+
+
समाज :

बासुदेवीको कथा : अपमानलाई जितेको जीवन

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ मंसिर ११ गते २०:०५

१२ मंसिर, दाङ । सात वर्षअघि उनको जीवनमा घटेको घटनापछि उनीसँग दुई विकल्प थिए, अपमानको आँशु पिएर बाँच्ने वा त्यो आँशुलाई शक्तिमा बदल्ने ।

उनले आँसु पुछिन् र दोस्रो विकल्प रोजिन् । अर्थात् अहिलेसम्म उनले झेल्नु परेका सबै लाञ्छना र अपमान विरुद्ध जुध्ने । र, इच्छाशक्तिका साथ जीवनको नयाँ यात्रा शुरु गर्ने । फलतः अहिले उनको जीवनमा जे भइरहेछ, उनी आफैं पनि दंग छिन् । हिजो सिंगो समाजले उनलाई बोक्सी जस्तो अन्धविश्वासको लाञ्छना मात्रै लगाएन । सिंगो गाउँ मिलेर निर्घात कुटपिट गरे । अपमान र तिरस्कार दिए ।

अहिले सात वर्षपछि परिवेश बिल्कुलै फरक छ । हिजो उनलाई बोक्सी भन्ने समाज आज गाउँकै महिला नेतृ मान्न तयार छ । अपमानको घुट पिलाउनेहरु, आज उनको सामु श्रद्धाले शिर झुकाउँछन् । बोक्सीको आरोपमा उनको बस्त्र च्यातेर नंग्याउनेहरु आज आफैं नांगिएको अनुभूति गर्छन् ।

दाङको लमही नगरपालिका बनघुस्रीकी बासुदेवी चौधरीको कथा यस्तै छ ।

२०७१ साल वैशाख २८ गते । अपरान्ह १० बजेको घटना यस्तो थियो ।

थारु समुदायकी वासुदेवी धेरै पढेलेखेकी छैनन् । एक छोरा र एक छोरी छन् । उनका दुवै स्कुल पढ्थे । उनका श्रीमान् दाङको घोराहीमा दिनरात मजदुरी गर्थे । श्रीमानकै भरमा नुन तेलको जोहो हुन्थ्यो, चुलो बल्थ्यो । घटना हुनु केही समयअघि गाउँकै एक पुरुषसँग नजिकिएको भन्दै उनीमाथि आरोप लगाएका थिए । पछि ती पुरुषले आत्महत्या गरेछन् ।

७ वर्षअघि बासुदेवीको जीवन ।

त्यसदिन वासुदेवी चौधरी (३६) छोराछोरी स्कुल पठाएर सधैझैं घरको काममा जुट्दै थिइन् । गाउँका एक हुल महिला उनी भएतिर आए । पहिले त उनले मेसो पाइनन् । तर जब बोक्सीजस्तो कथित शब्द र हातपात उनीमाथि एकसाथ बज्रिन थाले । अनि पो उनले टेकेको जमिन भासिएजस्तो भयो । टाउको रिंगायो ।

त्यसपछि त सारा गाउँ उर्लिएर उनीलाई बोक्सीको लञ्छनामा निर्घात कुटपिट गरे ।

चार वर्षअघि, आफ्नो पीडा पोख्दै बासुदेवी ।

‘मैले बोल्न पाउँदा नपाउँदै यो ‘बोक्सी’ हो भनेर कुट्न थाले । मुखमा कालोमोसो दले । कपाल काटिदिए । शरीरमा भएको लुगा च्यातिदिए,’ त्यो दिन सम्झिँदै उनी भन्छिन्, ‘रोएँ, कराएँ । धेरै बिन्तीभाउ बिसाएँ । कसैले मेरो कुरा सुनेन ।’

बिहानबाट शुरु भएको उनीमाथिको दुर्व्यवहार र कुटपिट कसैगरी रोकिएन । दिनभर उनलाई बोक्सी भन्दै निर्घात कुटे । शरीरको लुगा च्यातिदिएर अर्धनग्न बनाए । जुत्ताको माला लगाएर गाउँ डुलाए ।

शरीरको घाउ त जसोतसो निको हुँदै पनि गयो । तर आत्मसम्मानमा लागेको चोट सजिलै बिर्सन सक्ने कुरा थिएन । त्यो समय बासुदेवीलाई गाउँ फर्कनु, सबैभन्दा पीडादायी क्षण थियो

शरीरमा लागेको चोट, र त्योभन्दा धेरै पाएको अपमानले गर्दा बासुदेवीको जीवनको याचना मागिन् । आफूलाई छोडिन भन्दै भनेर रोइकराइ गरिन् । तर उनका पक्षमा कोही उभिएन । समाज एकातिर भएपछि उनको पक्षमा कोही भएन । उनी एक्लै परिन् । दिनभर कुटपिट गरे । मुड्की उनको शरीरमा बजारियो ।

बोक्सी कथित आरोप एउटी महिलामाथि कुटपिट हुँदा सिंगो गाउँ रमिते बन्यो । बरु तिनै कुटपिट गर्ने महिलाहरुका पक्षमा सिंगो गाउँ उभियो । अचम्म त के भयो भने शिक्षित र समाजका अगुवा कहलिएकाहरु वासुदेवी नांगिएको दृश्य रमिते भनेर हेरिरहेका थिए ।

अपरान्हतिर, बासुदेवीलाई बोक्सी भन्दै गाउँ डुलाउँदै जाँदा बाटोमा पत्रकार दशरथ घिमिरे भेटिए । उनलाई देखेपछि गाउँमा मानिसहरु हच्किए । ‘पत्रकार देख्दा भगवान् देखेझैं भयो,’ उनले सुनाइन्, ‘त्यसदिन मेरा लागि पत्रकारलाई भगवान्ले पठाएका रहेछन् ।’ पत्रकार घिमिरेले तत्काल प्रहरीमा खबर गरिदिएपछि घटना रोकियो ।

घटनाको केही दिनपछि दोषीलाई पक्राउ गरी कारवाही शुरु गरियो ।

यता, घटनाले विक्षिप्त भएकी बासुदेवीलाई भने उपचारका क्रममा तत्कालीन राप्ती उपक्षेत्रीयको अस्पतालमा लगियो । तत्काल घर फर्कने अवस्था थिएन । शारीरिक चोटभन्दा ठूलो थियो, मानसिक घाउ ।

हप्ता दिन उनी हिंसाप्रभावित महिला पुनर्स्थापना केन्द्रमा बसिन् । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालको लैंगिक हिंसासम्बन्धी एकद्वार प्रणाली (ओसीएमसी)की फोकलपर्सन राधा पौडेलले उनलाई मनोपरामर्श उपचार दिइन् ।

शरीरको घाउ त जसोतसो निको हुँदै पनि गयो । तर आत्मसम्मानमा लागेको चोट सजिलै बिर्सन सक्ने कुरा थिएन । त्यो समय बासुदेवीलाई गाउँ फर्कनु, सबैभन्दा पीडादायी क्षण थियो ।

‘राधा दिदी र केही अधिकारकर्मीहरुले सम्झाइ बुझाइ गर्नुभयो । हौसला दिनुभयो,’ उनले भनिन्, ‘प्रहरी र उहाँहरुकै सहयोगमा ममाथि कुटपिट गर्नेहरुलाई माफी माग्न लगाइयो ।’

तत्कालीन प्रमुख जिल्ला अधिकारी र केही मानवअधिकारकर्मीहरुले यो घटनामा अग्रसरता लिए । घटनाका दोषीलाई उनीसामु माफी मात्र माग्न लगाइएन, टीका लगाएर गाउँमा स्वागत समेत गर्न लगाइयो ।

यो कुराले उनलाई हौसला थप्यो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीमा रहेकी राधा पौडेल उनको पक्षमा अगाडि सरिन् । पछि पौडेलकै अग्रसरतामा उनको आयआर्जनलाई सघाउ पुर्‍याउने उद्देश्यले हाते ट्याक्टर प्रदान गरियो ।

कतिसम्म भने गाउँलेहरू अहिले पनि उनको मुहारमा हेर्न सक्दैनन् । उनीहरुका आखाँमा पश्चाताप झल्किन्छ । तर पनि उनी सबैलाई समान व्यवहार गर्छिन् । ‘विगतमा अल्झिने होइन । पुरानो कुरामा भुलेर अगाडि बढ्ने हो ।’

उनी घर फर्किन् । त्यसको केही महिना यत्तिकै बिते । आफूलाई त जेनतेन सम्हालेकी थिइन् । तर उनका श्रीमान् भने विक्षिप्त बनेका थिए । छोराछोरी समेत कति दिनसम्म उनीसँग बोलेनन् ।

घटनापछि गाउँमा गरिने व्यवहार पनि पहिले झैं थिएन । त्यति ठूलो अपमान भुलेर अघि बढ्न सजिलो पनि त थिएन । ‘तर मैले हिम्मत हारिन सर । श्रीमान् र छोराछोरीलाई पनि आफैंले सम्झाएँ,’ उनले भनिन्, ‘समय त लाग्यो । तर विस्तारै उनीहरुले पनि बुझ्दै गए ।’

हाते ट्याक्टरले फर्काएको खुशी

बासुदेवीले आयआर्जनका लागि पाएको हाते ट्याक्टर चलाउन थालिन् । श्रीमानलाई पनि सिकाइन् । शुरुमा आफ्नै खेतबारी जोतिन् । क्रमशः पछि गाउँघरमा ट्याक्टरले खेतबारी जोत्न शुरु गरिन् । ‘ट्याक्टरले जोत्न थालेपछि टाढिएका पनि नजिकिँदै गए,’ उनले भनिन्, ‘रिस राखेर केही हुन्न भन्ने सोचें । घरमै मलाई खोज्दै आउन थालेपछि सबै कुरा बिर्सिएर ट्याक्टरबाट खेत जोत्न जान थालें ।’

विस्तारै गाउँमा खेताबारी जोत्न उनको माग बढ्दै गयो । घटनामा संलग्न नै कतिपय उनको घर पुगेर बोलाउन थाले । ‘हिजो लञ्छना लगाएर मलाई कुटपिट गरेकाहरु नै खोज्दै आएको देख्दा खुशीले मन भरिएर आउन थाल्यो,’ उनले अगाडि भनिन् ।

यसले बासुदेवीमाथि आत्मविश्वास थपियो । रोएर बस्नुको अर्थ देखिनन् । बरु हिम्मत जुटाएर अघि बढ्नुपर्ने रहेछ भन्ने अठोट गरिन् । त्यसयता बासुदेवीलाई फेरि जीवनमा फर्केर हेर्नु परेन । भनिन्छ नि, ‘जिन्दगीले जब गति लिन्छ, एउटा मधुर धुन पैदा गर्छ ।’  बासुदेवीको जीवनमा भयो यस्तै ।

हाते ट्याक्टरले उनको जीवनमा खुशी मात्रै फर्किएन । आयआर्जनको गतिलो माध्यम बन्यो । ‘खेतमा ट्याक्टरले जोतेवापत धेरथोर पैसा आउन शुरु गर्‍यो । परिवार चलाउन सजिलो भयो,’ उनले भनिन, ‘जीवनमा खुशी फर्किएजस्तो लाग्यो ।’

आत्मसम्मानको जीवन

अहिले घटना भएको सात वर्ष पुगिसक्यो । यसबीच गाउँमा उनलाई हेर्ने दृष्टिकोणमा ठूलो फेरबदल आएको छ । तीन वर्ष अघिमात्रै उनलाई घोराही उपमहानगरपालिकाले समेत सम्मान गर्‍यो । क्रमशः गाउँ घरमा पनि उनीमाथि हेरिने व्यवहार फेरिँदै गयो ।

आर्थिक आयआर्जनको बाटो बलियो बन्दै गएको छ । हाते ट्याक्टरसँगै पानी तान्ने मेसिन पनि किनेकी छन्, उनले । ‘छोराले ट्याक्टर चलाउन थालेको छ । श्रीमान् पनि यतै छन्,’ उनले भनिन्, ‘सिजनमा ट्याक्टर र पानी तान्ने मेसिनबाट राम्रै घर खर्च चलिरहेकै छ ।’

त्यसो त उनी गाउँकै नेतृ पनि भएकी छन् । गाउँमा हुने हरेक गतिविधिमा उनी अगाडि सर्छिन् । गाउँ ठाउँका दिदीबहिनीहरुको अगुवाइ पनि गर्छिन् । गाउँमा हुने विकास निर्माण होस् वा अन्य कुनै गतिविधि, दिदीबहिनी परिचालन गर्नुपरे सबैले बासुदेवीलाई सम्झिछन् । उनलाई खोज्दै घरसम्म आइपुग्छन् । कतिपय दिदीबहिनीलाई त उनी रोजगारी समेत लगाइदिएकी छन् ।

र, त उनलाई कतिले कमाण्डर बासुदेवी पनि भन्न थालेका छन् । ‘गाउँमा धेरैले कमाण्डर बासु भनेर पनि बोलाउन थालेका छन्,’ खिस्स हाँस्छिन् । र, भन्छिन्, ‘हिजो ममाथि त्यस्तो व्यवहार गर्नेहरु अहिले मलाई खोज्दै घर आइपुग्छन् ।’

कतिसम्म भने गाउँलेहरू अहिले पनि उनको मुहारमा हेर्न सक्दैनन् । उनीहरुका आखाँमा पश्चाताप झल्किन्छ । तर पनि उनी सबैलाई समान व्यवहार गर्छिन् । ‘विगतमा अल्झिने होइन । पुरानो कुरामा भुलेर अगाडि बढ्ने हो ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?