
२६ मंसिर, काठमाडौं । होटल व्यवसायीहरुले सरकारले बजेटमा घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यान्वयनमा जोड दिएका छन् ।
पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा होटल संघ नेपाल (हान)ले सरकारको घोषणालाई कार्यान्वयन गर्न पर्यटन काज बिदा कार्यविधि पारित गरी अबिलम्ब कार्यान्वयनमा लैजान माग गरिएको छ । सो अवसरमा होटेल व्यवसायीले वातावरण संरक्षण ऐन अनुसार २५ बेडसम्मका होटलले संक्षिप्त वातावरणीय अध्ययन गर्नेपर्ने बाध्यकारी नियम सान्दर्भिक नभएकोमा समेत ध्यानाकर्षण गराएका थिए ।
पर्यटन क्षेत्रमा दर्ता प्रक्रिया झन्झटिलो रहेको भन्दै त्यसमा सुधारको समेत माग होटल व्यवसायीले गरेका छन् । पर्यटनसँग सम्बन्धित ऐन–कानूनहरु ल्याउँदा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने माग समेत गरिएको छ । पर्यटनसँग सम्बन्धित आधिकारिक सूचना पर्यटन विभागबाट सम्बन्धित निकायमा सम्प्रेषण गर्न समेत होटल व्यवसायीले माग राखेका छन् ।
आधिकारिक सूचना पर्यटन विभागको वेबसाइटमा अध्यावधिक गर्न र आवश्यक सूचना तथा तथ्यांक आदान, प्रदान गर्न समेत माग गरिएको छ । भेटमा हानकी अध्यक्ष सृजना राणाले बजेट र मौद्रिक नीतिले सम्बोधन गरेका विषय नै कार्यान्वयनमा नआएको भन्दै महानिर्देशकमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिक्रिया 4