+
+
कथा :

एक रात प्रेतसँग 

दिपक समिर दिपक समिर
२०७८ मंसिर ११ गते २०:००

शरद् ऋतुको मध्यरात । मौसम न जाडो न गर्मी ।

नेदरल्याण्डस्को रोट्राडाम शहरको एक छेउमा स्केल्ड नदीको किनारमा कसैको प्रतीक्षा गर्दैछु । रात सुनसान छ । मानिसको चहलपहल पातलो छ । आम्स्टरडामजस्तो कोलाहल छैन, यद्यपि शून्य पनि हैन ।

यसो हेर्दा लाग्छ– नेदरल्याण्डस् रातमा पनि सुत्दैन । कुनै न कुनै रूपमा ब्यूँझिरहेको हुन्छ । वरिपरि देखिएका प्राय: सबै घरहरूबाट मधुरो बत्तीको प्रकाश आइरहेको छ ।

पर देखिएको समुद्रको केही भाग र नजिकै रहेको नदीको पानीमा बत्तीको प्रकाश परेर सुन्दर देखिएको छ । कतिपय घरहरू नदीमै जोडेर बनाएका हुनाले पानी तिनलाई छोएरै बग्ने गर्छ । नयाँ, पुराना सबैथरी घरहरू ।

कुनै एक घरबाट चर्चित डच गायिका एम्मा हिस्टर्सको गीत ‘वार गा जे हिन’ बजिरहेको आवाज आइरहेछ । सायद कुनै पार्टी या जमघट होला । तर हल्ला छैन ।

बारहरू खुल्ला छन् तर शान्त । प्रायः सबै शान्त छन् । मानिसहरू आफ्नै संसारमा रमाइरहेछन् । कसैलाई कसैको वास्ता छैन ।

म ताडको रूखमुनि एउटा फलामको मेचमा बसेर बाटो हेर्दैछु– आफ्नो समयकी एक वेश्याको । जसको नाम हो– सियन हुर्निक । वास्तविक नाम क्लासिना मारिया हुर्निक भए पनि सियन हुर्निक नामले प्रसिद्ध ।

पेशाले एक मोडेल र वेश्या भए पनि चर्चामा आउनुको खास कारण अर्कै छ । आफ्नो छोटो जीवनकालमा करिब २१ सयवटा चित्र बनाएका विश्व प्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगकी प्रेमिका ।

जसले भ्यान गगको माया जाँच गर्न ‘आफ्नो कान काटेर उपहार दिन सक्छौ ?’ भनेपछि गगले तुरून्तै गएर एउटा कान काटेर हातैमा बोकेर रगत चुहाउँदै ल्याएका थिए । त्यसपछि साँच्चै माया गर्ने रहेछन् भनेर सियनले प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् । जबकि उनको मुख्य पेशा त्यतिबेला पनि मोडलिङ र वेश्यावृत्ति थियो ।

पूर्वप्रेमीहरूबाट दुईजना सन्तान जन्मिसकेका थिए र तेस्रो जन्मिने तयारीमा थियो अर्थात् गर्भवती थिइन् । तर पनि भ्यान गगले त्यसको परवाह गरेनन् । प्रेमिका स्वीकारे ।

सँगै बस्न थालेपछि दुई सन्तान जन्मे । तर उनीहरू जम्मा तीन वर्षमात्रै सँगै रहे । त्यसपछि छुट्टिए ।

सियनले सन् १०९१ मा आफूभन्दा एघार वर्ष कान्छो केटासँग बिहे गरिन् । ऊसँग पनि कुरा नमिलेर छुट्टिएपछि ५४ वर्षको उमेरमा संसार, जीवन र प्रेम सबैसँग हारिन र रोट्राडाम नजिकै स्केल्ड नदीमा हामफालेर आत्महत्या गरिन् ।

भ्यान गगका केही चर्चित चित्रहरू स्टारी नाइट, अल्मोण्ड ब्लुसुम, बेडरूम इन एर्लिस, द पोटेटो इटर्स, सेल्फ पोट्रेट विथ व्यान्डेज्ड इयर, क्याफे टेरेस एट नाइट, साइप्रिसेस, स्टिल लाइफ, आइरिसेस, पिङ्क पिच, ट्रि रुट्स, ह्वाइट हाउस एट नाइट, सरोइङ वल्ड म्यान, प्रिजनर राउण्ड, बेडरूम इन एर्लेस, द वल्ड मिल, द एलो हाउस, स्कुल अफ अ स्केलेटन वीथ बर्निङ सिगरेट, सनफ्लावर्स आदि हुन् ।

जम्मा ३७ वर्षको उमेरमा गगले मानसिक सन्तुलन गुमाएर आफैंले गोली होनेर आत्महत्या गरेका थिए ।

उनले दश वर्षभन्दा कम उमेरमै नौसय वटा चित्रहरू बनाइसकेका थिए । वास्तविक र जीवन एवं प्रकृतिसँग जोडिएका चित्रहरू बनाएका कारण उनी आजसमम अमर छन् र उनका चित्रहरू निकै महँगोमा बिक्री हुने गर्छन् ।

तिनै विलक्षण प्रतिभाका धनी भ्यान गगकी प्रेमिका सियन हुर्निकले आत्महत्या गरेको स्केल्ड नदीमा उनले आत्महत्या गरेको दुईसय सत्र वर्षपछि उनको प्रेमात्मालाई भेट्न म त्यहाँ पुगेको छु ।

मोडलिङ पेशामा पनि लागेकी, बाहिरबाट हेर्दा निकै सुन्दर र सुखी देखिएपनि वास्तविक जीवनमा सुख भन्ने कुराको कहिल्यै आभाष गर्न नपाएकी सियन यो ठाउँमा हरेक रातको एक बजे आउँछिन् भन्ने जानकारी पाएकोले मैले उनीसंग सम्पर्क गरेर आजलाई समय मिलाएको छु । म उनैको प्रतीक्षामा छु ।

टेलिभिजनको निकै चर्चित कार्यक्रम ‘द नेक्स्ट म्यान’ अर्थात् ‘अर्को मान्छे’मा उनीसँग अन्तरवार्ता गर्न पूर्वतयारीको लागि भेट्न गएको हुँ ।

रातको साँढे बाह्र बजेको छ । आधा घण्टा अझै बाँकी छ । म निकै उत्साहित छु । कताकता डर पनि लाग्दैछ– भूतसँग भेट्दैछु । तर यसअघि भर्चुअल कुरा गर्दा उनले जुन शालिनता र भद्रता प्रस्तुत गरिन्, त्यसबाट केही ढुक्क छु ।

 नेदरल्याण्डसमा राति साँढे बाह्र बजेदेखि साँढे तीन बजेसम्म तीन घण्टाको लागि प्रेतहरूलाई बाहिर आउने अनुमति छ । अरू समय आउन पाउँदैनन्

फेरि लाग्छ, उनले मलाई दुःख दिनु पर्ने या नराम्रो गर्नुपर्ने कारण के नै छ र ? मत मात्रै उनीसँग एउटा अन्तरवार्ता गर्न चाहन्छु र संसारलाई मात्र हैन सिङ्गो ब्रह्माण्डलाई प्रेम र वास्तविकताको एउटा सन्देश दिन चाहन्छु । विश्वचर्चित व्यक्तिको पछाडि हात दिने, साथ दिने र त्यसैको लागि आफूलाई समर्पित गर्ने वास्तविक योगदानकर्ताको समर्पणको कदर गर्दै तिनलाई उजागर गर्न चाहन्छु ।

यसै क्रममा यसअघि विख्यात् तानाशाह हिटलरकी प्रेमिका इवा ब्राइनको पनि अन्तरवार्ता गरेको थिएँ ।

अब विस्तारै प्रेतहरू आउन सुरु गर्छन् ।

नेदरल्याण्डसमा राति साँढे बाह्र बजेदेखि साँढे तीन बजेसम्म तीन घण्टाको लागि प्रेतहरूलाई बाहिर आउने अनुमति छ । अरू समय आउन पाउँदैनन् । कोही एक्लै आएका छन्, कोही साथीसँग र समूहमा पनि आएका छन् । प्रेत–प्रेत र प्रेत–मान्छे निस्फिक्री गफ गरिरहेछन् ।

प्रेत र मान्छेबीच पनि कतैकतै प्रेमालाप चल्दैछ । निस्फिक्री चुम्बन गरिरहेछन् । वेश्यावृत्तिको लागि कानुनी मान्यता प्रदान गरिएको संसारकै पहिलो देश हो नेदरल्याण्डस् । सुरुमा आम्स्टरडाम मात्र त्यसका लागि प्रसिद्ध थियो । तर अहिले यो देशका कुनाकुना व्याप्त छ ।

अहिले त प्रेतलाई पनि वेश्यावृत्ति गर्न मान्यता र अनुमति दिइएको छ । त्यसैले केही प्रेतहरू ग्राहकको खोजीमा छन् । प्रेतका ग्राहक ज्यूँदा मानिस र ज्यूँदा मानिसका ग्राहक प्रेत पनि हुन सक्छन् । यो फरक र अनौठो अनुभव सँगाल्न संसारभरिका मानिस यहाँ आउने गर्छन् । कोही कसैसँग डराउँदैनन् ।

मैले प्रतीक्षा गरिरहेकी प्रेत सियन हुर्निकको पनि पेशा यही हो । उनी प्रेत वेश्या । जसले जीवनमा पनि ३१ वर्षको उमेरदेखि मृत्युपर्यन्त २३ वर्ष यही पेशा अँगालिन् ।

मोडलिङ त खाली उनको वेश्यावृत्तिको लागि ग्राहकलाई आकर्षित गर्ने माध्यम मात्रै थियो । यसो सोच्छु– ‘प्रेतलाई त बाँच्नको लागि पैसा चाहिँदैन । तर पनि यो पेशा किन अँगाल्छन् ?’ उत्तर भेट्दिन र सियनसँगै सोध्ने विचार गर्छु । धेरै चाहिँ उनको भ्यान गगसँग जोडिएको प्रेम, कोटिएको कान र सियनको जीवनकथा नै मेरो कुराकानीका मुख्य क्षेत्र हुन् ।

एक्कासी देख्छु– विश्व प्रसिद्ध अमेरिकन वेश्या डोलार्स फ्रेन्च मतिरै आउँदैछिन् । छक्क पर्छु र सोच्छु– संसारभरिका मानिस मात्र हैन प्रेत पनि यहाँ ज्यूँदा मानिससँगको सहवास अनुभव गर्न यहाँ आउने रैछन् । एक मनले सोच्छु– गफ गरौँ कि । फेरि सोच्छु– होस् आज मेरो लक्ष्य अर्कै छ । उद्देश्य अर्कै छ ।

*** ***

हँसिलो मुद्रामा सुन्दरी डोलार्स मेरै दिशामा आउँदैछिन् । जसलाई युवावस्थामै सन् १९९५ मा अमेरिकाको एटलान्टा शहरमा अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर हत्या गरेका थिए । हत्याराको पहिचान अहिलेसम्म पनि भएको छैन ।

नजिकै आइपुगेपछि हात उठाउँदै ‘हाई’ भन्दै जान्छिन् । प्रत्युत्तरमा म पनि ‘हेलो’ भनिदिन्छु । यहाँको चहलपहल र वातावरण देखेपछि मभित्र रहेको अलिअलि डर पनि पूरै भाग्छ ।

अब म पूरै निर्धक्क छु । मात्र सियनको प्रतीक्षा छ ।

प्रेतहरू आउने क्रममा देख्छु परबाट क्लियोपेट्रा आउँदैछिन् । हालसम्म संसारकै सुन्दर र कामुक महिला मानिने क्लियोपेट्रा कुनै समय मिश्रकी साम्राज्ञी थिइन् ।

भनिन्छ, सुन्दर बन्नको लागि उनी दैनिक सात सयवटा गधाको दुधले नुहाउने गर्थिन् । रोमका महान् सम्राट जुलियस सिजर लगायत सयौं पुरुषसँग सम्बन्ध राखेकी क्लियोपेट्रा सुन्दरीमात्रै नभएर अत्यन्तै चलाख र धनी पनि थिइन् । जसले सत्ता हत्याउनका लागि आफ्नै भाइलाई विष पिलाएर मारेकी थिइन् । तर उनको आफ्नै मृत्यु पनि जम्मा ३९ वर्षको उमेरमा निकै दुःखद् किसिमले भयो ।

कसैले विष सेवन गरेर त कसैले अरूअरू कारणले मृत्यु भएको भनेपनि उनले मर्नका लागि विषालु सर्प मगाएर आफैंले नितम्बमा टोकाएर मरेको कुरा बढी सुन्नमा आउँछ । जेहोस्, मृत्यु सहज थिएन ।

उनी पनि यहाँ पक्कै शारीरिक तृष्णा मेटाउन आएकी अनुमान गर्छु । जीवनमा एकसेएक पुरुषसँग सम्बन्ध राखेर त्यत्रो राज गरेर संसार हल्लाएको व्यक्ति पनि मृत्युपछि यसरी प्रेत बनेर एक्लै भौंतारिँदै हिँडेको देखेर संसारको वास्तविकता थप बुझ्ने मौका पाउँछु ।

करिब एक बज्न आँट्छ । परबाट एकजना दुब्लो, पातलो, अग्लो प्रेत मतिर आउँदैछ ।

म अनुमान गर्छु पक्कै सियन हुनुपर्छ । मैले यही लोकेसन दिएको हुनाले पक्कै मै हो भन्ने बुझेर यता आउँदै गरेकीजस्तो लाग्छ ।

नभन्दै हो रैछ । नजिकै आइपुगेर ‘हाई’ भनेपछि निश्चित हुन्छ, उनै रहिछन् ।

खैरो कपाल, खैरा आँखा, शरीर दुब्लो भए पनि मिलेको । उमेर पाको भए पनि अनुहारमा चमक । सायद मृत्युपछि शान्ति मिलेर होला निस्फिक्री देखिन्छिन् ।

सामान्य परिचयपछि हात मिलाउँदै भन्छिन्– ‘यहीं बस्ने कि कतै जाने ?’

प्रेतसँग पहिलो पटक हात मिलाउँदाको अनौठो अनुभवले पग्लिँदै म भन्छु– ‘बस्नै पर्छ भन्ने छ र ? हामी हिँड्दै गफ गरौँ न ।’

मलाई धेरैभन्दा धेरै यहाँको माहौल हेर्ने मन छ । सियन स्वीकार्छिन् अनि हामी हिँड्न थाल्छौँ ।

हाम्रो वस्तीमा हामी हिँड्दा परिचित भेटिए जस्तै उनका थुप्रै परिचित भेट्छिन् र हलो, हाइ गर्दै हिँड्छिन् ।

रोट्राडाम युरोपकै सर्वाधिक ठूलो र व्यस्त बन्दरगाह हुनाले ठूलाठूला जहाजहरू आउने जाने क्रम चलिरहेछ । समुद्रको पानीमा परेका बत्तीका प्रतिबिम्बले वातावरण फरक बनेको छ । म यही अनौठो रङ्गिन संसारमा एक प्रेतसँग वार्ता गर्दैछु ।

हिँड्दै जाँदा हामी कहिले स्केल्ड नदी किनारमा पुग्छौँ, कहिले विशाल समुद्रको किनारमा पुग्छौं, कहिले बडेमाको जहाज छेउ पुग्छौँ, कहिले सुन्दर बगैँचा छेउ त कहिले पुराना घरहरूको वस्तीमा पुग्छौँ ।

जेहोस् यात्रा अनौठो मात्रै हैन कौतुहलपूर्ण पनि छ ।  म कुराकानी सुरु गर्छु – ‘सन्चै छौ ?’

उनी हाँस्छिन्, ‘प्रेतलाई के सञ्चो, के विसञ्चो ! ठीकै छ ।’

म सुरुमै सामान्य चासो राख्छु– ‘वेश्याहरूको लागि त नेदरल्याण्डसको सबैभन्दा प्रिय ठाउँ आम्सटरडाम हो । तर हरेक रात तिमी उता नगएर किन यहाँ आउँछ्यौ ?’

‘हो, तिमीले भनेको ठीक हो । सबैभन्दा पहिला वेश्यावृत्तिले मान्यता पाएको ठाउँ पनि आम्स्टरडाम हो । तर यो ठाउँसँग मेरो अर्कै सम्बन्ध छ । मैले आत्महत्या यहीँको स्केल्ड नदीमा गरेकी थिएँ । त्यसैले जीवन अन्त्यको त्यो स्मरणलाई अन्त्य गर्दै म यहीँ आउने गर्छु । कहिलेकाहीँ त्यता पनि जान्छु ।’

त्यसपछि उनले मेरो बारेमा सामान्य चासो राख्छिन्– ‘तिमी के पो भन्दै थियौ रे तिम्रो नाम ?’

म एउटै प्रश्नमा धेरैवटा उत्तर दिन्छु– ‘मेरो पनि तिम्रो जस्तै दुईवटा नाम छन् । बुबाआमाले राखिदिएको नाम दिपक हो, आफैंले राखेको नाम समीर । म नेपालबाट आएको । नेपालको टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तुत गर्ने गर्छु । त्यसैमा तिम्रो अन्तरवार्ता गरौं भनेर आएको ।

‘अन्तरवार्ता गर्न मरेका मान्छेहरू त अरू पनि धेरै छन् । मभन्दा चर्चित त अरू छन् । जल्दाबल्दा प्रेतहरू छन् । तर मलाई नै किन छान्यौ ?’

‘हेर, म ती चर्चित मान्छेसँग हैन, तिनलाई चर्चित बनाउने अर्को मान्छेसँग अन्तरवार्ता गर्छु । जसको योगदानको कदर यो समाज र संसारले विरलै गर्छ ।’

फरक प्रसङ्ग उठाउँछु– ‘भो छोडौं यो कुरा । मूल विषयमा प्रवेश गरौँ । भ्यान गगले साँच्चै तिमीलाई कान काटेर दिएका हुन् त ? कसैकसैले त उनका निकै मिल्ने साथी गुआगुइनसँग झगडा गर्दा काटिएको भन्छन् नि ।’

‘कसैकसैले त्यसो भनेको मैले पनि सुनेको छु । उनीहरुको झगडा पर्दा काटेका हुन सक्छन तर मलाई ल्याएर दिएपछि म विस्वास गर्छु कि त्यो कान काटेको मेरै लागि हो । तिमीलाई भ्यान गगको थोरै पृष्ठभूमि भन्छु । यो त तिमीलाई थाहै होला कि उनको मृत्यु जम्मा ३७ वर्षको उमेरमा भयो । त्यसको कारण पनि उनको अव्यवस्थित जीवनशैली र रक्सी थियो । उनी एक पादरीका छोरा थिए ।

त्यसैले उनको बाल्यकाल सुखमय नै वित्यो । सायद त्यसैले होला उनी सानैदेखि एकोहोरो र मुडी स्वभावका थिए । उनले म चित्रकार बन्छु, अमर बन्छु भनेर चित्र बनाएका हैनन् । पहिला रहरले र पछि बाँच्नको लागि चित्र बनाएका हुन् । यो प्रसिद्धि त संयोग मात्रै हो । उनको सहारा उनका भाइ थेओ मात्रै थिए । जसले उनलाई केही पैसा दिन्थे तर त्यो पर्याप्त हुँदैनथ्यो ।

भ्यान गग र मेरो भेट एक वेश्या र ग्राहकको रूपमा भएको हो । त्यतिबेला म गर्भवती थिएँ । दुईजना सन्तान पहिलै थिए । दुईजना प्रेमीबाट ती जन्मेका थिए । तर दुवैले छोडेको कारण म पुनः वेश्यावृत्तिमा फर्केकी थिएँ । जब भेट भयो तब उनी मसँग निकै नजिकिन थाले र बिहे गर्छु भन्न थाले । एक त म गर्भिणी, दुई सन्तान पहिल्यै भइसकेकी, दुई दुईजनाबाट धोका पाएकी । मैले उनको कुरा पत्याइनँ ।

एकदिन लहडमा भनिदिएँ, ‘साँच्चै माया गर्छौ भने आफ्नो कान काटेर उपहार दिन सक्छौ ?’ सुरुमा त बोलेका थिएनन् । तर केही समयपछि साँच्चै कान काटेर ल्याए । अनि मलाई पनि माया लाग्यो र हामी सँगै बस्न थाल्यौँ ।’

हामी हिँड्दै छौं लक्ष्यविहीन यात्रीहरू । गोडाले जता लैजान्छ त्यतै जान्छौं । तर शहर बाहिर जाँदैनौं, त्यहीँ वरपर र समुद्र किनारमा घुमिरहन्छौँ ।

म सिलसिला जोड्छु–  ‘त्यसपछि ?’

‘त्यसपछि गर्भमै रहेको र अर्को एक गरी मेरा दुई सन्तान जन्मिए । अब मेरा जम्मा चार सन्तान भए । अगाडिका दुईलाई आमा र भाइकोमा छोडेकी थिएँ । यता भ्यान गगको परिवारलाई हाम्रो सम्बन्ध स्वीकार्य थिएन । हामी जम्मा तीनवर्ष सँगै रह्यौँ । पछि सन् १८८३ मा उनी मलाई छोडेर चित्रकारिता गर्न भनी द्रेन्थे गए । त्यसपछि कहिल्यै फर्केर आएनन् । त्यसको सात वर्षपछि सन् १९९० मा उनले आफैंले गोली हानेर आत्महत्या गरे । कसै कसैले उनलाई एकजना बालकले अन्जानमा गोली हानेको र बालकलाई दोष नदिन त्यो दोष आफैले लिएको भन्ने गर्छन । जे होस उनको मृत्यु एक गहुँबारीमा गोली लागेर त्यसको दुइदिन पछि भएको हो । जीवनका अन्तिम दिनहरुमा उनको मानसिक अवस्था पनि खल्बलिएको थियो भन्छन ।’

‘त्यसपछि तिमी त निकै अप्ठ्यारोमा पर्यौ होला हगी ?’

‘परेँ नि ! पेशा निरन्तर गरिरहेँ । अरू उपाय पनि थिएन । आफ्नो भन्दा पनि सन्तानको पिरलो थियो । पछि मभन्दा एघार वर्ष कान्छा एन्टोन भ्यान विज्कसँग मैले बिहे गरेँ । उनीबाट पनि एक सन्तान भयो । जब बिस्तारै उनीसँग पनि सम्बन्ध बिग्रदै गयो तब मलाई यो संसार निकै स्वार्थी र मतलवी लाग्न थाल्यो । म खाली अरूका लागि प्रयोग मात्रै भएँ । अरूको खेलाउने, शारीरिक तृष्णा मेट्ने र सन्तान उत्पादन गर्ने साधन भइदिएँ जस्तो आभाष भयो । विलकुल एक्लो र निरीह भएँ । त्यसपछि यो संसारबाट विदा लिने निर्णय गरेर सन् १९०४ नोभेम्बर ४ का दिन यहीँको स्केल्ड नदीमा हाम्फालेर जीवन त्यागिदिएँ ।’

यो वियोगान्त कहानी सुनेपछि केहीबेर सन्नाटा छाउँछ । दुवै चुप रहन्छौँ ।

पछि म मौनता चिर्ने प्रयास गर्छु– ‘ भ्यान गगको त्यो विश्वप्रसिद्ध चित्र छ नि ‘दुःख’ । त्यो चाहिँ कतिबेला बनाएका हुन् ?’

‘त्यो म गर्भवती भएको बेलामा मलाई अर्की छोरी लिएर बस्न लगाएर बनाएका हुन् । उनी र म सँगै भएपछि त उनले मेरो शरीर र हाउभाउको धेरै चित्र बनाए । मलाई लाग्छ उनले मलाई प्रेम गरेनन् । खाली चित्र बनाउने र तृष्णा मेट्ने साधन बनाए । भेट भएको सुरुसुरुमा कान काटेर दिनु त खाली जवानीको जोश र पागलपना थियो, प्रेम थिएन । प्रेम गर्ने मान्छेले त दुःखको बेलामा त्यसरी अलपत्र छोडेर कसरी जान सक्छ ? उनलाई खाली चित्र बनाउन र रक्सी पिउन पाए पुग्थ्यो । वाध्यताले गर्दा दिनभरि दुनियाँलाई शरीर सम्पे पनि हरेक नारीले साँझ आफ्नै मायालुसँगको न्यानो अँगालो चाहन्छे ।

तर मैले उनीसँग हुँदा पनि क्रमशः त्यो गुमाउँदै गएँ । पछि त छोडी नै दिए । मलाई छोडेर जोसँग द्रेन्थे गए, उनीसँग पनि रक्सी पिएर मारामार झगडा गर्थे रे । त्यसैले उनीहरूको मित्रता पनि टुटेछ । त्यही भएर त्यो कान काटिएको पनि त्यसै बेलामा हो भन्छन् नि । वास्तवमा भ्यान गगले मलाई मात्र हैन आपैmँलाई पनि प्रेम गरेनन् । नत्र त्यस्तो अद्भूत क्षमता भएको मान्छेले जम्मा ३७ वर्षको उमेरमै त्यस्तो दुःखद् मृत्युवरण गर्नु पथ्र्यो र ? जब उनको मृत्यु भयो, त्यसपछि मात्रै उनका चित्र र उनको चर्चा बढी भयो । बाँचुञ्जेल खासै भएन । मैले आत्महत्या गर्नुभन्दा जम्मा बाह्र दिनअगाडि वल्डेनजिल ग्यालरीमा भव्य रूपमा उनका चित्रहरूको प्रदर्शनी भयो । धेरै चित्रहरू महँगोमा बिक्री भए । यो खबर सुनेर एक मनले खुसी पनि लाग्यो किनकि ति मध्ये धेरै चित्रमा म थिएँ । तर यसकारण दुःख पनि लाग्यो कि, उनले त्यो खुसी बाँचेर देख्न पाएनन् ।’

*** ***

बिस्तारै कुराकानीलाई मैले उनको फ्ल्यासव्याकतिर लैजान खोज्छु । उनको अनुमति लिएर सोध्छु, ‘तिम्रो पारिवारिक पृष्ठभूमि चाहिँ के थियो ? अनि तिमीले वेश्यावृत्तिलाई पेशा बनाउनुको कारण ?’

सियन खल्तीबाट चुरोट निकालेर सल्काउँदै भन्न सुरु गर्छिन्–

‘मेरो बुबा एक भरिया हुनुहुन्थ्यो । उहाँका दशजना सन्तान थिए र तीमध्ये म एक थिएँ । म पच्चीस वर्षकी हुँदा बुबा बित्नुभयो । त्यसपछि घरको बोझ आमा र ममा थुप्रियो । एकजना भाइ थिए, जो कुर्सी बनाउने काम गर्थे । अरू भाइबहिनी सानै थिए । तिनै कुर्सी बनाउने भाइले थोरै सहयोग गर्थे । तर घर चलाउन निकै गाह्रो थियो । मैले थोरैथोरै मोडलिङ त्यसै बेला गर्थे तर पैसा खासै राम्रो आउँदैनथ्यो । पकेट खर्च पनि पुग्दैनथ्यो ।

त्यसपछि आमा र म दुवै एक चर्चको भान्सामा काम गर्न थाल्यौं । काम गर्दै जाँदा त्यहीँ काम गर्ने एकजना सहकर्मीले मलाई यो उपाय बताइन् । पार्टटाइम कलगर्लको काम गर्ने सल्लाह दिइन् । त्यसपछि मैले उनीसँगै सहकार्य गरेर त्यो काम सुरु गरेँ । पछि त्यसैमा पूर्णकालिन भएँ । त्यतिखेर म जममा ३१ वर्षकी थिएँ । जवानी थियो, सुन्दर थिएँ । ग्राहकहरू खोजीखोजी आउँथे ।’

‘राम्री भएरै त चार–चारजना पछि नै लागे नि हैन ?’, म बिचैमा हल्का जिस्किन्छु ।

उनी स्वीकार्छिन्– ‘हो त । म नराम्री थिएँ भने किन पछि लाग्थे ? यो दुनियाँ रूपकै पछि त लाग्छ ।’

हिँड्दै गर्दा एक निकै स्मार्ट प्रेत हामीतिर आउँछ । सियन उसलाई निकै श्रद्धापूर्वक झुकेर अभिवादन गर्छिन् । उसले पनि निकै माया गरेर अँगालो हाल्छ र चुम्बन गर्छ । अनि जान्छ । पछि सोध्दा थाहा पाउँछु, उनी फ्रान्सका चर्चित शासक नेपोलियन बोनापार्ट रहेछन् । जसले अठारौं शताब्दीमा आफ्नो प्रभाव युरोपभरि फैलिँदै गर्दा वेश्यावृत्तिलाई प्रश्रय र अप्रत्यक्ष मान्यता दिएका रहेछन् । त्यसैले यहाँका सम्पूर्ण प्रेत वेश्याहरूले उनलाई निकै श्रद्धा गर्दा रहेछन् ।

यो अर्को एक फरक र अकल्पनीय सत्य सियनबाट थाहा पाएपछि म सोच्छु– हामीले इतिहासमा पढेका संसारका चर्चित अन्य व्यक्तिहरूका पनि जीवनका यस्ता फरक पाटाहरू कत्ति होलान ! जुन थाहा पाउँदा अनौठो लाग्छ ।

कुरा गर्दागर्दै रातको तीन बजेको छ । प्रेतहरूले यहाँ बस्न पाउने समय अब आधाघण्टा मात्रै हो । त्यसपछि अटोमेटिक एक साइरन बज्छ । त्यसपछि सम्पूर्ण प्रेतले गायब भइहाल्नुपर्छ नत्र कारवाहीमा परिन्छ ।

म अर्को जिज्ञासा राख्छु– ‘यहाँ आउने प्रेतहरू चाहिँ प्रायः कस्ता कस्ता आउँछन् ?’

‘यहाँ प्रायः जीवनभरि वेश्यावृत्ति गरेका प्रेतहरू बढी आउँछन् । साथै अन्य त्यस्ता प्रेतहरू पनि आउँछन् जसले जीवनमा शारीरिक सुखको पर्याप्त अनुभूति गर्न पाएनन् । जस्तै युद्धबन्दी महिलाहरू, जेल परेका महिलाहरू, ठूलाठूला तानाशाहका श्रीमतीहरू, जसले जीवनभरि त्यो सुखको लागि तड्पिनु प¥यो तिनीहरू त्यो प्यास अहिले मेट्न आउँछन् । प्रेत ग्राहक पनि त्यसैगरी जीवनमा शारीरिक सुख भोग गर्न नपाएका व्यक्ति आउँछन् । जस्तैः बन्दीहरू, सेनाहरू, श्रीमतीबाट पीडित श्रीमानहरू आदि । ज्यूँदा ग्राहक चाहिँ प्रायः संसारका ठूलाठूला व्यक्ति आउँछन् । तिम्रो देशबाट पनि नाम चलेका धेरै ग्राहक आउँछन् । प्रायः राजनीतिकर्मी धेरै आउँछन् ।’

म अघिदेखि मनमा उठेको फरक प्रसङ्ग उठाउँछु– ‘तिमीहरू प्रेतलाई त बाँच्नको लागि पैसाको आवश्यकता पर्दैन । तर पनि अझै किन वेश्यावृत्ति गर्छौ ?’

सियन हाँस्छिन् र भन्छिन्– ‘मलाई थाहा थियो तिमीले यो प्रश्न गर्छौ भनेर । हो यहाँ प्रेत र मान्छेको बीचमा हुने सम्बन्धमा पैसाको कारोबार हुँदैन । प्रेत वेश्याले पनि ज्यूँदा मान्छेसँग पैसा लिँदैनन् र ज्यूँदो वेश्याले पनि प्रेत ग्राहकसँग पैसा लिँदैनन् । हेर, हामी त मान्छेसँगको सामिप्य चाहन्छौँ । त्यो स्पर्श र आनन्द चाहन्छौँ, जसको नशा हामीमा अझै पनि ज्यूँदै छ । किनकि बाँचुञ्जेल त हामीले त्यही न ग¥यौँ । तर कारण अर्को पनि छ । तिमीलाई एउटा भित्री कुरा भनौँ ? हामी तिमीहरू ज्यूँदा मान्छेहरूसँग बदला लिन चाहन्छौँ ।’

मेरो उडेको होसहवास देखेर उनी हाँस्छिन् र थप्छिन्– ‘नडराऊ ! म तिमीलाई केही गर्दिन । वदला किन र कसरी लिन चाहन्छौँ, सुन । हामी जति पनि बाँचुञ्जेल वेश्यावृत्ति गरेर जीवन चलाएका व्यक्तिहरू छौँ नि, ती प्रायः सबैले वाध्यताले यो पेशा अँगालेका हौँ । हामीलाई यो अँध्यारोमा धकेल्ने त तिमी ज्यूँदा मान्छेहरूले बनेको यो समाज हो नि । प्रेम बिनाको कुनै पनि सम्बन्ध कत्ति अप्रिय र पीडादायी हुन्छ भन्ने कुरा सबैलाई थाहै छ । हामीले त्यो सम्बन्ध पलपल भोग्नु पर्छ । पलपल मरेर बाँच्नु पर्छ । के गरिब भएर जन्मनु हाम्रो दोष हो र ? त्यसो भए नगरेको गल्तीको सजाय जीवनभरि किन भोग्नु पर्छ हामीले ? अर्को कुरा तिमीहरूले हामीलाई सधैँ घृणा र तिरस्कार मात्रै गर्यौ । आफ्नो तृणा मेट्न प्रयोग चाहिँ गर्ने अनि उल्टै घृणा पनि गर्ने ? दिनभरि हाम्रो विरूद्धमा बोल्ने र घृणा गर्ने समाजका अग्रज भनिने मान्छेहरू नै धेरैजसो राति हाम्रा ग्राहक हुन्छन् । हाम्रो वाध्यता र संवेदनाको फाइदा उठाउने ? हाम्रो शरीर सयौँ र हजारौँलाई सुम्पिन्छौँ भन्ने थाहा पाउँदा पाउँदै आएर हामीसँग सम्पर्क गर्न चाहिँ हुने तर हाम्रो थोरै इज्जत गर्न चाहिँ नहुने ? यो पीडाले रोईरोई शरीर बेचेर जीवन चलाउने वेश्याहरू संसारमा लाखौँ छन् । जसले प्रत्येक दिन बाँच्नको लागि स्वाभिमान र अस्मिता मार्नु परिरहेको छ ।

यतिसम्म कि,  संसारका ठूलाठूला लेखकहरु समेत हाम्रो बारेमा या हाम्रा पीडा लेख्नसम्म चाहँदैनन् । त्यसैले हामी पूर्वजन्मका वेश्या प्रेतहरूले भेला गरेरै यो पेशा पुनः अपनाएका हौँ । ताकि तिमी ज्यूँदा मान्छेहरूलाई यो दलदलमा कुनै न कुनै रूपमा डुबाइरहन सकौँ । साथै हामीलाई इच्छा लागेको बेला आनन्द लुटिरहन पनि सकौँ । नत्र तिमीहरूले यो पेशा निरन्तर गरेनौ भने त हामीले कसरी त्यो आनन्द लिने ? कुरा त्यहाँ पनि छ ।

त्यसैले यो पेशा नमरोस् भनेर हामी अब संगठन नै बनाएर यसलाई संसारका कुनाकुनामा विस्तार गर्ने योजनामा छौँ । तिम्रो देशका पनि केही शहरहरू हाम्रो लिस्टमा छन् । ती शहरहरूमा हामी हाम्रो संगठन विस्तार गर्नेछौं र तिमीहरूले शरीर बेच्न वाध्य बनाएका तिम्रा चेलीहरूले मृत्युपर्यन्त तिमीहरूसँग पनि बदला लिनेछन् । तिम्रो सिङ्गै समाजलाई वेश्यावृत्तिको अँध्यारो खाडलमा धकेल्नेछन् । त्यसपछि ति पीडित चेलीहरूको आत्माले थोरै भए पनि शान्ति पाउनेछ ।’

एक फरक अनुभुति गर्दै म प्रसङ्गलाई आफू अनुकूल बनाउने प्रयास गर्छु– ‘अनि सियन मेरो देशमा त वेश्यावृत्तिमा लाग्ने र लगाउनेको संख्या खासै धेरै छैन त । किन यति धेरै आक्रोस ?’

‘तिमीहरू यही त भ्रममा छौ । जुन देश र समाजमा यो वैधानिक छैन, त्यहाँ नै हो बढी हुने र महिलाहरूले बढी पीडित हुनुपर्ने । बरू हाम्राजस्ता देशमा धेरैले पीडित बन्न पर्दैन जहाँ यो खुल्ला र वैधानिक छ । तिम्रो देशको पनि हामीसँग एकएक रेकर्ड छ । तिम्रा धेरै चेलीहरू बाहिर हाँसेर भित्रभित्र दैनिक मृत्युवरण गर्दै अर्कालाई अस्मिता बेच्न विवश छन् । जसको बारेमा तिमीहरूलाई थाहै हुँदैन । अँ, हामी त्यस्तालाई चाहिँ घृणा गर्छौ, जसले वाध्यता नभई रहरले धेरैजनासँग शारीरिक सम्पर्क राख्ने गर्छन् । चाहे ती महिला हुन्, चाहे पुरूष । तिनले गर्दा पनि वाध्यताले यो पेशा अपनाउनेलाई समाजले नराम्रो सोच्न मलजल गरेको छ । हाम्रो संगठन संसारभरि विस्तार भएपछि त्यस्ता विकृत, धोकेवाजहरूलाई हामी छानीछानी वदला लिनेछौँ । उदाहरणको लागि– क्लियोपेट्रा । जसले सौख पूरा गर्न र शक्ति हत्याउन शरीरको प्रयोग गरेकी थिइन् ।

जुन समाजका चेली वाध्यताले वेश्यावृत्तिको खाडलमा खसेका हुन्छन् वास्तवमा संसारको सबैभन्दा कुरूप र दरिद्र समाज त्यही हो । र आफ्ना चेलीलाई त्यसमा प्रत्यक्ष अप्रत्यक्ष खसाल्ने व्यक्तिहरू नै संसारका सबैभन्दा ठूला अपराधी हुन् । त्यो कुरूप र दरिद्र समाज थाहै नपाई एक अँध्यारो भविष्य र अकाट्य पाप बोकेर केवल चलिरहेको हुन्छ, बाँचेको हुँदैन । जवरजस्ती घृणित नाम दिइएका ‘वेश्या’हरूको आँसुले हरेक निमेषमा पोलिरहेको हुन्छ त्यो समाजलाई । र, हामी थप खरानी बनाउन चाहन्छौँ ती सम्पूर्ण समाजलाई । बाहिर देखिने सौन्दर्य त भ्रम मात्रै हो मिस्टर समिर !’

सियनको आत्मविश्वासपूर्ण र दृढ उत्तरले म पसिना पसिना हुन्छु । ज्यूँदा मान्छेहरूमाथि प्रेतहरूको विजयी दम्भ देखेर छक्क पर्छु । यति गहिरोसँग मैले आफ्नै समाजको बारेमा आजसम्म पनि अध्ययन गर्न नसकेकोमा आत्मग्लानी महसुस गर्छु । सम्भावित भविष्यको कल्पनाले छट्पटी हुन्छ ।

अनि सकेसम्म छिटो त्यहाँबाट छुट्टिने प्रयास गर्दै कुराकानीको विट मार्न विलकुल वाहियात प्रश्न गर्छु– ‘कहिलेकाहीं भ्यान गगसँग चाहिँ जम्काभेट हुँदैन ?’

‘हुन्छ । किन नहुनु ? मेरा तीनैजना प्रेमीहरू र श्रीमान विज्कसँ पनि भेट हुन्छ । सामान्य बोलचाल हुन्छ ।’

म पुनः भ्यान गगतिरै मोडिन्छु– ‘भ्यान गग चाहिँ फेरि तिम्रो चित्र बनाउन खोज्दैनन् ?’

‘खोज्दैनन् । ज्यूँदै छँदा आफ्नो क्षमताको पूर्ण सदुपयोग नगरेको र जीवन छोटो बनाएकोमा सायद उनलाई पश्चाताप छ । त्यसैले होला धेरै बोल्दैनन् । विस्तारै आउँछन्, यसो हेर्छन् अनि जान्छन् । अब अहिले प्रेत बनेपछि उनका चित्रहरू जति चर्चित भए पनि, जति महँगोमा बिक्री भए पनि त्यसको के अर्थ ?’

साइरन बज्छ । साँढे तीन भएछ । सियन हतार हतार मसँग बिदा भएर अन्तरवार्तामा आउने बाचा गर्दै तुरून्तै अलप हुन्छिन् । वरिपरि हेर्छु, प्रेतहरू सबै अलप छन् । कत्ति अनुशासित ! ज्यूँदा मान्छेमात्रै बाँकी छन् ।

घुम्दैघुम्दै मैले सुरुमा सियनको प्रतीक्षा गरिरहेको ताडको रूख नजिकै आइपुगेको छु । सामुन्ने स्केल्ड नदीको सियनले आत्महत्या गरेको ठाउँ छ । अनौठो भेटघाटको स्मरण गर्दै बाटो लाग्छु ।

प्रेतसँगको रात मलाई सिङ्गै एक युगजस्तो लाग्छ । किनकि, यत्रो जीवनकालमा कहिल्यै थाहा नपाएका र कहिल्यै नसोचेका धेरै कुराहरू एकै रातमा थाहा पाउँछु ।

युगको मापन समयले हैन चेतना र परिवर्तनको अनुपातले गर्दो रहेछ ।

एक सिङ्गै युग प्राप्त गरेकोमा रोट्राडाम शहर, सियन हुर्निक, भ्यान गगहरूलाई धन्यवाद पनि दिन्छु ।

धेरै समयसम्म सियनको मुखबाट निस्केको वाक्य कानमा गुञ्जिरहन्छ– ‘तिम्रो देशका पनि केही शहरहरू हाम्रो लिस्टमा छन् । ती शहरहरूमा हामी हाम्रो संगठन विस्तार गर्नेछौं र तिमीहरूले शरीर बेच्न वाध्य बनाएका चेलीहरूले मृत्युपर्यन्त तिमीहरूसँग पनि बदला लिनेछन् । तिम्रो सिङ्गै समाजलाई वेश्यावृत्तिको अँध्यारो खाडलमा धकेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment