+
+

यूएफओको रहस्य : के पृथ्वी बाहिर पनि छुट्टै मानव अस्तित्व छ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ मंसिर ११ गते २०:४८

सन् १९४७ जुन २४ को दिउँसो सौखिन पाइलट केनेथ अर्नाेल्ड आफ्नो सानो जहाज लिएर अमेरिका र मेक्सिको बीचमा पर्ने रेनियर हिमाल नजिकैबाट उडान भर्दै थिए । उडानकै क्रममा उनले क्षितिजमा एउटा असामान्य वस्तु देखे । करिब १७०० माइल प्रतिघण्टाको दरमा उडिरहेको त्यो रहस्यमयी वस्तु ‘प्लेट’ आकारको थियो । जुन ‘चिनियाँ पुछ्रे चंगा’ जसरी अवतरण भयो । (‘चिनियाँ पुछ्रे चंगा’ एक चिनियाँ संस्कृति हो । यो आकाशमा एक फन्को मारेर ड्रागनको आकृतिमा अवतरण गराउने गरिन्छ ।)

अर्नाेल्डले सन् १९४७ मा देखेको यो दृष्यको यथार्थ विश्वले अझै पत्ता लगाउन सकेको छैन । करिब ७ दशकको बीचमा अर्नाेल्डले देखेजस्तै हजारौं ‘अज्ञात उडान वस्तु’ विश्वका विभिन्न ठाउँमा देखिए । तर यो के हो र कहाँबाट आयो भन्ने कुरा अझै रहस्यको गर्भमै छ ।

अर्नाेल्डले त्यतिबेलै सो आकृतिलाई ‘एलियनको स्पेसक्राफ्ट’ भनेको प्रसंग विभिन्न जर्नलमा प्रकाशित आलेखमा भेटिन्छन् । तर अर्नाेल्डको कुरालाई तत्कालीन अमेरिकी वायु सेनाले भने स्वीकारेन । सन् १९४७ को जुलाईमा सो आकृति यथार्थको नजिक रहेको र काल्पनिक विषय नरहेको भन्दै अमेरिकी सेनाले गहिरो अध्ययनका लागि सुझाव दियो (हिस्ट्री डटकम : हाउ द युएस एयर फोर्स इन्भेस्टिगेटेड यूएफओज ड्युरिङ दि कोल्ड वार) ।

अमेरिकी सेनाको अध्ययनसँगै एउटा रिकापी जस्तो आकृति भएको रहस्यमयी चिजले विश्वको ध्यान तान्यो । त्यही रिकापीको आकृतिमा रहेकाले यसलाई अँग्रेजीमा ‘फ्लाइङ सोसर’ भनियो । यसलाई नेपालीमा अनुवाद गरेर यसको नाम ‘उडन तस्तरी’ राखियो । तर यसलाई फ्लाइङ सोसर र उडन तस्तरी भन्दापनि ‘अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ)’ नामबाट बढी चिन्ने गरिन्छ ।

यूएफओबारे अनुसन्धानका ७ दशक

सन् १९४७ पछिको करिब दुई दशक विश्वका ठूला मुलुकहरू चरम शीतयुद्धमा गुजि्रँदै थिए । अमेरिका र सोभियत संघबीच पनि अविश्वास चुलिँदो थियो । त्यही बेला वायु सेनाको अड्डा नजिक देखिएको रहस्यमयी वस्तुलाई सामान्य ठानेर अमेरिकी सेनाले जोखिम मोल्न चाहेन । सन् १९४८ मा अध्ययन समिति गठन गर्‍यो । ‘प्रोजेक्ट साइन’ नाम दिइएको समितिले प्रारम्भिक प्रतिवेदनमा रहस्यमयी वस्तुहरु सम्भवतः परिष्कृत सोभियत विमान रहेको निष्कर्ष निकाल्यो । टोलीले एक वर्षमा नै अध्ययन पूरा गरेर रिपोर्ट दिएको थियो ।

सन् १९४७ को घटनाले अमेरिकी सेनामा यूएफओको बारेमा थप जान्ने इच्छा बढाइरहेको थियो । सन् १९५२ मा वासिङ्टनको राष्ट्रिय हवाई अड्डा नजिक त्यस्तै रहस्यमयी दृश्य देखियो । त्यहाँको सेन्ट्रल इन्टिलिजेन्स एजेन्सीले केही अजीव दृश्य देखेपछि यसको अध्ययनको लागि एउटा विज्ञ सम्मिलित टोली तयार पार्न सुझाव दियो । त्यतिबेलासम्म बेला पनि सोभियत संघसँग अमेरिकाको शीत युद्ध रोकिएको थिएन । हवाई अड्डा नजिकै रहस्यमयी वस्तु देखेपछि सैन्य अधिकारीहरूले असुरक्षाको महसुस गरे ।

सैन्य समूहभित्र पनि पृथ्वीकै कुनै ठाउँमा राखिएको ‘गुप्त प्रयोगशाला’बाट पठाइएको जासुसी यन्त्र वा अन्तरिक्षबाट आएको यन्त्र हुन सक्नेमा दुई मत देखियो । पछि अमेरिकी सेनाले अध्ययनका लागि क्यालिफोर्निया इन्सिटच्युट अफ टेक्नोलोजीका भौतिकशास्त्री एच.पी रोबर्टसनको नेतृत्वमा अध्ययन समिति गठन गर्‍यो । त्यसमा धेरै भौतिकशास्त्रीको सहभागिता थियो । उनीहरूले त्यहाँका सैन्य अधिकारीसँग कुराकानी गर्ने एवं यूएफओको फोटोग्राफी सहितको रिपोर्ट तयार पार्ने काम गरे । यो अध्ययन समिति सैन्य मुख्यालयको मातहतमा हुने र यसले स्थायी रुपमा उडन तस्तरीको अध्ययन गर्ने गरी ‘प्रोजेक्ट ब्लुबुक’ नामबाट सञ्चालनमा ल्याइयो । त्यो अनुसन्धान समितिले सन् १९६९ सम्म १२ हजारभन्दा धेरै तस्वीर तथा घटना संकलन गरी त्यसको विश्लेषण गर्‍यो ।

अनुसन्धान समितिको निष्कर्ष थियो कि ‘यूएफओको तस्वीरमा कैद भएकामध्ये ९० प्रतिशत वस्तुहरु खगोलीय वस्तुसँग सम्बन्धित छन् भने ६ प्रतिशत वस्तुको बारेमा पर्याप्त सूचना संकलन गर्न सकिएन’ । तर यसले राष्ट्रिय सुरक्षामा खतरा पैदा नगर्ने समितिको निष्कर्ष थियो (ब्रिटानिका डटकम : अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट) ।

उडन तस्तरी अर्थात् रहस्यमयी आकृतिको बारेमा दोस्रो विश्वयुद्धपछि चर्चा सुरु भएको हो । पहिले वायु सेनाभित्र चर्चाको विषय रहेको यसलाई बिस्तारै विज्ञानका अध्येताहरूले अध्ययन गर्न थाले । त्यही बेलादेखि नै एउटा गहिरो बहस सुरु भयो, ‘के कतै मान्छेभन्दा विकसित जीव अरू ग्रहमा त छैन ?’ यही रहस्यमयी परिघटनाको जञ्जालमा विश्व पछिल्लो ७ दशकसम्म रुमलिएको छ । तर यसबारे अहिलेसम्म कुनै ठोस तथ्य भेट्न सकिएको छैन । यद्यपि खोजी भने अझै जारी छ ।

उडन तस्तरीको खोजी गर्न सन् १९६६ मा अमेरिकामा नै अर्काे अध्ययन समिति गठन भयो । यो समितिलाई इडवार्ड यू कण्डोनले नेतृत्व गरेका थिए । उनको नेतृत्वको अध्ययन समितिमा ३७ जना भौतिकशास्त्री सहभागी थिए । उनीहरूले ५९ वटा पहिचान नभएका उड्ने वस्तुमाथि अध्ययन गरेका थिए । अहिलेसम्म पनि अमेरिकामा यसको अध्ययन जारी छ ।

अमेरिका बाहिर पनि सन् १९६८ ताका उडन तस्तरीको बारेमा धेरै अध्ययनहरू भए । क्यानडामा क्यानेडियन रक्षा विभागले बेेलायत, स्वीडेन, डेनमार्क, अस्ट्रेलिया जस्ता विभिन्न मुलुकले खोजी गरेको ७५० वटा रहस्यमयी वस्तुमाथि समष्टिगत अध्ययन गरेको थियो । उडन तस्तरीको बारेमा तत्कालीन सोभियत संघले पनि अध्ययन गरेका थियो । अहिले विश्वका अधिकांश विकसित मुलुकहरु यसको अध्ययनमा छन् ।

उडन तस्तरीबारे वैज्ञानिक समूहको दुई मत

यसरी पछिल्लो ७ दशकदेखि खोजी सुरु भएको यूएफओबारे पुष्टि गर्न वैज्ञानिकहरूले धेरै प्रयास गरे, तर सम्भव भएन । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा. विनिल अर्यालका अनुसार जतिबेलासम्म डेटा साइन्स र कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स) को विकास भएको थिएन, त्यतिबेलासम्म यूएफओको बारेमा विश्व दुई भागमा विभाजित थियो । तर डेटा साइन्सले मानवरहित यान निर्माण गरेपछि भने वैज्ञानिकहरुमा मतभिन्नता कम भएको छ ।

सन् १९७० को दशकसम्म आइपुग्दा यूएफओको बारेमा दुईवटा तर्क स्थापित भएको थियो । एउटाले यसलाई दृष्टिभ्रम हो भन्नेबारेमा तर्क गर्न थाले भने अर्काे टोलीले पृथ्वीभन्दा बाहिर पनि छुट्टै सभ्यता छ र त्यही सभ्यताले यहाँ अध्ययन गर्न यान पठाएको हुन सक्छ भन्ने आशंका गरे । यो दुई समूहबीच दूरी बढ्न थाल्यो । यूएफएलाई बाहिरी ग्रहबाट आएको वस्तु ठान्नेहरू अर्काे मत राख्ने वैज्ञानिक समूहबाट बिस्तारै टाढिँदै गए । यूएफओ भ्रम हो भन्ने तर्क विश्वमा हाबी हुन थाल्यो ।

दुवैपक्षले आफ्नो तर्क स्थापित गर्न छुट्टाछुट्टै दाबी पेश गर्न थाले । प्रा.डा. अर्यालका अनुसार यूएफओलाई भ्रम ठान्ने पक्षको तर्क यस्तो थियो :

हामीले पृथ्वीमा जति पनि कुराहरु देख्छौं ती सबै इलेक्ट्रो म्याग्नेटिक रेडिएसनका कारण देखिने गर्छ । त्यही रेडियसनले गर्दा नै हाम्रो आँखा, क्यामेराको लेन्स होस् वा टेलिस्कोपमा अन्य वस्तुहरु देखिन्छ । यूएफओको सवालमा त्यो यान जस्तो देखिने जुन वस्तु पनि दृष्टि दोषका कारण देखिने गर्छ । सूर्यबाट आएको प्रकाशलाई एकै ठाउँमा फोकस गर्न खोज्दा फोकस नहुने र अप्टिकल डिफेक्टले गर्दा यस्तो आकार देखिने गर्छ ।

तर सबै वैज्ञानिकहरु यो तर्कमा सहमत भएनन् । माथिको तर्कमा सहमत नहुनेहरूको पनि तर्क कमजोर भने छैन । उनीहरुको तर्कमा  :

हामीले कुनै पनि आकृति देख्ने भनेको इलेक्ट्रो म्याग्नेटिक रेडिएसनका कारण मात्रै होइन, यसका अरू पनि क्षेत्रहरु छन् । जस्तो, विज्ञानले नै प्रमाणित गरेका धेरै क्षेत्रहरु छन्, जसमा हाम्रो पहुँच पुग्न सकेको छैन । जस्तो, हामीसँग गुरुत्वको बारेमा एकदम थोरै मात्र जानकारी छ । (सन् २०१७ मा भौतिक शास्त्री रेइनर वेस्सले गुरुत्वको अनुसन्धानबारे अध्ययन गरेबापत नोबेल पुरस्कार पाएका थिए । प्रा.डा.अर्यालका अनुसार यसको अध्ययनमा २०११ बाट व्यापकता पाएको हो) त्यसैले त यसलाई ‘वल्डेस्ट बट कम लिस्टेस्ट फोर्स’ भनिन्छ । गुरुत्व क्षेत्र र इलेक्ट्रो म्याग्नेटिकबाहेक पनि अर्काे दुईवटा क्षेत्र हुन्छ । एउटा स्ट्रोङ फोर्सको फिल्ड र अर्काे विक फोर्सको फिल्ड । तर यी चारै फिल्डमध्ये हाम्रो पहुँच केवल इलेक्ट्रो म्याग्नेटिक रेडिएसनको फिल्डमा छ । अरू इन्टरेक्सनको फिल्ड हाम्रो आँखा र हामीले तयार पारेका डिभाइसबाट हेर्न सकिँदैन । त्यसैले यूएफओलाई भ्रम मान्ने र यो ‘एस्टिकमेसन’ वा कोमा जस्ता कारणले त्यस्तो आकृति देखियोे भन्नु सरासर गलत हुन्छ ।

प्रा.डा.अर्याल भन्छन् ‘यही तर्कले वैज्ञानिक समुदाय र त्यससँग रुष्ट समुदायबीच फाटो देखियो । दुवैले आ-आफ्नै तर्कलाई पुष्टि गर्न अध्ययनको दायरा बढाउँदै गए । तर कुनैपनि पक्षले ठोस प्रमाण दिएर आफ्नो दाबी स्थापित गराउन सकेन ।’

दुई दशकअघि विश्वमा डेटा साइन्सको विकास भयो । त्यसले दुवै धारलाई एकै ठाउँमा ल्यायो । डेटा साइन्सको विकाससँगै पृथ्वीभन्दा बाहिर पनि एउटा सभ्य र विकसित सभ्यता हुन सक्छ, जसले बेलाबेलामा अध्ययनको लागि मानवरहित विमान पृथ्वीमा पठाउने गरेको छ भन्नेमा सहमति जनाउन लागेको अर्याल बताउँछन् ।

सन् १९९२ मा मोन्टपेलियर विश्वविद्यालयमा भएको डेटा साइन्स सम्बन्धी छलफलका लागि विश्वस्तरीय वैज्ञानिक सम्मेलन गरिएको थियो । त्यसमा उपस्थित वैज्ञानिकहरूले कम्युटरको साथमा सांख्यिकी तथा तथ्यांक विश्लेषणको स्थापित अवधारणालाई स्वीकार गरे । साथै, डेटा साइन्सको थप खोजी गर्दै कृत्रिम बौद्धिकतामा थप अध्ययन गर्ने प्रतिबद्धता जाहेर गरे । डेटा साइन्सले कृत्रिम बौद्धिकताको अवधारणालाई बाहिर ल्यायो । बिस्तारै यसले मानवरहित यन्त्रहरुको आविस्कार पनि गर्न थाल्यो । त्यसपछि वैज्ञानिक समुदायका सबैजना यो कुरामा सहमत भए कि ‘यदि हामीले अहिले मानवरहित यन्त्रहरु बनाउन सक्छौं भने पृथ्वीभन्दा बाहिर पनि कुनै विकसित सभ्यता हुन सक्छ ।’ यही मान्यताले वैज्ञानिकलाई एउटै सूत्रमा बाँध्न थाल्यो । पछिल्लो १० वर्षदेखि भने यूएफओ कुनै भ्रम नभएर पृथ्वी बाहिरको विकसित सभ्यताको अनुपम सिर्जना हुन सक्छ भन्नेमा धेरैको एक मत देखिन्छ ।

सन् २००० पछि चलेको यूएफओको बहस

सन् २००० को दशकमा भौतिक विज्ञानसँग सम्बन्धित जर्नलहरूमा डेटा साइन्सको बारेमा विभिन्न अनुसन्धानमूलक आलेखहरु छापिन थाले । तथ्यांक विज्ञानसम्बन्धी बहससँगै पृथ्वीबाहिर पनि एउटा छुट्टै विकसित सभ्यता हुन सक्छ भन्ने दाबीलाई सन् २००५ पछि भौतिक विज्ञानका अनुसन्धानकर्ताहरुले पनि स्वीकार गरे । यसअघि पुरातत्व, इतिहास एवं मानवशास्त्रसँग सम्बन्धित जर्नलहरुमा मात्रै प्रकाशित हुने उडन तस्तरीको बारेमा त्यसपछि भौतिक विज्ञानसँग सम्बन्धित जर्नलमा समेत आलेख छापिन थाले । सन् २००५ मा अमेरिकाको राष्टि्रय विज्ञान बोर्डले तथ्यांक विज्ञानलाई एउटा ‘क्यारियर पाथ’को रुपमा वकालत गर्‍यो । अहिले यूएफओको रहस्य पत्ता लगाउन भौतिक विज्ञान, पुरातत्व, समाजशास्त्र, इतिहास हुँदै व्यवस्थापन संकायका विद्यार्थीहरुको समेत संलग्नता देखिन्छ ।

अन्तरिक्ष अध्ययनमा हामी कहाँ छौं ?

हाम्रो वैज्ञानिक अध्ययनले अन्तरिक्षको धेरै टाढासम्म खोजी गर्न सकेको छैन । वैज्ञानिकहरु सौर्यमण्डलभित्रको जीवन इलेक्ट्रोम्याग्नेटिक रेडिएसन र कार्बनबाट नियन्त्रित रहेको बताउँछन् । अर्थात्, हामीले जति कुरा देख्छौं ती सबै इलेक्ट्रोम्याग्नेटिक रेडिएसनसँग सम्बन्धित छ भने हामी जे खाने र लगाउने गर्छाैं ती सबै कार्बनमा आश्रति छ । तर ब्रहृमाण्डमा यी दुई विषयबाहेक पनि धेरै कारकहरू छन् जुन हामीले अध्ययन गर्न सकेका छैनौं ।

प्रा. डा. अर्याल पृथ्वीमा आर्टिफिसियल इन्टिलिजेन्टको प्रयोग गरिसके पनि अन्तरिक्षको अध्ययनमा भने विश्व धेरैपछि रहेको बताउँछन् । यो ब्रहृमाण्डमा अरबौं तारा एवं तारामण्डलहरू छन् । सबै तारासमूहको छुट्टै ग्रह हुँदैनन् । लगभग ८ देखि १० प्रतिशत तारासमूहमा ग्रह छन् भन्ने अनुमान गरिन्छ । सूर्यबाहेकका तारामण्डलमा पनि अहिलेसम्म ५००० भन्दा धेरै ग्रह रहेको अध्ययनबाट पत्ता लागेको छ । ती सबै हामीबाट नजिक भएका ग्रहहरू हुन् । हामीभन्दा निकै टाढा रहेका तारामण्डल र त्यसभित्र रहेका ग्रहको अध्ययन नगर्दासम्म हामीले पृथ्वीबाहिर मानव अस्तित्व छ कि छैन ? यकिन गर्न कठिन छ ।

सौर्यमण्डलभित्रैको कुरा गर्दा पनि वैज्ञानिकहरुले मंगल ग्रहभन्दा परको विस्तृत अध्ययन गर्न नसकिएको अर्याल बताउँछन् । सामान्यतया कुनै पनि ग्रह/उपग्रहको अध्ययन गर्दा मानवसहित वा मानवरहित यानमा त्यहाँको क्यामेरा वा अन्य प्रविधि पठाएर त्यहाँको वायुमण्डल, पानीको अवस्था र जीवनको सम्भावना बारे खोजी गर्ने गरिन्छ । अहिले मंगलभन्दा पर रहेका ग्रहहरुको अध्ययन टेलिस्कोप वा अन्य प्रविधिको सहयोगले पृथ्वीबाटै गरिएको छ । मंगल ग्रह पृथ्वीबाट ५ करोड ४६ लाख किलोमिटर दुरीमा रहेको मानिन्छ ।

वृहस्पति ग्रहकै नजिक रहेको युरोपा र शनिको नजिक रहेको टाइटन जस्ता ‘मुन’हरूको वायुमण्डल विश्लेषण गर्दा ती ठाउँ मानव सभ्यताको लागि अनुकुल रहेको भेटिएको छ । वृहस्पति ग्रहको पनि छुट्टै ‘मुन’हरू छन् । त्यसमध्ये युरोपा मुनको वायुमण्डल, तापक्रम र पानी जस्तो देखिने आकृतिको आधारमा ती ठाउँ पनि सभ्यताको लागि अनुकूल रहेको अनुमान गरिएको हो । यसबाहेक सौर्यमण्डलबाहिर पनि कुनै ग्रह छ भन्ने संकेत भेटिए पनि यसबारे ठोस प्रमाण भेटिएको छैन ।

कृत्रिम बौद्धिकतालाई सार्थक बनाउन अहिले तथ्यांक विज्ञानमा यति ठूलो संख्यामा लगानी र जनशक्ति परिचानलन गरिएको छ कि यसमा विज्ञानसँगै प्रविधिदेखि व्यवस्थापनसम्मका विद्यार्थीहरू संलग्न छन् । अबको एक दशकजतिमा यसमा ठूलै उपलब्धि हासिल हुन सक्ने अपेक्षा अर्यालको छ ।

अर्काे दाबी

जीव विकासको क्रमलाई नियाल्ने हो भने पनि अन्य ग्रहमा पृथ्वीको भन्दा पुराना जीव भेटिएको छ । पृथ्वीमा सिंगल सेलका जीवको उत्पत्ति ३५/४० हजार वर्षअघि भएको हो । पृथ्वीमा मान्छेको सर्वाङ्ग आजभन्दा ५५०० वर्षअघिसम्म मात्रै भेटिएको छ । यद्यपि मान्छेको उत्पत्ति भने धेरै पहिलेदेखि भएको हो । अर्थात् युरोपको एक आइसल्याण्डमा ५५०० वर्ष पुरानो मान्छेको पूर्ण अंग भेटिएको अर्याल बताउँछन् । इजिप्टमा तयार पारिएका ममीहरु चार हजार वर्ष पुराना मानिन्छन् ।

तर पुरातात्विक अध्ययनको आधारमा पृथ्वीबाहिर युरापा र टाइटनमा पृथ्वीको भन्दा पुराना जीव भेटिएको अर्याल बताउँछन् । जुन तथ्य सिधा अवलोकनबाट नभएर टेलिस्कोप र त्यस्तै अन्य प्रविधिको प्रयोगबाट तयार पारिएको हो । अध्ययनको क्रममा उनीहरुको स्याटेलाइटको उमेर हाम्रो ग्रहको उमेरभन्दा बढी पाइएको छ । हाम्रोभन्दा पुरानो सभ्यता अन्त कतै छ र उनीहरु हामीभन्दा विकसित छन् भन्ने कुरालाई यी तथ्यहरुले पनि जोड दिने गर्छ ।

अन्तरिक्षको कुनै स्टेसनबाट पृथ्वीको अध्ययनका लागि अर्काे कुनै ग्रहले यूएफओ पठाएको हुन सक्ने तर्कमा अर्याल सहमत छन् । उनी भन्छन्, ‘अर्बिटमा स्टेसन राखेर हामीले पनि अध्ययन गरिरहेकै हौं । त्यसरी नै अर्काे कुनै ग्रहले स्टेसन खडा गरेर पृथ्वीको अध्ययन गरिरहेको हुन सक्छ भन्ने कुरालाई नकार्न सकिँदैन ।’

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment