
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि ल्याउँदा नेताहरुले परिवारकै सदस्य रोजेको टिप्पणी गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल कास्की–१ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । खुला महिलातर्फ उनी लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । निर्वाचन समितिका अनुसार ४ जना खुला महिलाका लागि भएको निर्वाचनमा ११ जना उम्मेदवार थिए । संज्ञाले ३९५ मतका साथ दोस्रो भएकी हुन् ।
पौडेल १४ औं महाधिवेशनमा सभापति पदका आकांक्षी हुन् । पौडेलका छोरा चिन्तन पनि राजनीतिमा सक्रिय हुन खोजेका थिए । २०७४ सालको संघ र प्रदेश सभा निर्वाचनमा उनको नाम प्रदेश सांसदको उम्मेदवारका रुपमा सिफारिस भएको थियो । तर चिन्तनले नै आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
त्यस्तै, कांग्रेसका उपसभापति विजयकुमार गच्छदारका कान्छा छोरा सुवास पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा सक्रिय उनी कांग्रेससँग एकता भएपछि महासमिति सदस्य मनोनित भएका थिए । सुवास मोरङ क्षेत्र नम्बर–६ बाट मधेशी कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि आएका हुन् । गच्छदारले महाधिवेशनमा उपसभापति पदमै दोहोरिन चाहेका छन् ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहका छोरा प्रभासमान महाधिवेशन प्रतिनिधिमा आएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर–७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । नेपाल तरुण दलको महाधिवेशन प्रतिनिधि रहेका प्रभासमानलाई प्रकाशमानले राजनीतिमा सक्रिय बनाउन खोजेको चर्चा काठमाडौं कांग्रेसभित्र हुने गरेको छ । पाँच वर्षअघि पोखरामा सम्पन्न नेपाल तरुण दलको महाधिवेशनमा प्रकाशमानले छोरालाई महासचिव पदमा मनोनीत गर्न लबिङ गरेका थिए ।
कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसमा प्रभावशाली नेता मानिने खड्काको निधनपछि उनका छोरा अनुराग राजनीतिमा सक्रिय हुन थालेका छन् । २८ वर्षीय अनुराग पहिलो पटक महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । दाङ क्षेत्र नम्बर– १ बाट उनी सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ६८५ मत खसेकोमा अनुरागले ४९७ मत पाएका हुन् ।
कांग्रेसका पुराना नेता चिरञ्जीवि वाग्लेका छोरा देवेन्द्र वाग्ले पनि महाधिवेशन प्रतिनिधि जितेका छन् । उनी गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । कांग्रेस नेता वाग्ले भने पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् ।
कांग्रेसभित्र पारिवारिक विरासतलाई लिएर बेलाबखत चर्चा हुने गरेको छ । पार्टीभित्र लामो योगदान भएका र सक्रिय नेता कार्यकर्तालाई पन्छाएर विरासतका नाममा राजनीतिमा स्थापित हुन खोजेको भन्दै आलोचना पनि हुने गरेको छ ।
पारिवारिक विरासत बोकेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह कांग्रेसको केन्द्रीय सभापति पदका आकांक्षी छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले मंसिर २१ गतेदेखि नै केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने जनाएको छ ।
प्रतिक्रिया 4