+
+
स्वास्थ्य :

जटिल समस्या निम्त्याइरहेको प्याङ्क्रियाजको क्यान्सर

डा. रमेश सिंह भण्डारी डा. रमेश सिंह भण्डारी
२०७८ मंसिर ८ गते १२:४१

नेपालमा वर्षेनि क्यान्सरका बिरामी बढ्दै गएका छन् । विगतभन्दा तुलनात्मक रूपमा स्वास्थ्य संस्थाको पहुँच, बिरामीको चेतना र उपचारको उपलब्धताका बावजूद क्यान्सर रोग स्वास्थ्य प्रणालीको टाउकोदुखाइ बनेको छ । स्वास्थ्य प्रणालीकै टाउको दुखाइ बनेको त्यस्तै क्यान्सरमध्ये प्याङ्क्रियाजको क्यान्सर पनि एक हो ।

प्याङ्क्रियाजबाट फरक फरक किसिमका इञ्जाइम निस्कन्छन् । उक्त इञ्जाइम आन्द्रा हुँदै पेटसम्म पुग्छ र खाना पचाउन सहयोग गर्छ । त्यसैगरी प्याङ्क्रियाजबाट विभिन्न किसिमका हर्मोनहरू पनि निस्कन्छन् । शरीरका अन्य अंगमा जस्तै प्याङक्रियाजमा पनि क्यान्सर देखिन्छ । प्याङ्क्रियाजको क्यान्सर अत्यन्तै खतरनाक मानिन्छ ।

प्याङ्क्रियाज क्यान्सरको तथ्याङ्क हेर्दा यो धेरै देखिइरहने क्यान्सर होइन । सबै किसिमका क्यान्सरमध्ये ३/४ प्रतिशत मानिसमा यस्तो किसिमको क्यान्सर देखिन्छ । तर, मृत्यु मात्र हेर्ने हो भने यो प्याङ्क्रियाजको क्यान्सर चौथो नम्बरमा पर्छ । यसको मतलब प्याङ्क्रियाजको क्यान्सर अत्यन्तै घातक हो ।

अंग्रेजी वर्षको नोभेम्बर महीनाको हरेक विहीबार विश्वभर प्याङ्क्रियाज सचेतना दिवस मनाइन्छ । नेपालको तथ्यांक हेर्दा कुल मृत्युको एक प्रतिशत मृत्यु प्याङ्क्रियाजको क्यान्सरले हुन्छ । नेपालमा देखिने शीर्ष १० क्यान्सरमा भने यो देखिन्न । तैपनि, अन्य क्यान्सर भन्दा यो क्यान्सरको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ ।

प्याङ्क्रियाजको क्यान्सरका लक्षण सामान्यतया भन्न सकिन्न । सोही कारण धेरैजसो बिरामीहरू अस्पताल पुग्दा क्यान्सर फैलिएर ढिला भइसकेको हुन्छ । हामीकहाँ प्याङ्क्रियाज क्यान्सरका १५ देखि २० प्रतिशत बिरामी मात्र उपचार गर्न सकिने अवस्थामा आउँछन् । बाँकी ८० प्रतिशत बिरामीहरू अत्यन्त जटिल अवस्थामा पुगिसकेर असर शुरु गर्न थालेपछि मात्र अस्पताल आउँछन् ।

सोही कारण प्याङ्क्रियाज क्यान्सरको विषयमा थाहा हुनु जरुरी छ ।प्याङ्क्रियाजको क्यान्सरलाई समयमै पहिचान र उपचार गर्न सकियो भने यसले केही हदसम्म मानिसको जीवनलाई लम्ब्याउन सहयोग गर्छ ।

सूर्तीजन्य पदार्थ सेवन गर्नेहरू, मोटोपन तथा डायबिटिजका बिरामी, लामो समय रक्सी सेवन गर्नेहरूमा प्याङ्क्रियाजको क्यान्सर हुने जोखिम बढी हुन्छ । ४५ वर्षभन्दा माथिका मानिसमा यो क्यान्सरको जोखिम धेरै छ । त्यसैगरी महिलाभन्दा पुरुषहरूमा प्याङ्क्रियाजको क्यान्सर बढी हुने देखिन्छ । कतिपय मानिसमा वंशानुगत कारणले पनि यो क्यान्सर हुन सक्छ ।

यकिन रूपमा प्याङ्क्रियाज क्यान्सरको कारण र लक्षण थाहा नभएकाले यो पहिचानमा समेत समस्या हुने गरेको छ । विभिन्न किसिमका लक्षणहरू लिएर आएका बिरामीहरूमा यो क्यान्सर देखिएको छ ।

तौल घटेर खाना मन नलाग्ने भएर अस्पताल आएका बिरामीमा पनि यस्तो समस्या देखिएको छ । त्यसैगरी सामान्य पेट दुख्नेहरूमा पनि यस्ता समस्या देखिएका छन् । मोटोपन र ग्याष्ट्रिकको समस्या लिएर आएकाहरूमा पनि यो क्यान्सर देखिएको छ ।

प्याङ्क्रियाजको क्यान्सर बढ्दै जाँदा पित्त नली ब्लक हुन्छ । त्यस्तो बेला मानिसमा सर्जिकल जण्डिस हुन्छ । जीउ चिलाउने, दिसा कडा हुने लक्षण लिएर आएका प्याङ्क्रियाज क्यान्सरका बिरामी उपचार गर्न नमिल्ने अवस्थामा पुगिसकेका हुन्छन् । उनीहरूलाई हामीले धेरै बचाउन सक्दैनौं ।

प्याङ्क्रियाज क्यान्सरको मुख्य उपचार भनेको नै क्यान्सरलाई काटेर फाल्ने हो । क्यान्सर काटेर फ्याँकेको खण्डमा बिरामीको आयु बढाउन सकिन्छ । तर, पूरै निर्मूल हुन्न । संसारभरको तथ्यांक हेर्दा शल्यक्रियापछि पाँच वर्ष बाँच्न सक्ने बिरामी १० प्रतिशत हुन्छन् ।

लक्षण ठ्याक्कै भन्न नसक्ने किसिमको भएकाले मानिसहरूले यसलाई बेवास्ता गरेर बसेका हुन्छन् । शुरुआती चरणमा कतिपय मानिसले यसलाई ग्याष्ट्रिक भनेर बसेका हुन्छन् । तौल घट्ने या खाना नरुच्ने हुँदा कसैले सामान्य स्वास्थ्य समस्याको रूपमा बुझेर अस्पताल जाँदैनन् । त्यसैले त अस्पताल आएका मध्ये २० प्रतिशत मानिस मात्र उपचार गर्नको लागि योग्य रहन्छन् ।

बिरामीहरू अस्पताल आइसकेपछि पनि सिधै यो रोग पहिचान गर्न सकिन्न । लक्षण हेरेर हामी यो रोगको शंका गरेर भिडियो एक्स-रे गर्छौं । भिडियो एक्स रे गरेपछि धेरै शंकाहरूको निवारण हुन्छ । त्यसपछि सिटीस्क्यान गरेपछि प्याङ्क्रियाजमा क्यान्सर छ/छैन, छ भने कत्रो छ, अन्य अंगमा फैलिएको छ/छैन, उपचार गर्न सक्ने अवस्थामा छ/छैन भनेर थाहा हुन्छ । त्यसैगरी रगतको माध्यमबाट पनि प्याङ्क्रियाज क्यान्सरको बारेमा थाहा पाउन सकिन्छ ।

प्याङ्क्रियाज क्यान्सरको मुख्य उपचार भनेको नै क्यान्सरलाई काटेर फाल्ने हो । क्यान्सर काटेर फ्याँकेको खण्डमा बिरामीको आयु बढाउन सकिन्छ । तर, पूरै निर्मूल हुन्न । संसारभरको तथ्यांक हेर्दा शल्यक्रियापछि पाँच वर्ष बाँच्न सक्ने बिरामी १० प्रतिशत हुन्छन् ।

लगभग ४० प्रतिशत बिरामी पाँच वर्ष बाँच्न सक्छन् । तर, शल्यक्रिया गर्न सकिएन र अन्य उपचारको भरमा पाँच वर्ष बाँच्ने लगभग २० प्रतिशत बिरामी मात्र हुन्छन् । जबकि कतिपय क्यान्सर निर्मूल पार्न सकिन्छ ।

अपरेशनबाट उपचार सम्भव छैन भने बिरामीको लक्षण अनुसार उपचार गर्न सकिन्छ । किनकि दुवै अवस्थाबाट उपचार सम्भव नभएपछि बिरामीलाई धेरै लामो समयसम्म बचाउन सकिन्न । विडम्बना के छ भने हाम्रोमा आएका ८० प्रतिशत बिरामी शल्यक्रिया र केमोथेरापी दिन नमिल्ने अवस्थामा पुग्छन् ।

क्यान्सरको उपचार प्रायः खर्चालु हुन्छ । प्याङ्क्रियाजको अपरेशन अत्यन्तै ठूलो भएकाले झन् धेरै खर्च हुन्छ । किनकि अपरेशनपछि लामो समय अस्पताल बस्नुपर्ने, केमोथेरापी दिनुपर्ने र महँगो औषधि चलाउनुपर्ने भएकाले सामान्य नागरिकले उपचार खर्च धान्न सक्दैनन् ।

मैले हेर्ने गरेको बिरामीको हिस्ट्री हेर्दै जाँदा धेरैजसो बिरामी चेतना अभावको कारण क्यान्सरको शिकार भएका छन् । कतिपय बिरामीहरू अस्पतालको पहुँचमा नभएर क्यान्सरको शिकार भएका छन् ।

कतिपय बिरामी आफैंले रोगको शंका गर्दै आफैं औषधि खाएर लापरबाही गरेका छन् । र, कतिपय स्वास्थ्य संस्थाका कर्मचारीले पनि राम्रोसँग काउन्सिलिङ नगरेका कारण धेरै मानिसले रोग जटिल अवस्थामा पुगेपछि मात्र थाहा पाएका छन् ।

विभिन्न ठाउँमा विभिन्न चरणमा यस्ता लापरबाही भएका हुनाले धेरै बचाउन सकिने मानिसले प्याङ्क्रियाज क्यान्सरबाट जीवन गुमाइरहेका छन् ।

लेखक लिभर र प्याङ्क्रियाज सर्जन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?