
News Summary
Generated by OK AI. Editorially reviewed.- चेतन आङ्थुपो नेपाली रङ्गमञ्चका कलाकार र निर्देशक हुन्, जसले स्थानीय इतिहास र संस्कृति उजागर गर्ने नाट्य समूह स्थापना गरे।
- उनीहरूले २०६९ मा आफ्नो समूह ‘चुलाचुली रङ्गमञ्च’ स्थापना गरी सामाजिक मुद्दामा सडक नाटक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरे।
- उनले आफ्नो नाट्य यात्रामा विभिन्न पुरस्कार, कार्यशाला र प्रदर्शनीमा भाग लिएर नेपाली नाट्य क्षेत्रलाई प्रवर्द्धन गरे।
नयाँ बानेश्वरमा अवस्थित मण्डला थिएटरमा हालै एउटा नाटक चलेको थियो, उर्फ दारासिंह । कर्ण बहादुर केरुङ (दारासिंह ) को कथामा आधारित नाटकका निर्देशक थिए, चेतन आङ्थुपो ।
तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो । उनैले भूमि संरक्षणका लागि गरेको संघर्ष र योगदानलाई चेतनले रङ्गमञ्चमा उतारेका थिए ।
तर उक्त नाटक चेतनको पहिलो भने थिएन । ५० को दशकको उत्तरार्द्धदेखि नै चेतन नेपाली रङ्गमञ्चमा छन् । उनी आफैंमा योग्य कलाकार र निर्देशत त हुँदै हुन्, सँगै ‘चुलाचुली रङ्गमञ्च’ नामक नाट्य समूहका संस्थापक हुन् ।
यो समूहले आफ्नो नाटकहरूमार्फत स्थानीय इतिहास, आदिवासी संस्कृति र भूमिसम्बन्धीका मुद्दाहरूलाई उजागर गर्दै आइरहेको छ । यस्तो नाट्य समूह स्थापन गर्ने चेतन पूर्वी नेपालको इलाममा जन्मिएका थिए । उनको प्रारम्भिक जीवन व्यक्तिगत चुनौतीहरूले भरिएको थियो । पाँच वर्षको हुँदा उनकी आमाको निधन भयो । तत्कालीन समाजमा दोस्रो विवाह गर्ने परम्परा सामान्य थियो ।
बुबाले दोस्रो विवाह गरेपछि ५/६ वर्षको उमेरमा उनी मोरङको भावनपुरमा आए । यो करिब २०५०/५१ सालतिरको कुरा हो । भावनपुर त्यसबेला सुकुम्वासी बस्तीजस्तै थियो । त्यहीँ उनले बेलबारीको ज्ञानोदय प्रा.वि.मा अध्ययन सुरु गरे ।
बाल्यकालको सम्झना गर्दा चेतन एक्लोपनले भरिएको बताउँछन् । उनकै भनाइमा स्कुलमा मात्र साथीहरू हुन्थे । घरमा उही उमेरको कोही सानो मान्छे नहुने भएकाले उनी ठूला मान्छेहरूसँग बस्नुपर्थ्यो ।
यस्तो एकान्तमा उनको मुख्य साथी रेडियो थियो । त्यससमयमा उनले रेडियो खुबै सुने । रेडियोबाटै नाटक, गीत, साहित्य सुनेर यसमा विस्तारै तिनमा डुब्न थाले । यो कुराले अनजानमै कलाप्रतिको उनको रुचि बढिरहेको थियो ।
यसरी करिब १०/११ वर्ष मोरङमा बसेपछि उनी आफ्नै घर चुलाचुली फर्किए, १७ वर्षको उमेरमा । त्यसपछि उताबाट झापा झरेर हिमालय माविमा कक्षा ९ मा भर्ना भए ।
अब रेडियोमा सुनेर हुर्काइरहेको कला पोख्ने समय आइरहेको थियो । यस क्षेत्रमा आफ्नो प्रवेश भने नृत्यमार्फत भएको बताउँछन् ।
बेलबारीमा हुँदा उनलाई नाच्न खुबै रहर लाग्थ्यो । नाच सिकाउने संस्थाहरू समेत उनले खोजेका थिए । तर त्यसबेला त्यहाँ यस प्रकारको सेवा दिने कुनै पनि संस्था खुलेकै थिएनन् ।
उनले अरुको हेर्दै आफैँ नाच्न सिके । त्यसरी नृत्य सिकेर उनले दशैंताका आफ्नो पहिलो सार्वजनिक प्रस्तुति गाउँको कार्यक्रममा दिएका थिए। गीत थियो रामकृष्ण ढकालको ‘दैव तेरो’ । गीतको कोरियोग्राफी उनको आफ्नै थियो । दर्शकहरूलाई डुबाउन उनले आँखा नदेख्ने र एक खुट्टा नचल्ने व्यक्तिको पात्र निभाएका थिए । त्यो यति राम्रो भयो कि त्यसले उनलाई गाउँमा एक प्रकारको परिचय दियो ।
उनको नाट्य यात्राको सुरुआत गर्ने मुख्य आधार नै त्यो प्रस्तुति बन्न पुग्यो । प्रस्तुति पछिको केही समय थियो । कक्षा ९ को अन्तिम परीक्षा दिएर साँझपख उनी घर फर्किरहेका थिए । त्यसबेला उनको भेट गीतकार रोबर्ट राईसँग भयो ।
उनै राईले चेतनलाई ‘नाटक खेल्छौ ?’ भन्ने प्रस्ताव गरे । त्यो उनले सोच्दै नसोचेको प्रस्ताव थियो । चेतनले एकै श्वासमा भनिदिए-हुन्छ। यसरी उनले खेलेको पहिलो नाटक बन्न पुग्यो, अमर ज्योति । सो नाटक रुद्र प्रभातद्वारा लिखित र निर्देशित थियो ।
अभिनय वा संवाद बोल्ने कुनै पूर्वज्ञान नभएका उनले सो नाटकको मुख्य त्यसमाथि पनि खलनायकको भूमिका निर्वाह गरेका थिए । अहिले उनी सो क्षणलाई सम्झँदै हाँस्छन्, ‘मैले १४/१५ वटा दृश्य खेलेको थिएँ।
स्कुलको मैदानमा थुप्रै दर्शकअघि नाटक मञ्चन भएको थियो । तर मैले देव शमशेरको पात्र निभाएको रहेछु । एक सामन्तीको’ यसपछि भने उनले नाटककै लागि पछि फर्केर हेर्नु परेन । अन्य अग्रज रङ्गकर्मीको पछि लाग्दालाग्दै विभिन्न स्टेज नाटकहरू गरिरहे ।
२०६२ सालमा एसएलसी सकेपछि उनले महत्त्वपूर्ण कदम चाले । समकालीन लेखकहरूबाट प्रेरित भएर आफ्नै पहिलो नाटक लेखेर निर्देशन समेत गरे – मुटुको व्यथा । तर यसबेलासम्म उनले औपचारिक ज्ञान हाँसिल गरेका थिएनन् ।
चेतनका लागि एक परिवर्तनकारी अनुभव भने २०६४ सालमा चुलाचुलीमा आरोहण गुरुकुलको सडक नाटक हेर्नुभयो। सो नाटकमा भोला साकोटा र पशुपति राईजस्ता कलाकारहरूको अभिनय थियो । त्यस अनुभवले नाटकप्रतिको उनको बुझाइमा क्रान्ति नै ल्यायो । नाटकहरूलाई ठूलो सेट वा माइकबिना पनि प्रभावकारी तरिकाले देखाउन सकिन्छ भन्ने कुरा उनले बुझे ।
त्यसैबाट प्रेरित भई २०६४ सालको बुद्ध जयन्तीको अवसरमा लाग्ने मेलामा ‘मान्छेको खोजी’ नाटक उनले प्रस्तुत गरे । त्यसपछि ‘परिवर्तन’ नामक नाटक मञ्चन गरे । यस नाटकलाई उनले नाट्य क्षेत्रमा आफ्नो पहिलो महत्त्वपूर्ण कदम मान्छन् । किनकि २/३ हजार दर्शकबीच सो नाटक मञ्चन भएको थियो ।
यसैगरी २०६५ देखि २०६९ सम्म लगातार उनले समूहमा सडक नाटक गरिरहे । त्यस्ता नाटक प्रायः कुनै औपचारिक मञ्चबिना सचेतनाका लागि गरिने गरिन्थ्यो । तिनको उद्देश्य छुवाछुत, गरिबी, वर्गीय संघर्ष र विकासजस्ता सामाजिक मुद्दाहरूबारे सचेतना फैलाउनु हुन्थ्यो ।
त्यहीक्रममा अनिल सुब्बा सहितका १५ जनालाई भेला गरेर उनले समूहलाई औपचारिकता दिए । समूहको नाम ‘चुलाचुली रङ्गमञ्च’ रहन गयो । यही नाम राख्नुको कारणमा भने उनी आफ्नो स्थानीय ठाउँलाई ब्रान्डिङ गर्नु र सो ठाउँको नकारात्मक धारणा बदल्नु रहेको सुनाउँछन् । किनकि पहिले पेल्टिमारी झोडा भनेर चिनिने उनीहरूको ठाउँ हिंसाका लागि कुख्यात थियो ।
समूहको गठनपछि उनीहरूले सुरुमा गाउँकै आँगन, खेतबारी र जीर्ण संरचनाहरूमा अभ्यास गर्न थाले । किनकि समूह आर्थिक रूपले बलियो थिएन । काम जारी राखिरहेकै बेला समूहका लागि २०६९ सालमा एउटा राम्रो अवसर आयो ।
आइतबारे नामक बजारमा वन कार्यालयको एउटा जीर्ण भवन थियो । माओवादी द्वन्द्वकालमा क्षति पुगेपछि सो भवन त्यतिकै थियो । सम्बन्धित मान्छेहरूसँग अनुरोध गरेपछि उनीहरूले सो भवन नाटकका लागि प्रयोग गर्न पाउने भए ।
यसरी २०६९ साल साउन २७ गते उनीहरूले आफ्नो नाट्य समूहको भवनको औपचारिक उद्घाटन गरे । यद्यपि चेतन भने आफ्नो स्नातक परीक्षाका कारण उपस्थित हुन सकेनन् ।
तर चुलाचुली रङ्गमञ्चको त्यसपछिको यात्रा त्यति सरल पक्कै छैन । अभावै अभावबीच नाटक गर्ने हुटहुटीले यो समूह अघि बढेको देखिन्छ । यस्तै एउटा चुनौतीले भरिएको उनीहरूको नाट्य यात्रा थियो, ‘आवरणको युग बोल्छ’ । मोरङ, झापा, पाँचथर, इलाम गरी चार जिल्ला भ्रमण गर्ने यो उनीहरूको पहिलो नाटक थियो ।
दुर्भाग्यवश चेतनको भाइ असोज १० मा स्वर्गे भए । तर त्यसको चार दिनपछि नै सो नाटकको पूर्वनिर्धारित कार्यक्रम थियो । लिम्बु संस्कारमा छोरामान्छेको मृत्यु हुँदा चार दिनसम्म शुभकार्य गर्नुहुँदैन । तर त्यस्तो सांस्कृतिक मान्यताविरुद्ध गएर भए पनि चेतनले कार्यक्रम छाडेनन् । उनले जारी राखे ।
त्यस्तै एक पटक नाट्ययात्राकै क्रममा सिभिल ड्रेसमा रहेका प्रहरीहरूसँग उनीहरूको समूहको झडप भयो । प्रहरीले उनलाई केही समय नियन्त्रणमा राखे । यसबाट आधिकारिक अनुमति लिनुको महत्त्व उनले सिके ।
त्यसपछि २०७० सालमा उनीहरूले औपचारिक रूपमा नै संस्था दर्ता गरे । त्यसबेलासम्म यो समूहलाई अनौपचारिक रूपमा ‘नयाँ बाटो नयाँ पाइला नाट्य समूह’ भनेर पनि चिन्ने गरिन्थ्यो ।
सोही वर्ष उनीहरूले पहिलो ‘चुलाचुली दुई दिवसीय नाटक महोत्सव’ आयोजना गरे । यस महोत्सवमा उनीहरूको नाटक ‘किपट’ मञ्चन भएको थियो । सो नाटकमा लिम्बू समुदायले सामना गर्नु परिरहेको भूमिसम्बन्धी मुद्दाहरूलाई उजागर गरिएको थियो ।
२०७२ सालको भूकम्पपछि भने चुलाचुली रङ्गमञ्चले ‘सिर्जनशील अभियान’मा भाग लियो । सो अभियान नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पपश्चात् सुरु गरेको एउटा पहल थियो । यस अभियानको मुख्य उद्देश्य समुदायमा जनचेतना फैलाउनु र उनीहरूसँग जोडिनु थियो । त्यसमा ग्रामीण भेगका पालिकाहरूमा ‘शौचालय अभियान’ वा ‘स्वच्छता अभियान’ जस्ता विषयहरूबारे चेतना फैलाउनु पनि थियो ।
सुरुमा नाट्य समूहलाई नि:शुल्क काम गराउन खोजेपछि चेतनले मानेनन् । कलालाई राजनीतिक संस्थाहरूले निःशुल्क प्रयोग गर्न नहुने अडान राखिसके । त्यसमा जित चेतनकै भयो । यसपछि भूकम्पसम्बन्धी उनीहरूको नाटक मोरङ, झापा, इलाम, पाचँथर चार जिल्लामा भ्रमण गर्न सफल समेत भयो ।
त्यसरी नाटक देखाएबापत प्राप्त सहयोगले चेतनलाई आफ्नो काम राष्ट्रिय महोत्सवहरूमा लैजान थप सम्भव बनायो । किनकि त्यसपछि उनीहरूले २०७३ सालमा दोलखामा आयोजित नेपाल नाटक महोत्सवमा आफ्नो नाटक ‘देवंसी राजा’ लिएर सहभागी भएका थिए । सो नाटक उनकै बुबा (याबा/धामी) सम्बन्धी कथामा आधारित थियो । नाटक भने अनिल सुब्बाले निर्देशन गरेका थिए ।
त्यस्तै चेतनले मण्डला थिएटरमा २०७४ सालमा २५ दिने ‘क्रिएटिभ यङ डिरेक्टर वर्कशप’ र २०७५ सालमा ४५ दिने वर्कशपमा सहभागी भए । फलस्वरूप ‘खबर हराएको चिठी’ नामक नाटक तयार भयो । यो नाटकको अलग-अलग भाग १२ जना निर्देशकहरूले निर्देशन गरेका थिए । त्यसमा उनको खण्डले गाउँमा गृहयुद्धको प्रभावलाई मार्मिक रूपमा चित्रण गरेको थियो ।
त्यसपछि २०७५ सालमा उनले लिम्बू समुदायको रीतिरिवाजमा आधारित नाटक ‘माङ्गेना’ निर्देशन गरे । जुन उनको पहिलो ब्ल्याक बक्स निर्देशन थियो । विशेष गरी चेतनको कलात्मक दृष्टि परम्परागत ब्ल्याक बक्स थिएटरभन्दा पर छ । यसको कारण नवीन सुब्बाको आदिवासी संस्कृति तथा रीतिरिवाजसम्बन्धी फिल्म स्कुलको कक्षाबाट उनी प्रेरित हुनु हो । सोही भएर उनले थिएटरका लागि ‘ब्याक टु नेचर’ (प्रकृतिमा फर्क) दर्शन अपनाउन थाले ।
भारतको आसाममा रहेको ‘अन्डर द साल ट्री’बाट प्रेरित भएर उनले नेपाली रङ्गमञ्चमा ल्यान्ड आर्ट (भूमि कला) र इन्भाइरोन्मेन्ट आर्ट (वातावरण कला) को सुरुवात गरे । प्राकृतिक तथा खुला स्थानहरूमा प्रदर्शन गरे ।
त्यसक्रममा उनले माइक्रोफोन प्रयोग गरेनन् । त्यसो गर्दा चराचुरुङ्गी, कीरा र अन्य प्राकृतिक कुराहरूको आवाज प्रदर्शनको हिस्सा हुने उनी तर्क गर्छन् । यसरी ल्यान्ड आर्टसम्बन्धी उनले गरेको सो दुई वर्षे प्रयोग नेपालमा पहिलो मानिन्छ ।
चेतनको यही सोचले २०७८ सालमा ‘बुद्ध र भिकारी’ नामक कठपुतली नाटक पनि जन्मायो । जसलाई उनी नेपालमा छाया नाटकको सट्टा प्रत्यक्ष कठपुतली प्रयोग गर्ने पहिलो नाटक मान्छन् ।
चेतनको नेतृत्वमा रहेको चुलाचुली रङ्गमञ्चको मुख्य सिद्धान्त नै ‘भूमि मुद्दा’ र अलिखित स्थानीय इतिहासमा केन्द्रित रहनु देखिन्छ । यसकारण नेपाली रङ्गमञ्चमा विदेशी नाटक अनुवाद गर्दा आदिवासी तथा स्थानीय कथाहरूसँग गहिरो सम्बन्ध नराख्ने उनी बताउँछन् ।
उनको कुरा हालैका चुलाचुली रङ्गमञ्चका नाटकहरू रिठु (२०७८), झोडा (२०८०) र उर्फ दारा सिंह (२०८१) मा मज्जैले देखिन्छ । मण्डला थिएटरको चर्को भाडा बाबजुद पनि उनको पछिल्लो नाटक उर्फ दारसिंहले महत्त्वपूर्ण सफलता प्राप्त गर्न भएको थियो । चेतन विश्वास गर्छन् कि, यो नाटकले दमन गरिएको र अलिखित इतिहासलाई कम्तीमा प्रकाशमा ल्याएको छ ।
जोस र रहरैरहरमा नाट्य क्षेत्रमा लागेका चेतनको नाट्य यात्रा अझैं जारी नै छ । उता चुलाचुली रङ्गमञ्चले प्रणालीगत चुनौतीहरूको सामना गरिरहेको छ । उनीहरू अझै पनि आफ्नो जीर्ण वन कार्यालय भवनमै छन् ।
सरकारबाट जग्गा पाउन अथवा उचित सुविधा पाउन संघर्षरत छन् । यस्तो हुनुमा सरकारले कलाको गहिरो प्रभावलाई बुझ्न असफल हुनु भएको चेतनको बुझाइ छ ।
प्रतिक्रिया 4