
९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो पटक अध्यक्षबाहेकका अरु पदाधिकारी पनि निर्वाचनबाट चयन गर्ने भएको छ । बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिले नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले पेश गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरेको छ ।
अब उक्त विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरु, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति हुनेछ ।
जसमध्ये अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।
त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत अर्थात १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ४९ जना महिला रहनेछन् । बाँकी १०० जना पुरुष रहनेछन् ।
राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (एक महिला एक पुरुष) मुस्लिम ३ जना (२ पुरुष एक महिला), थारु २ जना (एक पुरुष एक महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् ।
पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार अब यो विधानलाई मंसिर १५ देखि सुरु हुने महाधिवेशनले अनुमोदन गरेपछि लागू हुनेछ । पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्य भने पछि मनोनीत हुनेछन् ।
प्रतिक्रिया 4