+
+

विमानस्थलबाट चरा र वन्यजन्तु धपाउन पटाका पड्काउन पाउनुपर्ने माग

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर २१ गते २०:१५
फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने माग गरेको छ । प्राधिकरणका निमित्त उपमहाप्रवन्धक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले भारतका अधिकांश विमानस्थलमा यस्तै तरिकाबाट विमानस्थलबाट चरा तथा वन्यजन्तु धपाउने गरिएको भन्दै नेपालमा समेत सोही उपाय अपनाउन सकिने बताए ।

मंगलबार नागरिक उड्डयन संगठन (आइकाओ)को स्थापना दिवस पारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यशालामा आफ्नो प्रस्तुति दिँदै उनले यस्तो माग गरेका हुन् । उनले पर्यटनमन्त्री प्रेम आले तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग यसका लागि सहजीकरण गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा विज्ञहरुद्वारा प्रस्तुत गरिएको तथ्यांक अनुसार सन् २०२१ को १० महिनाको अवधिमा नेपालमा चरा र वन्यजन्तुका कारण उडानमा प्रभाव परेको कुल ५५ वटा घटना रिर्पोटिङ भएका छन् । यस्ता घटना बढी उडान तथा अवतरणका दौरान हुने गरेको पाइएको छ । यसले धावनमार्ग तथा जमिनबाट नजिकको दूरीमा बढी जोखिम हुने गरेको पाइएको छ । तथ्यांक अनुसार यस्तो जोखिम काठमाडौंमा बढी हुने गरेको छ । त्यसो त काठमाडौं बढी जहाजको आवतजावत हुने विमानस्थल समेत हो । काठमाडौंपछि पोखरा, भैरहवा, भरतपुरसहितका विमानस्थलमा यो वर्ष यस्ता घटना भएको देखिएको छ । तथ्यांक अनुसार नेपालमा हरेक वर्ष यस्तो घटना तथा दुर्घटना बढ्दो क्रममा रहेको छ ।

प्राधिकरणका निमित्त उपमहाप्रवन्धक कर्णका अनुसार अहिले चरा तथा जनावरको निगरानी गरी धपाउने काम भइरहेको भन्दै यसमा सरोकारवाला सबैले उत्तिकै भूमिका खेल्नुपर्ने बताए । विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेना र प्रहरीले लिए पनि त्यसमा प्रभावकारी काम नभएको उनको भनाइ छ । मानिसलाई निकै सूक्ष्म तरिकाबाट चेकजाँच गर्ने प्रहरी र सेनाले वन्जन्तु र पंक्षीबाट विमानस्थललाई सुरक्षित बनाउन समेत प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

विमानस्थल निर्माणका दौरान भएका कतिपय त्रुटीका कारण समेत यस्तो जोखिम हुने उनको भनाइ छ । धावनमार्गको नजिकै खाडल नै छाडिदिने, विमानस्थल क्षेत्र भन्दा बाहिरको नजिकै लगाएका बालिनालीमा पन्छी आउँदा त्यसबाट हुने क्षति कम गर्न समेत स्थानीय सरोकारवालासँग समन्वय हुनुपर्ने उनको सुझाव थियो । कुनै बेला धावनमार्ग र चराको रंग उस्तै हुने हुनाले एयर ट्राफिक कन्ट्रोलरले चरा नदेख्दा दुर्घटनाको जोखिम हुने समेत उनले बताए ।

उक्त अवसरमा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले विमानस्थल प्रशासन तथा प्राधिकरणले वेवास्ता गर्दा यात्रु र अपरेटर दुवैले क्षति बेहोर्नु परेको भन्दै हवाई सुरक्षामा गम्भीर हुन प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । उनका अनुसार एउटा जहाजमा चरा ठोक्किएर जहाज ग्राउडेण्ड हुनु, जहाजको मर्मतमा खर्च लाग्नु र ठूलो दुर्घटनामा ज्यान कै क्षति हुने भन्दै यसलाई गमभीर रुपमा लिन आह्वान गरे ।

सचिवले भने : एकसाता भित्रै कार्ययोजनासहित काम थालौं

विमानस्थलमा चरा तथा वन्यजन्तुका कारण हुने जोखिम न्यूनिकरणमा नियमित काम गर्न र त्यसको सहीजकरणमा भूमिका खेल्न पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा एक समिति गठन भई सक्रिय हुनुपर्ने प्रावधान छ । तर, यस्तो बैठक सन् २०१३ यता नबसेको कार्यशालामा जानकारी गराइयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्तो बैठक एक साता भित्रै राखी कार्ययोजना बनाउन शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो समिति सक्रिय भएसँगै विमानस्थलहरुमा घाँस काट्नेदेखि आसपासमा रहेका जोखिम हटाउन सहज हुने उनको भनाइ छ । नेपालका सबै विमानस्थलको पछिल्लो अवस्था अध्ययन गरी सोही अनुसार कार्ययोजना बनाइने उनले बताए । उक्त अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थलहरुलाई सुरक्षित पार्न बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रीले भने सोमबार बजेट पास गर्दैछु, केही थप्न पर्ने भए ल्याउनुहोस्

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले यात्रुको जिउको रक्षा र सेवाप्रदायकको लगानी सुरक्षित गर्न कुनै कसुर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको बजेट आगामी सोमबार पास गर्ने कार्यक्रम रहेको भन्दै उनले चरा तथा वन्यजन्तुबाट विमानस्थलको सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा बजेट चाहिने भए प्रस्ताव ल्याउन प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् ।

विज्ञहरुको सुझाव : भएका नियम कार्यान्वयन गर्नुहोस्

सो अवसरमा विज्ञहरुले भने नेपालले नियम बनाउने तर, कार्यान्वयन नगर्ने परिपाटी हवाई क्षेत्रमा समेत यस्तै रहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठले भएका नियमको अक्षरस पालना गर्ने र लापरवाही गर्नेलाई जवाफदेही बनाउने हो भने धेरै हदसम्म समस्या समाधान हुने बताए ।

प्राधिकरणका अर्का पूर्वमहानिर्देशक त्रिरन्त मानन्धरले त्रिभुवन विमानस्थलको घाँस काट्न ठेक्का दिएको विषय अख्तियारमा पुगेपछि भोग्नु परेकोसास्तीको प्रसंग उठाउँदै प्राधिकरणमा काम गर्नु भन्दा जोखिम नलिई कामै नगर्दा सुरक्षित हुने अवस्था रहेको बताए ।

अर्का पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले बस्ने भनि तोकिएका बैठक नबस्नु, गर्ने भनि तोकिएको जिम्मेवारी पुरा नगर्दा जोखिम कायम रहिरहेको भन्दै त्यसतर्फ लाग्न सुझाव दिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?