गर्दा एउटा नम्बर छोडिदिएका थिए । मसँग त्यही नम्बर मात्रै एउटा विकल्प थियो । १०–१५ पटक फोन गरें तर उठेन । बल्लबल्ल सम्पर्क भयो । त्यो फोन नम्बर उनै लक्की सिंहको रहेछ । मसँगै आएका अन्य चार नेपाली पनि उनकै रुममा पुगिसकेका रहेछन् ।

ह्वाटसपबाट लोकेशन सेयर भयो । ट्याक्सी लिएर त्यहाँ पुगें । ट्याक्सीको पैसा पनि त्यहीं रहेका नेपाली साथीहरूले तिरिदिए । लक्की भने लिन पनि आएन ।

टर्की पुगियो, तर कुनै खुशी थिएन । हातको समस्या मैले सहन सक्ने अवस्था नै थिएन । मेरो त्यो अवस्था देखेपछि लक्की मबाट तर्कियो । काठमाडौंमा भेटेकी एजेन्ट गीता काफ्ले टर्की आइपुगेकी रहिछिन् । लक्की आफू फस्ने चाल पाएपछि गीतालाई जिम्मा लगाएछ । गीताले हामीलाई लिएर गइन् । पाकिस्तानीको अन्डरमा हामीलाई राखियो । उनले पाकिस्तानी मार्फत अस्पतालसम्म पुर्‍याइन् ।

उनीहरूको योजना केवल कमाउने मात्रै थियो । मेरो उपचारमा अढाइदेखि ३ लाखसम्म खर्च लाग्ने तर आफूहरूले नव्यहोर्ने बताए । नेपालबाट नभएपछि बहराइनबाट टर्की पैसा झिकाएँ । पैसा आएको १० दिनसम्म पनि उपचारको अत्तोपत्तो गरेनन् । सेटिङमा काम गर्नुपर्छ भन्थे । अन्ततः मेरो दाहिने हातको माझी र साहिंली औंला काटियो । पछि बुझ्दै जाँदा मैले गरेको उपाचार खर्च ५०–६० हजार रुपैयाँ मात्रै रहेछ ।

अझ शुरूमा बहराइनबाट पठाएको ३ हजार डलर डाक्टरले खायो समेत भने । उपचारको नाममा पनि ३ लाख रुपैयाँ सकियो । यसरी मैले टर्कीका लागि १५ लाख रुपैयाँ भन्दा बढी खर्च गरें । त्यसको प्रतिफलमा दुई वटा औंला गुमाएँ । औंला काट्दा पनि उनीहरूमा कत्ति पनि दया–माया देखिएन । उल्टै पैसा खाइदिए ।

कोरोनाको कहर, पूरै लकडाउन थियो । औंला निको हुन महीनौं लाग्यो । घरमा ऋणको बोझ त छँदैछ । अवैध रूपमा बसिरहेका हामीले त्यो बेला रोजगारी पाउनु झन् परको कुरा थियो ।

अब फेरि उनीहरूले टर्कीबाट युरोप लैजाने भन्दै ग्रीस जान दबाव दिनथाले । तर म त्यहाँबाट अघि बढ्ने पक्षमा थिइनँ । त्यहाँ पुगेपछि मैले एजेन्टको सबै चाल बुझिसकेको थिएँ । मान्छेलाई जति अप्ठ्यारोमा पार्न सकियो त्यति नै एजेन्टलाई पैसा कमाउन सजिलो हुँदोरहेछ । त्यसैले पनि अहिले दुबई हुँदै इरान र टर्कीसम्मको बाटो एजेन्टको रोजाइमा पर्छ । टर्कीपछि ग्रीस हुँदै अन्य मुलुकसम्म पुग्दा त अझ ठूलो खर्च र जोखिम हुन्छ ।

लामो यात्रा बनाउन सके, उति नै बढी पैसा असुल्न उनीहरूलाई सजिलो हुँदोरहेछ । एजेन्टले पासपोर्ट लगायत डकुमेन्ट कब्जामा राख्छन् । ज्यान जोगाउनका लागि परिवारले जति पनि रकम खर्च गर्न तयार हुन्छन् भन्ने उनीहरूलाई थाहा छ ।

टर्कीमा नेपालीको अवस्था भयावह छ । नेपाली एजेन्टहरूले नै थुप्रै नेपाली ठगिरहेका छन् । पाकिस्तानी र अफगानीहरूको संगतमा नेपाली एजेन्टहरूले पनि कमाइखाने बाटो बनाएका छन् । उनीहरूकै नियन्त्रणमा बसेर काम गरिरहेका छन् । नेपाली एजेन्टहरूबीच समन्वय पनि देखिन्छ । उनीहरू छुट्टाछुट्टै रूपमा युरोप जाने नेपालीलाई एउटै समूहमा राखेर ग्रीसतिर पठाउँछन् ।

टर्की आउँदा मोटो रकम डुबाएकाहरूले त्यही काम गरेको पनि देखें । यो काम नराम्रो हो भन्ने उनीहरूलाई थाहा छ । उनीहरू नै दुःख भोगेर आएका छन् । तर घरको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उनीहरू अरूलाई फसाउने काम गर्दा रहेछन् ।

५/७ जना मान्छे खोज् तँलाई अघि युरोपतिर पठाइदिन्छु, काममा लगाइदिन्छु भनेर एजेन्टले आश्वासन दिएको हुन्छ । आफू अघि बढ्ने उद्देश्यले पनि अरू मान्छे जम्मा गर्न प्रेरित गरेको पनि बुझें मैले । हामीलाई पनि त्यही भनिरहेको थियो । यदि नेपाल फर्कने कुनै आधार नै छैन भने त्यो नेपाली त्यही बाटो समात्न बाध्य हुन्छ । म आफू पनि ठगिएर आएको हुँ । म पनि अब अरूलाई ठग्छु भन्ने भावना विकास हुँदोरहेछ ।

टर्कीमा थुप्रै संख्यामा नेपाली छन् । एक नेपालीले अर्कोलाई जानाजान पैसाकै लोभमा फसाएका छन् । नेपाली महिला पनि एजेन्टको रूपमा सक्रिय रहेको देखेको छु । टर्कीको टाक्सिम भन्ने ठाउँतिर नेपाली एजेन्टहरूले फ्याल्ट भाडामा लिएर मान्छेहरू भेला पार्ने काम गर्छन् । त्यहाँ गैरकानूनी रूपमा थुप्रै नेपाली राखेका छन् ।

टाक्सिम एजेन्ट नै एजेन्टहरूले भरिएको छ । थुप्रै नेपाली फसेका छन् । बाहिर मिडियामा कुराकानी त परको कुरा खुलेर उनीहरू आफन्तसँग गुनासो राख्न पनि सक्दैनन् । त्यो अवस्था भनेको बन्धक जस्तै हो । सबै एजेन्टको अनुसार चल्नुपर्ने हुन्छ । टर्कीमै रहेका अरू नेपालीसँग पनि आफ्नो समस्या राख्न र कुराकानी गर्न गाह्रो पर्छ । ऊ त झनै ठूलो तस्कर हो भनेर डर देखाइदिन्छन् ।

टर्कीको नौ महीने बसाइलाई टुंग्याएर मामा र म घर फर्कन चाहन्थ्यौं । तर घर फर्कन त्यति सजिलो थिएन । हामी एजेन्टकै नियन्त्रणमा थियौं । तर युरोपमा नै रहनुभएका मेरा अंकलले एनआरएनए टर्कीसँग समन्वय गर्नुभयो । एनआरएनए मार्फत नै इस्लामावादस्थित नेपाली दूतावासबाट नेपाल फर्कने ट्राभल डकुमेन्ट बनायांै ।

त्यतिबेला चार्टर फ्लाइट मात्रै जान्थ्यो । उहाँहरूले एजेन्टलाई जबरजस्ती पेलेर भए पनि टिकटको पैसा तिर्न लगाउनुभयो । एनआरएनएसँग सम्पर्क भएपछि एजेन्ट गीता काफ्ले पनि सम्पर्कविहीन भइन् । उनी टर्कीदेखि ग्रीस पुगिसकेको पछि थाहा पायौं ।

अन्ततः २०७७ भदौमा हामी नेपाल फर्कियौं । युरोप गएर धन कमाउने, परिवारलाई सुखी बनाउने सपना सपना नै रह्यो । उल्टो टर्कीमा पुग्दा र उपचार खर्च सहित मैले १५ लाख र मामाले १० लाख गरेर हामीले २५ लाख रुपैयाँ गुमाएका छौं ।

काठमाडौं आएर हामीले वैदेशिक रोजगार विभागमा प्रमाण सहित २०७७ असोज पहिलो साता उजुरी दिएका थियौं । त्यस्तो मान्छेलाई सजाय मिलेन भने झनै प्रोत्साहन पाएर थुप्रै मान्छेलाई डुबाइदिन्छ । झन् नराम्रो काम गर्न उनीहरूमा आत्मविश्वास बढ्छ भनेर मैले उजुरी दिएको एक वर्ष भइसक्यो ।

जिल्ला प्रशासन कार्यालय झापामा उनको पक्राउ पुर्जी पनि आएको छ । तपाईंहरू खोज्नुहोस्, यो मान्छे यहाँ छ भनिदिनुहोस्, हामी एकैछिनमा प्रहरी पठाएर समात्छौं । वैदेशिक रोजगार विभागबाट त्यही भन्नुहुन्छ । फर्केको एक वर्ष भयो । न दोषी समातिएको छ न त डुबेको पैसा नै फिर्ता भएको छ ।

(मोरङ उर्लाबारीका २४ वर्षीय एन्जल परियारसँग उनको टर्की यात्राबारे अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment