+
+

एक हजार आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर ११ गते १७:५४

११ मंसिर, काठमाडौं । नेपालमा एक हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च हुने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागले गरेको विश्लेषण अनुसार यस्तो देखिएको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा कुल चार खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस आवमा विभाग र मातहतका कार्यालयबाट पुँजीगत तथा चालुतर्फ भने एक अर्ब ६९ करोड रुपैयाँ बजेट खर्च भएको छ । यसअनुसार प्रतिहजार रुपैयाँ राजस्व संकलन गर्न २.५२ रुपैयाँ खर्च भएको छ । यद्यपि यस्तो खर्च पछिल्ला वर्ष घट्दै गएको समेत पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व विभागले तीन खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष विभाग र मातहतका कार्यालयको पुँजीगत तथा चालु खर्च एक अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । आंकडा अनुसार यो वर्ष प्रतिहजार रुपैयाँ राजस्व संकलन गर्न विभागले ३.६२ रुपैयाँ खर्च गरेको देखिन्छ ।

पछिल्लो तीन वर्षमा आन्तरिक राजस्व संकलनमा लागेको लागत (प्रतिहजार)

आव २०७५/७६ : ४.२१ रुपैया

आव २०७६/७७ : ३.६२ रुपैयाँ

आव २०७७/७८ : २.५२ रुपैयाँ

किन घट्यो लागत ?

विभागका अनुसार पछिल्लो समय विभागले अनलाइन प्रणालीमा आधारित रहेर प्रशासनिक कामहरूलाई बढाइरहेको छ । यसको प्रभाव लागतमा देखिएको हो । कर प्रणालीमा गरिएको सुधार, कर प्रशासनको प्रशासनिक कुशलता, खर्च मितव्ययिता मापदण्डको परिपालना र कर सहभागितासमेत बढेका कारण कर संकलनको लागत कम हुन गएको विभागले उल्लेख गरेको छ । यद्यपि विभागको प्रशासनिक खर्च भने हरेक वर्ष बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा विभाग र मातहतका कार्यालयले ३० करोड रुपैयाँ बढी खर्च गरेका छन् । समग्रमा राजस्व संलकनमा हुने बढोत्तरीका कारण प्रतिहजार राजस्व संकलनमा लाग्ने लागत घटेको देखिएको हो ।

उपत्यका भित्रबाटै उठ्छ ६६ प्रतिशत आन्तरिक राजस्व

तथ्यांक अनुसार आन्तरिक राजस्व सबैभन्दा बढी उपत्यकाबाट संकलन हुने गरेको छ । उपत्यकाभित्रका तीन वटा जिल्लाबाट ६५.९६ प्रतिशत आन्तरिक राजस्व संकलन हुने गरेको आंकडा विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं उपत्यका भित्रबाट कुल दुई खर्ब ८३ अर्ब १५ करोड १६ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । उपत्यका बाहिरबाट भने कुल एक खर्ब ४६ अर्ब १२ करोड ७२ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । यो कुल आन्तरिक राजस्वको ३४.०४ प्रतिशत हो ।

आन्तरिक राजस्व विभागले उपत्यका बाहिर रहेका २५ वटा आन्तरिक राजस्व कार्यालयलाई एक वर्षमा एक खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ लक्ष्य दिएको थियो । २५ वटा आन्तरिक राजस्व कार्यालयमधये १७ वटा कार्यालयले लक्ष्य भेटाएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?