+
+

साढे ३३ किलो सुन प्रकरणमा गोरेका सहयोगी काले धरौटीमा छुटे

हरि अधिकारी हरि अधिकारी
२०७८ मंसिर २१ गते १७:१०

२१ मंसिर, विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

तस्करी गरेर ल्याएको साढे ३३ किलो हराएपछि यो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए । गोरेसहित ७७ जना विरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा काले पनि प्रतिवादी थिए ।

न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । जसमा पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।

तीमध्ये गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको हो । प्रतिवादीमध्ये राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो ।

काले भनिने कृष्णगोपाल गोरेले आयात गर्ने सुनको लगानीकर्ता मध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल ल्याइएका उनलाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

२०७४ साल माघ ९ गते आयात भएको साढे ३३ किलो सुन काठमाडौंबाट गायब भएपछि गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?