+
+

तीन वर्षपछि भलिबलमा फर्किए मानबहादुर, पदक छुने चाहना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर २२ गते १७:०६

२२ मंसिर, काठमाडौं । नेपाली भलिबलमा पछिल्लो पुस्ताको खेलाडीको कुरा गर्दा मानबहादुर श्रेष्ठ नछुट्ने नाम हो । नेपालले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जित्दादेखि एसियन गेम्स खेल्दासम्म उनी नेपाली टीमको महत्वपूर्ण सदस्य थिए ।

विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने मानबहादुरको स्पाइक हेर्न दर्शकहरु उत्साहित हुन्छन् । लयमा छँदै मानबहादुरले तीन वर्षअघि फरक परिस्थितिको सामना गर्नुपर्‍यो, जसले उनको करिअरमा ठूलो क्षति पनि पुर्‍यायो ।

जापानमा भलिबल खेल्न जाँदा मानबहादुरले २०७५-७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गुमाए । आर्मी क्लबको स्वीकृति विना जापान गएका मानबहादुर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिगता खेल्न नआएपछि विभागीय कारबाही भोग्नुपर्‍यो । त्यसपछि उनले नेपालमै भएको पाँचौ संस्करणको सेन्ट्रल जोन र १३ औं दक्षिण एसियाली खेलकुद साग खेल्न पाएनन् । जापानमा एउटा च्यारिटी खेल खेल्दा मानबहादुरले यता नेपालको महत्वपूर्ण प्रतियोगिताहरु गुमाए ।

उनले नेपालमै भएको १३ औं सागमा बिच भलिबल खेलेपनि ६-६ जना खेल्ने भलिबल खेल्न पाएनन् । त्यस्तै सेन्ट्रल जोन भलिबल प्रतियोगिता भने दर्शकदीर्घामा बसेर हेर्न बाध्य भए । त्यतिबेला कोर्टमा नेपाली टीमले अंक गुमाइरहँदा दर्शकदीर्घामा मानबहादुरको आँखा रसाइरहेको हुन्थ्यो । दर्शकहरु पनि मानबहादुर, मानबहादुर भनेर हुटिङ गरिरहेका थिए ।

मानबहादुरसंग २०१९ मा नेपालमा भएको सेन्ट्रल जोन खेल्न नपाएको पीडा अझै छ । ‘राष्ट्रिय टिमबाट सेन्ट्रल जोन र साग खेल्न पाइन । सागमा त बिच भलिबल खेलेर भएपनि अर्को भलिबल बिर्सिएजस्तो भयो । तर सेन्ट्रल जोन त बुढो हुँदा पनि बिर्सन्न होला । त्यो खेल अझै पनि आँखामै छ’ उनी भन्छन् ।

तर अहिले उनी राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा फर्किन पाउँदा खुशी छन् । बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियन्स कपका लागि मानबहादुरसहित १६ अहिले प्रशिक्षणमा छन् । तीमध्ये १२ जना समावेश गरेर डिसेम्बर १२ मा भलिबलको राष्ट्रिय टिमको घोषणा हुनेछ ।

मानबहादुरले राष्ट्रिय टिमबाट पछिल्लो पटक सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्स खेलेका थिए । त्यसपछि उनी पहिलो पटक राष्ट्रिय टिमबाट खेल्ने तयारीमा छन् ।

तीन वर्षपछि फेरि राष्ट्रिय टिमको प्रशिक्षणमा समावेश हुँदा नै मानबहादुर धेरै खुशी छन् । मानबहादुरलाई यस पटक आफूलाई प्रमाणित गर्ने अवसर छ । ‘मेरो र टीमको लक्ष्य भनेकै कसरी हुन्छ पदक ल्याउने भन्ने नै छ । मेडल टच गर्ने नै मेरो भित्री लक्ष्य छ’ उनी भन्छन् ।

आयोजक बंगलादेश र माल्दिभ्सलाई हराउन सके नेपालले पदक जित्ने मानबहादुर बताउँछन् । ‘हामीले खेल्दा बंगलादेश र माल्दिभ्सलाई जितिरहेको हो । अहिले पनि यी दुई टीमलाई जित्न सक्यौँ भने पदक टाढा छैन जस्तो लाग्छ,’ उनले भने । नयाँ थपिएको श्रीलंकासँग यसअघि कडा प्रतिस्पर्धा भएकाले यसपटक जित्ने सम्भावना हुने मानबहादुर बताउँछन् ।

नेपाली टीम प्रशिक्षक हान अविङले पनि आफूबाट धेरै अपेक्षा गरेको मानबहादुरले पनि बुझेका छन् । त्यसैले उनलाई टीममा आफ्नो उपस्थिति देखाउनुपर्ने दबाव पनि छ । ‘मेरो तर्फबाट मानबहादुर टीममा हुँदा र नहुँदाको परिवर्तन देखाउन चाहन्छु’ उनले भने ।

दोस्रो पटक नेपाली टिमको प्रशिक्षण सम्हाल्न आएका नेदलल्याण्डसका हान अविङको यसअघिको प्रशिक्षणमा मानबहादुर थिएनन् । तर हानले मानबहादुरबारे धेरै सुनेका थिए ।

‘मानबहादुर टिममा फर्कँदा खुशी छु । दुई वर्षअघि सबैले मलाई मान राम्रो खेलाडी हो भनेका थिए । मैले भिडियोहरु पनि हेरेँ । उनले टिमको लेभललाई अगाडि बढाउन सहयोग गर्छन् । उनी फर्कनु नेपाली भलिबलको लागि राम्रो हो’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?