+
+

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी : कसरी तानिन्छ गोटी ?

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियामा आधारित भएर पेशी व्यवस्थापन गर्न लागिएको छ । थैलीमा राखेका गोटी तानेर त्यसका आधारमा इजलास र मुद्दा तोक्ने काम कसरी हुन्छ ? यसवारेको विस्तृत विवरण ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ मंसिर १४ गते २०:४७
गोला प्रथाको प्रतिकात्मक तस्वीर

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियामा आधारित भएर पेशी व्यवस्थापन गर्न लागिएको छ । थैलीमा राखेका गोटी तानेर त्यसका आधारमा इजलास र मुद्दा तोक्ने काम कसरी हुन्छ ? यसवारेको विस्तृत विवरण ।

१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बुधबार सबै न्यायाधीशहरु १० बजे मुख्य रजिष्ट्रारको कार्यकक्षसँगैको हलमा भेला हुनेछन् र गोटी तानेर इजलास र मुद्दा छान्नेछन् । बुधबारदेखि शुरु हुने गोला प्रणाली कसरी लागू हुन्छ ? यो थाहा पाउने केही आधारभूत प्रक्रिया बुझ्नुपर्ने हुन्छ ।

संविधान अनुसार, सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुन्छन् । अहिले एक न्यायाधीशको पद रिक्त भएकाले २० जनामात्रै छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको संलग्नतामाथि न्यायाधीशहरु र बारबाट नै प्रश्न उठेकाले गोटी तान्ने प्रक्रियामा सामेल हुन कठिन थियो । त्यसमाथि कोरोना संक्रमण देखिएको र अस्पताल भर्ना भएकाले बुधबार उनी यो प्रक्रियामा सामेल हुने सम्भावना छैन ।

गोला प्रणालीमा आधारित पेशी व्यवस्थापन गर्ने कामको सहजताका लागि सर्वोच्च अदालत प्रशासनले एक साताअघि नै प्रधानन्यायाधीश जबराको अनुपस्थितीमै नमुनाको रुपमा गोला प्रक्रियाको अभ्यास गरेको थियो ।

सर्वोच्च अदालतमा लामो समयदेखि चलेको चलन अनुसार, प्रधानन्यायाधीशबाहेक उनीपछिको वरियताका न्यायाधीशलाई नम्बर अनुसार समेत चिन्ने गरिन्छ । उदाहरणका लागि वरिष्ठतम न्यायाधीशलाई एक नम्बर न्यायाधीश भनिन्छ भने उनीपछिको वरिष्ठताक्रममा रहेकालाई दुई नम्बर भनिन्छ । त्यसैगरी पछिल्लो पटक नियुक्त भएका २० नम्बर न्यायाधीश हुन्छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको क्रमसंख्या यसरी  छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

१ नम्बर न्यायाधीश दीपककुमार कार्की

२ नम्बर न्यायाधीश मीरा खड्का

३ नम्बर न्यायाधीश हरिकृष्ण कार्की

४ नम्बर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

५ नम्बर न्यायाधीश ईश्वरप्रसाद खतिवडा

६ नम्बर न्यायाधीश डा.आनन्दमोहन भट्टराई

७ नम्बर न्यायाधीश अनिलकुमार सिन्हा

८ नम्बर न्यायाधीश प्रकाशमानसिंह राउत

९ नम्बर न्यायाधीश सपना प्रधान मल्ल

१० नम्बर न्यायाधीश तेजबहादुर केसी

११ नम्बर न्यायाधीश बमकुमार श्रेष्ठ

१२ नम्बर न्यायाधीश टंकबहादुर मोक्तान

१३ नम्बर न्यायाधीश प्रकाशकुमार ढुंगाना

१४ नम्बर न्यायाधीश सुष्मालता माथेमा

१५ नम्बर न्यायाधीश कुमार रेग्मी

१६ नम्बर न्यायाधीश हरिप्रसाद फूयाल

१७ नम्बर न्यायाधीश डा.मनोजकुमार शर्मा

१८ नम्बर न्यायाधीश डा.कुमार चुडाल

१९ नम्बर न्यायाधीश नहकुल सुवेदी

२० नम्बर न्यायाधीश खाली

न्यायाधीशहरुको यो वरियताक्रम गोला तान्ने प्राथमिकता निर्धारण गर्न र संयुक्त इजलासको पेशी गठनका क्रममा मात्रै काम लाग्छ । गोला प्रक्रिया भनिएकाले कतिपयले गोला भन्नासाथ कागजमा कुनै अंक वा संकेत लेखेर त्यसलाई डल्लो पार्ने र तान्ने रुपमा बुझेका छन् । तर यथार्थमा थैलीभित्र संकेत लेखिएको गोटी तान्ने अनि इजलास र मुद्दा निर्धारण गर्ने काम नै गोला प्रणाली हो ।

गोटी तान्ने काम कुनै प्रणाली नभएकाले सर्वोच्च अदालतले गठन गरेको समितिले त्यसलाई ‘प्रक्रिया’ भनेको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको इजलास बनाउँदा र मुद्दा छनौट गर्दा अपारदर्शी थैलीभित्र संकेत नम्बर राखिएको गोटी झिकेर त्यसका आधारमा इजलास र पेशी निर्धारण गर्ने हो ।

कसरी तानिन्छ गोटी ?

गोला छान्नुअघि हरेक दिन विहान १० बजे न्यायाधीशहरु सर्वोच्च अदालतको गोटी तान्ने हलमा भेला हुन्छन् । न्यायाधीश कार्यालय आउन ढिला भए उनीहरुका प्रतिनिधीहरु खटिन्छन् । इजलास र मुद्दा व्यवस्थापनका लागि तीनदेखि चारवटा थैली र त्यहाँभित्र फरक फरक स्वरुपका गोटी राखिन्छन् ।

१. पहिलो थैलीमा १ देखि २१ नम्बरका गोटी राखिन्छ । यो थैलीबाट गोटी निकालेर बृहत पूर्ण र पूर्ण इजलासहरु गठन गरिन्छ ।

२. दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखेका दुईटा गोटी र न्यायाधीशको संख्या अनुसारमा अरु खाली गोटी राखिन्छ । यो थैलीबाट न्यायाधीशहरुले गोटी निकालेर एकल इजलासको टुंगो लगाइन्छ । अर्थात जसले ‘अ’ र ‘आ’ तान्छ उसको एकल इजलाश गठन हुन्छ ।

३. तेस्रो थैलीमा संयुक्त इजलासको संख्या अनुसारको संकेत रहेका गोटीहरु राखिन्छ । यो गोटी छानेपछि संयुक्त इजलासमा कुन न्यायाधीश अर्को कोसँग रहने भन्ने निधो हुन्छ ।

४. चौथो थैलीमा ‘क’, ‘ख’, ‘ग’ लेखेका मुद्दाको समूह जनाउने गोटी राखिन्छ । इजलास गठन भएपछि न्यायाधीशहरुमध्ये हरेक इजलासका एकजनाले गोटी तान्छन् । त्यसबाट कुन समूहको मुद्दा कसले हेर्ने भन्ने टुंगो लाग्छ ।

शुरुमा बृहत वा पूर्ण इजलासको पालो

सर्वोच्च अदालतमा हरेक विहीबार वृहत पूर्ण वा पूर्ण इजलास गठन हुन्छ । हरेक बुधबार र शुक्रबार संवैधानिक इजलासको दिन छुटयाइएपनि प्रधानन्यायाधीशसंग न्यायाधीशहरु असन्तुष्ट रहेका र बारको आन्दोलन जारी रहेका कारण केही समय संवैधानिक इजलास बस्न असम्भव देखिन्छ ।

अरु सबैजसो दिन अब आवश्यकता अनुसार, संयुक्त र एकल इजलास गठन हुन्छन् । सर्वोच्च अदालतमा कस्ता मुद्दाले कुन स्तरको प्राथमिकता पाउने र कसरी पेशी व्यवस्थापन गर्ने भनी उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठको नेतृत्वको समितीले प्रतिवेदन बुझाएको थियो । त्यो समेत गोला प्रणालीसँगै कार्यान्वयनमा आउनेछ ।

सर्वोच्च अदालतले तयार पारेको गोला प्रणाली निर्देशिकाले वृहत पूर्ण र पूर्ण इजलास गठन हुने दिन शुरुमा ती इजलास गठन प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था गरेको छ ।

शुरुमा त्यो दिन जति न्यायाधीशको संख्या उपस्थिति हुने हो, त्यति नम्बरको गोटी थैलीभित्र राखिन्छ । उदाहरणका लागि कुनै दिन १२ जना न्यायाधीश अदालतमा उपस्थित भएमा १ देखि १२ नम्बर लेखिएको गोटी थैलीमा राखिन्छ ।

‘पूर्ण इजलास गठनका लागि सो दिन उपस्थित भएका न्यायाधीशको संख्या बराबरको गोटी थैलीमा राखिनेछ’ निर्देशिकामा भनिएको छ, ‘जति सदस्यीय इजलास गठन हुने हो क्रमशः १ देखि सो संख्यासम्म अङ्कित गोटी तान्ने न्यायाधीशको इजलास गठन हुनेछ ।’

थैलीमा गोटी राखेपछि वरिष्ठताका आधारमा न्यायाधीशहरुले गोटी तान्नेछन् । त्यो दिन ५ सदस्यीय वृहत पूर्ण इजलास गठन हुने भएमाले सबैले गोटी तानेपछि १ देखि ५ नम्बरसम्मको गोटी पर्ने न्यायाधीशको वृहत पूर्ण इजलास गठन हुनेछ । त्यही दिन अर्को ३ सदस्यीय इजलास गठन हुने भएमा ६ देखि ९ अंक तान्ने न्यायाधीशको अर्को इजलास गठन हुनेछ । यसरी पहिलो थैलीबाट वृहत पूर्ण वा पूर्ण इजलास गठनको प्रक्रिया टुंगिनेछ ।

पूर्ण वा वृहत पूर्ण इजलास गठन हुने दिन त्यो इजलासमा छानिएका न्यायाधीशहरु अरु इजलास गठनका लागि गोटी तान्ने प्रक्रियाबाट बाहिरिन्छन् । पूर्ण वा वृहत पूर्ण इजलास गठन नहुने दिनमा शुरुमै एकल अनि संयुक्त इजलासका लागि सबै न्यायाधीशहरु गोटी तान्ने कक्षमा उपस्थित हुन्छन् । निर्देशिकामा संवैधानिक इजलासबारे केही उल्लेख छैन, तर संवैधानिक इजलास गठन हुने दिन त्यो इजलासमा रहने बाहेकका न्यायाधीश मात्रै गोला प्रक्रियामा सामेल हुनेछन् ।

दोस्रो प्राथमिकता एकल इजलासलाई

पूर्ण इजलास गठन भएपछि वा पूर्ण इजलास नपरेका दिन सर्वोच्च अदालतमा पहिले एकल इजलास गठन गर्ने अनि त्यसपछि बाँकी रहेका न्यायाधीशहरुबाट संयुक्त इजलास गठन गर्नुपर्ने व्यवस्था गरिएको छ । वृहत पूर्ण वा पूर्ण इजलास गठन भएपछि बाकी रहेका न्यायाधीशको संख्या हेरेर इजलासको संख्या तय गरिन्छ ।

बिजोर संख्यामा न्यायाधीशहरु बाँकी छन् भने एउटा एकल इजलास गठन गर्ने नियम बनाइएको छ । जोर संख्यामा छन् बाँकी भने दुईवटा छुट्टाछुट्टै एकल इजलास गठन गरेर बाँकी न्यायाधीशको संयुक्त इजलास बनाइन्छ ।

उदाहरणका लागि ८ जना न्यायाधीश उपलब्ध छन् भने दुईवटा एकल इजलास बनाएर बाँकी ६ जना न्यायाधीशका लागि तीनवटा संयुक्त इजलास बनाइन्छ । ९ वटा न्यायाधीश बाँकी छन् भने एउटा एकल इजलास बनाएर बाँकी ८ जना न्यायाधीशका लागि चारवटा एकल इजलास बनाइन्छ ।

एकल इजलासको गोटी तान्न दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखेको दुईवटा गोटी राखिन्छ । बाँकी न्यायाधीशको संख्या बराबर हुनेगरी केही नलेखेका खाली गोटी राखिन्छ । न्यायाधीशहरुले गोटी तान्छन् । गोटी तान्दै जादा जुन न्यायाधीशको हातमा ‘अ’ वा ‘आ’ लेखेको गोटी पर्छ, उनैको एकल इजलास गठन हुन्छ ।

एउटा इजलास गठन हुने भए ‘अ’ अथवा ‘आ’ गोटी न्यायाधीशको हातमा परेपछि गोटी तान्ने क्रम रोकिन्छ भने दुईवटा एकल इजलास गठन हुने भए न्यायाधीशहरुले तान्दै जाँदा ‘अ’ र ‘आ’ गोटी हात परेपछि प्रक्रिया रोकिन्छ । अनि खाली गोटी परेका र गोटी तान्न नपाएका बाँकी न्यायाधीशको हकमा अर्को प्रक्रिया थालिन्छ ।

संयुक्त इजलास : बरिष्ठताक्रममा इजलास निर्धारण, अनि गोला

एकल इजलासका लागि न्यायाधीश छानिएपछि त्यसमा परेका बाहेक बाकी न्यायाधीशहरुको सूची तयार हुन्छ । उनीहरुको वरिष्ठताक्रम जनिने अंक (यसलाई क्रमसंख्या पनि भन्न सकिन्छ, तर त्यो क्रमसंख्या वरिष्ठतम न्यायाधीशबाट शुरु हुन्छ) रहेको गोटी थैलीमा राखिन्छ ।

निर्देशिकामा भनिएको छ, ‘जोर गते भए स्थायी इजलास नपाउने न्यायाधीशको वरिष्ठता अङ्कित गोटी थैलीमा राखी स्थायी इजलास पाउने न्यायाधीशले गोटी तान्नेछन् । विजोर गते भए स्थायी इजलास पाउने न्यायाधीशको वरिष्ठता अङ्कित गोटी थैलीमा राखी स्थायी इजलास नपाउने न्यायाधीशले गोटी तान्नेछन् ।’ त्यसपछि न्यायाधीशहरुको जोडा बन्छ, र त्यो संयुक्त इजलासको रुपमा कायम रहनेछ ।

यसलाई यसरी सरल रुपमा बुझ्न सकिन्छ–

मानौ कुनै दिन पूर्ण र एकल इजलास गठनपछि निम्न क्रमसंख्याका न्यायाधीशहरु बाँकी रहे ।

एक, पाँच, छ, सात, नौं, एघार बाह्र, पन्ध्र, सत्र, अठार, बीस
स्थायी इजलास पाउने स्थायी इजलास नपाउने

वरिष्ठताक्रम अनुसार लहरै मिलाउदा आधाभन्दा अगाडी पर्ने न्यायाधीशलाई स्थायी इजलास पाउने न्यायाधीश भनिएको छ । र, अरु पछाडिका न्यायाधीशलाई स्थायी इजलास नपाउने न्यायाधीश भनिएको छ । त्यसो गर्दा संयुक्त इजलासमा कुनैमा वरिष्ठतमहरु मात्रै पर्ने, कुनैमा कनिष्ठ न्यायाधीशहरु मात्रै रहने सम्भावना कम हुन्छ ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकाल संयुक्त इजलासमा न्यायाधीशहरुको जेष्ठताक्रम मिलाउन खोजिएको बताउँछन् । ‘अरु इजलास गठन भएपछि बाकी रहने न्यायाधीशहरुले सामान्य रुपमा गोटी तान्दा कुनै दिन बरिष्ठताक्रममा रहेकाहरुको एउटा र अरु न्यायाधीशहरुको अर्को इजलास पनि बन्ने सम्भावना रहने भयो’ उनले भने, ‘त्यसैलाई दृष्टिगत गरी वरिष्ठताक्रम अनुसार आधाजति स्थायी रुपमा बस्ने र बाँकी रहेका आधाले गोटी तानेर उहाँहरुसँग जोडा मिलाउने गरी इजलास गठन गर्ने व्यवस्था मिलाइएको हो ।’

सर्वोच्च अदालतका सूचना अधिकारी ढकालका अनुसार, बृहत र पूर्ण इजलासमा भने त्यस्तो व्यवस्था छैन । त्यसैले बृहत पूर्ण वा पूर्ण इजलासमा जो कोही न्यायाधीशहरु पनि पर्ने सम्भावना रहन्छ । उदाहरणका लागि कुनै दिनको पूर्ण इजलासमा वरियताक्रममा रहेका १८, १९ र २० औं क्रममा रहेका कनिष्ठतम न्यायाधीशको पनि इजलास बन्न सक्छ । वा कुनै दिन वरिष्ठतम न्यायाधीशहरुको मात्रै पनि इजलास बन्ने अवस्था रहन्छ ।

संयुक्त इजलासमा भने जेष्ठताक्रम अनुसार आधाको पहिले नै इजलास निश्चित गरी बाँकीको गोटी तान्ने प्रक्रिया गरिने भएकाले जेष्ठताक्रम र कनिष्ठताक्रम अनुसार इजलास गठन हुने सम्भावना ज्यादा हुने ढकालले बताए । उनका अनुसार, जोर र विजोर दिनमा एकदिन एकथरीले गोटी तान्ने र अर्को दिन अर्कोथरीले गोटी तान्ने व्यवस्था राखेर सन्तुलन मिलाउन खोजिएको छ ।

इजलास बनेपछि मुद्दा कसरी छानिन्छ ?

सबै इजलास गठन हुनुअघि नै सर्वोच्च अदालत प्रशासनले त्यो दिन पेशीमा तोकिएका मुद्दाको सूचीबाट समूह बनाछ । समूह बनाउदा शुरुमा इजलासको प्रकृति छुट्टयाइन्छ । बृहत पूर्ण, पूर्ण, संवैधानिक र संयुक्त इजलासका मुद्दाहरु अलग अलग समूहमा रहन्छन् । तीमध्ये पनि मुद्दाको प्रकृति अनुसार थप समूहहरु बनाइन्छ र महिनाको दिन अनुसार पेशी तोक्ने व्यवस्था मिलाइएको छ ।

उदाहरणका लागि, भ्रष्टाचार, बैंकिङ, देवानी लगायतका समूहकृत गरिएका मुद्दाहरु कुन दिन पेशीमा पर्ने भनी उच्च अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाइसकेको छ । त्यसका आधारमा पेशीमा चढ्ने मुद्दाको सूची र त्यसको समूह समेत तयार हुन्छ ।

कार्यविधि अनुसार, तिनै समूहको सूची जनाउने क, ख, ग….. लेखेको गोटी चौथो थैलामा राखिन्छ । अनि जुन इजलासको तर्फबाट न्यायाधीशले गोटी तान्छन्, त्यही गोटीमा लेखेको समूहको मुद्दा त्यही इजलासलाई पर्नेछ । इजलासभन्दा मुद्दाको समूह बढी भए थैलीमा रहेको समूहको मुद्दा स्थगित हुनेछ । कार्यविधिमा भनिएको छ, ‘इजलास कक्ष निर्धारण गर्दा न्यायाधीशहरूको वरिष्ठता क्रमअनुसार निर्धारण गर्नुपर्नेछ ।’

इजलास गठन भई मुद्दाको टुंगो लागेपछि अहिलेको सफ्टवेयरमा त्यसलाई अद्यावधिक गरी पेशी सूची प्रकाशित गरिनेछ । सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, प्रधानन्यायाधीशमा रहेको इजलास र मुद्दा तोक्ने अधिकार गोला प्रक्रियाबाट टुंग्याउन लागिएको हो । उनी भन्छन्, ‘दीर्घकालीन रुपमा सफ्टवेयरमा आधार स्वचालित पेशी प्रणाली (अटोमेसन) मै जानुपर्छ ।’

अघिल्लो मितिमा कुनै इजलासले हेर्दाहेर्दै तोकेको मुद्दा त्यो दिन स्वतः त्यही इजलास गठन हुने व्यवस्था मिलाइएको छ । त्यसमा संलग्न न्यायाधीश बाहेकको इजलास मात्रै त्यो दिन गठन हुने व्यवस्था छ । निर्णय सुनाउने मिति तोकेको मुद्दामा पनि न्यायाधीश अरु अरु इजलासमा परे पनि निर्णय सुनाउने घोषणा गरेका अघिल्ला न्यायाधीशहरु सम्मिलित इजलास गठन हुने ब्यवस्था निर्देशिकामा गरिएको छ ।

गोला प्रणालीमा हेर्न नमिल्ने मुद्दा व्यवस्थापनको समाधानबारे केही उल्लेख छैन । कतिपय विषय पहिले नै व्यवहारिक अनुमान गर्न कठिन हुने भन्दै गोला प्रणालीवारे अध्ययन गर्न गठन भएको समितिले काम गर्दै जादा निर्देशिका थप परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ ।

‘यो व्यवस्था लागू भएपछि पेशी सूचीमा हेर्न नमिल्ने जनिएका न्यायाधीशको इजलासमा त्यस्तो मुद्दा नपर्ने आवश्यक व्यवस्था गर्न थप अध्ययन आवश्यक छ’ प्रतिवेदनमा भनिएको छ, ‘तर कार्यविधि निर्देशिकाले हेर्न नमिल्ने मुद्दा परेका कारण इजलासलाई पर्याप्त कार्यभार नपुग्ने अवस्था नहोस् भन्नेतर्फ सतर्कता अपनाएको छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?