+
+

‘त्रिविले ममाथि अन्याय गर्‍यो’

नुनुता राई नुनुता राई
२०७८ पुष ४ गते १९:२६

४ पुस, काठमाडौं । त्रिविले सोमबार स्नातक तथा स्नात्तकोत्तर तहका विद्यार्थीहरुलाई विभूषित तथा दीक्षित गर्दैछ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले ४७औं दीक्षान्त समारोहमा विभूषित हुने उत्कृष्ट १९ विद्यार्थीहरुको नामावली मंसिर २८ गते गोरखापत्रमा सार्वजनिक गरेको थियो ।

उक्त सूचीमा समाजशास्त्रतर्फको सर्वोत्कृष्ट दाबी गर्ने विद्यार्थी आमिर राजाको नाम छैन । आफू उत्कृष्ट भए पनि नियोजित रुपमा त्रिविले झेल गरेका कारण आफ्नो नाम पदक पाउने नामावलीमा नराखेको आमिर राजा बताउँछन् ।

त्रिविले २०७६ साल फागुन १५ मा स्नातकोत्तरको नतिजा प्रकाशित गरेको थियो । त्रिविको नियम अनुसार तीन महिनाभित्र थेसिस बुझाइसक्नुपर्ने हुन्छ । तर आमिरले लकडाउनको कारण थेसिस बुझाउन सकेनन् ।

त्रिविको नियम बुझेका आमिरले विभागमा निरन्तर सम्पर्कमा रहे । तत्कालीन विभाग प्रमुख टिकाराम गौतमले असामान्य अवस्था भएकोले यो तीन महिना लागू नहुने भनेर आश्वासन दिएको आमिरको जिकिर छ । आमिर भन्छन्, ‘म निरन्तर विभागसँग सम्पर्कमा छु । योभन्दा अघिको डिपार्टमेन्ट हेडले यो कोभिड महामारीमा मात्रै यो कुरा लागू हुने भएकोले तपाईंले नै पाउनुहुन्छ ढुक्क बस्नु भन्नु भएको थियो ।’

विभाग प्रमुखको आश्वासनले ढुक्क भएका आमिरले थेसिस २०७७ पुस २७ गते बुझाए र माघ २ गते ‘भाइवा’ भयो । त्यसपछि फेरि उनी २०७८ असोजमा विभाग प्रमुख डा. युवराज लुईंटेललाई भेटेर आफ्नो समस्या सुनाए । आफ्नो समस्या सुनेपछि विभाग प्रमुखले डीन कार्यलयलाई सम्बोधन गर्दै ‘लकडाउनको कारण स्थलगत अध्ययन गर्ने काम ढिला हुने भएकोले विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै आमिर राजालाई दीक्षान्त समारोहमा सहभाी हुन पाउने र उक्त महेन्द्र विद्याभूषण हुन मनासिव देखिएको’ सिफारिस गरेको आमिरको दावी छ ।

तर २८ गते सार्वजनिक नामावलीमा उनीभन्दा कम अंक ल्याएको व्यक्तिको नामावली प्रकाशित भएको र आफूलाई सुनियोजित रुपमा पछाडि पार्न खोजेको उनको आरोप छ । आमिरको ट्रान्सक्रिप्टमा ३.९४ जीपीए आएको देखिन्छ ।

आमिर भन्छन्, ‘असारमा विभागले सिफारिस गर्दा पनि जानी जानी मेरो कुरा अगाडि बढाइएन । यो म माथि सरासर अन्याय भयो ।’ त्यसबेला तत्कालीन विभाग प्रमुख टिकाराम गौतमले सामान्य समयमा लागू हुने नियम भएको र विश्वमा नै कोरोना महामारीको आतंक भएको बेला ‘तपाईंले डेटलाइनको चिन्ता लिनुपर्दैन’ भन्ने आश्वासन भएको उनको भनाइ छ ।

डिपार्टमेन्टले परिस्थिति सहित असोजमा नै सिफारिस पत्र पठाउँदा पनि सुनुवाइ नहुँदा आमिरलाई नियतबस त्रिविले पछि पार्न खोजेको उनको भनाइ छ ।

विभाग प्रमुख प्रा.डा. युवराज लुईंटेल आमिरको माग जायज भएकोले डीन कार्यलयमा सिफारिस गरेको बताउँछन् । उनी भन्छन्, ‘आमिरले तीन महिनाभित्र बुझाउने परिस्थिति थिएन । त्यही भएर विभागले सिफारिस गरेको हो । तर पनिकाले नियममा रहेर निर्णय गरेपछि हामीले गलत भन्न मिल्दैन ।’ नियममा रहेर निर्णय गर्दा एलिशा पौड्यालले पाउने प्रमुख लुईंटेल बताउँछन् । गोरखापत्रको सूचनामा एलिशाको ३.९३ जीपीए आएको देख्न सकिन्छ ।

सर्वोत्कृष्ट विद्यार्थीको नामावलीमा आफ्नो नाम नसमेटिएको देखेपछि आमिर विभाग पुगेका थिए । ‘विभाग प्रमुखले मेरो अगाडि नै फोनमार्फत यथार्थ बुझ्ने प्रयास गर्नुभएको थियो । तर पनिकाले नियममा रहेर निर्णय गरेको जवाफ फर्काएको जानकारी उहाँले मलाई गराउनुभयो,’ आमिरले भने ।

गोरखापत्रमा सार्वजनिक भएको सूचीमा समावेश नामावली बाहेक विद्यार्थीको नाम छुटेमा आगामी पुस १ गतेभित्र स–प्रमाण आवेदन दिन सूचित गरिएको छ ।

सोही सूचनालाई आधार मानेर आमिरले पदक दाबी गर्दै निवेदन दिएका छन् । तर आमिरले नियमभित्र नपर्ने जवाफ पाएको गुनासो गरे । उनले भने, ‘मेरो कमजोरीले नसकेर ढिला भएको होइन । परिस्थितिको कारण ढिला हुँदा पनि मेरो दुःखको सुनुवाइ भएन । त्रिविले ममाथि अन्याय गर्‍यो ।’

आमिरको विषयमा यथार्थ बुझ्नका लागि परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सम्पर्क गर्न खोजे पनि उनीसँग सम्पर्क हुन सकेन ।

कसैले प्रक्रिया पूरा गरेर देखाओस् : एलिसा पौडेल

त्रिविको सम्पूर्ण नियम पूरा गरेर समाजशास्त्रबाट मेडल प्राप्त गरेको व्यक्ति म हुँ । अर्को कोही सबै प्रक्रिया पूरा गरेर त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल प्राप्त गर्न तोकेको मितिभित्र भाइबा सकेको प्रमाण देखाओस् । यो मेरो चुनौती हो ।

समयभित्र भाइबा नसक्नेले मेडल पाएन, उसको दाबी पुगेन र मैले पाएँ । यसमा कुनै भ्रम बाँकी छ भने म सबै प्रमाण पेस गर्न तयार छु ।

कसैले कोरोना महामारीका कारण भाइबा सकेन भने त्यो कि भाइबा नसक्नेको समस्या हो, कि त्रिभुवन विश्वविद्यालयको । रातदिन मेहनत गरेर पढेकी मेरो होइन । मलाई भने आफ्नो थेसिस सक्न कोरोना महामारीले रोकेन, त्यही थेसिस सकेकै कारण त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण प्रक्रिया पूरा गरेर मेडल दाबी गरिरहेकी छु ।

यद्यपि फारम भर्दा मैले पदकका लागि होइन दीक्षान्त समारोहका लागि भरेकी थिएँ । त्यही पेस भएका डकुमेन्टहरुले नै देखाए समाजशास्त्रबाट ३.९३ जीपीएसहित समयसीमाभित्र थेसिस सक्ने म एक्ली विद्यार्थी थिएँ ।

मैले फागुन २०७६ भित्रै थेसिसको भाइबा सकेर फागुन २८ गते समाजशास्त्र संकायले स्नातकोत्तर तहमा उत्कृष्ट विद्यार्थीलाई पठाउने जर्मनीको बेलिफिल्ड विश्वविद्यालयमा ‘एरास्मस ग्रान्ट’ पाएर उडेकी थिएँ । त्रिविमा अहिले रहेको पदकको मापदण्ड अनुसार समाजशास्त्रको गोल्ड मेडलिस्टको एक्लो हकदार ममात्रै हो ।

समाजशास्त्रको पदक त्रिभुवन विश्वविद्यालयको नियम अनुसार बाँडिदा मलाई कहिल्यै आपत्ति थिएन र छैन पनि । घामपानी नभनी धुलो र गाडीको धुँवा खाएर मैले थेसिसको प्रक्रिया पूरा गरेकी हुँ ।

दुख गरेकै कारण मेरो थेसिस पृथ्वीनारायण क्याम्पस पोखराबाट प्रदान गरिने ‘ गोपालमान सिंह रिसर्च अवार्ड २०२० बाटसमेत पुरस्कृत भएको थियो ।

त्रिभुवन विश्वविद्यालयको पदक सम्बन्धी मापदण्ड मेरो बाहेक अरु थेसिसले पूरा गरेनन् गोल्ड मेडलिस्टका लागि । यदि त्रिभुवन विश्वविद्यालयले आफ्नो मापदण्ड फेर्छ भने उसको निर्णय मलाई स्वीकार्य हुनेछ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?