+
+

‘नवचासोकर्ता’ र नेपाली राजनीतिको भेडापारा !

आजको पुस्ता जसलाई मैले यो लेखमा ‘नवचासोकर्ता’ भनेको छु, उसले मलाई राजनीति मन पर्दैन, आइ हेट पोलिटिक्स भन्नुको अर्थ पनि राजनीतिमा थोरै चासो दिएको उपज हो।

गणेश कार्की गणेश कार्की
२०७८ पुष ३ गते १३:२४

 ‘नवचासोकर्ता’ भनेका जिज्ञासु होइनन् किनकि यिनीहरुले जवाफ खोज्ने जाँगर गर्दैनन्। ‘नवचासोकर्ता’ भनेर तिनीहरुलाई भनेको हुँ, जसले सामाजिक सञ्जाल घिसार्दै गर्दा मात्रै राजनीतिलाई देखेको महसूस गर्छ र सामाजिक सञ्जालमा प्रतिक्रिया दिने हतारोमा हुन्छ। जसलाई आफ्नै देशको इतिहासका बारेमा त्यति मात्रै ‘ज्ञान’ छ, जति फेसबुकका ट्रोल र मिम पेजहरुमा बाँडिन्छन्।

नेपाली कांग्रेसको महाधिवेशनमा नाङ्ला जत्रा पुरानै शैलीको कागजे मतपत्र छापियो। र, ठूलाठूला पानीट्यांकीलाई मतपेटिका बनाइयो। धेरैलाई ती मतपत्र र पानीट्यांकी समय सुहाउँदिलो लागेनन्। ती मतपत्रमा भोट हाल्न मात्रै होइन, गन्न पनि निकै समय लाग्नेथियो।

विकल्पमा आधुनिक भोटिङ मेसिन आइसकेको छ। एमालेले आफ्नो महाधिवेशनमा भोटिङ मेसिन प्रयोग गरेर मतगणना चुस्त र छिटो बनाउन धेरै हदसम्म सफल भइसकेको थियो। कांग्रेसले त्यसको अनुकरण मात्रै गरे पुग्थ्यो तर कांग्रेसले पुरानै चाल छोडेन।

सामाजिक सञ्जालमा त्यसलाई आलोचना, विरोध गरेको देखियो। तर नेपाली कांग्रेसकै नेता, कार्यकर्ता र समर्थकहरुले त्यो विषयमा त्यति चर्चा गरेको देखिएन। गैरकांग्रेसहरुको त्यो आलोचनासँगै कांग्रेसपक्षले नेतृत्वलाई समयानुकूल बनाउने दबाब दिन ‘हो मा हो’ को आवाज मात्रै पनि थप गर्न सक्थे तर त्यो पनि खासै देखिएन।

कांग्रेसहरु जो महाधिवेशन प्रतिनिधि छन्, शायद आफूले नाङ्ला जत्रा मतपत्रमा झन्डै एक घण्टा लगाएर कसलाई भोट हाल्नुपर्ने हो भन्ने आदेश सुन्न, दोहोर्‍याउन र सोही बमोजिम भोट हाल्ने ध्याउन्नमा मात्रै थिए; जो प्रतिनिधि नभएर पनि महाधिवेशनमा नै थिए, ती कसलाई भोट हाल्ने भनेर माथिबाट आएको आदेशलाई थप चर्को बनाउँदै पर फैलाउन राखिएका माइकहरु जस्ता मात्रै थिए। र, जो महाधिवेशनमा थिएनन्, तिनको पनि तन मात्रै बाहिर तर मन भृकुटीमण्डपकै महाधिवेशनमा थियो शायद। ती पनि उम्दो गरी बोलेनन्।

राजनीति मानव समाजको प्राणवायु अक्सिजन जस्तो हो, कसैलाई यो जति नै मन नपरे पनि लिनै पर्छ वा त्यसको मात्रा, प्रदूषणले पार्ने फरक भोग्नै पर्छ। यसबाट भाग्न खोज्नु समाधान हुँदै होइन। बरु अज्ञानता वा अहमताले अध्ययन र परिवर्तनबाट भाग्ने अर्को किसिमको भेडो बन्नु हो।

‘नवचासोकर्ता’ले भेडापाराको दृश्य यहाँ प्रत्यक्ष अनुभव गर्न पाए होलान्। कसरी पुरानो पट्यारलाग्दो सोचलाई विना कुनै आलोचना नयाँ पुस्ताले पनि आत्मसात् गर्न सक्छ भन्ने आँखैले देख्न पाए होलान्।

जब मतदान सकियो, तब यथाशक्य हतारमा सभापतिको मतगणना शुरु गरियो। कारण थियो, विधान अनुसार सभापति बन्न कटाउनै पर्ने ५० प्रतिशत मतको व्यवस्था। विधान अनुसार कसैले सबैभन्दा बढी मत ल्याएर मात्रै हुँदैनथ्यो। यदि कसैले पनि ५० प्रतिशत मत नकटाएमा पहिलो र दोस्रो धेरै ल्याउने बीचमा दोस्रो चरणको चुनाव गर्नुपर्थ्यो। दोस्रो चरणको निर्वाचन अधिवेशन अवधिमा नै सक्नका लागि त्यो गणना चाँडै सक्नै पर्थ्यो। यदि त्यसो नहुँदो हो त, अरु पदहरुका परिणाम जस्तै सभापतिको चुनावको नतिजा पनि हतार नगरी विस्तारै आउँथ्यो।

 कसलाई कति भोटको ट्रोल

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा २०५८ मतका साथ अग्रस्थानमा रहे। शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरे।

पानीट्यांकीबाट निकालेर मत गनेको देखेका ‘नवचासोकर्ता’का लागि यो विषय हास्यास्पद थियो। उनीहरुले कसको कति मत भन्ने अंक बिर्सिए, पानीट्यांकी मात्रै सम्झिए। मतगणनाको ताजा परिणाम भनेर सामाजिक सञ्जालमा देखियो :

शेरबहादुर देउवा – ३ ट्यांकी

शेखर कोइराला – २ ट्यांकी

प्रकाशमान सिंह – २ बाल्टिन

विमलेन्द्र निधि – १ बाल्टिन

कल्याण गुरुङ – १ चम्चा

ट्यांकीको पानी जसरी नै मत जम्मा भयो

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा २०५८ मतका साथ अग्रस्थानमा रहे पनि उनले १७२९ मत ल्याएका शेखर कोइरालासँग दोस्रो चरणको प्रतिस्पर्धा गर्नुपर्ने भयो।

जितका लागि दुवै उम्मेदवारले पहिलो निर्वाचनमा तेस्रो, चौथो र पाँचौं भएका उम्मेदवारलाई भोट हालेका प्रतिनिधिलाई आफूलाई भोट हाल्ने बनाउनु थियो। शेखर कोइराला आफ्नो टीम सहित ‘फिल्ड’ मा निस्किए। गगन थापाले शेखर कोइरालालाई नै किन भोट दिनुपर्छ भन्ने वकालत सहित लामो फेसबुक स्टाटस लेखे। चलाख देउवाले पहिलो निर्वाचनका आफ्नै प्रतिस्पर्धीहरुलाई भेट्न दूत पठाए। एकछिन अगाडिसम्म नेतृत्व परिवर्तन भन्दै देउवाको विरुद्धमा आवाज उठाइरहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो निर्वाचनमा देउवालाई निर्विकल्प देखे। आफ्नो समर्थन छ भनिदिए।

गणितीय रुपमा २०५८ मत ल्याएका देउवालाई प्रकाशमान सिंह ३७१ मत, विमलेन्द्र निधि २४९ मत र कल्याण गुरुङ २० मतले समर्थन गरेका थिए। यसको अर्थ हुन्थ्यो, दोस्रो चरणको निर्वाचनमा देउवाले २६९८ मत पाउनेछन्। यो संख्या सम्पूर्ण प्रतिनिधि ४७४३ को आधा २३७१ भन्दा बढी हुन्थ्यो। देउवा त्यसपछि जितका लागि ढुक्क बने।

नेपाली राजनीतिको भेडेपारा भोगिसकेकाहरुले दोस्रो चरणको निर्वाचनलाई प्राविधिक मात्र मानेका थिए तर ‘नवचासोकर्ता’ले यो हिसाब पत्याइरहेका थिएनन्। अघिल्लो चरणमा आफूले भोट दिएको नेताले भन्ने बित्तिकै पङ्क्तिबद्ध भएर भनेकै उम्मेदवारलाई भोट हाल्लान् भन्नेमा ‘नवचासोकर्ता’हरुलाई विश्वास थिएन। उनीहरु निर्वाचनको रोमाञ्चकता बाँकी नै छ भन्नेमा विश्वस्त थिए।

मत परिणाम आयो, देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाए। देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिए।

‘नवचासोकर्ता’का लागि यो आश्चर्यको विषय थियो। उनीहरुलाई लागेको थियो कि पानीट्यांकीमा मत छ, पानी होइन। पानीट्यांकी मालिकले यसमा खन्याउनु भन्दा कामदारले थपक्क टेरेर पानी खन्याए जस्तै उम्मेदवारहरुले अब यसलाई मत दिनु भन्ने बित्तिकै कार्यकर्ताहरुले कसरी मत देलान् ? मान्छे पो हुन्, पानी हुन् र ? उनीहरुको जे तर्क देखिन्थ्यो त्यसलाई वास्तविकताले खारेज गरिदिइसकेको थियो।

पानीट्यांकीमा मत होइन, पानी नै थियो; उम्मेदवार थिएनन्, पानीट्यांकी मालिक नै थिए, कामदार थिएनन्, कार्यकर्ता नै थिए तर पनि नेताले भनेकै ट्यांकीमा कार्यकर्ताले अर्को ट्यांकीबाट पानी खन्याइदिए भने जस्तै भयो। गणितीय रुपमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले आफ्नो ट्यांकी, बाल्टिन र चम्चा देउवाको ट्यांकीमा खन्याइदिए जस्तै देखिएको थियो।

नयाँ होइन, निरन्तर अभ्यासकै शृंखला

नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भ ताजा भएर मात्रै उदाहरणका रुपमा यसलाई प्रयोग गरेको हुँ। नत्र नेताहरुको निर्देशनलाई आँखा चिम्लेर पालना गर्ने मात्र होइन, नेताको ओल्टे र कोल्टे फेराइसँगै तिनका कार्यकर्ता र समर्थकहरु पनि कसरी आफ्नो आसन, भाषण परिवर्तन गर्छन् भन्ने उदाहरण नेपाली राजनीतिको विगतभरि अनगिन्ती छन्।

केही अगाडि भएको नेकपा एमालेको महाधिवेशनमा पनि त्यस्तै थियो। जहाँ ओलीले नाम भन्नुहुन्छ र हामीले त्यसको समर्थनमा ताली पिट्ने मात्रै हो भन्ने विशाल भट्टराईहरुको बोली सुनिन्थ्यो। र, प्राविधिक रुपमा चुनाव भए पनि देखिएको ‘भेडापारा’ विशाल भट्टराईहरुले भने जस्तै नै थियो।

माओवादी केन्द्रका कुनै भ्रातृ संगठनमा प्रचण्डले औंलाले देखाएको मान्छेहरु मात्रै पुग्नु र सबैले त्यसलाई स्वीकार्नु बाहेकको अर्को बाटो देखिएको छैन।

पार्टीगत बाहेकको अवस्थामा पनि यो तालमेल पटक पटक देखिएको छ। केही पहिलेको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन थियो। उम्मेदवार निर्धारण गर्दा नै कुन पदमा कांग्रेसका उम्मेदवार हुने र कुनमा माओवादीका भन्ने निर्धारित थियो। यस्तोमा गठबन्धन हेरेर माओवादीका मतदाताहरुले माओवादीका नेताको आदेश जस्तै कांग्रेसका उम्मेदवारका लागि मतदान गरे भने कांग्रेसका मतदाताहरुले कांग्रेसका नेताहरुले अह्राए जस्तै माओवादीका उम्मेदवारलाई। त्यसपछिका निर्वाचनमा माओवादी र एमालेको गठबन्धन बन्यो। कार्यकर्ता र समर्थकहरुले सर्लक्क मत साटासाट गरे।

एकै तह वा एकै इकाइहरुमा यो तहको गठबन्धन वा तालमेललाई कार्यकर्ताले पनि मान्नु साह्रै आश्चर्यजनक नमान्न सकिएला। तर यो कुनै एक तह वा इकाइहरुमा मात्रै देख्न पाइँदैन। अघिल्लो संघीय निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले मतदान गर्ने, त्यसको बदलामा झापा क्षेत्र नम्बर ५ मा राप्रपाले वाम गठबन्धनका केपी ओलीलाई मतदान गर्ने अनौपचारिक तालमेल भएको थियो। चल्तीका उदाहरण खोज्नु पर्दा मात्रै यहाँ ओली र लिङ्देनको नाम आएको हो। यस्ता तालमेल स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा छ्यास्छ्यास्ती भेटिन्छन्।

कुनै नेताहरुको तहमा भएको अनौपचारिक तालमेलकै आधारमा कुनै एक क्षेत्रका एउटा पार्टीको कार्यकर्ता वा समर्थकले आफ्नो पार्टीको उम्मेदवारलाई भोट हालिदेला भनेर अर्कै निर्वाचन क्षेत्रको अर्कै पार्टीको कार्यकर्ता वा समर्थकले अर्कै पार्टीका उम्मेदवारलाई किन भोट हाल्छ ? यो भेडापारा नभएर के हो ?

पछि लाग्नु दोष होइन, नेताकै पछाडि लाग्ने त हो नि !

विकल्पमा हरेक मानिस आफैं नेता बन्न सम्भव हुँदैन। हरेक मान्छे नेता नै बन्ने हो भने पनि नेताको पनि नेता हुन्छ। नेता बन्ने कुरा शृंखलाबद्ध हुन्छ। कुनै आन्दोलन, विषय वा आदर्श हुन्छ, जसलाई हासिल गर्न कुनै अमूक व्यक्ति लायक वा सक्षम छ भनेर उसको पछाडि लागिन्छ। सो व्यक्ति नेता बन्छ। उ अगाडि लागेर उसको पछाडि आफू लाग्न सक्ने भएपछि मात्रै कसैले कसैलाई नेता मान्न सक्छ। त्यही सोचाइले नेता हुन्छ। त्यही सोचाइले कार्यकर्ता हुन्छ। त्यही सोचाइले समर्थक हुन्छ। नेताको शाब्दिक र व्यावहारिक अर्थ पनि त्यही हो। तर नेता मान्नु वा समर्थक वा कार्यकर्ता बन्नु निरपेक्ष पक्कै हुँदैन।

आदर्श वा विषयबाट विमुख भएपछि पनि उसलाई नेता मानिरहनुपर्ने कारण असाध्यै कम हुन सक्लान्। कुन नेताले कुन आदर्श बोकेको कारणले आफ्नो नेता भएको छ भन्ने बिर्सिने हो भने कालान्तरमा समर्थक भइदैन, दास भइन्छ। सक्रिय भएर झन्डा बोकेर उसको अगाडि पछाडि हिंडिन्छ वा निष्क्रिय भइन्छ भन्ने कुराले केवल फूर्तिलो दास कि अल्छे दास भन्ने छुट्याउँछ मात्रै। त्यसको सैद्धान्तिक मात्रा त्यति फराकिलो हुँदैन।

हो, लामो समयपछि कुनै विशेष परिस्थितिमा नेताले आदर्श फेर्न सक्ला। बाटो बदल्न सक्ला। त्यसमा कार्यकर्ता वा समर्थक विश्वस्त भएर फेरिनु पनि सामान्य प्रक्रिया हो भनेर मान्न सकिन्छ तर वर्षौंसम्म कुनै विषयको पक्ष वा विपक्षमा रहेर केवल चुनावी तालमेलका नाममा नेता ओल्टेकोल्टे फेरिने वित्तिकै कार्यकर्ता र समर्थकहरु पनि कसरी फेरिन सक्छन् ? नेताको एउटा आदर्शको पछि लाग्ने हो कि उसले असमयमा फेर्न सक्ने ओल्टेकोल्टेको पनि ?

वितेका केही वर्षदेखि प्रकाशमान सिंहले शेरबहादुर देउवा सभापतिका रुपमा नालायक र अक्षम रहेको दाबी गरिरहन्थे। मानौं कि, देउवाबाट वाक्क भएकाहरु वा शेरबहादुर देउवालाई अक्षम नै देख्नेहरु प्रकाशमान सिंहलाई नेता मान्न तयार भए। उनलाई पहिलो चरणको निर्वाचनमा सभापतिका रुपमा मत पनि दिए तर जब दोस्रो चरणको निर्वाचन हुनेभयो र कुनै अवस्थाको परिवर्तन नभइकन प्रकाशमानले देउवालाई समर्थन गरे, तब प्रकाशमानलाई सभापतिका पानीट्यांकीमा मतपत्र हालेकाहरुले किन प्रकाशमानकै वचन अनुसार देउवालाई भोट हाले ? फेरि लेख्नु पर्ला, यहाँ प्रकाशमान र नेपाली कांग्रेसको महाधिवेशन उदाहरणका रुपमा आएका मात्रै हुन्। अरुमा पनि यस्तै देखिएकै छ।

यहींनेरको निर्णय क्षमताले हो, कोही कार्यकर्ता बन्ने कि ‘भेडो’ बन्ने भनेर छुट्टिने। अनि, यहींनेर हेरेर कसैले निराश भएर भन्न सक्छ, मलाई राजनीति मन पर्दैन। आइ हेट पोलिटिक्स। त्यसो भन्ने चैं को हुन्छ त ?

 मलाई राजनीति मन पर्दैन

लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष के हो भने लोकतन्त्रमा मलाई लोकतन्त्र मनै पर्दैन भन्न पाइन्छ। लोकतन्त्र मात्रै यस्तो व्यवस्था हो कि यसका विरुद्धमा भएका विचार र आवाजहरुको पनि यसले संरक्षण गर्दछ। यसैले लोकतन्त्रमा मलाई राजनीति मन पर्दैन भनेर राजनीतिबाट अलग बस्छु भन्न पाइन्छ।

तर के राजनीतिबाट अलग हुन सकिन्छ ? गम्भीर भएर सोच्नुपर्ने प्रश्न हो यो। आजको पुस्ता जसलाई मैले यो लेखमा ‘नवचासोकर्ता’ भनेको छु, उसले मलाई राजनीति मन पर्दैन, आइ हेट पोलिटिक्स भन्नुको अर्थ पनि राजनीतिमा थोरै चासो दिएको उपज हो। राजनीतिप्रति शून्य चासो भएको भए उबाट यति पनि धारणा आउँदैनथ्यो वा आइराख्नु पर्थेन।

आउँदो शुक्रबार हलमा रिलिज हुन लागेको फिल्मको टिकट बुधबार नै लिएर व्यग्रतापूर्वक शुक्रबार पर्खिने पनि हुन्छन्। विना कारण टहलिंदै हल छेउमा पुग्दा पोस्टर देखेर फिल्म हेर्न हल पस्ने पनि हुन्छन्। पोस्टर हेरेर हल भित्र नपस्ने पनि हुन्छन्। त्यहाँ हल छ र त्यहाँ पोस्टर पनि टाँसेको छ भन्ने वास्तै नगर्नेहरु पनि हुन्छन्। समाजको शुरुआतदेखि नै यस्ता कुनै विषयप्रति यस्ता विविध प्रतिक्रिया पाइन्छन्। मान्नै पर्छ कि मानव समाजमा असाध्यै कम प्रतिशत मानिस मात्रै कुनै पनि क्षेत्रमा सक्रिय हुन्छन्। बाँकी या दर्शक हुन्छन् वा सो विषयवस्तुसँग निरपेक्ष। संसारका धेरै विषयहरुप्रति सापेक्ष वा निरपेक्ष रहेकै कारण मानिसले आफ्नो व्यक्तिगत जीवनमा फरक नपाउन सक्छ। तर राजनीति मात्रै यस्तो विषय हो जोप्रति कर्ताहरु सापेक्ष छ वा निरपेक्ष छ भन्ने कुराले त्यसको प्रभाव फरक हुन्न।

बरु अध्ययन र जिज्ञासाले राजनीतिको फोहोर सफा गर्न टेवा दिन सक्छ। अध्ययन नगर्ने ‘नवचासोकर्ता’हरु कसैको वहकाउ, आश्वासन वा झूटो जानकारीको आधारमा अरु कसैको भेडो बन्नका लागि उर्वर मगज हुन्छन्। राजनीति मानव समाजको प्राणवायु अक्सिजन जस्तो हो, कसैलाई यो जति नै मन नपरे पनि लिनै पर्छ वा त्यसको मात्रा, प्रदूषणले पार्ने फरक भोग्नै पर्छ। यसबाट भाग्न खोज्नु समाधान हुँदै होइन। बरु अज्ञानता वा अहमताले अध्ययन र परिवर्तनबाट भाग्ने अर्को किसिमको भेडो बन्नु हो।

विडम्बना ! यस्ता भेडाहरुको गतिविधि यति अनुमानगम्य हुन्छन् कि यिनको मत पाउन तालमेल वा गठबन्धन गर्नै पर्दैन। र, यिनका मत हाल्न भनेर कसैले पनि कुनै पानीट्यांकीको बिर्को काटिराख्दैन।

लेखकको बारेमा
गणेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?