+
+

कसरी काममा फर्किँदैछन् सर्वोच्च अदालतका न्यायाधीशहरु ?

‘उहाँबाट न्यायपालिकाको नेतृत्व सम्भव नै हुँदैन । केही दिन विरोध गरेपछि उहाँले सक्नुहुन्न र बहिर्गमनको बाटोमा जानुहुन्छ भन्ने हामीलाई लागेको थियो’ सर्वोच्च अदालतका अर्का न्यायाधीशले भने, ‘उहाँमा त अलिकति पनि नैतिकता रहेनछ । लज्जाबोध पनि भएन । राजनीतिक तहबाट पनि अप्रत्यक्ष संरक्षण भयो । मुद्दै नहेरेर लामो समय जान सकिदैन भनेपछि उहाँविनाको बाटो अपनाइएको हो ।’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ मंसिर ९ गते २०:३७

९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराप्रतिको दृष्टिकोणलाई कायम राख्दै सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित इजलासमा फर्किने भएका छन् । विहीबारको पूर्ण बैठकबाट मंसिर १५ देखि गोला प्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेका न्यायाधीशहरु सोही दिनदेखि काममा फर्किन लागेका हुन् ।

‘विभिन्न आरोपमा मुछिएका प्रधानन्यायाधीशको बहिर्गमनमा दवाव पुगोस् भन्ने उद्देश्यले हामीले अवज्ञा गरेका थियौं । तर उहाँमा कुनै नैतिकता र जवाफदेहीपन देखिएन । अब हामीले नै जिम्मेवारीबोध गरेर इजलासमा फर्किने समझदारी गरेका छौं’ सर्वोच्च अदालतका एक न्यायाधीशले अनलाइनखबरसँग भने ।

ती न्यायाधीशका अनुसार सर्वोच्चका सबै १९ न्यायाधीशका बीचमा प्रधानन्यायाधीशप्रतिको ३ वटा विषयमा भने साझा दृष्टिकोण बनेको छ । पहिलो, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट अब न्यायपालिकाको नेतृत्व सम्भव छैन, दोस्रो, अहिले न्यायपालिकामा देखिएको समस्याको निकासको रुपमा प्रधानन्यायाधीशको बहिर्गमनलाई नै पहिलो माग हो र तेस्रोमा, प्रधानन्यायाधीश जबरालाई गोलाप्रथामा सहभागी नहुन अनुरोध गर्ने र सहभागी भएमा उनीसँग इजलासमा नबस्ने ।

ती न्यायाधीशले भने, ‘यति हुँदाहुँदै पनि उहाँ (प्रधानन्यायाधीश जबरा) ले जबर्जस्ती गोला लिन र इजलासमा बस्न खोज्नुभयो भने हामी उहाँलाई स्वीकार गर्दैनौं ।’

‘उहाँबाट न्यायपालिकाको नेतृत्व सम्भव नै हुँदैन । केही दिन विरोध गरेपछि उहाँले सक्नुहुन्न र बहिर्गमनको बाटोमा जानुहुन्छ भन्ने हामीलाई लागेको थियो’ सर्वोच्च अदालतका अर्का न्यायाधीशले भने, ‘उहाँमा त अलिकति पनि नैतिकता रहेनछ । लज्जाबोध पनि भएन । राजनीतिक तहबाट पनि अप्रत्यक्ष संरक्षण भयो । मुद्दै नहेरेर लामो समय जान सकिदैन भनेपछि उहाँविनाको बाटो अपनाइएको हो ।’

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसँग पनि छलफल गरेका थिए ।

छलफलका क्रममा आफूहरु गोलाप्रथामा सकारात्मक रहेको तर प्रधानन्यायाधीशको राजीनामाको माग यथावत रहेको बताएको नेपाल बारका अध्यक्ष श्रेष्ठले बताए ।

‘हामीले प्रधानन्यायाधीशको राजीनामालाई यथावत राखेकाले उहाँलाई तपाईंहरुले सहयोग हुने क्रियाकलाप नगर्नुहोस् भनेका छौं’ बार अध्यक्ष श्रेष्ठले भने, ‘हामी आन्दोलन कमजोर पारेर अदालतमा बहस गर्न जादैनौं । त्यसलाई तपाईंहरुले बुझिदिनुपर्छ भनेका छौं ।’

छलफलका क्रममा आफूहरुले प्रधानन्यायाधीश जबरालाई स्वीकार नगर्ने विषयलाई कडाइका साथ राखेको सर्वोच्च बारका अध्यक्ष शाक्यले बताए । ‘हामी प्रधानन्यायाधीशज्यू संलग्न इजलासमा कुनै पनि हालतमा बहस गर्न जादैनौं भनेर स्पष्ट रुपमा भनेका छौं । उहाँ इजलासमा जानु हुदैन र उहाँसँग अरु कोही पनि श्रीमानले इजलास ‘शेयर’ गर्नु हुँदैन भन्ने हाम्रो अडान कायमै छ’ शाक्यले भने, ‘उहाँलाई तपाईंहरुले अस्वीकार गर्ने र इजलास चयनमा उहाँको भूमिका नरहने हो भने हामीलाई आपत्ति छैन भनेका छौं ।’

बार अध्यक्ष श्रेष्ठले सर्वोच्चका साथै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा कार्यान्वयनको माग भएको बताए ।

छलफलका क्रममा बारका दुई अध्यक्षले सर्वोच्च अदालतमा इजलास र मुद्दाको सेटिङको कुनै शंका नहुने वातावरण तय हुनुपर्ने माग गरेका थिए । त्यसमा न्यायाधीशहरुले प्रतिवद्धता जनाएका थिए । साथै यसअघि प्रधानन्यायाधीश जबराले आफ्नो रुची र स्वार्थ अनुसार तोकेको इजलासले हेर्दाहेर्दै र निर्णय सुनाउने भनी राखेका मुद्दा समेत गोलाप्रथाबाट व्यवस्थापन हुनुपर्ने माग बारको थियो ।

त्यसमा पनि न्यायाधीशहरुले सहमति जनाएपछि त्यो विषय पूर्ण बैठकको एजेण्डा बनेको थियो । एक न्यायाधीशले भने, ‘यति भइसकेपछि प्रधानन्यायाधीशले चाहदैमा मुद्दामा चलखेल हुने सम्भावना रहेन । अनि न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशका कारण आफूमाथि भेदभाव हुन्छ कि भनेर डराउनु पर्दैन ।’

बारका दुवै अध्यक्षले भेटघाटमा प्रधानन्यायाधीश जबराको अरु भूमिका पनि संकुचित पार्नुपर्ने माग गरेका थिए । बारले यसअघि नै न्यायपरिषद र न्याय सेवा आयोगका सदस्यहरुलाई पत्र पठाएर प्रधानन्यायाधीश जबराले बोलाएको बैठकमा सामेल नहुन आग्रह गरेको थियो । त्यसका साथै कानून व्यवसायीहरुले न्याय प्रशासनमा प्रधानन्यायाधीश जबराबाट हुने हस्तक्षेप र मनोमानी पनि नियन्त्रण हुनुपर्ने माग गरेका थिए ।

किन फर्किए न्यायाधीशहरु ?

प्रधानन्यायाधीश जबराको शंकास्पद क्रियाकलाप र भूमिकाबाट चिढिएका सर्वोच्च अदालतका न्यायाधीशहरु दशैं विदालगत्तै अदालत खुलेपछि इजलासमा नै गएनन् । दशैं विदा सुरु भएपछि प्रधानन्यायाधीश जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन भाग मागेको विवरण सार्वजनिक भयो । त्यो लगायतको विषयमा आक्रोशित न्यायाधीशहरुले दशैंको कोजाग्रत पूर्णिमा सकिएलगत्तै अदालत खुलेपछि इजलासमा नबसेर विरोध गरेका थिए ।

‘उहाँबाट न्यायपालिकाको नेतृत्व सम्भव नै हुँदैन । केही दिन विरोध गरेपछि उहाँले सक्नुहुन्न र बहिर्गमनको बाटोमा जानुहुन्छ भन्ने हामीलाई लागेको थियो’ सर्वोच्च अदालतका अर्का न्यायाधीशले भने, ‘उहाँमा त अलिकति पनि नैतिकता रहेनछ । लज्जाबोध पनि भएन । राजनीतिक तहबाट पनि अप्रत्यक्ष संरक्षण भयो । मुद्दै नहेरेर लामो समय जान सकिदैन भनेपछि उहाँविनाको बाटो अपनाइएको हो ।’

सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा फर्किन सहमत हुनुको अर्को कारण आन्तरिक मतभेद पनि हो ।

प्रधानन्यायाधीशको भूमिका र उनीप्रतिको दृष्टिकोणमा सबै न्यायाधीश एकमत भएपनि केही न्यायाधीशले लामो समय इजलासमा नगएर संवैधानिक भूमिका निर्वाह गर्न नसकिने भन्दै आफूहरु इजलासमा जाने चेतावनी दिन थाले ।

त्यसक्रममा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले इजलासमा गएर कानून व्यवसायीहरु आवश्यक नपर्ने निवेदन फिर्ता लगायतका मुद्दा हेर्न थाले । ती न्यायाधीशले भने, ‘मूल विषयमा एकमत भएका हामी अरु तपशीलका कारणले मतभेद भएर जानुभन्दा केही समझदारी कायम गरौं भनेर पनि इजलासमा फर्कनुपरेको हो ।’

सर्वोच्च अदालतका अर्का एक न्यायाधीशका अनुसार, इजलासमा नबसेको अवधिको तलब सुविधा नलिने भन्नेबारे छलफल चलेपनि केही निर्णय भएन । त्यसैगरी इजलास नबसेको अवधि गणना गरेर अब हरेक दिन अतिरिक्त समय इजलासमा बसेर त्यसको क्षतिपूर्ति गर्नेबारे पनि छलफल भएको उनले बताए । ‘हाम्रा कारणले सेवाग्राहीलाई जे जस्तो सास्ती र हैरानी भयो, त्यसको क्षतिपूर्ति त हुँदैन’ ती न्यायाधीशले भने, ‘हामीहरुमा जवाफदेही र जिम्मेवारीबोध छ भनेर सन्देश प्रवाह गर्न पनि यसबारे सोच बनाएका छौं ।’

अनलाइनखबरको सम्पर्कमा आएका सर्वोच्च अदालतका अर्का न्यायाधीशका अनुसार, आफूहरुले पछिल्लो समय प्रधानन्यायाधीश विरुद्ध गरेका क्रियाकलाप र काम कारवाही विरोधको चरम रुप हो । प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा नबस्ने, उनीविना नै पूर्ण बैठकबाट निर्णय गरेर हस्ताक्षरका लागि छुट्टै माइन्यूट पठाउने, सामूहिक रुपमा भेटेर इजलासमा नबस्न र राजिनामा दिन सुझाव दिने सबै काम न्यायाधीशहरुले गरे ।

‘हामीले यो भन्दा अरु के गर्ने ? भद्र अवज्ञाको यो भन्दा अर्को रुप हुँदैन’ ती न्यायाधीशले भने, ‘उहाँमा घिन र लाज नभएपनि हामीमा त जिम्मेवारीबोध छ । त्यसैले उहाँको भूमिका नहुनेगरी काममा फर्कन लागेका हौं ।’ प्रधानन्यायाधीश जबराको जवाफदेहीविहीन स्वाभावसामू आफूहरुको केही सीप नलागेको उनको कथन छ ।

ती न्यायाधीशका अनुसार, प्रधानन्यायाधीश जबरालाई इजलास चयनका लागि गोला नतान्न अनुरोध गर्नेमा सबै एकमत छन् ।

बिहीबार मुख्य रजिष्ट्रारको सभाहलमा गोला तान्ने कामको नमुना अभ्यास गरिएको थियो । करिव २० मिनेटदेखि आधा घण्टा गोला तान्ने काम हुँदा प्रधानन्यायाधीश जबरा त्यहा अनुपस्थित थिए । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, न्यायाधीशहरुले विहीबार गोला तान्ने पहिलो दिन प्रधानन्यायाधीश जबरा सभाहलमा आएमा र गोला तानेर इजलासमा बस्न खोजेमा अरु न्यायाधीशहरुले सहभागी नहुन अनुरोध गर्नेछन् ।

‘उहाँले तान्नुभयो भने हामीले अनुरोधसम्म गर्ने हो, जबर्जस्ती खोस्न मिल्दैन’ सर्वोच्च अदालतका ती न्यायाधीशले भने, ‘त्यसपछि हामीले गोला तान्दा उहाँसँगको इजलास प¥यो भने नबस्ने घोषणा गरिदिन्छौं । यो भन्दा बहिस्कार अरु के हुनसक्छ ?’

बिहीबारको भेटमा बारका अध्यक्षहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने आफूहरुको आधारभूत माग कायम रहेको भन्दै त्यसलाई कमजोर बनाउने क्रियाकलाप नगर्न सुझाव दिएका थिए । उनीहरुले कानून व्यवसायीहरुको आन्दोलन जारी रहेकाले मुद्दाको कुनै पक्ष अनुपस्थित भएमा सुनुवाइ स्थगित गर्न सुझाव दिए ।

अनि प्रधानन्यायाधीश जबरा संलग्न हुने इजलासमा सामेल नहुन न्यायाधीशहरुको पटकपटक ध्यानाकर्षण गराए । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘प्रधानन्यायाधीशज्यूलाई साथ दिएर तपाईंहरु सँगै इजलासमा बस्नुभयो भने त्यो हामीलाई कुनै हालतमा सह्य हुदैन भनेका छौं ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?