
१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।
महामन्त्रीको प्रारम्भीक मतगणनाले आफ्नो हार हुने देखेपछि नै उनले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । अन्तिम परिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन् ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
महाधिवेशनको परिणामले पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएको भन्दै उनले राजीनामा पत्रमा लेखेका छन्, ‘यसलाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहनु नैतिक रुपमा उपयुक्त हुन्न तसर्थ रक्षामन्त्री पदबाट राजीनामा पदिएको छु ।’
डा. रिजालका अनुसार राजीनामा दिने घोषणा गरेपछि पार्टीका नेताद्धय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गरेका थिए ।
तर आफूले भावावेशमा निर्णय नगरेको उनले बताएका छ्न् । राजीनामापछि रक्षा मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो (रक्षामन्त्रीबाट राजीनामा दिने) निर्णय उपयुक्त छ ।’
प्रतिक्रिया 4