+
+
बहसमा एमाले महाधिवेशन :

एमाले महाधिवेशनको राजनीतिक तरङ्ग

यज्ञप्रसाद शर्मा यज्ञप्रसाद शर्मा
२०७८ मंसिर ८ गते १९:१९

नेकपा एमालेको दशौं महाधिवेशन सामुन्नेमा छ । यसको नीति, नेतृत्व र भविष्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । विचार विमर्श चलिरहेको छ । राजनीतिक दलहरू जनताको लागि काम गर्ने उद्देश्यले स्थापित हुन्छन् । उनीहरूका हरेक गतिविधिहरू जनताका सामु खुला र पारदर्शी हुनुपर्दछ ।

राजनीतिक दलले पनि जनताका प्रतिक्रियालाई विश्लेषण गरी मननयोग्य सुझावहरूलाई नीति कार्यक्रममा समेट्नुपर्दछ । राजनीतिक दलले जनताको विश्वास यसरी नै जित्ने हो । नेकपा एमालेले पाँचौं महाधिवेशनको समयदेखि नै विचारको बहसलाई खुला गर्ने र जनस्तरबाट आएका सही सुझावलाई स्वीकार गर्दै आएको छ ।

उदाहरणका रूपमा नेकपा एमालेको कार्यक्रम जनताको बहुदलीय जनवाद सर्वप्रथम बहुदलीय जनवादको कार्यक्रमको रूपमा व्याख्या गरिएको थियो । बहसपछि त्यस कार्यक्रमको नाम नै जनताको बहुदलीय जनवाद हुनगयो । जनताको सुझावलाई देखिने गरी ग्रहण गरिएको उदाहरण थियो त्यो ।

कार्यक्रमका भित्री बुँदाहरूमा पनि धेरै सुधार भएका थिए । यसरी पार्टीको नीति र कार्यक्रम बनाउँदा जनताको सुझाव ग्रहण गरिएका उदाहरण शायद अन्य दलहरूमा भेटिंदैनन् । त्यही भएर आज पनि जबजको अनुयायी दल नेकपा एमाले जनताबीच लोकप्रिय छ ।

दशौं महाधिवेशनबाट पनि आम नेपाली जनताले यस्तै अपेक्षा गरेका छन् । महाधिवेशनको प्रक्रियाको अगुवाइ गर्ने सबै तहका नेताहरूले जनताका यी अपेक्षालाई समेट्ने प्रयास गर्नुपर्दछ । अनि मात्र सही मानेमा जनताको पार्टी हुनेछ, एमाले ।

१. एक्लो बृहस्पति होइन : कम्युनिष्ट नाम गरेका केही दलहरू काङ्ग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्न हौसिएर लागेका छन् । एमालेलाई कमजोर पारे मात्र आफू अगाडि बढ्न सकिने निष्कर्षमा रहेका उनीहरू एमाले दक्षिणपन्थी भएको र पुनरुत्थानवादी शक्तिसँग नजिकिएको आरोप लगाइरहेका छन् । अरूको खुट्टा तानेर आफू अगाडि बढ्ने पुरानै कम्युनिष्ट शैलीमा छन् उनीहरू ।

मूल कम्युनिष्ट शक्तिका विरुद्ध बाँकी सबै शक्तिहरू खन्याउने दाउमा रहेका प्रतिक्रियावादीले पनि उनीहरूलाई नै मलजल गरिरहेका छन् । विगतमा कम्युनिष्ट सरकारको नेतृत्व गरेका केपी ओलीले जनतामा मूर्छित अवस्थामा रहेको विकासको चाहनालाई जागृत गराइदिए । विकास अभियान र राष्ट्रियताको विषयमा ठोस कार्यहरू गरेर देखाए । जनतालाई जागा भएर राष्ट्रिय विकासको सपना देख्न सिकाए ।

त्यसबाट आत्तिएका कम्युनिष्ट तथा गैरकम्युनिष्टहरू एक सुर र एक तालमा एमाले त्यसमा पनि केपी ओलीको विरोधमा कुर्लिरहेका छन् । त्यसैले यस महाधिवेशनको मूल कार्यभार केपी ओलीले अगाडि सारेको विकासको सोच र राष्ट्रियताको अडानलाई समर्थन गरेर अझ समृद्ध र समाजवाद सापेक्ष बनाउनुपर्दछ ।
महाधिवेशनबाट एमाले अस्ताउन लागेको एक्लो बृहस्पति होइन यो त जाज्ज्वल्यमान सूर्य जतिकै ऊर्जावान र प्रकाशवान छ भन्ने कुरा पुष्टि गर्न आवश्यक छ ।

२. समाजवादको लागि मार्गदर्शन : नवौं महाधिवेशनयता मुलुकको राजनीतिक अवस्थामा केही ठोस परिवर्तनहरू भएका छन् । जस्तो कि नेपालको संविधान जारी भएको छ । यसले समाजवाद उन्मुख समाज व्यवस्थाको परिकल्पना गरेको छ । त्यसलाई जनताको बहुदलीय जनवादले सम्बोधन गर्न आवश्यक छ । संघीय गणतान्त्रिक व्यवस्था र समावेशी सिद्धान्तलाई लागू गर्ने ठोस नीति र कार्यक्रम समेट्न जरूरी छ ।

त्यसैगरी समाज रूपान्तरणको रथ अब कसरी अगाडि बढ्छ, उत्पादन र उत्पादनका साधनको सम्बन्ध कस्तो रहनेछ भन्ने कुराको स्पष्ट मार्गदर्शन गर्न सक्नुपर्दछ । समाजवाद उन्मुख अर्थ–व्यवस्था निर्माणका लागि एमालेका प्राथमिकताहरू के हुनेछन्, श्रमिक वर्गको उत्थानका लागि, गरीब भूमिहीनका लागि, मधेशी, दलित र पछाडि परेका समुदायको उत्थानका लागि ठोस नीति र कार्यक्रम बन्न सक्नुपर्दछ ।

३.बलिया तीन खम्बा : नेपालको संविधानले विकासका लागि तीन खम्बे अर्थनीतिलाई स्वीकार गरेको छ । तापनि सरकारी लगानीको अवस्था अत्यन्त नाजुक छ, सरकारको व्यवस्थापकीय क्षमता अत्यन्त कमजोर छ । निजी क्षेत्रका लागि लगानीको वातावरण दिन सकिएको छैन ।

सुखी नेपाली र समृद्ध नेपालको नारा अगाडि सारेको नेकपा एमालेले समृद्धिको आधारका रूपमा रहेको कृषि, वन, खानी, जलस्रोत, पर्यटनको विकासका लागि कस्तो नीति अपनाउँछ रु राष्ट्रिय उद्योगहरूको विकास कसरी गर्छ भनेर दुनियाँले हेरिरहेको छ ।

लगानीको सुरक्षा, उद्योगको विकास विना रोजगारी सिर्जना सम्भव छैन । रोजगारी सिर्जना नभई मुलुकबाट पलायन जनशक्तिलाई रोक्न सकिन्न । त्यसैले मुलुकलाई आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने क्षमता भएका उद्योगहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन जरूरी छ ।

आज एकातिर अनुदान दिएर उत्पादन गरेको चिनी भारतबाट आयात भएभन्दा महँगो हुने र अर्कोतिर किसानले उखुको मूल्य नै नपाई सडकमा ओर्लिनुपर्ने अवस्था छ । उखु किसानलाई दिइने अनुदान समेत मालिकको पोल्टामा जाने अवस्था छ ।

यो एक प्रकारले राज्यव्यवस्था असफल भएको अवस्था हो । त्यसकारण उद्योगीहरूलाई अनुदान र सहुलियत दिने मात्र होइन राष्ट्रिय प्राथमिकताको क्षेत्रमा इमानदारीका साथ लाग्न प्रेरित गर्नुपर्दछ । त्यससँगै विदेशी लगानीको प्राथमिकता तोक्ने कुरा पनि जरूरी हुन्छ ।

राष्ट्र विकासको तेस्रो खम्बा मानिएको सहकारी क्षेत्रबारे ठोस नीति अगाडि सार्नुपर्दछ । सहकारी केही सञ्चालकहरूको सुख–सुविधा वृद्धिमा मात्र सीमित नभई आम सदस्यको हित वृद्धिमा समर्पित हुनुपर्दछ । सहकारीको माध्यमबाट समुदायस्तरका जनतालाई शिक्षा दिने, विकासको राष्ट्रिय आकांक्षा र विकासमा नागरिक कर्तव्यको बारेमा सचेतना दिई समाज रूपान्तरणका लागि सक्रिय बनाउन आवश्यक छ ।

सहकारी संस्थाहरू केही टाठाबाठाको कमाइखाने र घुमफिर गर्ने माध्यम मात्र नबनी आम नागरिकको आर्थिक र चेतना विकास, सीप र शिक्षाको उन्नयनमा योगदान गर्ने साधन बन्ने सुनिश्चित हुनुपर्दछ ।

४.वर्गीय चेत र समाजवादी दिशा : एमाले श्रमिक वर्गको पक्षपोषण गर्ने पार्टी हो भने त्यो कुरा व्यवहारमा देखिनुपर्दछ । एमालेका नेता, कार्यकर्ताको जीवनशैली, व्यवहार र सोच वर्गीय हुनुपर्दछ । श्रमिक वर्ग र पछाडि परेका समुदायका मानिसलाई नेतृत्वमा ल्याउने सहज बाटो र स्पष्ट नीति हुनुपर्दछ ।

खासगरी माओवादी केन्द्रसँग चुनावी मोर्चा भएपछि ९अझ पार्टी एकता भएपछि० नेकपाभित्र वैचारिक बहस शून्य भएको छ । त्यसैले परिवर्तित परिस्थितिमा पार्टीको नीति, कार्यक्रमका बारेमा व्यापक रूपमा अध्ययन, बहस र छलफलबाट पार्टी कार्यकर्तामा राजनीतिक ज्ञान र वर्गीय चेतना बढाउन आवश्यक छ ।

एमालेको दशौं महाधिवेशन जुन गति र लयका साथ अगाडि बढेर सम्पन्न हुने दिशामा छ, यसले नेपाली राजनीतिमा एउटा तरङ्ग ल्याइसकेको छ । यसले पदीय कुण्ठाले पार्टी फुटाउँदै हिंडेका तत्वलाई किनारामा धकेलेर नेपाली राजनीतिमा फेरि एमालेलाई स्थापित गर्नेछ ।

श्रमिक वर्गका मानिसलाई पार्टी कार्यालय, सरकारी कार्यालयमा र पार्टी संगठनमा भित्र्याउनका लागि स्पष्ट मार्गचित्र हुन आवश्यक छ । उनीहरूको समस्याको गहिराइ बुझ्ने, त्यसबारे सोच्ने, अध्ययन गर्ने र समाधानका लागि स्थानीयस्तरमा विचार–विमर्श गरी उपाय पहिचान गर्ने सिर्जनात्मक क्षमता हरेक कार्यकर्तामा हुन जरूरी छ ।

एमाले अझै पनि सीमान्तकृत वर्गका मानिसहरू, दलित, जनजाति, मधेशी, अल्पसंख्यकहरूमा घनीभूत रूपमा पुग्न सकेको छैन । सधैं राजनीतिक शक्तिको हतियारका रूपमा प्रयोग भइआएको त्यो समुदायमा राजनीतिक चेतना भरेर पार्टी र राज्यको मूल धारमा ल्याउने प्रतिबद्धताका साथ यस महाधिवेशनले दिशानिर्देश गर्नुपर्दछ । ताकि आगामी पाँच वर्ष एमाले पार्टीलाई आधारभूत जनताको बीचमा स्थापित गर्न सकियोस् ।

५.छवि निर्माण : नेपालमा राजनीतिज्ञहरूमा विकास भएको अब्बल सीप अरूलाई गाली गर्नु हो । हरेक नेताको भाषण गालीले भरिएको हुन्छ । जनताले पनि गालीमा ताली बजाउँछन् र मिडियाले पनि गाली नै ओसारिरहेका छन् ।

दुनियाँमा गाली भाषण स्वच्छ पत्रकारिताको दुश्मन भनेर चर्चा भइरहेको बेला नेपालका सञ्चारमाध्यमहरू त्यसैमा रमाइरहेका छन् । नेताका सिर्जनात्मक सोच र राष्ट्र विकासको लागि दिएका अभिव्यक्ति भन्दा गाली शब्दहरू मिडिया कन्टेन्ट बनेको दुर्भाग्यपूर्ण अवस्था छ ।

यस क्रममा केपी ओली, एमाले दल र तिनका नेताहरूको मानमर्दनमा एक स्वरले पूँजीवादी र साम्यवादी मिडियाहरू लागेका देखिन्छन् । यो अवस्था २०७६ साल चैतदेखि जब केपी ओलीको सरकार विरुद्ध भित्री र बाहिरबाट आक्रमण केन्द्रित गर्ने बृहत्तर सहमति भयो त्यही बेलादेखि नै कायम छ । मिडिया र नेताहरू स्टेरियो टाइपमा गाली गर्दै खनिएका छन् । त्यसलाई आगामी चुनावसम्म कायम राख्नका लागि अघोषित सहमति देखिन्छ ।

गालीको निरन्तर वर्षाको कारण एमाले दल, तिनका नेताहरू र खासगरी केपी ओलीको मानमर्दन गरेर छवि बिगार्ने प्रयास भइरहेको छ । एमाले प्रतिगामी कित्तामा रहेको, गुण्डा र तस्करहरूलाई प्रोत्साहन गरिएको, गणतन्त्र र संघीयताप्रति निष्ठा नभएको जस्ता आरोप लगाइरहेका छन् ।

केपी ओलीका वरिपरिका नेताहरूलाई भ्रष्ट करार गर्ने र केपी ओलीलाई भ्रष्टाचारीको संरक्षण भएको आरोप लगाउने आदि प्रपञ्चहरू नियोजित रूपमा सिर्जित छन् । तर, एमाले नेतृत्वले त्यसलाई त्यति गम्भीरतापूर्वक लिएको देखिंदैन ।

यस्तो अवस्थालाई चिर्नका लागि महाधिवेशनले ठोस नीति कार्यक्रम ल्याउन जरूरी छ । नेता कार्यकर्तालाई वास्तविकता बुझाएर भोलिका दिनमा आधारभूत तहबाट चिर्ने नीति बनाउन सक्नु नै महाधिवेशनको सफलता हो ।

६. सबल नेतृत्व र एकमना एकता : एमालेको दशौं महाधिवेशनले आगामी पाँच वर्षका लागि चयन गर्ने नेतृत्व सबल, सक्षम हुनुपर्दछ । जुन विधि अपनाए पनि परिणामलाई स्वीकार गरेर एकमना एकताका साथ अगाडि बढ्ने नेतृत्व बन्नुपर्दछ ।

नवौं महाधिवेशनको असफलता भनेको नै नेतृत्व सबल र सक्षम चयन गरे पनि त्यसको परिणामलाई केही नेताहरूले स्वीकार गर्न सकेर बारम्बार नेतृत्वलाई चुनौती दिइरहनु हो । सधैं बदलाभाव र मौका हेर्दै बस्ने माधव नेपाल प्रवृत्ति देखापर्नु हो ।

पार्टी एकीकरणपछि बनेको सचिवालय पावर सिन्डिकेट तथा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई घेराबन्दी गरी अवसरको छिनाझपटी गर्ने गलगाँड बन्यो । पदका लोभीहरू बसेर बाहिर निर्णय गर्ने र सचिवालयमा लगेर अध्यक्षलाई घेराबन्दी गर्ने उद्देश्यबाट सचिवालय सक्रिय भयो ।

त्यसैबाट माधव नेपाल र प्रचण्डको स्वार्थ समूह मिलेर जसरी पनि पार्टी र सरकार दुवै कब्जा गर्ने स्वार्थबाट अगाडि बढ्यो । फलतः तत्कालीन नेकपा तीन चिरा भएको र मुलुकले संसद विघटन जस्तो अप्रिय बाटो रोज्नुपर्ने परिस्थिति आएको कुरा यस महाधिवेशनमा गम्भीर मीमांस हुन जरूरी छ ।

आन्तरिक प्रतिस्पर्धामा हारेका मान्छेहरूको कुण्ठा पोख्ने र नेतृत्व विरुद्ध कार्टेलिङ गर्ने संरचनाहरू पार्टी जीवनका लागि घातक हुन्छन् भन्ने कुरा महाधिवेशनले प्रष्ट गर्न सक्नुपर्दछ ।

७. केपी ओलीलाई मौका : निराश नेपाली जनतालाई विकासको सपना देखाएर आशाको दियो बाल्न सफल केपी ओलीको व्यक्तित्व नेपाली समकालीन राजनीतिज्ञहरू बीचबाट यसरी उचालियो कि बाँकी नेताहरू लिलिपुट देखिए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र डा।बाबुराम भट्टराईहरू रिसले आगो हुनुपर्ने मुख्य कारण यही थियो ।

त्यही रिसले केपी ओलीको व्यक्तित्व खुइल्याउन र उनलाई नेतृत्वबाट ओराल्न हरप्रयास गरेका हुन् । आफूले मात्र नसक्ने भएपछि देशी–विदेशी शक्ति गुहार्न पुगेका हुन् । जसरी जोखिम मोलेर पनि मुलुकको विकासको अभियानलाई केपी ओलीले अगाडि बढाए महाधिवेशनले त्यसको उच्च मूल्याङ्कन गर्नुपर्दछ ।

आगामी एक कार्यकालका लागि उहाँलाई पार्टीको नेतृत्व र आगामी दिनमा मुलुकको नेतृत्व गर्ने मार्गप्रशस्त गरिदिनुपर्दछ भन्ने जनताको अपेक्षा छ । महाधिवेशनले जनताको यो भावनाको सम्मान गर्दै केपी ओलीलाई नेतृत्वको अवसर दिनुपर्दछ । पार्टीले जनताको अपेक्षा सम्बोधन गर्नुपर्दछ ।

हुनत यसो गर्दा नेतृत्वको चाहना गर्ने अन्य कमरेडहरूलाई अलिअलि खिन्न बनाउला । तर, मुलुक र पार्टीको हितको लागि उहाँहरूले व्यक्तिगत चाहनालाई एकपल्ट थाती राख्नुपर्दछ । अध्यक्षमा ओलीलाई निर्विरोध विजयी बनाए नेपाली राजनीतिक आकाशमा फेरि पनि एमाले जाज्ज्वल्यमान सूर्य बनेर चम्किनेछ । यसले मुलुक र पार्टी दुवैलाई नयाँ उँचाइमा पुर्‍याउनेछ ।

एमालेको दशौं महाधिवेशन जुन गति र लयका साथ अगाडि बढेर सम्पन्न हुने दिशामा छ, यसले नेपाली राजनीतिक क्षितिजमा एक किसिमले तरङ्ग ल्याइदिएको छ । हजारौं चुनौतीका बीच लाखौं जनताको सहभागितामा सम्पन्न हुनगइरहेको यस महाधिवेशनले अँध्यारो चिरेर अगाडि बढ्ने सामथ्र्य भएको सबल नेतृत्व र अँध्यारोलाई चिर्न सक्ने ज्योति जस्तो नीति र कार्यक्रम अगाडि सार्न सक्नुपर्दछ ।

यो यस्तो अवसर हो जसबाट जनताको विश्वास नपाएका र पदीय कुण्ठा बोकेर कम्युनिष्ट पार्टी फुटाउँदै हिंडेका गलत तत्वहरूलाई किनारामा धकेलेर आगामी पाँच वर्ष नेपाली राजनीतिक आकाशमा चम्किन सक्ने अवसरहरू एमालेका सामु छ ।

परिस्थितिको सही विश्लेषण गर्दै उपयुक्त नीति र व्यक्तिलाई नेतृत्वमा चयन गरेर नेकपा एमालेको दशौं महाधिवेशन सफल हुनसकोस् यही शुभकामना व्यक्त गर्न चाहन्छु ।

पत्रकार शर्मा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment