
२६ मंसिर, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका गणेश लामा पनि कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उनले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन् ।
ठमेलमा रेस्टराँको बाउन्सर हुँदा गुण्डा नाइके दीपक मनाङ्गेसँग चिनजान भएपछि उनी गुण्डागर्दीको दुनियाँमा आएका थिए । पछि मनाङ्गेसँग छुट्टिएर उनले छुट्टै समूह चलाएका थिए ।
लामा २०६१ सालमा पानीपोखरीको चुफाङ रेस्टुराँमा अर्का गुण्डा नाइके चक्रे मिलनको हात छिनाएको घटनामा पनि मुछिएका थिए । लामामाथि तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजय गच्छेदारको संरक्षणमा काभ्रेमा रक्तचन्दनको कारोबार गरेको अभियोग पनि थियो ।
लामासँगै चाबहिल क्षेत्रका पुराना गुण्डा नाइके राजु गोर्खालीले पनि कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेवारी दिएका थिए । तर आइतबार उनले उम्मेदवारी फिर्ता लिएका छन् । उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा १० वर्ष जेल बसेका थिए ।
गणेश लामा समूहका सदस्य मनोज आचार्य पनि कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेवार बनेका थिए । सर्लाहीका आचार्य लामासँगै रक्तचन्दन तस्करीमा संलग्न थिए ।
प्रतिक्रिया 4