+
+

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर १६ गते १९:५१
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।

चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत हो ।

कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)

  • भारत : १०,४२१
  • अमेरिका : ३,७८२
  • बेलायत : २,०२६
  • बंगलादेश : १,३८२
  • फ्रान्स : ८०८

अक्टोबरपछि पर्यटक आगमन सुधारियो

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार नेपालमा अघिल्लो महिनाबाट विदेशी पर्यटकको आगमन सुधार भएको देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना पर्यटक आएका थिए । सन् २०२१ मा सबैभन्दा बढी नोभेम्बरमा पर्यटक आए ।

यो वर्ष अप्रिलमा २२ हजार ४५० पर्यटक आउनुबाहेक अन्य महिनामा पर्यटक आगमन कम भएको छ । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । तर, सन् २०२० मा भने यो समय कोभिडबाट आक्रान्त थियो । सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको लामिछानेले जानकारी गराए ।

११ महिनामा १ लाख २६ हजार २८३ पर्यटक

नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजार २८३ जना पर्यटक नेपाल आएका छन् । यो वर्ष सबैभन्दा कम जुनमा १ हजार १४३ र बढी नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति आए ?

  • जनवरी : ८,८७४
  • फेब्रुअरी : ९,१४६
  • मार्च : १४,९७७
  • अप्रिल : २२,४५०
  • मे : १,४६८
  • जुन : १,१४३
  • जुलाई : २,९९१
  • अगष्ट : ५,९१७
  • सेप्टेम्बर : ९,८९८
  • अक्टोबर : २३,२८४
  • नोभेम्बर : २६,१३५

नेपालमा जहाजबाट आउने भारतीय यात्रुलाई पर्यटकका रुपमा गणना गरिन्छ । तर, स्थल मार्गबाट आउने पर्यटकलाई भने गणना गर्ने संयन्त्र बनिसकेको छैन ।

नेपालको पोखरासहितका गन्तब्यमा भैरहवा नाका हुँदै ठूलो संख्यामा भारतीय पर्यटक घुमफिरमा आउने गरेका छन् । अघिल्लो महिना स्थल नाका समेत खुला भएका कारण आगामी दिनमा भारतबाट पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीको छ ।

व्यवसायीहरुका अनुसार नजिकिएको नयाँ वर्षलाई लक्षित गरी भारत र बंगलादेशबाट बढी अग्रिम बुकिङ भइरहेको छ । नेपालको पर्यटनमा भारत र चीन प्रमुख स्रोत बजार हुन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?