+
+

सामाजिक सञ्जालको विज्ञापनले झुक्याउला !

नुनुता राई नुनुता राई
२०७८ मंसिर २८ गते १४:४२

२७ मंसिर, काठमाडौं । हिजोआज व्यवसायीहरुले सजिलो र सबैको पहुँचमा पुग्न सामाजिक सञ्जाललाई विज्ञापनको माध्यम बनाइरहेका छन् । सामाजिक सञ्जालमा कुनै एक विज्ञापन क्लिक गरेर हेरेपछि त्यस्तै प्रकृतिका धेरै विज्ञापन देखिन थाल्छ ।

यस्ता विज्ञापनमध्ये ‘आयुर्वेदिक औषधि’का पनि विभिन्न खालका विज्ञापन सामाजिक सञ्जालमा देखिन्छन् । कुनै पनि साइड इफेक्ट बिना शतप्रतिशत ग्यारेन्टीका साथ कपाल झर्न रोक्ने तेल, रुघा बिग्रेको, पिनास, नाकको एलर्जी, सास फेर्न गाह्रो हुने औषधि, हातखुट्टा मर्केको, हड्डी खिइएको, नसा च्यापिएको लगायत हाडजोर्नी सम्बन्धी निको पार्ने जाइफलको तेल, मोटोपन घटाउने कफी, चिया लगायत अनेक सामग्रीको विज्ञापन देख्न सकिन्छ ।

अधिकांशले निःशुल्क अनलाइन डेलिभरी सेवा दिइने भन्दै सम्पर्क नम्बर समेत विज्ञापनमा उल्लेख गरेको पाइन्छ । फेसबुकमा देखिएका यस्ता केही उत्पादन बिक्रेतालाई फोन गरेर बुझ्न खोज्दा उनीहरुले विज्ञापनमा दिइएको गुण एक सासमा भनेको सुनिन्छ । स्लिम प्लस चियाको विज्ञापनमा दिइएको नम्बरमा फोन गर्दा शतप्रतिशत शरीरको अनावश्यक वजन घटाउन सकिने ग्यारेन्टी दिए । फोनमा कुरा गर्ने व्यक्तिले कार्यालय सुकेधारामा रहेको जानकारी दिए ।

उनले एक महिनासम्म दैनिक दुई कपको दरले चिया पिउँदा शतप्रतिशत वजन घट्ने ग्यारेन्टी दिंदै भने, ‘नभए हामी तपाईंको सबै पैसा फिर्ता दिन्छौं ।’ पछि थप्दै खान शुरु गरेको हप्ताभित्र चिया पिएपछि हुनुपर्ने जे कुरा हो त्यो नभएपछि बाँकी भएको सामान लिएर गए तिरेको सबै पैसा फिर्ता पाइने बताए । नतिजा देखिनको लागि कम्तिमा एक महिना नियमित पिउनैपर्ने उनको भनाइ छ । उनका अनुसार उक्त चिया पिएको एक हप्ताभित्र यो लक्षण देखिएन भने बाँकी रहेको सामान सहित जानुपर्ने हुन्छ ।

गर्भवती महिलाले पिउन नहुने यो चियाको मूल्य ९९९ रुपैयाँ पर्ने उनले बताए । जसमा ३० वटा टी ब्याग हुन्छ । शिवशक्ति हर्बलले उत्पादन गरेको चियाले ‘धेरैको उद्घार’ भएको उनको दाबी छ ।

साइनस फ्रि (गार्लिक वइल)को विज्ञापन पनि फेसबुकमा देख्न सकिन्छ । यसको प्रयोगले रुघा बिग्रेको, नाक बन्द भएको, पिनास, नाकको एलर्जी, हाच्छ्यूँ आइरहने, सास फेर्न गाह्रो हुने लगायतका समस्या समाधान गर्ने उल्लेख गरिएको छ । विज्ञापनमा भएको सम्पर्क नम्बरमा फोन गर्दा ढिलो चाँडो ग्यारेन्टीका साथ निको हुने बताइयो ।

जानकारी दिने क्रममा त्यहाँ कार्यरत् व्यक्तिले भने, ‘तपाईंको समस्या कहिलेदेखिको हो भन्ने कुराले फरक पार्छ । ढिलोचाँडो निको हुन्छ । जति पुरानो त्यति समय भने लाग्छ ।’ अनेक औषधि गरेर यस्ता समस्या समाधान नभएकाहरु यो उत्पादन प्रयोग गरेपछि निको भएको उनले दाबी गरे । यो उत्पादनले शतप्रतिशत काम गरिरहेको भन्दै विज्ञापनमा आएको कमेन्ट पढ्न समेत आग्रह गरे । उनले भने, ‘तपाईंले कमेन्ट बक्समा आएको प्रतिक्रिया पढेर पनि विश्वास गर्न सक्नुहुन्छ । त्यहाँ धेरैले समस्याबाट छुट्कारा पाएको बताउनुभएको छ ।’

यसैगरी कपाल झर्नबाट रोक्ने प्याजको तेल भनेर फरक–फरक प्याकेटमा धेरै देख्न सकिन्छ । अधिकांश सामग्रीको मूल्य १,००० रुपैयाँ राखिएको पाइन्छ ।

उपभोक्ता संरक्षण ऐनले यस्ता भ्रमपूर्ण विज्ञापनलाई अपराध मानेको छ । तर उपभोक्ता ठगिएको उजुरी नआएसम्म यस्ता सामग्री बिक्री वितरणमा रोक लगाउन नमिल्ने वाणिज्य विभागका निर्देशक हरि पंगेनी बताउँछन् । उनी भन्छन्, ‘आवश्यकता अनुसार चिया, कफी पिएर वजन घटाउने विज्ञापनहरु त भ्रमपूर्ण नै हुन् । तर उपभोक्ताको उजुरी नआएसम्म हामीले रोक लगाउन मिल्दैन ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की अहिले विभिन्न रोगको औषधिको नाममा गलत काम भइरहेकाले यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नुपर्ने बताउँछन् । ‘यो एकदमै वाहियात र गलत भइरहेको छ । यस्ता उत्पादकहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन्,’ उनले भने, ‘औषधि विभागको ध्यान जानुपर्छ । यसलाई कडाइका साथ नियमन गर्नुपर्छ ।’

यस्ता वस्तुहरु खाद्य सामग्रीको रुपमा उत्पादन भइरहेकाले खाद्य तथा औषधि व्यवस्था विभागमा जानुपर्छ भन्ने आवाज उठाइरहेको पनि डा. कार्कीले बताए । सरकारले नै यस्ता उत्पादनहरुको प्रभावकारी अनुगमन गरी रोक लगाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘सर्वसाधारण पनि सचेत हुनुपर्छ । यस्ता उत्पादन जथाभावी वा विज्ञापनको भर परेर प्रयोग गर्नुहुँदैन । यसले भोलि अर्को जोखिम निम्त्याउन सक्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?