+
+
सहमहामन्त्रीका उम्मेदवारलाई ७ प्रश्न :

‘महामन्त्रीमा हैसियत पुगेको छैन, त्यसैले सहमहामन्त्री’

जीवन परियार, उम्मेदवार सहमहामन्त्री, नेपाली कांग्रेस जीवन परियार, उम्मेदवार सहमहामन्त्री, नेपाली कांग्रेस
२०७८ मंसिर २३ गते १८:२४

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ ।

पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो कनिष्ट पदाधिकारी पदमा धेरै नेताहरु आकांक्षी देखिएका छन् । १४ औं महाधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट जीवन परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ नेता परियारसँग अनलाइनखबरका रघुनाथ बजगाईंले गरेको कुराकानी :

१. सहमहामन्त्रीमा तपाईंको उम्मेदवारी किन ?

मैले दुई कार्यकाल केन्द्रीय सदस्य भएर काम गरेँ । अहिले पार्टीले विधान संशोधन गरेर सहमहामन्त्री पदमा दलित कोटा निर्धारण गरेको छ । र त्यो पदमा मैले आफूलाई योग्य ठानेँ । ११ बर्षसम्म केन्द्रीय सदस्य भएको नाताले र यो पदमा बसेर दलित समुदायका साथै पार्टी हितमा काम गर्ने तीव्र इच्छा भएकाले मैले उम्मेदवारी दिने निर्णय गरेँ ।

२. दलित सहमहामन्त्री पदमा तपाईं नै उम्मेदवार किन ?

यो पदमा धेरै नेताहरुले चाहना राख्नु स्वाभाविक हो । तथापि मैले ११ बर्ष केन्द्रीय सदस्य भएर काम गरेँ र पदाधिकारीमा अनुभव भएको व्यक्ति जाने हो । म यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु । सहमहामन्त्री भन्दा माथिल्लो पद महामन्त्री र त्यसभन्दा माथि उपसभापति पद छ । ती पदमा मैले अहिले उम्मेदवारी दिन सक्ने आँट गरिनँ ।

३. तपाईंको क्लस्टर (दलित) मा देखिएका समस्या के हुन् ?

दलित क्लस्टरबाटै दुई पटक केन्द्रीय सदस्य निर्वाचित भएकाले यहाँको समस्याबारे मलाई राम्रो जानकारी छ । मुख्यतः अहिले पनि नेपाली समाजमा जातीय विभेद र छुवाछुतको समस्या छ ।

राज्यको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय आर्थिक, सामाजिक, राजनीतिक, नैतिक दृष्टिकोणबाट पछाडि परेको हुनाले यो समुदायको हक अधिकार संरक्षण, उत्थान र विकास गर्नु आवश्यक छ । कांग्रेसको माध्यमबाट, कांग्रेसको विचार र सिद्धान्तलाई अंगीकार गर्दै दलित समुदायको समस्या समाधान गर्नुपर्ने छ ।

४. खुलामा प्रतिस्पर्धा गर्न छाडेर तपाईंले किन क्लस्टर रोज्नुभयो ? हारिन्छ भन्ने डरले हो ?

पहिलो कुरा त सहमहामन्त्रीमा खुला कोटा छैन । सहमहामन्त्रीभन्दा माथि उम्मेदवारी दिने मेरो हैसियत पुगिसकेको छैन । मेरो आफ्नो योग्यता अनुसार सहमहामन्त्री पद रोजेको हुँ

५. नेताहरुको व्यवस्थापनका लागि मात्रै आरक्षण छुट्याइएको हो कि, यो समुदायलाई नेतृत्वमा ल्याउन पनि सहयोग पुग्छ ?

नेपाल बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक मुलुक हो । यस अनुसार सबै समुदाय र वर्गको प्रतिनिधित्व राजनीतिक पार्टीमा पनि हुनुपर्छ । पार्टीमा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व भयो भने मात्रै पार्टी बलियो हुन्छ ।

पार्टी बलियो भने भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भने देश बलियो हुन्छ । यही सिद्धान्तमा टेकेर कोटाको व्यवस्था गरिएको हो । यो कुनै व्यक्ति विशेषका लागि निर्धारण गरिएको होइन ।

६. तपाईंले सभापतिमा पौडेल समूहको उम्मेदवारलाई किन समर्थन गर्नुभएको ?

म नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको जुन जुन भूमिका रहेँ आजसम्म मैले यो (रामचन्द्र पौडेल) समूह छोडेको छैन । हिजो पार्टी विभाजन हुँदासमेत म यही मूलधारको समूहमा छु ।

गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै रामचन्द्र पौडेलसम्म यही लिगेसीमा रहेर निरन्तर काम गरेको छु । त्यसै कारणले म यही समूहमा रहन चाहन्छु र यही समूहबाट उम्मेदवारी दिन लागेको हुँ ।

७. अघिल्लो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? जितेपछि के गर्नुहुन्छ ?

०६७ सालमा पार्टीको केन्द्रीय सदस्य भएँ । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य भएँ । मैले संविधान सभामा दलित समुदायको हक अधिकारका लागि बुलन्द आवाज उठाएँ । संविधानको मौलिक हकमा लेख्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, रोजगारीमा सहुलियत लगायतका विषयमा पनि आवाज उठाएँ ।

संसदबाट स्थानीय तह निर्वाचन ऐन बन्दै गर्दा संविधानतः प्रत्येक वडामा दुई महिला सदस्य हुने व्यवस्था भएको ठाउँमा म आफैं सक्रिय भएर दुई महिलामध्ये एक दलित महिला हुनुपर्छ भनेर संशोधन प्रस्ताव हालेँ । यसमा सफलता पनि प्राप्त भयो । अहिले प्रत्येक वडामा दलित महिलाहरु निर्वाचित भएर पुगेका छन् । त्यो ऐतिहासिक काम मेरो नेतृत्वमा भयो । मैले केन्द्रीय सदस्यको हैसियतले पार्टीमा पनि दलित समुदायको हक अधिकार स्थापित गर्न, पार्टीलाई समावेशी बनाउन भूमिका खेलेँ ।

जितेपछि के गर्ने ? भन्ने सन्दर्भमा मैले पहिलो एजेण्डा बनाएको छु– लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म, कार्यकर्ताको बीचमा पुर्‍याउने । लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्ने । कुरीति र कुसंस्कार अहिले पनि विद्यमान छ, त्यसलाई अन्त्य गर्ने मेरो अर्को एजेण्डा हुनेछ ।

नेपाली कांग्रेस पार्टीको संगठन निर्माण गर्ने, भातृ संगठन, शुभेच्छुक संगठन निर्माण गर्ने लगायतका विषयमा आफ्नो विवेक र बुद्धिले भ्याएसम्म सक्रिय हुनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?