+
+
Shares

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर बन्द, रोकिएन पहिरो

‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते २१:१२

४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।

साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले अनलाइनखबरलाई बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’

उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउनसक्ने अवस्था देखिएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

अहिले पनि सडकमा धेरै सवारी र मानिसहरू अलपत्र परेका छन् ।

एसपी पुरीका अनुसार, जिल्ला प्रशासन कार्यालय र प्रहरीले शनिबार दिउँसो अलपत्र यात्रुहरूलाई पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको उनले बताए ।

तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?