+
+
लिगमा पाँचौ चरण :

पोखरामा मनाङको रवाफ, एपीएफमा विदेशी खेलाडी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष ६ गते १४:५४

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग ०७८ को पाँचौ चरण अर्थात् म्याच विक फाइभ सकिएको छ । यो चरण केही फरक र विशेषसमेत रह्यो ।

लिग फुटबलको इतिहासमा पहिलो पटक ए डिभिजन लिग काठमाडौंबाहिर भयो । मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालाई होम ग्राउण्ड बनाउँदै नेपाल पुलिससँग पोखरामा खेल्यो । विभागीय टोली एपीएफले पहिलो पटक विदेशी खेलाडी लिगमा खेलाउँदै अर्को इतिहास बनायो ।

यस्तै, पाँचौ चरणमा आएर जावलाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब र एपीएफले सिजनको पहिलो जित हात पारे । थ्री स्टारको खराब प्रदर्शन जारी रह्यो । यस्तै फ्रेण्ड्स क्लब पाँचौ चरणसम्म जितविहीन रहने एक्लो टिमको रुपमा रहेको छ ।

यसपटक दुई टिम रेलिगेसनमा पर्ने भएकोले उपाधि होडमा भन्दा रेलिगेसन ब्याटलमा बढी रोमाञ्चकता देखिएको छ ।

लिग सुरु हुनुअघि नै तीन क्लब मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबले उपाधि जित्ने लक्ष्य राखेका थिए । त्यहीअनुसार पाँचौ चरणसम्म यी तीन क्लब नै अघि छन् । यी तीन क्लब अपराजित नै छन् । यी तीन क्लबलाई पछ्याउँदै अपराजित रहेको संकटा क्लब शीर्ष चारमा छ ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटो युथ क्लबले डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै पाँचौ स्थानमा छ ।

त्यसपछिका बाँकी क्लबहरू मिड टेबलका लागि संघर्षत देखिन्छन् । छैटौं स्थानमा रहेको थ्री स्टार र १३औं स्थानमा रहेको च्यासल युथ क्लबबीच जम्मा २ अंकको मात्र अन्तर छ । अंकतालिकाको अन्तिमतिर रहेका क्लबहरूले एक खेल जित्नेबित्तिकै फड्को मारिहाल्छन् ।

अहिलेसम्म एक खेल पनि नजितेको फ्रेण्ड्स क्लब जम्मा २ अंक जोडेर अंकतालिकाको पुछारमा छ ।

पाँचौ चरणका केही विशेषताहरू :

मोफसलमा ए डिभिजन लिग

अखिल नेपाल फुटबल संघले यो सिजन ए डिभिजन लिगका खेललाई काठमाडौंबाहिर पनि लैजाने लिग अघि नै घोषणा गरिसकेको थियो । पाँचौ चरणमा आएर त्यसले सार्थकता पायो । राष्ट्रिय लिग यसअघि नै काठमाडौंबाहिर आयोजना गरिसकेको एन्फाले यसपटक ए डिभिजनलाई पोखरा पुर्‍यायो । मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा लिग खेल्ने पहिलो भाग्यमानी क्लब बन्यो ।

काठमाडौंमा रहे पनि पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाएको मनाङले पाँचौ चरणमा नेपाल पुलिससँग पोखरामा खेल्यो । पोखरेली दर्शकको अगाडि मनाङले पुलिसलाई ३-१ गोलले हरायो ।

मनाङले सातौँ र आठौं चरणको खेल पनि पोखरामै खेल्नेछ । एन्फाले लिगलाई मेचीदेखि महाकालीसम्म नै लैजाने योजनाको सुरुआत पोखराबाट गरिसकेको छ । अर्को सिजनमा अझ धेरै शहरमा लिग गराउने एन्फाको योजना छ ।

मनाङको अग्रता : मछिन्द्र र आर्मीलाई धक्का

घरेलु मैदानमा सानदार जित हासिल गरेपछि मनाङ स्पष्ट अग्रता बनाउदै शीर्षस्थानमा उक्लेको छ । साविक विजेता मछिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी बराबरीमा रोकिएको फाइदा उठाउँदै मनाङले अग्रता बनाएको हो ।

पाँच खेलमा चार जित र एक बराबरीबाट मनाङ १३ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ । मछिन्द्रले भने संकटा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । उपाधि रक्षा गर्ने अभियानमा रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो । यस बराबरीले मछिन्द्रलाई पहिलो पटक एएफसी कप क्वालिफायर खेल्ने लक्ष्यमा धक्का पनि लागेको छ । मछिन्द्रले ११ अंकसहित दोस्रो स्थानमा छ ।

अघिल्लो पटक एएफसी क्लब लाइसेन्स पाउँदै लिग उपविजेता भए पनि एएफसी कप क्वालिफायर खेलेको आर्मीले नवप्रवेशी सातदोबाटोसँग १-१ को बराबरी खेल्यो । आर्मीको यो तेस्रो बराबरी हो । आर्मी पाँच खेलबाट नौ अंकसहित तेस्रो स्थानमा छ ।

एन्फाले सातौं चरणको समाप्तिपछि एएफसी क्लब लाइसेन्स भएकामध्ये धेरै अंक जोड्ने क्लबलाई एएफसी कप क्वालिफायर खेलाउन पठाउने निर्णय गरिसकेको छ । मनाङ, मछिन्द्र र आर्मीसँगै यसपटक एएफसीले क्लब लाइसेन्स पाएको छ ।

अब छैटौं चरणमा मनाङ र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । यदि मनाङले जित हात पारे मनाङ सातौं चरणको खेल खेल्नुअघि नै एएफसी कप क्वालिफायर खेल्ने पक्का हुनेछ । मनाङले मछिन्द्रसँग बराबरी वा हारकोको नतिजा ल्याएमा भने अन्य खेलको नतिजा कुर्नुपर्नेछ ।

जावलाखेलको पहिलो जित

ललितपुरको जावलाखेल युथ क्लबले जारी लिगमा पाँचौ चरणमा आएर गोलको खाता खोल्दै पहिलो जित दर्ता गर्यो । सुरुआती तीन खेल हारेपछि चौथो चरणमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको जावलाखेलले पाँचौ चरणमा च्यासल युथ क्लबलाई १-० ले हरायो ।

चौथो चरणसम्म रेलिगेसन जोनमा रहेको जावलाखेलले पहिलो जितपछि सोही ठाउँ छाडेको छ । जावलाखेललाई पहिलो जित र तीन अंक दिलाउन भारतीय खेलाडी निकोलास फर्नान्डेजले गोल गरेका थिए ।

पाँचौ चरणपछि जावलाखेल पाँच खेलबाट चार अंक जोड्दै १२औं स्थानमा छ । तेस्रो हार बेहोरेको च्यासल भने रेलिगेसन जोनमा पुगेको छ । पाँचौ चरणपछि च्यासलको चार अंक छ र गोल अन्तरमा एपीएफ र जावलाखेलसँग नै पछि पर्दै १३औं स्थानमा छ ।

यस्तै, हिमालयन शेर्पा क्लबलेसमेत पाँचौ चरणमा आएर पहिलो जित हात पार्‍यो । शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले हरायो । पाँच खेलबाट पाँच अंक जोडेको शेर्पा आठौं स्थानमा उक्लेको छ । ब्रिगेडको पाँच अंक रहे पनि हिमालयनभन्दा पछाडि नवौं स्थानमा छ ।

एपीएफको पहिलो जित र पहिलो विदेशी खेलाडी

विभागीय टोली एपीएफले पनि यस सिजन पाँचौ चरणमा आएर पहिलो जित हात पार्‍यो । दशरथ रंगशालमा भएको लिगको ३५औं खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ गोलले पराजित गर्दै तीन अंक जोड्यो । एपीएफका आशिष लामाले दुई र विके तामाङले एक गोल गरे ।

खेलअघि फ्रेण्ड्स र एपीएफ अंकतालिकामा अन्तिम दुई स्थानमा थिए । रेलिगेसन ब्याटलमा बाजी मार्दै एपीएफ अंकतालिकामा ११औं स्थानमा उक्लन सफल भयो । सुरुको तीन खेलमा पराजित भएको एपीएफले चौथो खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो ।

फ्रेण्ड्सविरुद्ध दुई गोल गरेपछि आशिषको गोलसंख्या ३ पुगेको छ र उनी सर्वाधिक गोल गर्नेमा सातदोबाटोका अजयी मार्टिन्स, संकटाका निरज बस्नेत, मछिन्द्रका सुनिल बल र नेपाल पुलिसका सुमन लामासँगै संयुक्त रुपमा शीर्षस्थानमा पुगेका छन् ।

एपीएफले पहिलो जित हात पार्दा अर्को संयोग पनि जुर्‍यो । एपीएफ ए डिभिजन लिगमा विदेशी खेलाडी खेलाउने पहिलो विभागीय टिमसमेत बन्यो । फ्रेण्ड्सविरुद्ध जापानी गोलकिपर युया कुरियामाले एपीएफबाट खेल्दै लिगमा डेब्युसमेत गरे ।

एपीएफले अर्को एक डिफेण्डरलाई पनि ल्याइसकेको छ तर पेपर वर्क पूरा नभएकोले फ्रेण्ड्सविरुद्ध खेलेनन् । यस्तै, अर्को एक स्ट्राइकर पनि एपीएफले ल्याउन लागेको छ ।

जितविहीन फ्रेण्ड्स

लिग सुरू हुनुअघि रेलिगेसनबाट बच्ने लक्ष्यबारे स्पष्ट रुपमा बोल्ने क्लब फ्रेण्ड्स मात्र हो । पाँचौ चरणसम्म आइपुग्दा फ्रेण्ड्स जितविहीन छ र रेलिगेसनको चर्को प्रेसर पनि परेको छ ।

एपीएफसँग हारपछि प्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पनि रेलिगेसन दबाब रहेको स्वीकार गरे । हुन पनि फ्रेण्ड्सले पाँच खेल खेल्दा एक खेल पनि जितेको छैन । दुई खेल बराबरीबाट फ्रेण्ड्सले जम्मा २ अंक जोडेको छ र टोली १४ क्लब सहभागी लिगको पूछारमा छ ।

सातदोबाटोसँग गोलरहित बराबरी खेल्दै लिग सुरू गरेको फ्रेण्ड्सले दोस्रो खेलमा संकटाविरुद्ध अग्रता लिएर पनि खेल २-१ ले गुमाएको थियो ।

तेस्रो चरणमा पनि थ्री स्टारविरुद्ध लिएको अग्रता जोगाउन सकेन र १-१ को बराबरीमा चित्त बुझायो । चौथो चरणमा भने मनाङसँग २-० ले पराजित भएको थियो । फ्रेण्ड्सले पाँच खेलमा जम्मा तीन गोल गर्दा आठ गोल बेहोरेको छ ।

तेस्रो चरणको खेलमा घाइते भएका कप्तान प्रकाश बुढाथोकीको अभाव फ्रेण्ड्सलाई परिरहेको प्रशिक्षक मिश्रले बताएका छन् ।

दुई पेनाल्टी गोल

यस सिजनको पहिलो पेनाल्टी गोल पाँचौ चरणमा आएर भयो । यस चरणमा एक मात्र नभएर दुई पेनाल्टी गोल भए । पहिलो चरणमै च्यासलले थ्री स्टारविरुद्ध पेनाल्टी पाएको थियो । तर, च्यासलका विकास मेराग्लायको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएका थिए ।

पाँचौ चरणमा भने नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबले पेनाल्टी पाएको थियो र गोल पनि भयो ।

पोखरामा भएको ३२औं खेलमा पुलिसका सुमन लामाले मनाङविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यस्तै, दशरथ रंगशालमा भएको ३५औं खेलमा फ्रेण्ड्सका प्रिजेन तामाङले एपीएफविरुद्ध पेनाल्टीमा गोल गरे।

पाँचौ चरणको खेलको नतिजा

सातदोबाटो १-१ त्रिभुवन आर्मी

संकटा ०-० मछिन्द्र

च्यासल ०-१ जावलाखेल

मनाङ ३-१ पुलिस

थ्री स्टार ०-० एनआरटी

हिमालयन शेर्पा ३-१ ब्रिगेड

फ्रेण्ड्स १-३ एपीएफ एफसी

पाँचौ चरणको गोलकर्ता

दिनेश हेम्जन, आर्मी

अजयी मार्टिन्स, सातदोबाटो

निकोलास फर्नान्डेज, जावलाखेल

अन्जन विष्ट (२ गोल), मनाङ

निशान सुब्बा, मनाङ

सुमन लामा, पुलिस

पिस्टोन मुटम्बा, हिमालयन शेर्पा

सुरेश कुमाल, हिमालयन शेर्पा

मनिस थापा, हिमालयन शेर्पा

भुवन बस्नेत, ब्रिगेड

आशिष लामा (२ गोल) एपीएफ

बिके तामाङ, एपीएफ

प्रिजेन तामाङ, फ्रेण्ड्स

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?