+
+
नाता :

आँशु लुकाएर छोरीचेलीको बिदाइ गर्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १५:५६

३ पुस, काठमाडौं । एउटै कोखमा जन्मिएर, एउटै काखमा खेलेर, एउटै आँगनमा हुर्किएका छोरीचेली सधैं आफ्नो साथमा हुँदैनन् । कुनै यस्तो समय आउँछ, जतिबेला आफ्नी छोरीचेलीलाई अन्माएर पराइको हातमा सुम्पनुपर्छ । यो क्षण एउटा माइतीको मन कति रसाउँछ होला ? वेदनाले कति दुख्छ होला ?

दिदीलाई अझै पनि माइतीघर नै आफ्नो घर लाग्छ रे
अमर न्यौपाने, साहित्यकार

मेरो एक जना दिदी । दिदीलाई अन्माउँदा म १९ वर्षको थिए । दिदीलाई अन्माउने बेलामा आमा एकदमै रुनुभएको थियो । आमा रोएपछि आमालाई सम्हाल्नुपर्‍यो । आमालाई सम्झाउँदा त्यो क्षण मैले धेरै चिन्ता मान्नै पाइन । मैले फेरि बोध गरिसकेको थिएँ, कि दिदी त बिहे गरेर पो गएको त ! आउने-जाने भइहाल्छ । मलाई पनि एकदमै नरमाइलो लागेको थियो । एकदमै खिन्न थिए ।

म चाहिं घरमा, दिदी नयाँ घरमा जाने । नयाँ मान्छेसँग नयाँ संसार बसाउने रे भन्ने खालको कुरा दिमागमा आएको थियो । यतिका वर्ष बिताएको आफ्नो घर, आफ्ना बाबुआमा, भाइ सबैकुरा छाडेर जानुपर्ने रहेछ भन्ने खालको कुरा सो समय दिमागमा थियो ।

दिदीको विवाह भएको २७ वर्ष भयो । चार जना छोराछोरी छन् । घर गएर माकुराको जालो सफा गर्दा, आँगन बढार्दा, भित्र भान्सामा काम गर्दा के लाग्छ रे भने मेरो विवाह नै भएको छैन । म त्यही पहिलेकै उमेरमा छु । यो मेरो घर नै हो जस्तो लाग्छ रे । दिदीले यस्ता कुराहरु भनिरहेकी हुन्छ । जन्मघरसँग छुट्टएिपनि भावनात्मक रुपले कहिल्यै छुट्टएिको हुँदैन ।

दिदीको घर चितवन विजयनगर हो । माइतबाट घर जाँदा मैले साइकलमा छाड्न जान्थें । दिदीले बेलुका जाउँ भन्थी । केही समय भएपनि माइतीमा बिताउँ भन्ने हुन्थ्यो । भिनाजु काठमाडौं हुनुहुन्थ्यो, घरव्यवहार हुन्थ्यो ।

पहिले उस्तै परे माइतीबाट छुट्टँिदा आँशु पनि आउँथ्यो । विस्तारै आफ्नो छोराछोरी भएपछि जिम्मेवारी बढ्दै गए । जिम्मेवारी बढ्दै गएपनि मन हुँदाहुँदै कर्तव्य र जिम्मेवारीले थिच्दोरहेछ ।

चेलीको भावना बुझाइको सन्दर्भमा व्यक्तिमा भर पर्छ । यो आजको एकदिनको प्रक्रिया होइन । एक जनाको पनि होइन । यो हजारौं वर्ष अगाडिदेखिको परम्परा भइसकेपछि यो संसारको एउटा नियम नै हुँदोरहेछ ।

फेरि पुरुषले पनि नयाँ महिलालाई ल्याएर आफ्नो परिवारको सबैभन्दा ठूलो संगी बनाएको छ । घरमा आमा हुनुहुन्थ्यो, अरु सदस्यहरु हुनुहुन्थ्यो । आमाले लौ छोरोलाई हेर्ने जिम्मा तिम्रो भनेर नयाँ महिलालाई सुम्पिएको छ । घरको चाबीदेखि अन्य जिम्मेवारीहरु सबै दिएको छ । त्यो पनि त सानो कुरा होइन ।

त्यसकारण दुईवटै कुरा महत्वपूर्ण छ । एकातिर छाड्नुपर्ने, अर्कोतिर प्राप्ति । प्राप्ति भएन भने पनि निराशा हुनसक्छ । भावनाको बुझाइ चाहिं व्यक्ति अनुसार फरक-फरक हुन्छ ।

बहिनीलाई अन्माएर पठाएपछि घरमा सन्नाटा छायो
एकनारायण भण्डारी, गीतकार

मेरो एक जना बहिनी । बहिनीको विवाह भएको १०/१२ वर्ष भयो । अन्माएर पठाउँदा त कसलाई पो खुशी लाग्ला र ? बहिनी घरको शोभा हुँदोरहेछ । एकदमै सहयोगी खालको हुने । बहिनी आज सर्ट धोइदेउन भने पनि सुहाउने, चिया पकाएर ल्याऊ भने पनि मान्ने । ठ्याक्कै आमाको अर्को रुप लाग्छ । बहिनीलाई अन्माएर पठाएपनि त्यो अभाव महसुस भयो ।

बहिनी माइत आउँदा, हामी सबैलाई देख्दा उसको हाउभाउबाट पनि त्यो कुरा बुझिन्छ । माइतीघरमा टेक्नेबित्तिकै ओठमा आउने मुस्कानले पनि माइतीघरप्रतिको प्रेमलाई देखाउँछ जस्तो लाग्छ ।

बहिनीको विवाह भर्खर-भर्खर भएको समयमा म काठमाडौं बस्थें । त्यसकारण बहिनी माइती आएको, फर्किंदाको अनुभूति देख्न पाइन । विवाहपछि बहिनी काठमाडौं मसँगै बसेर पढिन् । सो कारण विवाह भएपनि त्यस्तो टाढा भएको खालको अनुभूति भएन ।
चेलीले घर छाडेर जानु, नयाँ व्यक्तिलाई आफ्नो परिवार बनाएर बस्नु, त्यहाँ गर्ने दुःख संघर्ष बुझेर बुझिँदैन जस्तो लाग्छ । धेरै नै दुःख हुन्छ होला जस्तो लाग्छ । चेलीका भावनालाई बुझ्नै सकिँदैन जस्तो पनि लाग्छ ।

म पहिलोपटक घर छाडेर पढ्न काठमाडौं आउँदा स्याङजा लेखेको बस देखेर रुन्थें । भनेपछि घर नै छाडेर नयाँ घरमा जाँदा कत्ति पीडा हुँदो हो । पुरुषले त्यति गर्न सक्दैनथ्यो जस्तो लाग्छ । महिलाहरु सहनशीलता, धैर्यताका खानी हुन् जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?