+
+
सम्झनामा जिउँदो शहीद :

बम विस्फोटमा बाँचे, सवारी दुर्घटनाबाट जोगिन सकेनन्

डा.जयवन्त विक्रम शाह डा.जयवन्त विक्रम शाह
२०७८ मंसिर १३ गते १२:३९
रामप्रसाद बञ्जाडे (टंकमणि)

ओहो ! दु:खद खबर ! रामप्रसाद बञ्जाडे (टंकमणि) सधैंको लागि सुत्नुभयो- अस्ताउनुभयो । उहाँको अप्रत्याशित देहावसानको खबरले म भावविभोर भएँ । कमरेड टंकमणि बम विस्फोटमा परेर बाँच्नुभएको थियो तर, सवारी दुर्घटनाले उहाँलाई लग्यो ।

मंसीर ८ गते उहाँको सवारी दुर्घटनामा परी निधन भयो । उहाँ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको दुर्घटनाको खबरले मैले अतीतका ती दिनहरू सम्झिएँ- जतिबेला हामीले जीवन र मृत्युको दोसाँधमा रहेर जनसंघर्ष गरेका थियौं । युद्धका मोर्चाहरूमा सहभागी भएका थियौं ।

उहाँको देहावसानको खबर सुनेसँगै अतीतका यादहरू मानसपटलमा उत्रन थाले । कात्तिक २०५८ को समय । तत्कालीन नेकपा (माओवादी)को एउटा लडाकू डफ्फा सम्साँझै गोरखाको जौबारी छेउभन्दा मास्तिरको गाउँमा पुग्यो ।

रात-दिन नभन्दै सबै बन्दोबस्तीका सामान र आवश्यक हतियारहरू लिएर डाँडा-काँडा, भञ्ज्याङ्ग-खोल्साखाल्सीका अप्ठ्यारा साँघुरा बाटाहरू छिचोल्यौं । त्यहाँ आइपुगेको त्यो जनयोद्धाहरूको टोली थकाइ र भोकले चुर भएको थियो ।

युद्धको बेला थकाइ र भोक प्राथमिकतामा पर्दैनन् । जनक्रान्तिलाई विजयको चुचुरोमा पुर्‍याई नेपालमा नयाँ जनवादी व्यवस्था स्थापित गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने संकल्प लिएका माओवादी लडाकूहरूले ती सारा थकाइ र भोकलाई सजिलै पचाए ।

झमक्क रात पर्‍यो, पूरा तयारीका साथ हातहतियारहरूले लैस भई लक्षित गन्तव्यतर्फ पैदल यात्रा गर्न थाल्यौं । जाँदाजाँदै एउटा कोप्चेरोमा मभन्दा ठीक अगाडि रहेका त्यतिखेरका हाम्रो डफ्फाका कमाण्डर चन्द्र खनाल (बलदेव) अचानक भीरमा चिप्लेर खस्नुभयो ।

म त्यो साँघुरो भिरालो कोप्चेरोमा घुँडा टेकेर बसें । देब्रे हातले घाँस समातें र दाहिने खुट्टा बलदेवजीलाई दिंदै भनें- ‘मेरो खुट्टा समात्नुस् र माथि आउने कोशिश गर्नुस् ।’ सकेसम्म तल पुग्ने गरी खुट्टा तन्काएँ । ‘मेरो दाहिने हातलाई पनि पक्रनुस्’ भन्दै सहारा दिएँ ।

एकछिन त त्यहाँ हुने हामी सबैको मनमा चिसो पस्यो । ‘कतै बलदेवजी साँच्चै तलै खसिसकेका पो हुन् कि ?’ मनमा आशंकाको बादल मडारियो- ‘सक्रिय सहकर्मी गुमायौं कि ?’ टर्च बाल्न नहुने र आवाज निकालेर बोल्न पनि नहुने । गम्भीर समस्या खडा भयो ।

सारा ज्ञान, बुद्धि, विवेक र शक्ति लगाएर उहाँलाई बडो मुश्किलले माथि उतार्‍यौं । उहाँलाई बचाएपछि हामी सबैको मन शान्त भयो । नत्र त्यो रात शायद बलदेवजीसँग सधैंको लागि बिछोडिनुपर्थ्यो कि ?

हामी भएको बाटोमा उक्लिए पछि उहाँले मलाई अँगालो हालेर भावपूर्ण धन्यवाद दिंदै भन्नुभयो- ‘शायद तपाईं नभएको भए, म आज सिद्धिने थिएँ ।’ हामी सबै खुशीले भावविभोर भयौं । त्यसपछि तोकिएको समयमा हाम्रो टोली जौबारीको प्रहरी कार्यालयनिर पुग्यो ।

तीनतिरबाट प्रहरी कार्यालयलाई लडाकूहरूले घेरेपछि फायरिङ शुरु भयो । पूरा इलाका गोला-बारुदको आवाजले थर्कमान भयो । भीषण भिडन्त भयो । गोली-बम हानाहान भयो । मेरो नेतृत्वमा मेडिकल टीम औषधोपचारको लागि पूरा तयार थियो ।

पहिलो घाइते धादिङको कमरेडलाई हामीकहाँ ल्याइयो । उहाँको प्राथमिक उपचारपछि सुरक्षित ठाउँमा पूर्ण उपचारका लागि सारियो । यसैगरी क्रमश: घाइते कमरेडहरू (महिला-पुरुष दुवै)को सक्दो उपचार गर्‍यौं ।

केही समयको लडाईंपछि भित्र प्रहरी कार्यालयतर्फबाट फायरिङ र विस्फोटका आवाजहरू आएनन् । त्यसपछि हाम्रा लडाकूहरू भित्र पसेर घाइते र घाइते नभएका प्रहरी कर्मचारीहरूलाई नियन्त्रणमा लिए ।

घाइते प्रहरीहरूको प्रेमका साथ सम्मानजनक औषधोपचार गर्‍यौं । सबै प्रहरीहरूलाई छानबीन गरेर, बन्दी बनाएर, अलग्गै शौचालय र स्नानागारमा राखेर प्रहरी कार्यालयमा आगो लगाई फर्किने तयारी गर्‍यौं ।

शल्यक्रियाबाट तामा तारको गुजुल्टो निकाल्न सक्यौं र बल्ल ढुक्क भइयो । अरु घाउ र चोटपटक निको भए तापनि उहाँको कानले कम सुन्ने समस्या बाँकी नै रहेको थियो । उहाँको कानको जाली फुटेको थियो । शायद बमको अति चर्को आवाजले फुटेको हुनुपर्छ ।

सारा हातहतियार, गोला-बारुद, खरखजाना कब्जा गरी जनमुक्ति सेनाहरूले त्यो प्रहरी कार्यालयमा आगो लगाएर सम्पूर्ण रूपले ध्वस्त बनाइदिए । तर प्रहरीहरूलाई सम्मानका साथ सुरक्षित तवरले राखिएको थियो । हाम्रा लडाकूहरूको गन्ती र जाँच-पडताल गर्दा एकजना तोपगोला सरहको बम सम्बन्धी जिम्मेवार कमाण्डर देखिएनन् ।

हामी सबै उहाँलाई हरेक कुनाकाप्चा, भित्र, बाहिर, झाडीमा खोज्न लाग्यौं । तर कतै देखिनुभएन, फेला परेन । हामी दु:खित भयौं । छक्क पर्‍यौं । कहाँ हराउनुभयो उहाँ ? अन्य घाइतेहरू र सामान्य सहकर्मीहरूलाई सुरक्षित स्थानतर्फ पठाइसकेपछि हामी मेडिकल टीम र हाम्रो विशेष आक्रामक टोली मिलेर फेरि बेपत्ता कमरेडको व्यापक रूपमा खोजी गर्न थालियो ।

उद्धार कार्यलाई जारी राख्यौं । तर उहाँको नामो-निशान नभेटिंदा हामी साह्रै सशंकित र दु:खित भयौं । हामी साह्रै अचम्भित भयौं । हाम्रो सहयोद्धा कसरी हराउनुभो ? केही सोच्न सकेनौं ! बुझ्नै गाह्रो भयो । हाम्रो त्यतिखेरको काईयो खोजी कार्य जारी राखिरहेको थियो । जता खोजे पनि, जति खोजे पनि, जसरी खोजे पनि केही सुरसार, हल्का आवाज या गन्ध केही थाहा पाइएन ।

भर्खरै हाम्रो लडाईं सफल भएको थियो । हामी तत्काल त्यहाँबाट कतै शिफ्ट हुनैपर्ने अवस्था थियो । घाइतेहरूलाई लिएर सुरक्षित ठाउँमा पुर्‍याई व्यवस्थित ढङ्गले औषधोपचार गरिहाल्नुपर्ने अवस्था थियो ।

अन्य सहयोद्धाहरूलाई पनि कब्जा गरिएका सरकारी हातहतियार सहितका सामग्रीहरू जिम्मा दिएर तोकिएको स्थानहरूमा सुरक्षित तवरले पुर्‍याउनुपर्ने दायित्व थियो । हामी यिनै विषयमा छलफल गर्दै खोजबिन जारी राखिरह्यौं ।

अचानक तल खोलातिर मधुरो टर्च लाइटको प्रकाश झिमिक-झिमिक भएको देखियो । हामी सबै सतर्क भयौं र त्यो मधुरो प्रकाशलाई गौर गरेर नियाल्यौं । त्यो प्रकाश एकै ठाउँमा मात्रै बल्ने-निभ्ने गरिरहेको थियो ।

हामीले विभिन्न लख काट्यौं । अन्तमा हाम्रो सल्लाह अनुसार बुझ्नलाई खोलैमा पुग्यौं । दुश्मनका विरुद्ध पनि सजग भयौं । केही परिहाल्यो भने आक्रमण गर्न तयार हुँदै उचित संरचना बनाएर टर्चको मधुरो प्रकाश पछ्याउन थाल्यौं ।

हामी खोलामा पुग्यौं र त्यो प्रकाशतिर मसिना ढुङ्गा र सिठाहरू फाल्यौं । तब पनि त्यताबाट कुनै प्रतिक्रिया आएन । हाम्रा केही शुरवीर लडाकाहरू पानीसम्म नै पुगेर अँध्यारोमा हेर्दा त पानीको रह (दह) रहेछ र एउटा मान्छे जस्तो आकृति देखियो ।

त्यो मान्छेको हातमा सानो टर्च रहेछ । टाउको मात्रै बाहिर देखाएर पानीमा लम्पसार परेको रहेछ । तब एकजना सहयोद्धा त्यो मानिसतिर रहमा पस्यो भने अरु सहयोद्धाहरू राईफलहरू तानेर निशाना ताकेर फायर गर्न तयार अवस्थामा थिए ।

म चाहिं मेडिकल उपचारको लागि सहकर्मीहरू र सामानहरू सहित तयारी अवस्थामा थिएँ । आखिरमा त्यो मान्छेको नजिक हाम्रा सहयोद्धाहरू पुगे । अर्धचेत अवस्थामा हातमा मधुरो बल्ने पेन लाइट लिएर पानीभित्र एकजना घाइते योद्धा पल्टिरहेको रहेछ ।

एकप्रकारको तोप जस्तो बम निर्माता तथा प्रयोगकर्ता सहयोद्धालाई हामी खोजिरहेका थियौं । सौभाग्यवश उहाँ फेला पर्नुभयो । हामीले तत्काल प्रारम्भिक उपचार गर्‍यौं । खोलाको किनारमा रुखको डालो काटेर च्यादर-पछ्यौराको डोली बनायौं । त्यसैको सहारामा उहाँलाई डाँडामाथि एउटा प्राथमिक विद्यालयनिर पुर्‍यायौं ।
उहाँको शरीरभरी गोला-बारुदका डरलाग्दा घाउहरू थिए । उहाँ सिकिस्त सँगै अर्धबेहोश अवस्थामा हुनुहुन्थ्यो । त्यसैले अरु घाइतेहरू भन्दा उहाँलाई आपतकालीन-आकस्मिक उपचार गरियो ।

उहाँको टाउकोदेखि खुट्टासम्म घाउ नै घाउहरू थिए । सबैभन्दा बढी समय लगाएर उहाँको औषधि-उपचार गरियो । तैपनि उहाँमा हिंडेरै जाने अठोट थियो- जतिखेर पनि हिंड्नै खोज्ने । उहाँ मान्छे एकदम जिराहा । पछि अरु घायल सहयोद्धाहरूको पनि औषधि-उपचार गर्दै थलाजुङ्ग गुरुङ गाउँमा उक्लियौं । त्यो गाउँमा हाम्रो डफ्फालाई बिहानको खाना-पिना र आराम गर्ने पूरा बन्दोबस्त स्थानीयवासीहरूले खुला दिलले गर्नुभयो ।

थलाजुङका गुरुङ समुदायको आतिथ्य प्रेम, सेवा-सत्कारका लागि म अहिले पनि आभार प्रकट गर्दछु र धन्यवादित छु । त्यो सिकिस्त घाइते व्यक्ति हुनुहुन्थ्यो- रामप्रसाद बञ्जाडे (क. टंकमणि) ।

वास्तवमा के रहेछ भने उहाँले तोपगोला जस्तो जुन बम बनाउनुभएको थियो, त्यसले पहिलो प्रहारले प्रहरी भवन फुटाइदियो । दोस्रो फायरिङ्ग हुने बेलामा चाहिं पछाडिबाट अर्को सहयोद्धा दौडेर आउँदा उनले ‘तोपबम’ को तार झुक्किएर कुल्चिदिए छन् । निशानातिर जानुपर्ने गोला त्यहीं विस्फोट भएछ ।

उहाँ उछिट्टिएर त्यत्रो प्रहरी भवन नाघेर प्रहरी भवनको तल झाडीमा पछारिन पुग्नुभएको रहेछ । त्यहाँबाट केही समयपछि अलि होशमा आएपछि उहाँ तल बाटो हुँदै, घस्रँदै, खोलामा पुग्नुभएछ । रहमा डुबेपछि उहाँ बाहिर आउन सक्नुभएन ।

होश खुलेको बेला सहायताको संकेतको लागि मधुरो पेन-लाइट बाल्दै, आवाज ननिकाली सहायता कुरिरहनुभएको रहेछ । झण्डै हामीले त्यो मिशनमा त्यो रातमा दुई जना नेतृत्वदायी क्रान्तिकारी लडाकाहरूलाई गुमाएको !

त्यहींबाटै दिउँसो मेरो नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सक्दो प्राथमिक र आवश्यक उपचारहरू गर्दै पहिले लमजुङको चेपे खोलाको किनारका गाउँहरू हुँदै लमजुङ पार गरियो । साँझ गोरखाको पश्चिमपट्टि आँपपीपलको चेपे किनारका गाउँहरू हुँदै राति तनहुँको मर्स्याङ्दी पारिका गाउँहरूमा पुग्यौं ।

तुरतुरे माथिको गाउँमा आइपुगेर आराम गर्‍यौं । घाइतेहरूको औषधोपचार पनि गर्‍यौं । बिहान भएपछि त्यहाँबाट हिंड्यौं र दिउँसो तनहुँको डुम्रे बजार आइपुग्यौं । डुम्रेबाट बसमा सबैजना पोखरातिर लाग्यौं ।

कास्की-पोखरामा पुर्‍याएर हामीले नयाँ गाउँको आफ्नै घर र मण्डलीको अतिथि कक्षहरूमा साथीहरूलाई राख्यौं । सबै जनाले दुई दिनसम्म आराम र औषधोपचारको प्रबन्ध भयो । त्यहीं हामीले आवश्यक बैठकहरू बस्यौं । पछि दिउँसै बसबाटै स्याङ्जा र रूपन्देही-बुटवल भएर यात्राकै क्रममा उपचार गर्दै कपिलवस्तुसम्म आइपुग्यौं ।

हामीले कपिलवस्तुको गंगौलियाको विभिन्न घरहरूमा टंकमणि लगायत सबै घाइतेहरूलाई सुरक्षित राख्यौं । उहाँहरूको लामो समयसम्म उपचारहरू गर्‍यौं । उहाँहरूको उपचारमा संलग्न जीवन, रेशमी मगर, सुकु (गणेश)ले रातोदिन खटेर उहाँ लगायत अन्य घायल सहकर्मीहरूको सेवा गरेको-झल्झली अहिले पनि याद आउँछ ।

सबै घाउहरू निको भएपछि पनि टंकमणिको दाहिने तल्लो पेटको गोली निकाल्न सकिएन । धेरै पछि लगभग एक महीना पछि मात्रै सुकुको हिम्मतले सानो चिरफार गर्‍यौं । उक्त शल्यक्रियाबाट तामाको तारको गुजुल्टो निकाल्न सक्यौं र बल्ल ढुक्क भइयो ।

अरु घाउहरू र चोटपटक निको भएतापनि उहाँको कानले कम सुन्ने समस्या बाँकी नै रहेको थियो । उहाँको कानको जाली फुटेको थियो । शायद बमको अति चर्को आवाजले फुटेको हुनुपर्छ ।

मैले उहाँलाई त्यतिबेलादेखि नै ‘जिउँदो शहीद’ भन्दै आइरहेको थिएँ । मसँग उहाँको सम्पर्क र सम्बन्ध २०४३ सालदेखि नै भएको थियो । उहाँ त्यतिखेर ने.क.पा. (मशाल)सँग सम्बन्धित विद्यार्थी संगठनमा हुनुहुन्थ्यो । त्यतिबेलाबाट नै उहाँसँग मेरो राजनीतिक सहकार्य भएको थियो ।

त्यतिबेला म कपिलवस्तु जिल्लाको ने.क.पा. (मशाल)को जिल्ला प्रमुख थिएँ । पछि लुम्बिनी अञ्चलको नेकपा (मशाल) हुँदै (नेकपा एकता केन्द्र) को सचिव र प्रमुख हुँदासम्म टंकमणिसँग मैले सहकार्य गर्ने मौका पाएको थिएँ ।

मैले प्रेम र सम्मान गर्ने सहकर्मीहरूमध्ये उहाँ एक हुनुहुन्थ्यो । हालैसम्म पनि उहाँसँग मेरो सहृदयता भलाकुसारी भइरहन्थ्यो- प्रत्यक्ष र फेसबुक म्यासेन्जर दुवैमा । राजनीतिक लगायत देशका सबै पक्षहरूमा हामी दुईबीच गम्भीर, सद्भाव र प्रेमपूर्ण कुराकानी नियमित नै हुने गरिरहेको थियो । केही दिन अघि पनि रोल्पाको यात्राबारे कुराकानी गर्दै थियौं । उहाँ एक आमूल परिवर्तनका पक्षमा क्रियाशील रहँदै आउनुभयो ।

उहाँको अकल्पनीय निधनको यो खबर पढ्ने बित्तिकै म स्तब्ध र भावविव्हल भएँ । मर्माहत हुँदै उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माले शान्ति पाओस् । शोक सन्तप्त परिवारजनप्रति गहिरो शोक समवेदना प्रकट गर्दछु ।

एक क्रान्तिकारी नक्षत्र अस्तायो ! शक्तिशाली बम विस्फोटमा पनि जोगिएका, संगीत युद्धका मोर्चाहरूबाट जोगिएका कमरेड टंकमणि अचानक सवारी दुर्घटनाबाट अस्ताए । कस्तो दुःखद खबर । अश्रुमय नयन सहित न्यानो रक्तिम अभिवादन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?