
६ मंसिर, गोरखा । मालपोत कार्यालय गोरखालाई प्राप्त भएको गाडी सञ्चालनमा नआउँदै थोत्रिएको छ । विगत पाँच महीनादेखि जिल्ला समन्वय समितिको कार्यालय परिसरभित्र बेवारिसे अवस्थामा गाडी थन्किएर बसेको छ ।
प्रदेश ३–०१–००२ झ ४९४६ नम्वरको उक्त गाडीको अगाडी टयार पञ्चर भइसक्यो । घामपानीले रङ समेत उड्न थालेको छ । तर कार्यालयले न सञ्चालनमा ध्यान दिएको छ न मर्मत र संरक्षणमा ।
कार्यालयका लागि भन्दै गत असार महीनामा भूमि व्यवस्थापन तथा अभिलेख विभागले उक्त गाडी पठाएको हो । तर प्राप्त भएदेखि नै कार्यालयले गाडी सञ्चालनमा ल्याउन सकेको छैन । चालक नभएका कारण गाडी सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ ।
‘विभागले गाडी त पठायो तर चालकको दरबन्दी नै छैन,’ कार्यालयका निमित्त प्रमुख सूर्य प्रसाद शर्माले भने, ‘कार्यालयमा कुनै आर्थिक स्रोत नभएका कारण हामी आफैले चालक राख्न सक्ने अवस्था पनि छैन ।’
चालकको दरबन्दी माग गर्दै बारम्बार मन्त्रालय र विभागमा पत्राचार गरेपनि हालसम्म सम्बोधन नभएको उनले बताए । उनका अनुसार बिभागले स्थानीय तहसँगै समन्वय गरेर आर्थिक स्रोत जुटाउन भन्दै आएको छ । तर स्थानीय तहलाई पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको उनी बताउँछन् ।
‘कार्यालय संघ अन्तरगत भएपनि काम जति प्रदेश र स्थानीय तहको हुन्छ, हामीले संकलन गरेको राजश्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तह र बाँकी प्रदेशलाई बुझाउछौ, तर त्यसबापत हाम्रो कार्यालयलाई केही आउँदैन, हाम्रो कार्यालयमा अतिरिक्त बजेट पनि हुदैन,’ कार्यालयका निमित्त प्रमुख शर्माले भने ।
यसअघि संघीय सरकारले संकलित राजश्वमध्ये पाँच प्रतिशत भौतिक सुधारका लागि भन्दै कार्यालयलाई दिने गरेको थियो । तर स्थानीय सरकार आएसँगै विगत चार बर्षदेखि उक्त रकम पनि आउन छाडेको उनले जानकारी दिए। कार्यालय परिसरमा पार्किङको व्यवस्था समेत नभएकाले जिसस परिसरमा गाडी थन्क्याउनु परेको उनले बताए ।
प्रतिक्रिया 4