
२ पुस, काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वायुसेवा कम्पनीहरुका अध्यक्ष, प्रवन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्चपदस्थ पदाधिकारीबाट नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थापाले यसअघि तीन पटक संघलाई नेतृत्व गरिसकेका छन् ।
सो अवसरमा थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणमा बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने भन्दै उनले यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गरिने बताए ।
विमानस्थलहरुमा चराचुरुङ्गी तथा जनावरको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको घटनासमेत बढी रहेको भन्दै उनले यसले जहाजहरु ग्राउण्डेड भएको बताए ।
संघको २१ औं साधारणसभाबाट उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल चयन भएका छन् । द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतिय उपाध्यक्षमा निमा नुरु शेर्पा (अल्टिच्यूड एयर) चुनिएका छन् ।
महासचिवमा मनोज कार्की (समिट एयर), सचिवमा राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्षमा रुपेश जोशी (बुद्ध एयर) छानिएका छन् ।
सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस्) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस्) चयन भएका छन् ।
विमानस्थललाई सुरक्षित बनाउन बजेट छुट्याएका छौं : मन्त्री
आयोनको २१ औं वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलहरुलाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट छु्ट्याएको जानकारी गराए ।
उनले हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्दै सुरक्षित उडानको सुनिश्चितताका लागि सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने समेत बताए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कमिकमजोरी भएको भए सुधार गर्नुपर्ने र कडिकडाउ समेत गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै यो हवाई सुरक्षाका लागि आवश्यक भएको समेत बताए । यसमा निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई सुरक्षा अभिवृद्धिका लागि प्राधिकरण सचेत रहेको बताए ।
आयोनले २१ औं वार्षिक साधारणसभाका अवसरमा हवाई क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
प्रतिक्रिया 4