+
+
जहाँ आपत् त्यहीं नाटक ! :

सडक नाटकमा उपत्यकावासीको पीडा 

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ मंसिर १३ गते २०:२२

१३ मंसिर, काठमाडौं । बसन्तपुर डबलीमा सांगीतिक कार्यक्रमदेखि राजनीतिक दलका आमसभाहरू बरोबर हुने गर्छ । पछिल्लो समय दरबार क्षेत्र साँझपख युवायुवती रमाउने थलोसमेत बनेको छ ।

सोमबार अपरान्ह चार बजे यहाँ नाटक मञ्चन थालिएपछि वरिपरि घुम्न आएका मानिस तथा स्थानीयहरू झुम्मिए । ‘ठूला माछा–साना माछा’ नामक नाटकले काठमाडौं उपत्यकाकै व्यथा बोलेको थियो । विकासको नाममा उपत्यकाको कृषि प्रणाली, भूमियोग्य जमिन र संस्कृति मासिएको कुरा नै नाटकको मूल कथा बनाइएको थियो ।

रंगमञ्च बाहिरको खुल्ला ठाउँमा पनि नाटक गर्न सकिन्छ भन्ने अभ्यासका क्रममा शिल्पी थिएटरले गत महिना पूर्वी नेपालको २० स्थानमा नाटक ‘ठूला माछा–साना माछा’ प्रस्तुत गरेको थियो । अहिले उपत्यकाको विभिन्न स्थानमा उपत्यकाकै विषयलाई केन्द्रमा राखेर यो नाटक देखाइँदैछ ।

उपत्यकाको कथा भएकाले नाटकमा नेपाल भाषा र नेपाली दुवै प्रयोग गरिएको थियो । ‘शिल्पी नाट्य यात्रा २०७८’ को सिलसिलामा बसन्तपुर डबलीमा देखाइएको यो नाटक हेर्न स्कुले बालबालिकादेखि प्राध्यापक र ‘उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समिति’का अभियन्ताहरू उपस्थित थिए ।

यस्तो छ कथा :

नाटकको सुरुमा उपत्यकाको कुनै एक बस्तीमा रहेका वृद्ध महिला सुकुमाया चराहरूलाई पानी र चारो हालिरहेकी हुन्छिन् । उनलाई चराचुरुङ्गी नासिन थालेकाले चिन्ता हुन्छ । खोला, ढुंगेधारा मासिएकाले चराहरूले पानी खान नपाएको कुराले उनलाई निकै पीर परेको हुन्छ ।

टोलमा उनलाई कृष्णचाकी आमा भनेर पनि चिन्छन् । कृष्णचाको परिवार खेतीपाती र माटोको भाँडा बनाउने काम गरेर जीविका गर्छन् । तर उनीहरूको कमाइले छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउन निकै कठिन पर्छ । छोरा विदेश जान खोजिरहेको हुन्छ भने छोरी लुमन्ती नर्सिङ पढ्न चाहन्छे ।

जब छोरीले नर्सिङको लागि छात्रवृत्ति फारम भर्छे तब उसको नाम नागरिकतामा लुमन्ठी र प्रमाणपत्रमा लुमन्ती रहेकाले अप्ठेरो पर्छ । नाम सच्याउन जिल्ला प्रशासन कार्यालय पुगेका कृष्णचा र लुमन्तीलाई त्यहाँका कर्मचारी हप्तौं झुलाउँछन् । घरि वडा कार्यालयमा पठाउने, कहिले नगरपालिका पठाउने गरेर बाबुछोरीलाई सरकारी कर्मचारीले निकै दुःख दिन्छन् ।

यहीबेला कृष्णचासहित उसका केही छिमेकीको जग्गा नगरपालिकाले अधिग्रहण गर्न खोज्छ । निकै सस्तो रकममा सरकारले जग्गा हडप्न खोजेको भन्दै स्थानीयले त्यसको विरोध गर्छन् । कृष्णचा, छिमेकी आशमायालगायतको विरोधले पनि मेयरलाई कुनै असर पर्दैन ।

उपमेयरले समेत कृषि पेशा गरेर जीविका चलाउने नागरिकको जग्गा अधिग्रहण गर्न हुँदैन भनेर विरोध गर्दा पनि शक्तिको उन्मादमा रहेका मेयरले कृष्णचाहरूको जग्गामा डोजर चलाउन लगाउँछ । मेयरको भूमिका रहेका कलाकार मानहाङ लावती र उपमेयरको भूमिका रहेका कलाकार पवित्रा खड्काको अभिनय स्मरणीय छ ।

आफ्नो खेतमा डोजर चलाएको कारण सुकुमायाको रक्तचाप बढ्छ । कृष्णचाले आमाको उपचारको लागि धेरै खर्च गर्छन् तर केही सीप लाग्दैन । यही कारण उनको मृत्यु हुन्छ । सुकुमायाको मृत्युपछि उनले पानी खुवाउने कागको पनि मृत्यु हुन्छ ।

काठमाडौं उपत्यकामा सरकारले जग्गा अधिग्रहण गरेको वास्तविक घटनालाई उठाएको नाटक प्रस्तुतिका कारण रोचक बनेको छ । कोही कलाकार पानी खाने भेषमा काग बनेका छन् त कोही घरपालुवा विदेशी कुकुर बनेर बहुभूमिकामा आफूलाई प्रस्तुत गरेका छन् ।

परिवारको जीविका चलाउन निकै परिश्रम गर्ने पात्रको रुपमा चित्रित कृष्णचा सधैं नेपाल भाषा नै बोलिरहेका हुन्छन् । बेलाबेला उनका छोराछोरी पनि नेपाल भाषा बोल्छन् तर घरमूलि रहेका कृष्णचाले आफ्नो भाषा र संस्कार छाडेका छैनन् ।

खुल्ला ठाउँमा देखाइएपनि नाटकमा पर्दा संयोजन र मञ्च सज्जा आकर्षक बनाइएको थियो । कालो पर्दा टाँगेको मञ्चमा ढुंगेधारा, मन्दिर, सरकारी कार्यालय देखाउन काठका ब्लक प्रयोग गरिएको थियो भने गीत र संगीत पाश्र्वबाट लाइभ प्रस्तुत गरिएको थियो ।

घिमिरे युवराजको परिकल्पना र निर्देशन रहेको नाटकमा कलाकारहरू कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, पवित्रा खड्का, रेनुका कार्कीढोली, सविन कट्टेल, संगीता उराँव, मानहाङ लावति, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजीत थुलुङ राई र मनोज महर्जनको अभिनय रहेको छ ।

मान्छेका कथा बोलेको कला जीवन्त हुन्छ : अरुण गुप्तो

यो नाटक हेरेर सर्वसाधारणहरू रोएको देखेको छु । यसले के देखाउँछ भने हामीले आम मान्छेको कथालाई कलामा उर्तान सक्यौं भने त्यसले आम मानिसलाई नै बढी प्रभाव पर्छ ।

यसर्थ, मान्छेको कथा भनेको कला जीवन्त हुन्छ । साथै नाटकलाई रंगमञ्चमामा सीमित नराखी घर–आँगनमा पनि देखाउन सकिन्छ भन्ने कुरा यो नाटकले पुष्टी गरेको छ । समाजका कुरा समाजमा नै कलाको माध्यमले बलियो गरी भन्न सकिन्छ भन्ने मान्यताले नै सडक नाटक देखाइन्छ ।

यो डबली नाटकमा नेपाल भाषा र नेपाली भाषाको बहुल प्रयोग गरिएको छ । यद्यपि यो नाटकले भन्न खोजेको कुरा बुझ्न भाषाको आवश्यकता नै पर्दैन । उपत्यकावासीले खेप्नुपरेको दुःख–पीडा यस नाटकका कलाकारको अभिनयबाट नै बुझ्न सकिन्छ ।

यसप्रकारको ‘डबली नाटक’ उपत्यकाको प्राचीन विरासत पनि हो । जसलाई आजको नाट्यपुस्ताले पनि ग्रहण गर्नु सुखद पक्ष हो ।

(नाटक हेरिसकेपछि प्राध्यापक गुप्तोसँग गरिएको कुराकानी)

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?