
४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् ।
लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए ।
बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै?, लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म र्याली गरेका थिए ।
आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताए ।
०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको उनको भनाइ छ ।
लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनको गुनासो छ ।
प्रतिक्रिया 4