+
+
चार क्रिकेटरको अपील :

ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १७:१०

२ पुस, काठमाडौं । ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले आफूहरूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका हुन् ।

उनीहरुले क्रिकेट संघले गरेको ग्रेडिङमा असन्तुष्टि जनाएका थिए । त्यसबारे सञ्चारमाध्यममा दिएको प्रतिक्रियालाई लिएर स्पष्टीकरण सोधेको क्यानले २९ मंसिरमा चार जनालाई कारबाही गरेको थियो । मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै चारै जनालाई २०२२ को ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गरेको थियो ।

कारबाहीमा परेका खेलाडीहरुले भने आफूहरुले ग्रेडिङमा त्रुटि देखेको र त्यसलाई सच्याउन आग्रह गरेको बताएका छन् । त्यसकै आधारमा कारबाही गर्ने  क्यानको निर्णयले आफूहरुलाई दुःखी बनाएको उनीहरूले बताएका छन् ।

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ?,’ उनीहरूले भनेका छन्, ‘आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’

चार क्रिकेटरले अहिले पनि समस्याको समाधान होस् र खेलका लागि वतावरण बनोस् भन्ने चाहेको बताएका छन् । यसका लागि क्यानले निर्णय पुनर्विचार गर्नुपर्ने भन्दै उनीहरुले भनेका छन्, ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’

 

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

२०७८।०९।०२

 

प्रेस विज्ञप्ति

नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ । यति बेला हामी खेलाडीहरु T-20 ग्लोबल क्वालिफायर र WCLC जस्ता महत्वपूर्ण प्रतियोगिताहरुको तयारीमा व्यस्त हुन पाउनुपर्ने थियो । तर आफैं स्पष्टीकरण दिइहिँड्नु पर्ने अवस्था बनेको छ, यो राम्रो लागेको छैन ।

तर नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरुले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो । क्रिकेट संघको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौंला भन्ने थियो । तर क्रिकेट संघले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरुले पनि त्यसबारे सञ्चार माध्यमहरुमा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौं ।

नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरुले कस्तो कठिन अवस्थामा पनि क्रिेकट खेलिरह्यौं, तपाईंहरुलाई भनिरहनु नपर्ला । हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौं । तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौं ? सोधेनौं, खोजेनौं । हामी खेलाडीहरुको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरुलाई खुसी दिने ।

हिजो हामी डिजिभन फाइभमा थियौं । खेलाडीहरुको मेहनत र सबैको साथ सहयोगले नेपालले T-20 विश्वकप खेल्यो, ODI नेशनको मान्यता पायो । केही ऐतिहासिक सिरिज पनि जित्यौं । यो सफलतालाई निरन्तरता दिने मात्र होइन, अझ माथि लैजान सकियोस् हामी चाहन्छौं । तर यसका लागि मैदानमा खेलाडीहरुको मेहनतसँगै मैदान बाहिर पनि त्यही अनुसार वातावरण बनोस् भन्ने चाहन्छौं ।

तर पछिल्लो समय खेलाडीहरुको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्त्यै दुःखी बनाएको छ । हामीले बुझेको खेलाडीहरुको ग्रेडिङ उसले पाउने तलब मात्र होइन, देशका लागि गरेको योगदानको कदर पनि हो, अझ राम्रो गर्न प्रोत्साहन पनि हो ।

नेपाली क्रिकेटमा सन् २०१५ तिर ग्रेडिङको सुरुवात भयो । हामीले बुझेसम्म नेपाल T-20 विश्वकपमा पुगपेछि आईसीसीले प्लेयर्स बेनिफिट फण्डबाट ५० हजार डलर टिमलाई खर्च गर्ने गरी उपलब्ध गराएको थियो । त्यसबेला तत्कालीन क्यान, प्रशिक्षक, कप्तान, उपकप्तान र केही सिनियर खेलाडीहरुबीच छलफल गरेर यो रकमलाई राष्ट्रिय टिमका १४/१५ खेलाडीलाई मात्र नभई क्याम्पमा रहेका अन्य खेलाडीसम्म पनि समेटेर अगाडि बढ्ने निष्कर्षमा पुग्यौं । त्यसअनुसार खेलाडीहरुको ग्रेडिङ गर्ने र मासिक तलब लिने व्यवस्था भयो । यसले हामी खेलाडीहरुको मनबल बढ्ने हाम्रो विश्वास थियो ।

तर त्यसमा समस्या देखिन थाल्यो । समयमा तलब आएन, त्रिकेट संघ निलम्बनमा परेको बेला भनेर हामीले चित्त बुझयौं । जब क्यानको निलम्बन हट्यो, हामीलाई लागेको थियो अब अवस्था सहज हुँदै जाने छ । तर दुःखका साथ भन्नुपर्छ, क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा पर्‍यो । हामीले पनि आफ्नो धारणा राख्यौं, क्यान पनि छलफलका लागि तयार भयो । छलफलमा ग्रेडिङमा परेकाहरुलाई कायमै राख्दै अपग्रेड हुनुपर्नेहरुलाई अपग्रेड गर्ने, जो खेलाडीहरु ग्रेडिङमा छुटेका छन्, उनीहरुलाई समावेश गर्ने र आगामी दिनमा निश्चित मापदण्ड बनाएर समयमै सम्झौता गर्ने सहमति भएको थियो ।

तर २०२१ को ग्रेडिङ पनि पूर्वसहमति अनुसार समयमै हुन सकेन । सुरुको तीन महिना अघिल्लो वर्षकै ग्रेडिङका आधार विना सम्झौता हामीलाई तलब दिइयो । त्यसपछि पनि ग्रेडिङमा प्रगति भएन, एकै पटक अक्टोबर अन्त्यतिर खेलाडीलाई बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो । मापदण्ड कस्तो बनेको छ, किन यो ग्रेडमा परेको हो भन्ने समेत जानकारी दिइएन । मापदण्ड बनाउँदा कप्तान, उपकप्तान र सिनियर खेलाडीहरुसँग परामर्श गर्ने विगतको परम्परा पनि तोडियो । केही खेलाडीले सम्झौतामा हस्ताक्षर गरे, तर ग्रेडिङमा त्रुटि भएको थाहा भयो । म स्वयंयले कार्यबाहक सचिवलाई फोन गरेर यसबारे जानकारी गराएको थिएँ । किनकी लागेको थियो, क्यानले सम्वाद गर्ला, विगतमा झै सम्वाद र छलफलको माध्यमबाट कमीकमजोरी पहिल्याएर सच्याउने अग्रसता लेला ।

क्यानका पदाधिकारीहरुले पनि सार्वजनिक रुपमै स्वीकार गर्नुभएको थियो कि अप्रिल/मेमा मापदण्ड र ग्रेडिङ तयार भएको तर, अक्टोबरको बोर्ड बैठकमा पेश गरेर पास गरेका कारण यस्तो अवस्था आएको हो । ग्रेडिङ समयमै हुनुपथ्र्यो । जे सुकै कारणले होस्, १० महिना ढिला भइसकेको अवस्थामा राष्ट्रिय टिममा भएका, तर ग्रेडिङ छुटेकाहरुलाई पनि समावेश गरौं । ग्रेडिङमा पनि आवश्यकता अनुसार सुधार गरौं र आगामी दिनमा मापदण्ड बनाएर, त्यसअनुसार २०२२ समयमै सेन्ट्रल कन्ट्याक्ट होस् । यसका लागि क्यानले अग्रसरता लेओस् । क्यानका पदाधिकारीहरुसँग भएको सम्वादहरुमा पनि त्यही भनेका थियौं ।

तर उल्टो सम्झौतामा हस्ताक्षर नगरेको तथा ग्रेडिङमा असन्तुष्टि जनाएको विषयलाई लिएर हामीलाई स्पष्टीकरण सोध्ने काम भयो । जवाफ दिनु हाम्रो कर्तव्य थियो, त्यसैले मापदण्डमा भएको त्रुटि सच्याउनुपर्ने मतसहित जवाफ दियौं । टिममा रहेका अरु साथीहरुले पनि ग्रेडिङमा त्रुटि भएको सच्याउनुपर्ने धारणा राखेपछि हामीले क्यानको ध्यानाकर्षण गरायौं । हामीले खेलाडीहरुले पाउँदै पाएको म्याच फि नपाएको, भत्ता पहिला भन्दा कम भएको, बिमा, रिह्याब नभएको, त्रिदेशीय सिरिज जितेको प्रोत्साहन स्वरुप पुरस्कारका लागि पहल गर्नुपर्ने लगायतका विषयमा पनि हामीले लिखित रुपमै ध्यानाकर्षण गराएका हौं । त्यसपछि क्यानले छलफलमा बोलायो । काठमाडौंमा उपलब्ध खेलाडीहरुसँग भएको त्यो छलफलमा सहभागी क्यानका केही पदाधिकारी र कर्मचारीहरुले सबै खेलाडीलाई मापदण्ड र सम्झौताका साथै अरु विषयमा पनि लिखित रुपमै जानकारी गराउने भन्नु भएको थियो । तर अहिलेसम्म कुनै जनकारी लिइएको छैन ।

बरु केही दिनमै हामी चार जनालाई पहिलोको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनियो । हामीले दोस्रो पटक उहाँहरुलाई जवाफ दियौं । हामीलाई लागेको थियो, हामीले उठाएका विषयमा क्यानको बोर्ड बैठकमा छलफल होला, निकास खोज्ला । तर क्यानका कतिपय पदाधिकारीबाट सार्वजनिक रुपमा हामीलाई लान्छना लगाउने, कारबाही गर्नेसम्मका धम्की दिने काम भयो । तर एक्कासी कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरु आए । यसले हामीलाई निकै दुःखी बनाएको छ । के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?

हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।

ज्ञानेन्द्र मल्ल
दीपेन्द्र सिंह ऐरी
सोमपाल कामी
कमल सिंह ऐरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?