+
+

ट्वीटरको नेतृत्व छाडेर के गर्दैछन् ज्याक डोर्सी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १८:१५

१७ मंसिर, काठमाडौं। ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् ।

उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् जसलाई बुझ्नका लागि कहिलेकाहीँ कठीन हुन्छ तर प्रविधिको दुनियामा उनलाई वास्तवमा एक दूरदर्शी व्यक्तिको रुपमा लिइन्छ ।

ज्याक डोर्सीले ट्वीटरबाट राजिनामा दिएको यो पहिलोपटक भने होइन । उनले यसअघि सन् २००९ मा ट्वीटरको सिइओबाट राजिनामा दिएर स्क्वाएर नामक एक डिजिटल भुक्तानी कम्पनी स्थापना गरेका थिए । जुन सफल पनि भयो । तर पछि सन् २०१५ मा उनी पुनः ट्वीटर फर्किए र सिइओ बने ।

सिइओ पद छाड्नुको कारण

गतवर्ष ट्वीटरमा ठूलो लगानी गर्ने कम्पनी इलियट म्यानेजमेन्टले ज्याक डोर्सी समक्ष दुई कम्पनीमध्ये एक रोज्नुपर्ने विकल्प राखेको थिए । ट्वीटरका सिइओले आफ्नो पूरै समय ट्वीटरमा दिनुपर्ने लगानीकर्ताको भनाई थियो ।

त्यसैले ज्याक डोर्सीको राजिनामा पछि पनि कम्पनीको शेयरमा गिरावट नआउनुको कारण एउटा त्यहीँ नै हो ।

लामो समयसम्म ट्वीटरका लगानीकर्ताहरुको मत यो छ कि धेरै प्रयोगकर्ता भएका कारण कम्पनीले अझै धेरै आम्दानी गर्न सक्दछ, जुन अहिलेसम्म गर्न सकिरहेको छैन । यदि कम्पनीका सिइओले आफ्नो पूरा ध्यान केवल ट्वीटरमा मात्र दिएमा आम्दानीमा वृद्धि सम्भव हुने लगानीकर्ताको विश्वास छ ।

यदि गुगल तथा फेसबुकसँग ट्वीटरको तुलना गरियो भने यो सानो खेलाडी साबित हुन्छ ।

कतिपयका अनुसार ट्वीटरको सुस्त वृद्धिदरका पछाडिको एक प्रमुख कारण ज्याक डोर्सी हुन् । डोर्सी ट्वीटरका संस्थापक त हुन् तर प्रयोगकर्ताको मूल्यमा उनी यसबाट धेरै पैसा कमाउन चाहँदैनन् ।

तर डोर्सीका प्रयासहरु हेर्दा उनले धेरै आम्दानी गर्ने तरिकाहरुलाई लिएर विभिन्न प्रयोग गरेका छन् । हालै कम्पनीको आम्दानी बढाउनका लागि उनले महत्वपूर्ण घोषणा गरेका थिए । जस अनुसार सन् २०२३ सम्ममा कम्पनीको मनिटाइजेबल प्रयोगकर्ताको संख्या साढे ३१ करोडसम्म पुर्‍याउनुका साथै ट्वीटरको आयलाई दोब्बर बनाउने उनको घोषणा थियो ।

कोरोना महामारीका क्रममा ट्वीटरले हजारौँ नयाँ प्रयोगकर्तालाई ट्वीटरमा जोड्न सफल भएको छ तर यो उसको लक्ष्यभन्दा निकै कम छ ।

डोर्सी पश्चात् ट्वीटरको बागडोर सम्हालेका पराग अग्रवालका अगाडि यो लक्ष्य पूरा गर्ने जिम्मेवारी छ ।

परागको चुनौती

भारतीय मूलका पराग अग्रवाल यसअघि ट्वीटरका प्रमुख प्रविधि अधिकृतको रुपमा कार्यरत थिए । कम्पनीमा उनले निकै राम्रो प्रतिष्ठा कमाएका थिए । ट्वीटरको बागडोर सम्हाल्नका लागि उनलाई सुरक्षित विकल्प मानिएको छ र उनको अगाडिको लक्ष्य पनि ठूलो छ।

ट्वीटरलाई धेरै मनिटाइज गर्ने ज्याक डोर्सीको दायित्व अब सिधै परागको काँधमा सरेको छ । तर ट्वीटर वास्तवमा फेसबुक होइन र फेसबुकको तुलनामा यसले प्रयोगकर्ताको बारेमा निकै कममात्र जानकारी एकत्रित गर्दछ । यस्तोमा विज्ञापनदाताहरुका यी डाटाहरु खासै कामका हुँदैनन् ।

साथै ट्वीटरले त्यतिमात्र विज्ञापन देखाउँदछ जति विज्ञापनका कारण प्रयोगकर्ताले प्लाटफर्म नै नछाडुन् । यस्तोमा आम्दानी बढाउनुको साथसाथै तिव्र वृद्धि हासिल गर्नु पनि कठीन हुन्छ ।

क्रिप्टोकरेन्सी प्रतिको लगाव

क्रिप्टोकरेन्सी, खासगरी बिटक्वाइनलाई लिएर ज्याक डोर्सी निकै उत्साहित छन् । उनले हालै एक डेडिकेटेड क्रिप्टो टिम गठन गरेका छन् जसले डिजिटल मुद्रा र विकेन्द्रित एपहरुलाई कम्पनीले कसरी उपयोग गर्न सक्दछ भन्ने कुरामा अध्ययन गर्नेछन् ।

उक्त टिमले पराग अग्रवालसँगै काम गर्नुपर्ने थियो । जसले के संकेत गरेको थियो भने कम्पनीको विकासका विषयमा ज्याक डोर्सीको जुन दृष्टिकोण थियो त्यसमा डिजिटल मुद्राको ठूलो योगदान हुन सक्दछ ।

तर हालैका दिनहरुमा ट्वीटर राजनीतिसँग सम्बन्धित विषयहरुमा पनि जोडिइरहेको छ । त्यसैले ती समस्याहरुलाई झेल्नु पनि अब परागको जिम्मेवारी बनेको छ ।

अमेरिकाका डेमोक्रेटिक पार्टीका नेताहरुका अनुसार नक्कली तथा झुटा समाचारमाथि लगाम लगाउनका लागि ट्वीटरले धेरै काम गरेकै छैन । घृणा फैलाउने अभिव्यक्तिलाई पहिचान गरेर त्यसमा लगाम लगाउनमा ट्वीटरको प्रणाली खासै राम्रो छैन ।

त्यस्तै गैर रुढीवादीहरुलाई लिएर ट्वीटरले पक्षपाती रवैया अपनाउने गरेको रिपब्लिकनहरुको आरोप छ । क्यापिटल हिलमा भएको दंगापछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले लगाएको स्थायी प्रतिबन्धले पनि त्यसैलाई संकेत गर्दछ ।

डोर्सीको अबको बाटो

ज्याक डोर्सी अझैपनि युवा नै छन् र उनको उमेर ४५ वर्ष छ । अघिल्लोपटक जब उनले केही समयका लागि ट्वीटर छाडेका थिए उनले स्क्वाएर नामक कम्पनी स्थापना गरेका थिए, जुन अहिले १ सय अर्ब डलरको कम्पनी बनिसकेको छ ।

हुनसक्छ तपाईलाई डोर्सी गम्भीरतापूर्वक लिनु नपर्ने व्यक्तिजस्तो लाग्न सक्दछ । तर उनले अहिलेसम्म जुन काम गरेका छन् त्यसलाई हेर्दा भन्न सकिन्छ कि उनका हरेक निर्णयलाई गम्भीरतापूर्वक लिनु पर्दछ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?