
६ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेको पछिल्लो कदमपछि शेयर बजारमा उत्साह देखिएको छ । अर्थमन्त्रालयले सोमबार स्थानीय तहमा गएको बजेटको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । सोमबार नै राष्ट्र बैंकले पनि केही वस्तुहरुको आयातमा कडाइ गर्दै नगद मार्जिन राख्नै पर्ने व्यवस्था गरिदिएको छ । यी दुवै व्यवस्थाले बैंकमा देखिएको तरलता समस्या केही हदसम्म समाधान हुन्छ ।
यसको असर मंगलबारको शेयर बजारमा देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५६ दशमलव ७३ अंकले बढेर २ हजार ४ सय १५ दशमलव ५५ अंकमा पुगेको छ । यस अघि केही दिन यता लगातार जसो शेयर बजार घटिरहेको थियो । मंगलबार ४९ लाख ७४ हजार २ सय ५३ कित्ता शेयर किनबेच भएका छन् भने शेयर कारोबार रकम २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ पुगेको छ ।
मंगलबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेपनि सोमबार धेरै बढ्ने सूचीमा रहेको गुहेश्वरी फाइनान्सको शेयर मूल्य घटेको छ । अन्य केही कम्पनीहरुको शेयर मूल्य घटे पनि अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा समूहगत उपसूचकहरु सबै बढेका छन् ।
सोमबार अर्थमन्त्रालयले गरेको निर्णयले बजारमा ५० देखि ६० अर्ब हाराहारीमा तरलता थपिने बैंकर्स संघको अनुमान छ । औसतमा गरिएको कडाइले पनि बैंकमा नगद आउने क्रम बढाउने राष्ट्र बैंकको विश्वास छ ।
प्रतिक्रिया 4