
१३ मंसिर, काठमाडौं । दुई वर्षअघि सिनेमा हलमा रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज भएको छ । सिनेमा हलमा फ्लप भएको यो चलचित्रलाई युट्युबमा रिलिज भएको २० घन्टामा करिब ६ लाख पटक हेरिएको छ ।
चलचित्र हेरेर युट्युबमा प्रतिक्रिया दिने अधिकांश दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । केही दर्शकले नायक आर्यन सिग्देलको अभिनयको प्रशंसा पनि गरेका छन् । यो समाचार तयार पार्दासम्म चलचित्र युट्युबको नेपाल ट्रेन्डिङको चार नम्बरमा छ ।
यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मीको मुख्य भूमिका छ ।
यसै चलचित्रबाट कलाकार अखिलेश प्रधानले डेब्यु गरेका थिए । विशाल चाम्लिङको कथा तथा निर्माणमा तयार भएको चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा विकास र सामीप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।
यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जीसीको सम्पादन छ ।
चलचित्रले दुई पुस्ताको प्रेम कथालाई उठान गरेको छ । चलचित्रमा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशकोे जोडीलाई हेर्न सकिन्छ । चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको छ ।
प्रतिक्रिया 4