+
+

शेखरले किन पाएनन् भाइबहिनीकै साथ ?

गौरव पोखरेल गौरव पोखरेल
२०७८ पुष १ गते १९:००

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउनु चार महिनाअघि डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकैठाउँ भेला भएर ‘लञ्च मिटिङ’ गरे । तत्कालीन रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षी धेरै भएका बेला केन्द्रीय कमिटीमा रहेका तीन कोइरालाले महामन्त्री शशांकको महाराजगञ्जस्थित निवासमा भेला भएर आफूहरु एकजुट रहेको सन्देश दिन खोजेका थिए ।

नेतात्रयले कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन एकजुट हुने सन्देश दिएको यो पहलो पटक थिएन । पछिल्ला वर्षहरुमा तीनै जनाले पटकपटक कोइराला परिवारबाटै एउटै उम्मेदवार हुने पनि बताइरहेका थिए ।

तर ४९ वर्ष कांग्रेसको नेतृत्व गरेको कोइराला परिवारका तेस्रो पुस्ताका तीन नेता महाधिवेशनमा एकठाउँमा उभिन सकेनन् । तत्कालीन पौडेल समूहले १४औं महाधिवेशनको उद्घाटनको दिनसम्म गरेको छलफलहरूमा शशांकले दाजु शेखरलाई समर्थन गरेनन्, बरु रामचन्द्र पौडेलको नाममा सहमति जुट्छ भने आफू छाड्न तयार छु भनिदिए ।

पौडलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले छाड्ने नभए आफ्नो टिममा बस्नुपर्ने बताए । तर प्रकाशमान र शेखरले दुबैलाई एकअर्कालाई स्वीकार गरेनन् । शेखर, पौडेलको टिममा बस्न तयार भएका थिए, तर प्रकाशमान मानेनन् र साझा उम्मेदवार बन्न सकेन ।

पौडेलले नेतृत्वको प्रतिष्पर्धाबाट अलग हुने घोषणा गरे, प्रकाशमान र शेखर सभापतिको उम्मेदवार बने । तत्कालीन पौडेल समूहका अधिकांश नेताले शेखरलाई साथ दिए, तर उनले भाइ शशांक र सुजाताकै साथ पाएनन् । गिरिजापुत्री सुजाता, प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । शशांकले पनि सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवासँग पटकपटक भेट गरेका थिए ।

यद्यपि सार्वजनिक रुपमा उनको समर्थनमा खुल्न सकेनन् । तर शेखरका लागि पनि लागेनन् । सोमबार मतदानस्थलमा सञ्चारकर्मीहरुले सोधेको एक प्रश्नमा उनले भनेका थिए, ‘मलाई दुवै गुटले मनपराएका छन् तर, म अहिलेको अवस्थामा कुनै पनि गुटको प्रतिनिधित्व गर्दिन ।’

शेखर निकट एक नेताको भनाइमा उनले म कुनै गुटमा छैन भन्नु नै देउवालाई समर्थन गर्नु थियो । किनकी उनी लामो समय तत्कालीन राममन्द्र पौडेल समूहमा थिए र त्यो समूहबाट शेखरले उम्मेदवारी दिएका थिए । शेखर निकट एक नेता भन्छन्, ‘उहाँ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार नै जानुभयो, त्यसैले उहाँको समर्थन कता थियो भन्ने स्पष्ट भइहाल्यो नि ।’

अन्ततः सभापतिमा शेखरको पराजयमा लागि परिवारका तीन नेता छिन्नभिन्न हुनुपनि एउटा कारण बन्यो ।

शशांक र सुजाताको स्वार्थ

शेखरनिकट एक नेताको भनाइमा १३ औं महाधिवेशनमै उनले महामन्त्रीमा उम्मेवारी दिने तयारी गरेका थिए । तर बीपी पुत्र शशांकले महामन्त्रीमा उठ्छु भनेपनि आफ्नो दाबेदारी छाडे । ‘यसपटक त्यसैगरी शशांकले आफूलाई छाडेर सहयोग गरिदिउन् भन्ने उहाँको चाहना थियो’ ती नेता भन्छन् ।

शशांकले चाहिँ आफू निकटस्थहरुलाई ‘शेखर दाइले जित्न सक्नुहुन्न’ भन्ने गरेको स्रोत बताउँछ । शेखर र शशांकको बीचमा मध्यस्थ गर्न गएकाहरुलाई पनि उनले यही जवाफ दिने गरेको बताइन्छ । ‘तर हामी तपाईंहरु मिल्नुभयो भने जित्नुहुन्छ भन्थ्यौं’ शेखर निकट एक नेता भन्छन् ।

शेखरले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमध्ये सबभन्दा धेरै भोट ल्याएका थिए । ‘त्यतिवेलैबाट उहाँले सभापतिमा लड्ने गरी देश दौडाह सुरु गर्नुभएको थियो’ एक नेता भन्छन्, ‘पाँच वर्ष उहाँले यति धेरै मेहनत गर्नुभयो कि पछि हट्ने कुरै थिएन ।’

अझ महामन्त्रीको भूमिका उठेको प्रश्नले शशांकभन्दा आफू बलियो दाबेदार भएको शेखरको बुझाइ थियो । महामन्त्रीका रुपमा देउवासँग चाहिनेभन्दा धेरै निकट भएको संस्थापन इतर पक्षले आरोप लगाउने गरेको थियो । ‘शेरबहादुर देउवाबाट शशांक कुनै न कुनै रुपमा उनी प्रभावित थिए, पछिल्लो ४/५ वर्ष उहाँले देउवालाई आँखा चिम्लिएर सहयोग गर्नु भएकै हो’ एक नेता भन्छन् ।

पछिल्लो पटक शशांकले समर्थन गर्ने छनक दिएपछि शेखरले प्रयास पनि गरेका थिए । सर्लाहीमा कार्यकर्ता भेटघाटका क्रममा शशांकले प्रकाशमान र रामचन्द्र पौडेललाई मनाए आफूले छाड्ने बताएपछि शेखरले आफूलाई समर्थन गराउने प्रयास गरे । उनी निकटवर्तीहरुका अनुसार शशांक पत्रकार सम्मेलन गरेर सभापतिमा दाजु शेखरलाई समर्थन गरेको घोषणा गर्न तयार पनि भइसकेका थिए, तर उनी निकट केहीले भाँडे ।

यसको कारण शेखरलाई परिवारभित्रै स्वीकार गर्न नसक्नु पनि भएको मानिन्छ । कृष्णप्रसाद कोइरालाका पाँच छोराहरुमध्ये बीपी, मात्रिका, गिरिजा र तारणिप्रसाद राजनीतिमा सक्रिय भए । बीपी, मात्रिकासँगै गिरिजा प्रधानमन्त्री नै भए । तर केशवले राजनीति गरेनन्, घर परिवार सम्हाले ।

केशवकी पत्नी नोना कोइराला राजनीतिमै थिइन्, बीपीको निधनपछि गिरिजाप्रसादलाई उनले ठूलो आडभरोसा, साथ दिइन् । पार्टी नेतृत्वमा स्थापित गर्न भूमिका खेलिन् । तर उनकै छोरा शेखरलाई परिवारको लिगेसीसँग जोड्न कोइरालाहरुले त्यति रुचाएनन् । ‘उहाँ (नोना) को धेरै योगदान भएपनि पितृसत्तात्मक देशमा आमाको लिगेसी चल्दैन’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि भन्छन्, ‘योगदानको कुरा गर्ने हो भने उहाँ ८ वर्ष जेल बस्नु भएको छ, उहाँको जस्तो महिला नेपालमा कमै छन् ।’

गिरीजा पुत्री सुजाताले शेखरलाई साथ नदिनुमा अर्को पनि कारण छ, निर्वाचन क्षेत्रको समस्या । सुजाताको रुची मोरङ क्षेत्र नम्बर २ मा थियो । त्यहाँ अहिले मिनेन्द्र रिजाल छन् । शशांक निकट उनी पछिल्लो समय शेखरको टिमबाट महामन्त्री बने, त्यसको रियाक्सन पनि भएको एक नेताले सुनाए ।

परिणामतः सभापतिमा शेखर पराजित भए । तर पछिल्लो ५ वर्ष समूहको नेतृत्व गरेका रामचन्द्र पौडेलको साथ, प्रकाशमान सिंहको छुट्टै उम्मेदवार अनि, भाइ र बहिनीको असहयोगका बाबजुद शेखरले ४० प्रतिशत मत पाएका छन् । र, त्यही मतको बलमा नेताका रुपमा उदाएका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?